१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

सयौं फूलका थुँगा

 

सय वर्षे अर्थात् एक शताब्दीव्यापी सोलोडोलो सिंगो फूलका माला लाउन पाएका एउटा मूर्त जीवनका झललल झिल्का राष्ट्रकवि माधव घिमिरेका रचनामा आयामिक चिन्तन–धारणा, भावुक कल्पना, प्रतीकात्मक बिम्ब उतारमा सशक्त अभिव्यक्तिका सरल सापेक्ष हुन्छन्। सादृश शब्द संयोजनमा उत्रेका मनै छुने गीतिलहर, काव्यकृति, कविता उनका साक्ष जीवन जगत सरोकार बनेका छन्।

अल्प शब्द संयोजनमा छोटो वाक्य विन्यास मनपराउने यो लेखनी आज लामो अभिव्यक्ति सँगालिरहेको छ। लाग्यो– सय वर्षे शताब्दी जीवनलाई छोटो वाक्यका अक्षरमाला पर्याप्त हुन्न...!

साथमा सँगालेका मात्र यी चार हरफयुक्त राष्ट्रकविका भावोद्गार–कविता उहाँकै स्वहस्ताक्षरी लघुतम, तर आयामिक र उदात्त मनोकाक्षा माथिका अन्तर तरंग आदरणीय–प्रिय पाठक महानुभावमा उपहार गर्न चाहेछु ! यथार्थमा यावत् जीवन जीवतत्व परिवर्तनीय रहेको जीवन्त भोगाइका अनुभूति बनेको छ पक्कै पनि।

लघुतम चार हरफे मुक्तक मुक्तचित्तका चिन्तन बनेका छन्। २०७३ असोज १३ मा रचित मुक्तक यसो रहे, बनेका छन्।
राष्ट्रकविज्यूका आफ्नै स्वहस्ताक्षरी पाण्डुलिपि यी हुन्।

पाण्डुलिपि मुक्तक

क्यै काम नौलो नगरी नजाऊ
अकालमै म मरी नजाऊ
आयुष्य देऊ र भविष्य देऊ
मभित्र जीवित मनुष्य देऊ !

राष्ट्रकविका छोटो शब्दावलीका बुनोटमा प्रस्फुरित मुक्तकभित्र खाँदिएका भावधारा  प्रवाहित भएका छन्।

मुक्तक कविता कविका उन्मुक्त चिन्तनका चेतनाबाट स्फूरण हुने उदात्त भावधाराका स्वच्छन्द र स्वच्छ मनोवाञ्छा–मनोकामना हुन्। यी अन्ठानब्बेयौं जन्मदिनका अवसरमा रचित मुक्तक हुन्। माधव घिमिरेका राष्ट्रकवि अन्तरनिहित उन्मुक्त–उदात्त काव्यात्मक अभिव्यञ्जना ! त्यो बैंसका सुमेरु उक्लँदो जीवनका शुभेच्छाले प्रक्षेपण गरेका चैतन्य चेतले छर्काएका अकालैमा नमरी जाऊको अपेक्षा युगसापेक्ष कामना मात्र सदिच्छा संवाहक सन्देशमा सीमित रहन्न।

यी पंक्तिले वर्तमान वैज्ञानिक उपलब्धिमूलक साधनबाट उत्सर्जन हुने र भएका अनेक विभत्स सम्भावनायुक्त असंयमित दुर्घटनाका सिकार बन्न नपरोस् भन्ने संचेतना वाहक बनेको छ। यसै हेतुले रवि रश्मि प्रवेश गर्न नसकेका कुनाकाप्चामा समेत कविका दिव्यदृष्टि पुग्छ; हाम्रा पुख्र्यौली मुक्तकण्ठ बोलेका हुन् यसमा !

आफ्नै निवास घर आँगन, कोठा, शौचालय, बरण्डा, कौसी, भ-याङ जताततै अल्झेर अकल्पनीय दुर्घटना केही नआउन्का सतर्कता संवाहक मनोचेतका उदात्त चेत संवाहन गर्दो छन्। आयुष्य देऊ र भविष्य देऊ...याचना वाचक अभिव्यञ्जनामा आयुसित भविष्य पनि देऊका उद्गार पनि एकसाथ गाँसिएर छर्किएका छन्। आयुष्य जीवन योगमय जीवनका प्रज्ञापन बन्छ। योगमय जीवन प्रज्ञापन भन्नुको तात्पर्य कर्तव्य पूरा गर्ने अभिलाषाका अभीष्ट बोक्छ। त्यसले आयुष्य जीवनले भविष्य निर्माणका चाहना गर्छ। यसकारण कवि माग्छ– आत्मबोधि ज्ञानपुञ्जसित भविष्यलाई सार्थक तवरले उज्जवल बनाउने शक्ति आर्जन–प्रदान गर्न !

आत्मबोधि ज्ञानपुञ्ज भन्नु आफैसित अन्तरलिप्त बोधि ज्ञानका गर्भगृह हो। अध्यात्म भन्नु आफूलाई आफैले गहन अध्ययन चिन्तन–मनन गर्नु; गर्न सक्ने क्षमता आर्जन गर्नु हो। राष्ट्रकविका छोटो शब्दावलीका बुनोटमा प्रस्फुरित मुक्तकभित्र खाँदिएका भावधारा यसरी प्रवाहित भएका छन्।

मुक्तकका भावपूर्ण अर्थ विश्लेषण गर्दा उच्चारण गर्न मन लाग्छ यसरी ! मुक्तकले आफैमा अन्तरमुखी रहेका व्यापक चेतनालाई छोटो शब्दावलीमा विस्तृत विशाल बोधि ज्ञानतत्व निसृत पार्ने क्षमता बोक्छ। अन्तर चेतना तत्वलाई सार्वजनिक गर्न क्षमतावान् संक्षिप्त रचना नै मुक्तक हो।

मुक्तक रचेर कवि आफ्ना अन्तरलाई मुक्त गर्ने भएर नै छोटो सृजनाको संज्ञा मुक्तक रहे बनेझैं लाग्छ ! घिमिरेका सशक्त दार्शनिक कवि मनुष्य–तत्वका समदर्शी मानवतावादी रहेका चिन्तन स्पर्श गर्न पाइन्छ यहाँ। उनका कवितामा राष्ट्रकवि उद्गार पोख्छन् कि मभित्र जीवन्त मनुष्य देऊ ! जीवन्त मनुष्य देऊ याचनामा सार्थक, कर्मठ, सशक्त, क्षमतावान् मनुष्य प्राणीलाई प्रतिनिधित्व गर्दो छ। अनुरागी तन्मयता साथ कविता पढ्नुको आनन्दसार अवसर यस्तै विश्लेषणमय बन्दो रहेछ। सिकिरहेछु नित्य निरन्तर आदरणीय अग्रज स्रष्टा महानुभावहरूबाट...!

प्रकाशित: ७ असार २०७६ ०६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App