मीनकुमार नवोदित
देश छाड्नुअघि–
विमानस्थलको गेटअगाडि उभिएर
सबैभन्दा पहिला सम्झें
आफ्नै बाल्यकाल।
त्यसपछि सम्झिएँ क्रमशः
आमाको मलिन अनुहार
कुप्रिँदै गएको बा’को शरीर
जीवनसंगिनीको बिदाइको आँसु
बगैंचाको फूलझैं
फक्रँदै गरेका लालाबाला
खडेरीले बाँझिएको खेत
बन्धकी राखेको पाखोबारी
चौतारीको एक्लेवरजस्तै आफ्नै गाउँ।
सम्झिएँ अरु पनि थुप्रै–थुप्रै
सम्झनाको भीडमा सबैभन्दा धेरै सम्झिएँ–
नेताको आर्थिक क्रान्ति र
देशलाई समृद्ध बनाउने पुरानै भाषण।
देश छाड्नुअघि सम्झिरहें–
दसैं र तिहारको रमाइलो
स्कुले जीवनका साथीसंगी
सुक्दै गएको पँधेरो
बसाइँ सरेर गएकाले
छाडेका रित्ता घर।
सुराकीको आरोपमा मारिएको
धनजीते दर्जीको धमिलो आकृति
अँध्यारोलाई कुल्चँदै दौडिरहेको नदी।
छिनभरमै सम्झें कति धेरै
विद्यालयमा हाजिर गरेर
आफ्नै काममा व्यस्त शिक्षक
उद्योगमा तालाबन्दी गरेर
मेनपावर कम्पनी उद्घाटनमा
गइरहेको यो देशको
सबैभन्दा राष्ट्रवादी नेता
अनि, त्यति नै बेला सम्झिएँ–
वृद्ध बा’को अनुहारझैं
खुम्चदै गएको देश।
प्रकाशित: ४ श्रावण २०७६ ०४:२५ शनिबार