बसन्त महर्जन
बौद्ध दर्शनको बुझाइ बौद्ध दर्शनअनुरूप नभई अन्य दृष्टिकोणबाट बुझ्ने वा गलत विम्बको निर्माण आफैले गरी त्यही नै बौद्ध दर्शन हो भनेर प्रशंसा वा आलोचना गर्ने एक खालको जमात पाइन्छ। दर्शनशास्त्रको अध्ययन गर्दा मोटामोटी रूपमा पूर्वीय र पाश्चात्य गरी दुई वर्गमा छुट्याउने चलन छ। पूर्वीय दर्शनको तात्पर्य यहाँ वेदमा आधारित सबै दर्शन तथा वेदभन्दा बाहेकका चार्वाक, जैन तथा बौद्ध हो। पूर्वीय र पाश्चात्य दर्शनबीच पर्याप्त मात्रामा अन्तर देख्न पाइन्छ। यी दुईबीच ‘धर्म’ र ‘दर्शन’सम्बन्धी बुझाईमा नै अन्तर रहेका कारण अन्य कुरामा पनि स्वतः अन्तर पाइनु स्वाभाविक हो। तर, अचेल अन्य क्षेत्रमा जस्तै छिपछिपे ज्ञानले दर्शन क्षेत्रमा पनि प्रभाव पारेको र पाश्चात्य मूल्यमान्यताको चश्मा लगाएर पूर्वीय दर्शनको व्याख्या वा अपव्याख्या गर्ने गरेको पाइन्छ।
पाश्चात्य दर्शनले जगतलाई मुख्य आधार बनाएर जीवनको व्याख्या गर्छ भने पूर्वीय दर्शनले जगतलाई नभएर प्राणीलाई आफ्नो मुख्य विषयवस्तु बनाएको हुन्छ। यसको राम्रो उदाहरण प्राचीन कलाको प्रवृत्तिमा दृष्टिगत हुन्छ। पाश्चात्य कलामा बाह्य सौन्दर्यलाई अभिव्यक्त गर्ने कोशिस गरिएको हुन्छ भने पूर्वी कलाको ध्येय आन्तरिक सौन्दर्य तथा आध्यात्मिकतालाई उजागर गर्ने गरेको पाइन्छ। चार्वाकलगायत केहीलाई छाडेर भन्नुपर्दा पूर्वीय दर्शनको एउटा समान विशेषता जे–जति दृष्टिगोचर भइरहेको छ, त्यो सत्य होइन, सत्य अरु नै छ, त्यसका लागि प्रयत्न गर्नु हो।
पूर्वीय दर्शनको यो विशेषताबारे अनभिज्ञ पाश्चात्य बौद्ध दर्शनलाई निराशावादी भन्ने गर्छन्। सम्भवतः त्यही सिको गर्दै वा अन्य रूपमा बुझ्दै केही पूर्वीयहरू पनि बौद्ध धर्मदर्शनले दुःखको मात्रै कुरा गर्ने र निराशावादी भन्ने अवधारणा बनाएको पाइन्छ। खेदको कुरा के हो भने, बौद्ध दर्शनमाथि यस्तो टिप्पणी गरिरहँदा आफू उभिएको दार्शनिक पृष्ठभूमिको विषयवस्तु पनि बौद्धजस्तै दुःख र दुःखबाट मुक्ति नै हुने गरेको कुरा ठ्याम्मै भुल्छन्। अध्ययनको क्षेत्रमा यो समस्याकै विषय भइरहेको छ र यसैलाई छिपछिपे ज्ञान भनिएको हो।
समग्रमा पूर्वीय दर्शन भने पनि यसमा देखिने अधिकाधिक विविधतालाई यहाँको विशेषता मान्न सकिन्छ। आस्तिक र नास्तिक भनी पूर्वका दर्शनलाई दुई कित्तामा राखेर हेर्नुपर्छ। आस्तिक र नास्तिक दुई शब्दलाई पूर्वीय जगतले अर्थ गर्दा पाश्चात्य शब्दकोश अर्थहीन हुन्छ। पूर्वमा वेद मान्ने सबै धर्मदर्शनलाई आस्तिक र वेदको प्रामाणिकतालाई नमान्ने धर्मदर्शनहरूलाई नास्तिक भनिन्छ। यसअनुसार बौद्ध पनि नास्तिक वर्गमा पर्न आउँछ।
जसरी मर्नु दुःख हो, जन्मनु पनि दुःखै हो। जन्मनु र मर्नुको चक्रमा पिल्सिरहनुलाई दुःख मानी यो चक्रलाई नै तोड्नु बौद्ध धर्मदर्शनको मुख्य र एक मात्र उद्देश्य हो। यो आदर्श वा कल्पनाको कुरा होइन।
