७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

स्वादिलाे ट्राउट

चिसो पानीमा पाइने असला माछा मीठो हुन्छ। अचेल खोलामा असला कम पाइन्छ। पाइहाले पनि काँडा हुने भएकाले सबैले सजिलै खान सक्दैनन्। यसकारण केही बढ्ता पैसा तिरेर भए पनि काँडारहित ट्राउट माछा खानेको संख्यामा बढिरहेको छ।

अचेल रसुवा जिल्ला ट्राउट माछाका लागि पनि प्रख्यात हुँदै छ। बोकेझुण्डा, सोले, धुन्चे, ठूलो भार्खु र सानो भार्खुमा ट्राउटा माछा पालिएको छ। सानो भार्खुको १२ घुम्तीमुनि छोकल भन्ने ठाउँ छ। फराकिलो जग्गामा सुन्तलाको बगैँचा पनि छ। बगैंचाको पोखरीमा ट्राउट माछा पालिएको छ।

त्रिभुवन विश्वविद्यालयबाट विविएस विषयमा स्नातक गरेकी स्थानीय माया लामा र उनका श्रीमान सुशिलले २०७१ देखि १३ पोखरीमा ट्राउट पालेर माछाका परिकार बेच्दै आएका छन्। केही समय बैंकमा जागिर खाएको दम्पती आफ्नै व्यवसायमा रमाएको हो। उनीहरूले कृषि विकास शाखा रसुवा र हिमाली आयोजना मार्फत् अनुदान पाएका छन्।

‘जागिरै खाने सोचेर आगामी पुस्ताले नपढून्। पढेका जति सबैलाई जागिर दिन पनि सकिन्न। बरु पढाइबाट सिकेका ज्ञान व्यवसायमा लगाउन सकिन्छ’, उनीहरू सुझाउँछन्।

उनीहरूले ‘ग्रिन हाउस रिसोर्ट’ चलाएका छन्। बारीमा तरकारी उत्पादन गर्छन्। त्यहाँ माछा मात्र होइन, लोकल कुखुरा, मटन र राँगाका परिकार, ढिँडो, सिस्नुको सुप, आलुका परिकार र अर्गानिक तरकारी आदि पाइन्छ।

रिसोर्टमा डबल बेड भएका तीन कटेज बनाइएको छ। एक–दुई रात बिताउन असाध्यै रमाइलो हुन्छ। ठाउँ शान्त छ। 

त्यहाँ कौसीमा बसेर खान सकिन्छ। केरुङ खोला हरपल सुसाइरहन्छ। पारी भीरमा मौरीका चाका देखिन्छ। तन र मन दुवै रमाउँछन्। 

भुइँतलामा रेष्टुराँसँगै बार र हल सुविधा छ। हलमा ८० जनासम्म बसेर नाचगान गर्न सक्छन्। प्रोजेक्टर र साउन्ड सिस्टम पनि राखिएकाले सबै किसिमका पार्र्टी गर्न सजिलो हुन्छ। 

उनीहरू आफैं खट्छन्। भान्छा सम्हाल्ने, ग्राहकलाई सर्भ गर्ने सबै काममा ध्यान पु-याउँछन्। ‘ग्राहकलाई सन्तुष्ट बनाउन पाउँदा खुसी लाग्छ’, उनीहरूले भने।

असोजदेखि जेठसम्म ट्राउटको बेस्ट समय। यतिबेला हामी नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका छौं। आउनुस् यस्तै रमाइला गन्तव्यमा घुमौं।

कसरी पुग्ने : काठमाडौबाट त्रिशूली–मैलुङ हुँदै छोकल पुग्न सकिन्छ। छोकलबाट डेढ किमि दूरीमा स्याफ्रुबेंसी बजार छ। अर्को धुन्चेबाट १२ किमि दूरीमा सानो भार्खुको १२ घुम्तीमुनि छोकल पर्छ।

प्रकाशित: १८ माघ २०७६ ०४:०४ शनिबार

ट्राउट परिकार व्यवसाय