९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

रञ्जना लिपिको पुनर्जागरण

पूर्व मिस नेवाः सुनिता डंगोल आफ्नो कानमा विशेष किसिमको ‘टप’ लगाउँदै आएकी छन्। विशेष किनभने उनको यो टप उनी आफैंले सञ्चालन गर्दै आइरहेको अभियानसँग सम्बन्धित छ। उनी अहिले रञ्जना लिपिको पुनर्जागरण अभियानमा छन्। उनले लगाउँदै आएको टप यहि रञ्जना लिपिको अक्षर कुँडेर बनाइएको छ।

उनले यस्तो टप किन लगाएको भन्ने बारे केहि दिन अगाडि भएको तेस्रो नेपालभाषा साहित्य महोत्सवमा ‘रञ्जना लिपिको पुनर्जागरण’ विषयमै भएको अन्तक्र्रियामा भनेकी थिइन्, ‘हाम्रो अभियानको मुख्य उद्देश्य युवावर्गलाई रञ्जना लिपिप्रति आकर्षित गर्नु हो। युवावर्ग कलाप्रति चाँडै आकर्षित हुन्छन्। यस्तो सानो सानो कलात्मक ‘एसेसरिज’ले युवालाई चाँडै तान्छ र यसमा चासो दिन्छन्। यसमा चासो दियो भने कमसेकम उनीहरुलाई रञ्जना लिपि भन्ने पनि छ है भन्ने थाहा हुन्छ। नत्र धेरैलाई नेपालको आफ्नै मौलिक लिपिहरु पनि छ भन्ने नै थाहा छैन।’

नेपालमा अहिले प्रचलित लिपि देवनागरि हो। नेपाली (खस) बाहेक जनजाति, मधेसी भाषा पनि देवनागरिमै लेख्ने चलन छ। तर नेपालभाषा (नेवार) लगायत अन्य केही भाषाभाषीको आफ्नै मौलिक लिपि छन्। तर यी लिपिहरुको प्रचलन नगन्य त भइ नै सक्यो, साथै नेपालको आफ्नै मौलिक लिपि छ भन्ने जानकारी सम्म पनि नभएको अवस्था छ। यसै कारण सुनिता जस्ता केही युवा रञ्जना लिपिको पुनर्जागरणका लागि लिपि विज्ञहरुसँग मिलि अभियान चलाउँदै आएका छन्।
के हो रञ्जना लिपि ?

रञ्जना लिपि नेपालको मौलिक लिपि हो। यो लिपि ११ औं शताब्दीतिर नेपाल मै प्रादूर्भाव भएको र यहिँ विकसित भएको मानिन्छ। कलात्मकढंगले लेखिने अत्यन्तै आकर्षक र मनमोहक यो लिपि ब्राम्ही लिपिकै विकसित रुप हो। ब्राम्ही लिपिको विकास क्रममा नेपालमै नौवटा लिपिको विकास भएको पाइन्छ। जसलाई ‘नेवार (नेपाल) आखर’ भनियो। पछि यी लिपिलाई लिपिको डिजाइन अनुसार नेवार आखर (प्रचलित नेपाल लिपि), रञ्ज आखर, गोलमोल, भुजिंमोल, पाचुमोल, कुंमोल, क्वेंमोल, हिमोल, लितुमोल गरि विभिन्न नाम दिइयो। ती मध्ये सबभन्दा कलात्मक लिपिका रुपमा‘रञ्ज आखर’ (रञ्जना)लाई लिइन्छ।

नेपाल संवत् ७७४ मा प्रताप मल्लले हनुमानढोकामा १५ वटा लिपिमा कुँडेर राखेको ‘जरुं अभिलेख’मा सबभन्दा पहिले रञ्जना लिपिको उल्लेख गरेको पाइएको छ। उक्त अभिलेखमा नेपाल लिपिका तीन किसिमको लिपि– गोलमोल आखर, रञ्ज आखर र नेवार आखर उल्लेख गरिएको छ। यी मध्ये ‘रञ्ज आखर’ नै पछि गएर ‘रञ्जना’ भएको भएको मानिन्छ।

