१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

‘भुसको आगोले महिलाका कथा–व्यथा र विद्रोह बोल्छ’

गोविन्दबहादुर मल्ल गोठालेकृत नाटक ‘भुसको आगो’ अहिले काठमाडौं रातोपुलस्थित शैली थियटरमा मञ्चन भइरहेको छ। २०१३ सालमा लेखिएको यस नाटकमा स्त्री पात्र मात्रै मञ्चमा देखिन्छन्। यस नाटकले महिलाहरूमाथिको विभेद, उत्पीडनसँगै मुक्तिका लागि विद्रोह र सपनालाई मनोवैज्ञानिक ढंगले प्रस्तुत गरेको छ। आजभन्दा ६३ वर्षअघि लेखिएको यस नाटक महिलाहरूको आजको अवस्थासँग मेल खान्छ। नवराज बुढाथोकी निर्देशित यस नाटकमा ६ महिला रंगकर्मी मञ्चमा छन्। उनीहरुले यस नाटकबारे व्यक्त गरेको धारणा :
सृष्टि आचार्य
यस नाटकमा मैले प्रधानपात्र उर्मिलाको भूमिका निभाएकी छु। उर्मिला आफ्नै पतिबाट दुत्कारिएकी हुन्छे। अर्थात् पतिले अर्को बिहे गरेपछि ऊ माइतीमै बस्न थालेकी छे। ऊसँगै उसको माइतीमा महिला सदस्य मात्रै ६ जना छन्।
यो २०१३ सालमा लेखिएको नाटक भएकाले रुढी सोच र संस्कारविरुद्ध उर्मिला उभिने साहस गरेकी छे। 

२७ वर्षे जवानीमा उसले कलेज पढ्दै छ। ऊभित्र दमित यौनेच्छा, भविष्यको सुन्दर सपना, आफ्नो पुरानो जीवन बदल्ने नयाँ सोच र संकल्प छन्। मुखले उसले आफ्नो बैंस ढलेको कुरा गर्छे, किनभने उतिबेला सानैमा बिहे हुने हुँदा २७ वर्षको उमेरलाई बुढी मानिन्थ्यो।

पतिको नाम लिनुहुन्न, दोस्रो बिहे गर्नु हुन्न भन्ने समाजमा उसले पोइल जाने निर्णय गर्छे। आमाहरूले घरमा फर्कन आग्रह गर्दा पनि उसले मान्दिनँ।

जब मैले यो नाटकमा प्रधानपात्रको भूमिका पाएँ, म खुसी र कसरी गर्ने होला भन्ने पीरले रोएकी थिएँ। रंगमञ्चमा म नयाँ हुँ, यो मेरो दोस्रो नाटक हो। यति छिटै यति विशेष नाटकमा प्रमुख भूमिका पाउँदा मलाई साँच्चिकै ठूलो दबाब र चुनौती थियो। तर, मैले हार नमानी रिहर्सल गरेँ, अहिले मञ्चमा सकेसम्म राम्रो गर्ने कोसिस गरिरहेकी छु।

ऊ बेला लेखिएको नाटक भए पनि यसले उठाएको मुद्दा अहिले पनि सान्दर्भिक छ। अहिले हाम्रो समाजमा बालविवाह भइरहेकै छ। विवाहमा जातपातको कुरा आउँछ।

नाटकमा केही संवाद छन्, ‘मेरो पोइ बेल, बेल र सुन्दरमानमा के फरक छ ! ...म पोइल जान्छु, बेलसित होइन, मान्छेसित ! ...बोक्सी, सानी जात अलच्छिनी आइमाई भन्नुहुन्छ हगि ! ...तपाईंलाई एउटी स्वास्नी मान्छे चाहिएको हो, त्यो पाउनुभयो, मभन्दा राम्री गोरी, घरानियाँ जात !’ यस्ता संवाद पढ्दा मलाई अनौठो लागेको थियो।

यहाँ नेवारभित्रकै सानोठूलो जातको कुरा आएको छ। हामीकहाँ अझै पनि जातीय समस्या छ। अझै पनि विवाह, करिअर, घर–व्यवहार आदिमा महिलाको स्वनिर्णय चल्दैन। तर, यस नाटकमा उर्मिलाले आफैँले केही गर्ने, आफैँले रोजेकोसँग पोइल जाने, पहिलेको पतिको घरमा सौतामाथि नजाने निर्णय गर्छे। त्यसैले यो नाटकले महिलाको संवेदना, स्वतन्त्रता, हकअधिकारको पैरवी गर्छ।

