५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

स्वीडेन भ्रमणमा रमाउँदा

अदिति आचार्य
कक्षाः १०, एसओएस हर्मन माइनर विद्यालय पनौती, काभ्रे

 घर छोडेर म कुनै ठाउँमा लामो समय बसेकी थिइनँ। तर यस पटक मैले स्वीडेन भ्रमण गर्ने मौका पाएँ। यो मौका एसओएस स्कुल काभ्रेले जुराइदिएको हो। हाम्रो स्कुलको सम्बन्ध ट्याबी इन्स्किन्डा जिमनेजियम स्वीडेनसँग रहेको छ। घुम्नजाने भनेपछि विदेश कस्तो होला?भनेर हौसिएकी थिएँ। स्वीडेनतिरको हाम्रो यात्रा असोज ११ गते बिहान पनौती काभ्रेबाट सुरु भयो। साथमा करुणा गुरुआमा र सोनीमा दिदी हुनुहुन्थ्यो। हामी तीनजनालाई त्रिभुवन विमानस्थलमा पु-याउन प्राचार्य नरेश्वर आचार्य सरजानु भएको थियो। काठमाडौँको मौसम सफा नभएकाले उडान केही ढिला भयो। त्रिभुवन विमास्थलबाट बल्लतल्ल यात्रा तय भयो।

म पहिलोपटक प्लेनमा चढेकी थिएँ। कस्तो नौलो अनुभव भयो। चराजस्तै उड्न पाउँदा खुसी लाग्यो। कतारमा गएर प्लेन रोकियो। केही समयको अलमलपछि यात्रा कतार हुँदै स्वीडेनतिर मोडियो ।कतारको विमानस्थलबाट स्वीडेन पुग्न करिब ६ घण्टा लाग्यो। रातको आठ बजे हामी स्वीडेनमा पुग्यौँ। त्यहाँ त हामीलाई साथीहरु पर्खिरहनु भएको थियो। त्यहाँबाट हामी साथीहरूको न्यानो स्वागत पायौँ। साथीसँगै गएर बस्न पाइयो। रातको समय भएकाले दृश्य देख्न त्यति पाइनँ। तै पनि छुट्टै अनुभव भयो।

भोलिपल्ट उठेर हामी पिक्निक खान गयौँ। त्यतिबेला बिहान थियो ।स्वीडेनका रमाइला ठाउँहरू हेर्ने मौका मिल्यो। त्यहाँ त गाडीहरु दायातर्फ चल्दा रहेछन्। यहाँजस्तो मोटरबाइक देखिएनन्।  कस्तो सफा बाटोघाटो, जताततै बगैँचा र पार्क। त्यहाँका मानिस त कि निजीगाडी, कि सार्वजनिक गाडीमा यात्रागर्दा रहेछन्। बस चढ्नलाई पनि कार्ड चाहिदो रहेछ। ती यावत कुराको व्यवस्था भने ट्याबी स्कुलले हामीलाई गरिदियो। त्यहाँका मानिसहरू अत्यन्तै मिजासिला र सहयोगी रहेछन्। उनीहरूले हामीलाई त्यहाँका विभिन्न भाषा, संस्कृति, ऐतिहासिक तथा पुरातात्तिवक स्थलहरू घुमाउन मद्दत गरे। भाषाको भने केही समस्या भयो। आवश्यक परेको बेलामा अंग्रेजी भाषामै गफ गरियो।

स्वीडेन बस्दा हामी समुन्द्रको किनारमा गएर रमायौँ। पार्कमा गएर बस्यौँ, घुम्यौँ। ट्याबी स्कुलमा गयौँ। त्यहाँ हामीले साथी तथा गुरुसँग चिनाजानी गर्ने मौका पायौँ। त्यहाँका कक्षा कोठा नेपालका भन्दा सुविधा सम्पन्न लागे। नाटक घर, चलचित्र घर पनि स्कुलमै रहेछ। सबैले पुस्तकको झोला होइन हातमा ल्यापटप मात्रै लिएर आउदा रहेछन्। त्यो देख्दा लोभ लाग्यो। त्यहाँको कक्षाकोठामा बसेँ। रमाइलो लाग्यो। एक घण्टाको कक्षा हुँदो रहेछ ।कक्षा कोठामा विद्यार्थी निकै स्वतन्त्र भएर बस्न, खेल्न र मन परेको कुरा गर्न पाउँदा रहेछन्। नेपाल फर्कने अघिल्लो दिन त्यहाँ भव्य सांस्कृतिक कार्यक्रम भयो। हामीले नेपालको झल्को दिने  टुन्ना र डम्फू गीतमा छमछमी नाच्यौँ। हाम्रो नाच देखेर धेरैले प्रशंसा गर्नुभयो। भोलिपल्ट हामी त्यहाँबाट  अर्लान्डा विमानस्थल हुँदै कतारको हमाद विमानस्थलमा रोकिदै करिब १२ घण्टाको उडान भएपछि नेपाल फर्कियौँ। एक हप्ता लामो स्वीडेन भ्रमण मेरालागि अविस्मरणीय रह्यो।

प्रकाशित: १८ माघ २०७६ ०३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App