रञ्जना लिपिको विकास क्रम
मानव सभ्यताको विकास सँगै संसारमा विशेषगरि तीन किसिमको लिपिको विकास भएको मानिन्छ। १) चित्रात्मक ९ीययनचबउजथ०, २) अक्षरात्मक ९क्थििबदष्अ० र ३) ध्वन्यात्मक ९ब्उिजबदभतष्अब०ि। इशा पूर्व  दोस्रो शताब्दीतिर हिमवत्खण्डमा अक्षरात्मक ब्राम्ही लिपिको विकास भएको मानिन्छ। लिपिविद् उपप्राध्यापक शरद कसाःका अनुसार विभिन्न कालखण्डमा ब्राम्ही लिपिको रुप फेरिँदै आए। भारतमा गुप्तहरूको शासनकालमा ब्राम्हीको अलग्गै रुप विकास भयो। जसलाई पछि गुप्त लिपि भनियो। यसपछि यो लिपिमा दिको (शिरोरेखा) राखेर लेखिन थालियो। छैठौं देखि नवौं शताब्दीसम्म आउँदा गुप्तलिपिमा पनि धेरै परिवर्तन देखिन थालियो। यो समयमा अक्षरको सिधा धर्कोको तलतिर बायाँतर्फ घुमाउरो देखिन थालियो। यसरी घुमाउरो भएको परिवर्तित लिपिलाई ‘कुटिलाक्षर’ भनियो। यही कुटिलाक्षरको आधारमै नेपालमा अलग्गै मौलिक नेपाल लिपिको विकास हुन थालियो। नेपाल लिपिकै विकास क्रममा एघारौं शताब्दीतिर रञ्जना लिपिको प्रादुर्भाव भएको मानिन्छ।

तर केही लिपिविज्ञहरुले यो लिपि सातौं शताब्दीमै विकास भइसकेको पनि मान्दै आएका छन्। सातौं शताब्दीमा राजकुमारी भृकुटी बिहा गरि चीन पुगेका थिए। उनले त्यसबेला ल्हासामा एउटा गुम्बा बनाएका थिए।झोखाम गुम्बा भनिने उक्त गुम्बा रहेको दलिनमा रञ्जनाको कुटाक्षर लेखिएको र काठको पट्टिमा रञ्जना लिपिलेमन्त्र लेखिएको पाइएको छ। ‘सातौ शताब्दीमा निर्माण भएको उक्त गुम्बामा रञ्जना लिपि पाइएकोले यो लिपिलाई सातौं शताब्दीमै विकसित भइसकेको पनि मानिन्छ’ लिपिविद् कसाःले भने‘यदि गुम्बामा लेखिएको लिपि गुम्बा बनाउँदा नै लेखिएको हो भन्ने प्रमाणित भयो भने रञ्जना लिपि सातौं शताब्दीमै विकसित भएको मान्नु पर्ने हुन्छ।’

रञ्जना लिपिको महत्व
नेपालमा लिच्छविकाल देखि मल्लकाल सम्म विभिन्न लिपिको विकास भएको पाइन्छ। यी लिपिहरू नेपालका अमूल्य सम्पत्ति हुन्। त्यसबेला रञ्जना लिपिमा धेरै शिलालेख, ताडपत्र, नीलपत्र, अभिलेख, ग्रन्थ, पुस्तकहरू लेखिएको छ। त्यसैले नेपालको इतिहास, संस्कृति अध्ययन गर्ने एउटा महत्वपूर्ण चाबी रञ्जना लिपि हो। अन्तर्राष्ट्रिय लिपि प्रदर्शनीमा चिनियाँ लिपि पछि विश्वका सबैभन्दा राम्रो लिपिको रुपमा पनि रञ्जना लिपिलाई लिइएको छ। त्यस्तै नेपाल संयुक्त राष्ट्र संघको सदस्य हुनको लागि रञ्जना लिपिलाई नेपालको लिपिको रुपमा पनि प्रस्तुत गरिएको महत्वपूर्ण लिपि हो।

रञ्जना लिपि ११ औं शताब्दी पछि अन्तर्राष्ट्रिय रुपमा पनि प्रचलित लिपि हो। यो लिपि विकास सँगै चीन, भारत, जापान, रुस सम्म पुगेको छ। लिपिविद् कसाःका अनुसार चिनियाँ परम्परागत व्यापारिक मार्ग ‘सिल्क रोड’ सँगसँगै रञ्जना लिपिले अन्तर्राष्ट्रिय यात्रा गरेको हो। चीन, भारत, जापान, रुस, कम्बोडियो जस्ता देशमा रहेको बौद्ध गुम्बाहरूमा अहिले पनि रञ्जना लिपि देख्न सकिन्छ। ‘कुनै समय अन्तर्राष्ट्रिय रुपमै प्रचलित नेपालको मौलिक रञ्जनालिपिको महत्व अहिले पनि उतिकै रहेको छ’ उनले भने।

