९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

‘बन्दी बनाएर ल्याइँदा काठमाडौं देखें’

हरिहर विरही, पत्रकार

तपाईंको विचारमा सहर भनेको के हो?
आधुनिक सुविधा भएको, यातायातका साधन पर्याप्त भएको र अन्य आफूलाई इच्छा लागेको कुरा सहजै पाउन सकिने सु–व्यवस्थित क्षेत्र नै सहर हो। सहर भन्नेबित्तिकै आम मानिसमा यही छाप पर्छ। त्यसको लागि नेपालको ठूलो सहर काठमाडौं नै हो। सेवा सुविधाको हकमा नेपालका अन्य सहरभन्दा काठमाडौं अग्रस्थानमा छ।

काठमाडौंलाई कहिलेदेखि चिन्नुभयो?
म २०२७ सालमा बन्दीको रूपमा सहर छिरेको थिएँ। राजकाज विरुद्धको मुद्दामा मलाई थुन्नको लागि काठमाडौं ल्याइएको थियो। राजा महेन्द्रको जन्मदिनको दिन जानकी मन्दिरअगाडि कालो झन्डासहित मुर्दावादको नाराजुलुस गरेपछि मलाई त्यहाँ समातिएको थियो। केही समय त्यतिखेर महोत्तरीको जलेश्वर जेल राखियो। अड्डा सार्ने क्रममा २०२७ सालमा मलाई त्यहाँबाट प्रहरीले सरुवा गरेर सुन्धारास्थित भद्र जेलमा ल्याएको थियो। त्यही बखत मैले काठमाडौंलाई देख्ने अवसर पाएको थिएँ। जेल बस्न सहर छिर्दा प्रहरी गाडिको झ्यालबाट त्रिपुरेश्वरमा रहेको राजा त्रिभुवनको शालिक देखेको थिएँ। कहिलेकाहीँ जेलमा बिरामी परेपछि उपचार गन प्रहरीले अस्पताल लग्ने क्रममा सहिदगेट र टुँडिखेल देखेको थिएँ। ११ महिना जेलमा बसेपछि अदालतले छाड्यो। त्यसपछि मैले काठमाडौंलाई राम्ररी चिन्ने मौका पाएको हुँ। त्यसअघि मैले जनकपुर सहर देखेको थिएँ। मेरो जन्म सिन्धुलीमा भएको हो। यद्यपि पढेको, बुझेको, हुर्केको र सार्वजनिक जीवनमा लाग्ने अवसर मैले जनकपुर सरेपछि पाएको थिएँ।

काठमाडौं छिरेपछिको सपना के थियो?
म जनकपुरमा हुँदा त्यहाँका मानिसले काठमाडौंको सजिलो छैन भन्थे। काठमाडौंमा तराईवासीलाई हेप्छन् भन्थे। संस्कृति र भाषाशैली मिल्दैन भन्थे। तर, यहाँ आएर बस्दा मैले काठमाडौंको कसैले हेपेको पाइनँ। जेलमा बस्दा पनि धेरै किसिमका मान्छेसित भेट भयो। सबैले मितव्ययी सम्बन्ध राखेको पाएँ। म मधेस छँदा काठमाडौंबारे गरिएको गलत प्रचार रहेछ। मूलतः म काठमाडौंको छिर्नुको त्यस्तो ठूलो लक्ष्य थिएन। पढाई र पत्रकारितामा नै मेरो रुचि थियो। काठमाडौं छिरेपछि आफ्नो करिअरलाई बनाउने अवसर पाएँ। राम्रा–राम्रा मान्छे भेटाएँ। देशको केन्द्रीय शासन प्रणाली र पत्रकारितालाई राम्रोसँग बुझ्ने मौका पाएँ।

घुमेकामध्ये मनपर्ने सहर कुन हो?
मलाई पुख्र्यौंली थलो सिन्धुलीको खुर्कोट नै मनपर्छ। सायद आफू जन्मिएको ठाउँ भएर पनि होला। अहिले बिपी राजमार्गले यो ठाउँलाई जोडेको छ। त्यसो त नेपालका हरेक ठाउँका केही न केही विशेषता छन्। पोखराले  आफ्नै विशेषता बोकेको छ। त्यहाँ पर्यटन विकासको प्रशस्त सम्भावना छ। त्यत्तिकै राम्रो मलाई लुम्बिनी पनि लाग्छ। पहाडि भेगमा झन् प्रकृतिको लीला भेटिन्छ। त्यसका पनि आफ्नैै खुवी छन्। मानिसलाई लठ्ठ पार्ने पक्ष छन्। त्यसैले एउटामात्रै सहर मनपर्छ भन्न गाह्रो छ।

नेपालबाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ?
करिब तीन दर्जन देशका सहर घुमेको छु। चीन, अमेरिका, बेलायत, स्विडेन, भुटान, जर्मनीलगायत देश पुगेको छु। त्यसमध्ये मनपरेको देश चीन हो। त्यहाँको विकास अद्भूत छ। मानिसका अतिथि देवो सत्कार छ। चीन म ७÷८ पल्ट गएँ त्यहाँका हरेक पक्षले मलाई छोयो। चीनमा एउटा अकल्पनीय किसिमले विकास भएको छ। त्यहाँको सरकारले प्रकृति र पुरातत्वलाई जोगाउने प्रयत्न गरेको छ। ठाउँ–ठाउँमा संस्कृति सजाएर राखिएको छ। त्यहाँ मावन उद्यमले पनि विकास गरिएका उद्यान र विचित्र किसिमका चिज देखेँ। त्यहाँका नागरिकमा अत्यन्त शिष्टता छ। मानिस मायालु लाग्छन्।  

सहर बढी जनघनत्व भएको ठाउँ, त्यहाँको प्रशासनिक निकाय पनि उच्च सुझबुझ गर्ने किसिमको हुनुपर्छ र त्यहाँका रहेक निकाय जवाफदेही र जनप्रेमी हुन्छन्, यी पक्षलाई हेर्दा हाम्रा सहर कहाँ छन् भन्ने लाग्छ?
त्यो हेर्दा हाम्रो राजधानी नै कुनै स्वतन्त्र र आधुनिक सहर भन्न सुहाउने खालको छैन। होला योभन्दा अविकसित सहर संसारका अरु मुलुकमा पनि होलान्। एउटा राजधानी हुनुपर्ने न्यूनतम पूर्वाधार पनि हामीकहाँ छैनन्। यहाँसम्म कि राजधानीका आधाभन्दा बढी जनसंख्याले शुद्ध खानेपानी पाएको छैन। केही समययता मात्रै हो, लोडेसेडिङ घटेको नत्र आधा समय लोडसेडिङ हुन्थ्यो। जबकि नेपालबारे परिचय दिने माध्यमले सरकारले नै तथ्यांकीय स्रोतले पनि नेपाल जलस्रोतको धनी देश मानिन्छ। तर, यहाँ जलस्रोतको धनी देश यसरी लापर्वाही तवरले बसेको होला भनेर कसैले पनि कल्पना गर्न सक्दैन। जसरी हामी आत्मनिर्भर बनाउने दिशामा परनिर्भरता बढेको छ, व्यापार घाटा अकासिँदै गइरहेको अवस्था छ। बेरोजगारीको समस्या झन् विकराल हुँदै गइरहेको छ। एउटा ठूलो जनसंख्या विदेशमा गएको छ। विदेशका गएर काम गर्नु अस्वभाविक कसरा होइन। तर, हाम्रा युवा खाडीमा छन्। जहाँ थोरै मूल्यमा आफ्नो श्रम बेच्न युवा बाध्य भइरहेका छन्। विदेश गएर धेरैको जीवन बिग्रिएको छ। यस्तो अवस्थामा पनि सरकारले रोजगार दिन सकिरहेको छैन। सम्भावना हुँदाहुँदै पनि राज्यको काम कारबाही असफल भयो। बाहिर जाने जमातलाई रोक्ने हैसियत सरकारले राखेन। त्यसैले हामी हरेक क्षेत्रमा पछि परेका छौं। अर्को कुरा, देश चलाउनेहरू जिम्मेवार भइदिएनन्। हरेक दिनजसो नेता, कर्मचारी विदेश गइरहेका हुन्छन्, तालिममा भाग लिइरहेका हुन्छन्। तर, उनीहरू त्यसलाई आफ्नो देशमा लागु गर्न तदारुकता किन नदेखाएका होलान्, आश्चर्य लाग्छ। आफ्नो स्वार्थमा मात्रै जेलिएपछि देश र युवाको भविष्य जोमिममा परेको हो।

भनेपछि राजनीतिक परिवर्तनका निम्ति लडेका नेतामा विकासको भिजन नभएको हो?
त्योसँग इच्छाशक्ति नभएको हो। कर्मचारी र नेताकै कारण आज देश बिग्रिएको छ। यदि सरकार र कर्मचारी दृढ भएर लागेको हुन्थ्यो भने हाम्रो देशको हालत यस्तो हुने थिएन। नेपालीले यसरी दुःख पाउनुपर्ने थिएन। २२÷२५ वर्षका युवा विदेशमा घोट्टिन जानुपर्ने थिएन। त्यसकारण राजनीतिक परिवर्तनका लागि लडेका नेता विकासतर्फ मोडिन जरुरी छ। अहिलेसम्म जनतालाई राज्यसँग अपनत्व दिलाउने हिसाबले काम भएन। आफू कसरी लोकप्रिय र अमर बनूँ भन्दा पनि कसरी धनी बनूँ, कसरी आफू र आफ्ना पुस्तालाई पुग्ने सम्पत्ति जोडौं भन्ने सोच र भावना नेतामा भयो। यही भावनाले नेपाल पछि परेको हो। सहर विकास र व्यवस्थित पार्न राजनीतिक नेता निःस्वार्थ हुनुपर्छ  अर्को कुरा, अहिले राज्यको रकम कनिका छरिएझैं छरिएको छ। दुरुपयोग भएको छ।