सरस्वती अधिकारी
म नाटकमा विधवा नारी राधाको भूमिकामा छु। विधवा भएपछि उसलाई आफ्नो घरमा ठाउँ हुँदैन। त्यसैले अनेक कुण्ठासँगै जीवनलाई ऊर्जाविहीन अँध्यारो कठघरा जस्तो ठानेर ऊ मामाको घरमा बसेकी छे, छोरो लिएर। उसले आफ्नो पहिचान पति र छोरोसँग जोडिएको ठान्छे। पति र छोरोबिना अर्थात् पुरुषहरुविना आफ्नो बेग्लै अस्तित्व नै नदेख्ने बिचरी पात्र हो ऊ। यतिसम्म कि उसलाई आफ्नो अँध्यारो र अन्यायपूर्ण जीवनको बारेमा थाहै छैन। मामाकी छोरी उर्मिलाले पोइल जाने कुरा गर्दा उसलाई डर लाग्छ। वास्तवमा ऊ विभेदकारी सामाजिक मूल्य–मान्यतासँग डराउँछे। उसलाई नयाँ पुस्ताकी उर्मिलाको कुरा पनि हो कि जस्तो लाग्छ, पुरानो पुस्ता बज्यैको कुरा पनि ठीकै जस्तो लाग्छ। यसरी कुनै आत्मनिर्णय नभएकी बिचरी पात्र हो ऊ।

यस नाटकमा मेरो चरित्र वा भूमिका भनेकै एउटा डर र त्रासको जीवन देखाउनु हो। जसलाई सही र गलत, न्याय र अन्याय स्पष्ट रूपमा थाहा छैन।

यस नाटकले आजभन्दा ६३ वर्षअघिका महिलाको अवस्था प्रतिविम्बित गरेको छ, तर आज पनि महिलाको अवस्था बदलिएको छैन। अवसर पाएका र हिम्मत राख्ने केही एकल महिलाहरु अहिले अगाडि बढेका छन्। अधिकांशले भने परम्परागत समाजका कारण आर्थिक, धार्मिक, सामाजिक, राजनीतिक रूपमा प्रगति गर्न सकेका छैनन्। दोस्रो बिहे गर्ने कुरा सोच्न पनि डराउँछन्।

दर्शकलाई राधाको कुण्ठा र पीडालाई देखाउन सक्नु, राधा अन्याय र विभेदमा परेको बुझाउन सक्नु नै मेरो भूमिका हो। मैले त्यही कोसिस गरिरहेकी छु।

सगुन पोखरेल
म यो नाटकमा दुईवटा भूमिकामा छु, शान्ति र सरिताको। शान्ति प्रधान पात्र उर्मिलाकी फुपुकी छोरी हो भने, सरिता उर्मिलाकी सौताकी छोरी। शान्ति स्कुल पढ्दै गरेकी किशोरी हो, उसमा रहरहरूले घर गर्न थालेका हुन्छन्। ऊ वायुपंखी घोडामा चढेर कतै क्षितिजतिर उडेको कल्पना गर्छे। घरभित्रै आफ्नी विधवा दिदी राधा, पतिबाट परित्यक्त उर्मिला, विधवा हजुरआमा, माइजुको अवस्था देखेर उसले समाजमा महिलाको अवस्था बुझ्छे। पढेर ठूलो मान्छे बन्ने सपना पाल्छे तर उसका लागि घरको वातावरण उपयुक्त छैन, जसले उसको मानसिक अवस्था खल्बल्याएको छ।

अर्कोतिर, मैले निभाएको सरिताको भूमिकामा बाल मनोविज्ञान देखाइएको छ। शान्ति र सरिताको पनि निकै उमेर फरक हुन्छ। आठ वर्षकी सरिता सौतेनी आमा (उर्मिला)को घरमा आउँदा जे सुन्छे, त्यसले उसलाई बिचलित बनाउँछ। घरमा पनि बाबुले दोस्रो बिहे गरेको कुरा उसले सुन्नुपरेको हुन्छ। यसले उसको बालमनोविज्ञानमा राम्रो गर्दैन। मेरो दुवै भूमिकाले घर–परिवार र समाजमा महिला विभेदमा पर्दा बालिका र किशोरीलाई पनि असर गर्छ भन्ने देखाइएको छ।