रञ्जना लिपिको प्रयोग
रञ्जना लिपिको प्रयोग धेरैजसो बौद्ध सूत्रहरुमा भएको पाइन्छ। महायानी बौद्ध सूत्र, ग्रन्थहरू धेरै जसो रञ्जना लिपिमा लेखिएको पाइएपनि यो लिपिमा शैव ग्रन्थ र तन्त्रहरू पनि लेखिएको पाइएको छ। रञ्जना लिपिको जन्म र विकास नेपालमै भएको भएतापनियो लिपि फल्ने फुल्ने भने चीनमा भयो। तिब्बेतीहरूले यो लिपिलाई देवलिपिको रुपमै मान्छन्। तिब्बतीहरूले अहिले पनि यो लिपिलाई शीरको माथि राख्नुपर्छ भन्ने मान्छन्, त्यसैले कुनै गुम्बा बनाउँदा अहिले पनिगुम्बा भित्र पस्ने ढोकाको माथि दुई लाइन अनिवार्य रुपमा रञ्जना लिपिले लेखेकै हुन्छ।

‘तिब्बतीहरू यो लिपिमा यति मोहित भएको छ कि उनीहरू आफूबाट यो लिपि कहिल्यै टाढा नहोस् भन्ने चाहन्छ। त्यसैलै उनीहरुलै सँधै समाति हिँडने ‘माने’ पनि रञ्जना लिपिबाटै मन्त्र कुँडेर राख्ने गर्छ’ लिपिविद् कसाःले भने। नेपालमा पाइएको सबैभन्दा पुरानो रञ्जना लिपि प्रयोग भएको धार्मिक ग्रन्थ काठमाडौंको ठमेलस्थित भगवान बहाल (विक्रमशील महाविहार)मा रहेको प्रज्ञापारमिता ग्रन्थलाई लिइन्छ। यो प्रज्ञापारमिता रञ्जना लिपिबाट सुनको अक्षरले लेखिएको छ। यो ग्रन्थ ११ औं शताब्दीमा भारतको नालन्द विश्वविद्यालयस्थित विक्रमशील महाविहारबाट आएका धर्मगुरु अतिशाले लेखेको मानिन्छ। लिपिविद् कसाःका अनुसार तिब्बतीयनहरू अहिले पनि भगवान बहालस्थित प्रज्ञापारमिता दर्शन गर्न आउँछन्। उनीहरू यसको दर्शनलाई गुरुदर्शन जस्तै लिने गर्छन्।

रञ्जना लिपिको पुनर्जागरण
रञ्जना लिपि चलनचल्तीमा ल्याउन सबभन्दा पहिलो यस्तो पनि लिपि छ भन्ने जानकारी हुनुपर्छ। त्यसैले अहिले अभियानकर्ता यो लिपिको प्रचारप्रसारमा बढी केन्द्रीत छन्। अभियानको नेतृत्व नेपाल लिपि गुथिले लिइरहेको छ। नेपाल लिपिको संरक्षण र प्रवद्र्धनको लागि विगत चार दशक अगाडी स्थापना भएको गुथिले अहिले विशेषतः युवावर्गलाई लक्षित गरि कार्यक्रम गर्दै आइरहेको छ। करिब डेढ वर्ष भयो गुथिले ‘क्यालिजात्रा’ सुरु गरेको। यही डेढवर्ष भित्र नेपालका विभिन्न ३६ ठाउँमा रञ्जना लिपिको कार्यशाला गरिसकेका छन्। त्यस्तै दुई वर्ष अगाडी रञ्जना लिपिको वर्णमाला निकालेको छ। रञ्जना लिपिको मोबाइल एप विकास गरेको छ,  युट्युबमा रञ्जना लिपि कसरी लेख्ने भन्ने बारे ट्युटरल चलाइराखेको छ। त्यस्तै गुथिले काठमाडौं ज्याथास्थित आफ्नै भवनमा साथै अन्य विभिन्न ठाउँमा गई लिपि प्रशिक्षण दिइराखेको छ।