सांख्य र बौद्ध दुवैले ईश्वरको सत्तालाई मान्दैन। तर, दुवै नास्तिक होइनन्। सांख्यले वेदलाई मान्छ र यसैको आधारमा यो आस्तिक भयो अर्थात् पूर्वीय जगतका लागि आस्तिक र नास्तिकको आधार वेदलाई प्रामाणिक मान्नु वा नमान्नु मात्रै रहेछ। तर, आस्तिक होस् वा नास्तिक, चार्वाकबाहेक बौद्ध तथा जैन दुवैले दुःखको कुरा गर्छ र दुःखबाट मुक्ति खोज्छ। बरु यो सही हो, दुःखको व्याख्या तथा मुक्तिसम्बन्धी अवधारणा सबैको आ–आफ्नै छन्।
बौद्ध दर्शनअनुसार सत्य चार वटा छन् र यसैलाई ‘चतु आर्यसत्य’ भन्न यो समुदायले रुचाउने गरेको पाइन्छ। पहिलो सत्य हो, दुःख। सबै कुरा दुःखमय छ। कुनै पनि बौद्धले सर्वप्रथम स्वीकार्नु पर्ने वा बोध गर्नु पर्ने कुरा नै दुःख हो। दुःखलाई दुःखको रूपमा बुझ्न नसकेसम्म कोही पनि सर्वसाधारण वा साधक बौद्ध हुन लायक नै हुँदैनन्। दुःख शब्द र यो शब्द प्रयोग भएका वाक्य पढेकै आधारमा बौद्ध दर्शन ‘दुःखवादी’ वा ‘निराशावादी’ भनेर बुझ्नु र बुझाउनु मूढताको हद नै हो। दुःख एउटालाई मात्र बुद्धले सत्य मानेको भए त्यो ‘मूधता’को अर्थ हुन्थ्यो।
दोस्रो सत्य पनि छ, दुःखको कारण पनि छ। अर्थात्, मानिसलगायत सबै प्राणीले यत्तिकै दुःख भोगिरहेको नभएर त्यसको कारण पनि छ। बिना कारण दुःखको उत्पत्ति भइरहेको छैन। सबैको कारण हुन्छ भन्ने मान्यता बोक्ने भएकोले बौद्ध धर्मदर्शनलाई ‘हेतुवादी’ पनि भनिन्छ। दुःखको निवारण गर्न सकिन्छ भन्ने तेस्रो सत्य हो भने अष्टाङ्गिक मार्गको अवलम्बनबाट दुःखको अन्त्य गर्न सकिन्छ भन्ने चौथो सत्य हो। यसलाई अर्को भाषामा भन्नु पर्दा रोग हुनु सत्य हो भने रोग कुनै न कुनै कारणले उत्पन्न हुनु अर्को सत्य हो। कारण थाहा पाइसकेपछि उक्त रोगको निदान गर्न सकिन्छ भनेर ढुक्क हुनसक्नु पनि सत्य नै हो र यसपछि निश्चित रोगका लागि औषधिको अस्तित्व हुनु पनि सत्य नै हो।
दुःखको सत्ता रहेको एउटालाई मात्र मानेर बस्दा यसलाई दुःखवादी वा निराशावादी भन्न सकिन्छ। तर, बौद्ध धर्मदर्शनले कारण भएको, निदान गर्न सकिने र निश्चित मार्ग अवलम्बन गर्दा निदान गर्न सकिन्छ भनेर स्पष्ट रूपमा निर्दिष्ट गरिसकेपछि कसरी दुःखवादी वा निराशावादी हुनसक्छ ? बरु यसैलाई शब्द वा वाक्य बदलेर आशावादी तथा कर्मवादी भन्न सकिन्छ।
मैत्री, करुणा, मुदिता तथा उपेक्षालाई चतुब्रह्म विहार भनिन्छ र यी चार गुणलाई बौद्धजनको आभूषण मानिन्छ। यसैको अपव्याख्या गर्दा बिष नभएको सर्प र ईख नभएको मान्छे काम लाग्दैन भनेर उखान हाल्न सकिन्छ। ईष्र्या, द्वेष, तृष्णा, लोभलालच तथा आडम्बर र घमण्डले समाजमा धाक त जमाउन सकिएला। तर, प्रतिष्ठा पाउन सकिन्न। सन्तोष त पाउन सकिएला। तर, त्यो दिगो हुँदैन। मैत्री, करुणा, मुदिता तथा उपेक्षाको भाव विकसित गर्न सक्ने हो भने आफ्नो मात्रै कल्याण हुने होइन, अरुको पनि कल्याण हुन्छ। यस भावबाट जुन प्रीतिको अनुभव हुने हो, त्यो पैसाले खरिद गर्न सकिन्न।
अलिकति मात्रै यो भाव विकास गर्न सक्यो भने पनि थप भाव विकास गर्न अभिप्रेरित गर्छ र यो आफैमा धर्मअभ्यास वा साधना पनि हो। सबै प्राणीमाथि मैत्री भाव जगाउनु, करुणा ओतप्रोत भइरहनु, अरुको खुसीमा आफू पनि खुसी हुनु तथा अनावश्यक कुरालाई उपेक्षा गर्नसक्नु कमजोरी नभएर बहादुरी हो। अरुको दृष्टिमा यो अकर्मण्य होला। तर, बौद्ध दृष्टिमा यो कर्मण्य नै हो र यसको पालना कर्मवादीले मात्रै गर्न सक्छ।