मेरो चरित्र अहिलेको समाजभन्दा टाढा छैन। अहिले पनि हाम्रो समाजमा बाबुआमाको झगडा, सम्बन्धविच्छेद र महिला हिंसा आदिका समाचारले बालिका र किशोरीहरू नकारात्मक प्रभावित भइरहेका छन्। स्वयं हिंसामा पनि परिरहेका छन्। यस्तो अवस्थामा मेरो भूमिकाले बालिका र किशोरीलाई परेको मनोवैज्ञानिक दबाब, प्रभावलाई देखाएको छ।

यी दुई चरित्रमा शान्ति र सरिताको उमेर निकै फरक छ। त्यसैले यी चरित्र निभाउन मलाई निकै कठिन हुन्छ। किनभने, छोटो समयमा मैले शान्तिबाट धेरै कम उमेरको सरितामा आफूलाई ढाल्नुपर्छ। हुन त मैले आधा दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेकी छु। तर, चञ्चले किशोरी शान्तिबाट अबोध र निर्दोष बालिका सरितामा प्रवेश गर्न मलाई केही कठिन हुन्छ तर मैले आनन्दका साथ कोसिस गरिरहेकी छु।
यसमा किशोरी शान्तिको चरित्रबाट सानी सरिताको चरित्रमा आफूलाई ढाल्नुपर्छ। शान्तिबाट सरितामा आउन मलाई केही समय लाग्छ। सरिता बालिका भएकाले त्यस चरित्रमा आफूलाई टिकाइराख्न गाह्रो हुन्छ, तर कोसिस गरिरहेकी छु।

निमा पाण्डे
विवाह गरेर पनि माइतीमै बसेकी छोरीको चिन्ता गर्ने आमा (नानीछोरी)को भूमिकामा छु म। नानीछोरी कडा स्वभावकी पात्र हो।

उसले सुरक्षित भविष्यका लागि छोरी उर्मिलालाई सौतामाथि पतिको घर फर्काउन चाहन्छे। छोरी महिला सुधार समितिमा हिँडेको, पढेको, पोइल जान्छु भनेको उसलाई मन पर्दैन। उसलाई पुरुषवादी समाजले यस्तै सिकाएको छ।

उसकी छोरी आफूमाथि सौता ल्याएको पतिको घरमा जान चाहन्न, बरु अर्कैसँग पोइल जाने कुरा गर्छे, तर ऊ आफ्नी छोरीलाई कुनै निर्णय दिने अवस्थामा छैन, किनभने एउटी छोरीको जिन्दगीका धेरै कुरा परिवारका पुरुष र समाजले निर्धारण गर्छ। यो अवस्था आज पनि छ। मेरो भूमिकाले आजको समाजमा छोरीको निर्णय र अधिकारलाई कसरी कुण्ठित गरिएको छ भन्ने देखाउँछ। अनि नानीछोरी जस्ता आमाहरुलाई छोरीका लागि विद्रोह गर्न प्रेरित गर्छ। 

आफ्नो शक्ति, सम्पत्ति, निर्णय भएर चाहिँ होइन कि परिवारमा मूल मान्छेकी श्रीमती भएकाले ऊसँग विधवा सासुआमा, भाञ्जी पनि डराउँछन्। उतिबेला लेखिएको नाटक भए पनि यसको कथावस्तु आजको समाज र परिवारसँग धेरै हदसम्म मेल खान्छ। अहिले पनि घर–व्यवहारमा पुरुषको बराबर निर्णय महिलाको चल्दैन। अधिकांश सासु–बुहारीको सम्बन्ध सुमधुर हुँदैन। त्यस्तै, आमाहरुले छोरीको सुरक्षित भविष्यको चिन्ता गरेर घर गरिखान जोड दिन्छन्। यस नाटकमा मेरो भूमिकाले अहिलेका आमाहरुलाई छोरीको संवेदना, स्वतन्त्रता बुझाउन सघाउँछ।

रंगमञ्चमा मेरो यो पहिलो प्रस्तुति हो। त्यति धेरै अनुभव नभएकाले यो महत्वपूर्ण भूमिका निभाउन मलाई केही गाह्रो त छ, तर सक्दो कोसिस गरिरहेकी छु।