गुथिका अध्यक्ष निरञ्जनरत्न ताम्राकारका अनुसार अहिलेसम्म सयभन्दा बढी ठाउँमा ‘क्यालिजात्रा’ गरिसकेका छन्। धेरैजसो भीडभाड हुने ठाउँमा, कुनै कार्यक्रम स्थलमा ‘क्यालिजात्रा’ गर्छन्। क्यालिजात्राको क्रममा रञ्जना लिपिको प्रशिक्षण लिइसकेका युवाहरु नै स्वयंसेवीको रुपमा बसेका हुन्छन्। उनीहरुले आफ्नो नाम रञ्जना लिपिमा लेख्न चाहनेहरुको नाम रञ्जना लिपिमा लेखिदिन्छन्। ‘यति गरेर पनि धेरैलाई रञ्जना लिपिको  बारेमा जानकारी दिन सकेका छौं’ अध्यक्ष ताम्राकारले भने, ‘रञ्जना लिपि एउटा सुन्दर कलात्मक लिपि हो। यस्तो सुन्दर लिपिमा आफ्नो नाम लेख्न धेरैले इच्छा देखाउँछन्, जसले गर्दा कमसेकम रञ्जना लिपि पनि छ भन्ने प्रचार गर्न पाएको छौं।’

त्यस्तै गुथिले उपत्यका बाहिर लमजुङ, रामेछाप, बनेपा, धुलिखेल, पनौतिलगायत विभिन्न ठाउँमा रञ्जना लिपिको कार्यशाला गरिसकेका छन्। यो कार्यशालामा सहभागी भएपछि कमसेकम रञ्जना लिपिको अक्षर सम्म चिन्न सक्ने ताम्राकार बताउँछन्।

लिपि गुथिकै पहलमा आनन्द महर्जन र पवन महर्जनले एन्ड्रोइड मोबाइलको लागि रञ्जना लिपि एप विकास गरेका छन्। प्लेस्टोरमा ‘नेपाल लिपि रञ्जना लिपि’ सर्च गरेपछि यो एप डाउनलोड गर्न सकिन्छ। यो एपमा देवनागरिबाट टाइप गरेपछि आफैं रञ्जना लिपि  र प्रचलित नेपाल लिपिमा आउँछ। त्यस्तै आइएसओको लागि सुयोग्यमान ताम्राकारले एपको विकास गरेको छ। रञ्जना लिपिमा ट्रान्स्लेट गर्ने रविनसन शाक्यले बनाएको अर्को एउटा एपपनि प्लेस्टोरमा रहेको छ। काठमाडांै महानगरपालिकाको सहयोगमा गुथिले दुइवर्ष अगाडी रञ्जना लिपिको वर्णमाला पनि प्रकाशनमा ल्याएको छ। यो वर्णमालामा रञ्जनामा अक्षर कसरी लेख्ने भन्ने चित्रबाटै देखाइएको छ। युट्यबमा पनि रञ्जना कसरी लेख्ने भन्ने एनिमेटेड क्लिपहरु राखेका छन्।

यो अभियानले रञ्जना लिपिको पुनर्जागरणमा धेरै सहयोग भइरहेको अध्यक्ष ताम्राकारको अनुभव छ। उनले भने, ‘रञ्जना लिपिको कलात्मकता र सुन्दरताले युवावर्ग यसमा आकर्षित हुन्छन्। पछि जब यसको ऐतिहासिक महत्वबारे जानकारी पाउँछन्, झनै यसमा आकर्षित हुन्छन्।’