मैत्री, करुणाजस्ता कुरा आदर्श मात्रै हुन्, संघर्ष गर्न नसकेर गरिने पलायनका तर्क मात्रै हुन् भन्ने बुझाइ मिथ्या हुन्। क्षमता नभएपछि कोही सहनशील हुन सक्छन्। तर, क्षमता भएरै पनि सहनशील हुनुभनेको सबैभन्दा ठूलो बहादुरी हो। बौद्ध धर्मदर्शनले यस्तै बहादुरी गर्न अभिप्ररित गर्ने हो।
बौद्ध धर्मदर्शनले अभिनिष्क्रमणलाई पनि आदर्श नै मान्छ। जहाँ जे जस्तो छ, त्यसैमा सन्तोष भएर वा अज्ञात भयबाट त्रसित भएर बस्नुलाई बौद्ध आदर्श भन्न सकिन्न। यात्रा गर्नुपर्छ र त्यसका लागि आफ्नो थातथलो पनि छाड्न सक्नुपर्छ। विचरण गर्दै रहनुपर्छ। बोधि लाभका लागि साधना गर्न गौतम बुद्धले गृहस्थ जीवन छाडेको घटनालाई उच्चमूल्यांकन गरी ‘महाअभिनिष्क्रमण’ भन्ने गरिएको पाइन्छ। तर, यसैलाई ‘घरवार छाडी भागेको’ भन्ने शब्द प्रायः सुन्न पाइन्छ। भर्खर जन्म भएको छोरा र श्रीमतिलाई घरमा नै छाडी आफू जंगलतिर लागेको भनी निन्दा वा टिप्पणी गर्नेहरू पनि पाइन्छन्। अझ यसैलाई अकर्मण्यता वा पलायन भनी अथ्र्याउनु बौद्ध वाङमयसँग परिचित नुहुनु हो।
बौद्ध वाङमयमा सिद्धार्थ (गौतम बुद्धको गृहस्थ नाम) लाई राति सुटुक्क भागेको भगुवा भनेर पनि उल्लेख गरिएका साहित्य तथा अन्य सामग्रीहरू पाइन्छन्। तर, बुद्ध जीवनीसँग सम्बन्धित अरु नै पात्रको घटनालाई पछिल्ला लेखकहरूले गौतम बुद्धसँग जोड्न ल्याएको पाइन्छ। अकर्मण्य, निराशावादी तथा पलायनवादीहरू बुद्ध त के, साधारण बौद्ध भिक्षु हुन पनि क्षमता राख्न सक्दैनन्।
साधारणतः एक बोटल रक्सी खान नपाएर मन खिन्न भएर बस्नुलाई पनि साधारणतः दुःख भनिन्छ। कसै गरी रक्सी खान पायो भने दुःखको अन्त्य भएको मानिन्छ। तर, बौद्ध दृष्टिकोणले रक्सीको उपलब्धता दुःखको अन्त्य होइन। बरु दुःखलाई अझ बढाउनु हो। समाजमा हुने, नहुने, पाउने, नपाउने, संयोग, वियोग, जस्ता अनेकौं कुराहरु दुःख त हो नै। तर, दुःख सत्य भनेर बौद्ध धर्मदर्शनले व्याख्या गर्न खोजेको मुख्य कुरा प्राणीको जन्म र मरण हो। जसरी मर्नु दुःख हो, जन्मनु पनि दुःख नै हो। जन्मनु र मर्नुको चक्रमा पिल्सिरहनुलाई दुःख मानी यो चक्रलाई नै तोड्नु बौद्ध धर्मदर्शनको मुख्य र एक मात्र उद्देश्य हो। यो आदर्श वा कल्पनाको कुरा होइन। ‘मैले जन्म र मृत्युको चक्र तोडिसकें, अब फेरि जन्मनु पर्दैन’ भनेकाहरूमा सर्वश्रेष्ठ गौतम बुद्ध हुन् भने त्यसपछि उनका अनेकौं शिष्य तथा प्रशिष्यहरूले सगौरव घोषणा गरेकै हुन्। बौद्धहरू यस अवस्थालाई निर्वाण शब्द प्रयोग गर्छन्।
प्राणी जन्मनु र मर्नु दुःख हो। यति मात्रै भए यसलाई अवश्य पनि दुःखवादी वा निराशावादी भन्न सकिन्थ्यो। तर, बौद्ध धर्मदर्शनले जन्मनु र मर्नुको असंख्य चक्र वा प्रक्रियालाई नै तोड्नुलाई आफ्नो साधनाको लक्ष्य मान्छ। यो भनेको कम्तीको आशावादी र उत्साही कुरा होइन। बौद्धहरू सुखको परिभाषा दिँदा दुःखको यही अन्त्यलाई उल्लेख गर्ने हुन्। कसैका लागि मोहअनुसारको वस्तु प्राप्त गर्नु नै सुख होला। तर, बौद्धका लागि मोह भंग गर्नुमा सुखनिहित हुन्छ।
प्रकाशित: ४ श्रावण २०७६ ०४:३९ शनिबार