अस्मिता खनाल
म नाटकमा बज्यै पात्रका रूपमा उपस्थित छु। म एउटा कर्नेल परिवारकी छोरी हुँ, त्यसैले पनि मेरो व्यवहार अलिक कडा र खरो छ। कर्णेल परिवारमा कडा नियम र शासनमा बाँधिएर हुर्किएकी मलाई परिवारका अरुले परिवारको नियम उल्लघंन गरेको फिटिक्कै मन पर्दैन।

नाटकमा म परम्परागत बन्धन र परिधिमा बाँधिएकी छु, त्यसैले छोरी–बुहारीहरु बाहिर घुमेको, डुलेको मलाई मन पर्दैन। यो नाटकमा अभिनय गरिसकेपछि मलाई के लाग्यो भने अहिलेको युवापुस्तालाई परम्परागत समाजमा जस्तो कडाइ गर्नुहुँदैन र नियम परिधिमा बाँध्नु हुँदैन। 

घर–परिवारमा नै बच्चाहरूलाई बढी अधिनमा राख्न खोज्दा छोरी मान्छेहरू घरबाहिर स्वतन्त्र रूपमा हिँड्न सकेका छैनन्। काठमाडौंलाई छाडेर थानकोट क्षेत्रमा जाने हो भने नाटकमा जस्तै छोरीहरूमाथि लगाइएको बन्देज देख्न सकिने भएकाले त्यो बन्देजलाई तोडेर छोरीहरू पनि स्वतन्त्र हुन सक्नुपर्छ भन्ने मैले सोचेँ। मैले नाटकमा निभाइरहेको पात्र नेपाली समाजमा अझै पनि विद्यमान छन् ।

मैले हालसम्म एक दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेकी  छु, तर यस्तो भूमिका अहिलेसम्म निभाएकी थिइनँ। यो कडा स्वभावकी हजुरआमाको भूमिका निभाउन मैले कोसिस गरिरहेकी छु।

चाँदनी शाही
म यो नाटकमा दुईवटा भूमिकामा छु, रीता र शारदाको। नाटकको कथाअनुसार, शारदा महिला सुधार समितिकी सदस्य हो। ऊ आफ्नो हक–अधिकार, देशको राजनीतिबारे जानकार छ। उसको श्रीमान् प्रजातन्त्र ल्याउनका लागि राजनीतिमा लागेर जेल परेको हुन्छ, त्यसैले देशमा प्रजातन्त्र आइसक्दा पनि महिलाहरु विभिन्न उत्पीडनमा बाँचेको उसले बुझेकी छे। महिलामा चेतना ल्याउने अभियानमा छ ऊ। तर, उसलाई समाजले घर भँडुवी भन्ने आरोप लगाउँछ।

यो नाटक ६३ वर्षअघि लेखिएको भए पनि आजका महिलाको अवस्थासँग नजिक छ। आज पनि महिला अधिकारको कुरा गर्ने, त्यस क्षेत्रमा काम गर्नेलाई परिवार र समाज भाँडेको आरोप लगाएको सुन्नमा आउँछ।

त्यस्तै, अर्को पात्र रीता चुलबुले किशोरी हो, जो घरभित्रको किचलोबाट प्रभावित छ। कडा स्वभावकी आमाको, विद्रोही दिदी उर्मिलाको, परम्परागत बज्यैको कुरालाई उसले आफ्नै ढंगले बुझ्छे। तर, घरकी पाकी सदस्य भएकाले होला, उसले सबैभन्दा बढी कुरा हजुरआमाको सुन्छे। उसको संवाद नै छ, ‘बज्यैले भन्नुभएको तपाईं पापी रे !’

परम्परागत जीवन बाँचेका हजुरआमाबाट प्रभावित रीताहरू अझै पनि नेपाली समाजमा थुप्रै भेटिन्छन्। बालबालिकालाई सानोमा सही शिक्षा दिइनुपर्छ भन्नेतर्फ यस नाटकले संकेत गरेको छ।

यस नाटकमा मेरा दुवै भूमिकाले आजका महिला, बालबालिकाको अवस्था देखाउँछ। दुवै चरित्रबीच उमेर फरक छ, दुवैलाई चरित्र निभाउन म प्रयासरत छु।

प्रकाशित: २८ मंसिर २०७६ ०५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App