१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

फेवातालमा मुहारचित्र

अचेल चारैतिर हपक्कै गर्मी हुन्छ। साँझपख वातावरण शितल बन्छ। अनि पोखरेलीहरु टहलिन फेवाताल पुग्छन्। ताल किनारमा हिँड्न ट्रयाक बनाइएको छ। किनारैकिनार हिँड्दा आनन्द हुन्छ। दिउँसो छिप्पिँदै जाँदा त्यही ट्रयाक छेवैमा कलाकार निश्चल गुरुङ पेन्सिल र स्केच प्याड लिएर बस्छन्।

दिउँसो ३ बजेतिर त्यहाँ पुग्ने गुरुङ फटाफट साथीको मुहारचित्र बनाउन थाल्छन्। त्यो दृश्य देखेर वटुवाहरु टक्क रोकिन्छन्। उनीहरु पनि आफ्नो त्यस्तै चित्रको चाहना गर्छन्। ‘एक जनाको मुहारचित्र कोरेको ५ सय रुपैयाँ लिन्छु’, शुक्रबार अपरान्ह उनले भने, ‘२० मिनेटमा चित्र बनाई भ्याउँछु।’

उनका अधिकांश ग्राहक नेपाली हुन्। कहिलेकाहिँ विदेशी पनि मुहारचित्र बनाई माग्न आउँछन्। गएको जेठदेखि उनले यसरी चित्र बनाउन थालेका हुन्। दिनमा ७ जनासम्मको चित्र कोरेको उनको अनुभव छ। कुनैकुनै दिन भने खाली नै बस्नु पर्छ। ट्रिनिटी एजुकेशन फाउन्डेशनका भिनाजू डिबी गुरुङले उनलाई यसरी चित्र बनाउने उपाय सिकाएका हुन्। उनै भिनाजूले त्यहाँ आबश्यक कुर्सी, टेबल, छाता लगायत सामाग्री किनेर गुन लगाए।

पर्वत, लामेका कलाकार गुरुङ अचेल बिन्दबासिनीमा बस्छन्। बिहान हिलपोइन्ट उच्च मावि, माटेपानीमा कक्षा १२ मा पढ्छन्। दिउँसो फेवातालमा कलाकर्म गर्छन्। यसरी मुहारचित्र बनाउन थालेदेखि उनले राम्रो कमाई गर्दै आएका छन्।

निश्चलले सानैदेखि चित्र बनाउन थालेका। उनले आलोक गुरुङ, मनोज तामाङ, अमन सुनार जस्ता स्थापित कलाकारसँगको संगतले धेरै कुरा सिके। उनले विद्यालयमा कलाकार नगेनसिंह ठकुरीसँग पनि सिके।

ताल किनारमा बसेर कलाकार निश्चल गुरुङ हरेक दिन मुहारचित्र बनाउँछन्। बीस मिनेट लगाएर बनाएको चित्रको पाँच सय रुपैयाँ पारिश्रमिक लिन्छन्।

निरन्तर मेहनतले गर्दा उनी राम्रो चित्रकार बनिसके। त्यसो त ल्याण्डस्केप चित्रकारितामा पनि उनी निपुण छन्। उनी पेन्सिल, चार्कोल, एक्रेलिक, तैल र  पानी रंगको प्रयोग गरेर चित्र बनाउँछन्।

हाल उनी एनएस क्लबसँग सम्बद्ध छन्। क्लबले सन् २०१८ मा आयोजना गरेको राष्ट्रव्यापी चित्रकला प्रदर्शनीमा उनी दोस्रो भएका थिए। भबिश्यमा सफल कलाकारका रुपमा स्थापित हुने उनको लक्ष्य छ।

उनी अनायासै ताल किनारमा आइपुगे। थाहा छैन कहिलेसम्म त्यहाँ कलाकर्म गरिरहन्छन्। समयको मोडले कहाँ पुर्याउँछ उनैलाई थाहा छैन। तर, उनले उज्यालो भबिश्यको संकेत गरिसकेका छन्। शुभकामना तन्नेरी कलाकारलाई।

कलाकार निश्चल गुरूङ

प्रकाशित: १८ श्रावण २०७६ ०२:४६ शनिबार

कलाकार पेन्सिल_र_स्केच