रञ्जना लिपि प्रचलनको सम्भावना
नेपालमा रञ्जना लिपिको प्रचलन नभएको धेरै भइसक्यो। एघारौं शताब्दीमा नेपालमा विकास भएको यो लिपि सोह्रौं शताब्दीसम्म निक्कै प्रचलनमा रहेको थियो। त्यसबेला पनि यो लिपि विशेषत धार्मिक ग्रन्थ, बौद्ध सूत्र लेख्ने तथा राजा महाराजाहरुले ताडपत्र, शिलापत्र आदि लेख्नको लागि मात्र प्रयोग गरेका थिए। यो लिपि लेख्न विशेष किसिमको कलमको आवश्यक हुन्छ। त्यस्तै यो लिपि लेख्न अलि खर्चिलो पनि हुने भएकोले त्यो बेला पनि जनमानसले रञ्जना लिपिलाई त्यति प्रयोग गरेको देखिँदैन। पहिले नै जनमानसमा त्यति नभिजिएको रञ्जना लिपि अहिले प्रयोगमा ल्याउन सम्भावना छ त भन्ने प्रश्नमा लिपि गुथिका अध्यक्ष ताम्राकार भन्छन्, ‘अहिले झन् सम्भव छ। प्रविधिले यसलाई झन् सम्भव बनाएको छ।’
अहिले कम्प्यूटर, मोबाइल जस्तो प्रविधिले गर्दा लेखिराख्नु पर्छ भन्ने छैन। देवनागरिमा मात्र टाइप गर्दा पनि रञ्जना अक्षर आउँछ। ‘प्रविधिले गर्दा अहिले झन् सजिलो भएको छ। विशेष कलम प्रयोग गरेर लेखिराख्नु पर्छ भन्ने छैन। अक्षर मात्र चिने पुग्छ। अक्षर चिन्न सक्यो भने, यसलाई प्रयोग गर्न सकिन्छ’ उनले भने।

लिपिविज्ञ उपप्राध्यापक शरद कसाः अहिले साइनबोर्डहरुमा रञ्जना लिपिको प्रयोग गर्न सक्यौं भने पनि लिपिको प्रचार हुने मात्र होइन, यसले नेपालको मौलिक पहिचान पनि झल्काउने बताउँछन्। ‘हामी भारत गयौं र कुनै प्रान्त पुग्यौं भने त्यहाँ त्यहिँकै लिपि प्रयोग गरि बोर्डहरु राखेको देख्छौं। जस्तोकि पश्चिम बंगाल पुग्योकि बंगाली लिपि, तमिलनाडु पुग्यो कि तमिल लिपि। यो लिपि मात्र हेरि पनि हामी कुन राज्यमा पुग्यौं भन्ने थाहा पाउन सक्छौं। त्यस्तै नेपालमा पनि अहिलेलाई साइनबोर्ड मात्र रञ्जना लिपि प्रयोग गर्न सक्यौं भने, एक त नेपालको पहिचान झल्काउन सकिन्छ, अर्को रञ्जना अक्षर अत्यन्तै कलात्मक भएकोले सहरको सुन्दरतामा पनि टेवा पु-याउन सकिन्छ।’

रञ्जना लिपि कालान्तर देखि विशेषत नेवारहरूले नै संरक्षण गर्दै आइरहेको छ। अहिल पनि समुदायले विशेष विशेष समयमा यस्को प्रयोग गरेर लोप हुनबाट राखेको छ। तर यति हुँदैमा यो नेवारहरूको मात्र लिपि भन्न नहुने लिपिविद् कसाः बताउँछन्।‘यो नेवार समुदायको मात्र लिपि होइन, नेपालकै मौलिक पहिचान भएको लिपि हो। नेवारहरूले यसलाई पहिलादेखि संरक्षण भने गर्दै आइरहेको छ। पहिला पनि यो लिपि संस्कृत भाषाका साथै मैथिली र अन्य भाषामा पनि प्रयोग गरको पाइएको छ।अहिले पनि यसलाई अन्य भाषाभाषीले प्रयोग गर्नुपर्छ’उनी भन्छन्। लिपि गुथिले अहिले नेपालभाषा लगायत नेपाली (खस), अंग्रेजी भाषा पनि प्रयोग गरी रञ्जना लिपिको प्रचार गर्दै आइरहेको छ।

‘रञ्जना लिपि नेपालमै प्रादुर्भाव भएको, नेपालमै विकास भएको नेपालको पहिचान झल्काउने लिपि हो। नेपालको मौलिक लिपि भएकोले संयुक्त राष्ट्र संघमा नेपालको नाम दर्ता गर्दा पनि रञ्जना लिपिलाई नैसमावेश गरिएको थियो। यस्तो महत्वपूर्ण लिपिको प्रचार प्रसार र प्रयोगको लागि सरकारले पनि पहल गर्नुपर्दछ’ गुथिका अध्यक्ष ताम्राकार भन्छन्।

प्रकाशित: १२ पुस २०७६ ०५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App