मानवीय आवश्यकताको हकमा सहरभित्र के–के सुविधा हुनुपर्ला?
सहर एउटा व्यवस्थित ठाउँ हो। त्यो ठाउँलाई व्यवस्थित बनाउन हरेक पक्षले महत्पवपूर्ण भूमिका खेलेको हुन्छ। अस्पताल, शिक्षा, खानेपानी, सडक, यातयातलगायत मानवीय आवश्यकताका अन्य सुविधा सहरमा हुन्छन्। अवसर पनि धेरै हुन्छन्। सहरको प्रशासन र व्यवस्थापकीय पक्ष पनि बलियो र शक्तिशाली हुन्छ। 

काठमाडौं कुन पक्षमा राम्रो छ?
छोटो समयमै यहाँ विविधता भेटिन्छ। देशैभरीका विविध कला, संस्कृति र जातीय भेषभूषा यही भेटिन्छ। यहाँको मौसम अद्भूत छ। पुर्खाले सिर्जेका कला अमिट छन्। ऐतिहासिक पक्ष हेर्दा पनि उपत्यका यत्तिकै महत्त्वपूर्ण र ऐतिहासिक सहर मानिन्छ। यहाँ मानव सम्यताकै इतिहास बोलेका किंवदन्ती छन्। उपत्यका मठ–मन्दिर र मौलिक कलाले सजिएको छ। यहाँ टोलैपिच्छे फरक–फरक संस्कृति पाइन्छ, यो पनि यहाँको अर्को महत्त्वपूर्ण पक्ष हो।

तपाईं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ?
सबैभन्दा पहिले त हरेक परिवार आत्मनिर्भर हुनुप-यो। नागरिकका आधारभूत आवश्यकता पूरा हौंन्। अहिले हामीले संविधानमै परिकल्पना जे गरेका छौं, ती सबै पक्ष लागू हौंन्। पछाडि परेका नागरिकलाई माथिल्लो पंक्तिमा ल्याउने। राज्यका अंग जिम्मेवार हुने। नागरिकले ममत्तोको व्यवहार दर्शाउन सक्ने होस्। सरकारी स्कुलमा धनी गरिब सबैका छोराछोरी पढेको देख्न पाइयोस्। न्यायिक निकायहरू सफा हौंन्। कसैले पनि आफ्नो कर्तव्य नबिर्सिउन्। यति भयो भने सहर सुन्दर लाग्छ।

उपत्यकाको अस्तव्यस्त र भद्रगोल कम गर्न के गर्नु पर्ला?
हाम्रोका कानुन ल्याइन्छ, बनाइन्छ। तर त्यसको पालना गर्न सिकाइन्न। आम नागरिक पनि जिम्मेवार र उत्तरदायी छैनन्। जसले कानुन बनायो, यसैले कानुनलाई मिचेको छ। नीति निर्माण तहमा हुनेले विकासका काम गर्नुप-यो। सहरवासीको आचरण पनि ठीक छैन। उपत्यका बिग्रनुको मुख्य कारण यहाँका सरकारी निकायले काम नगरेर पनि हो।

सहर विकास र व्यवस्थित पार्न सहरवासीको बानी व्यवहार कस्तो हुनुपर्ला?
सहर वा नगरमा बस्ने मानिस जिम्मेवार हुनुपर्छ। उनीहरूले अपनत्व महसुस गरेनन् भने सहरको विकास हुन सक्दैन र त्यो ठाउँ राम्रो बन्न सक्दैन। नागरिक नै सहरका मालिक हुन्। सरकारले बनाइदिएको ठाउँको स्याहार गर्ने जिम्मा सहरवासीको नै हो। अहिले सहरवासीको विवेक र चेत छैन।

यहाँका मन नपर्ने पक्ष के हो?
अव्यवस्थित पार्किङ, भीडभाड र प्रदूषणले काठमाडौंलाई बिगारेको छ। अव्यवस्थित र जोखिमपूर्ण सडक पनि मन पर्दैन। हदैसम्मको ट्राफिक जाम पनि काठमाडौंको नराम्रो पक्ष हो।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो?
म नेपालकै धेरै ठाउँ घुम्न पाएको छैन। समय र फुर्सद मिलाएर धेरै ठाउँ घुम्ने रहर छ।

मनपर्ने खानेकुरा?
मलाई चटामरी मनपर्छ।

प्रस्तुतिः शिवहरि घिमिरे
 

प्रकाशित: ३ जेष्ठ २०७६ ०८:२२ शुक्रबार

हरिहर_विरही सपनाको_सहर काठमाडौं