भक्तपुर थिमीकी सात वर्षीया सायरा प्रजापती मंगलबार बिहान दुलहीजस्तै चिटिक्क पहिरनमा आइन्। दिउँसो, निहुरेर सिलौटामा लसुन पिसिन्, ढिकी कुटिन्। कम्मरमा हात राख्दै लुसी चलाइन् अनि नाङ्लोमा अन्न निफनिन्।
झट्ट हेर्दा बालविवाहजस्तो देखिने यो बेल विवाहमा सहभागी उनको अनुहार खुसीले धपक्कै बलेको थियो। यो संस्कारलाई नेवार शब्दमा ‘इहि’ भन्ने गरिन्छ। उनीजस्तै अन्य ९३ बालिका सहभागी गराएर गरिएको सामूहिक रूपमा बेलविवाहमा सहभागी सायराले आज रमाइलो लागेको सुनाइन्।
सायरको खुसीमा साथ दिन उनकी ६६ वर्षीय हजुरआमा सगतमाया प्रजापती सँगै थिइन्। नातिनीको ‘इहि’ हेर्दा आफ्नो बाल्यकाल सम्झना आएको सगतमायाले सुनाइन्। ‘म पनि उति बेला आमासँगै यसरी नै बसेकी थिएँ, जसरी अहिल सायरा बसेकी छिन्,’ उनले भनिन्, ‘तर, उहिले र अहिले धेरै फेरिएको छ।’ संस्कार उही भने यसमा प्रयोग हुने लत्ताकपडा, गरगहनादेखि खानपानसम्म सबै चिज फेरिएको उनले बताइन्। ‘पुराना केही सामाग्री पनि देखिन्छ,’ उनले भनिन्, ‘तर, थुप्रै नयाँ कुरा आएको छ।’
संस्कृतिमा परिवर्तन आए पनि खुसी भने उस्तै रहेको उनले सुनाइन्।
सानो छँदा बेलविवाहको समयमा आफूले पनि सायराले जस्तै सिलौटोमा मसला पिसेको, ढिक्की चलाएको अनि लुसी कुटेको ६६ वर्षीय सगतमाया प्रजापतीले सुनाइन्। ‘त्यतिबेला सिकेको सीप जीवनमा काम पनि आयो,’ उनले हास्दै भनिन्, ‘अहिले त लुसी–ढिकी नै छैन सायराले के कुट्ने हो ?’
उनको जस्तै धारणा राखिन्, ६५ वर्षीया हेलमाया प्रजापतीले पनि। उनी पनि ७ वर्षीया नातिनी सविक्षाका लागि दिनभर साथी बनेर बसेकी थिइन्। ‘आफू सानो छँदा त्यति ख्याल गरिएन,’ उनले भनिन्, ‘अहिले पुराना याद झलझली आएको छ।’ सामूहिक बेलविवाह कार्यक्रममा हेर्न आएका सयौ थिमीवासी महिलाको दिमागमा ‘इहि’ फेरि ताजा भएर आएको छ। शिरमा शिरबन्दी, गलामा माला र हातमा मेहन्दी लगाएर परम्परागत नेवारी पहिरनमा सजिएकी कलिला नानीको मुस्कानसँगै सम्पूर्ण नगरमा उमंग छाएको छ।
नेवारी समुदायमा बालिका रजस्वला नभइकन उसको बेलसँग विवाह गरिदिने परम्परा छ। यसक्रममा बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्छन्। विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुबाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्छ। बेलविवाह सम्पन्न भएपछि ति घरमा भोजको समेत आयोजना भएको छ। आफन्तलाई निम्ताएर गरिने यो भोजले मंगलबार साझ थिमी नगर भोजमय समेत बनेको थियो।
बेल विवाह संस्कार नेपाल संवत् तिथि अनुसार अक्षय तृतियाको अवसर पारी दुई दिनसम्म गरिन्छ। बालिकालाई टाउकोमा सिन्दुर लगाइ दिई विशेष प्रकारको साडी दिइन्छ, जसलाई इहि पर्सी भनिन्छ। यसबाट ऊ अब बच्चा नरहेको भन्दे सन्देश समेत दिइने कतिपय बताउँछन्। ‘यो संस्कार सिकाउने संस्कृति हो,’ सस्कृतविद् तेजेश्वरवावु ग्वोगंले भने, ‘यसले नेवारी सस्कृति कति वैज्ञानिक छ भन्ने देखाउँछ।’ वेलविवाहसँगै नानी हुर्केको सन्देश पनि दिइने उनले सुनाए। ‘अब ऊ बच्चा रहिनन् भन्ने सन्देश पनि हो यो,’ उनले भने, ‘अब उसलाई समाजमा रहेका आधारभूत नियम मान्नु पर्ने हुन्छ।’
राता सारी र चोलोमा सजिएकी स्कटल्याडकी मान्दी क्विन रातो तिलहरीमा झनै राम्री देखिइएकी थिइन्। स्कच वाइन र नेवारी अइला समेत चाखेकी उनले नेवारी नै प्यारो रहेको सुनाइन्। ‘म विदेशमा बस्दा पनि त्यहाँ आयोजना हुने चाँडपर्वमा हाकुपटासी लगाउँछु,’ उनले भनिन्, ‘हातमा मेहन्दी लगाएर पूजामा बस्दा खुसी लाग्छ।’
‘इहिमा दिइने कतिपय ज्ञानले नानीको जीवनमा उपयोगी हुने गरेको छ,’ स्थानीय ज्ञानदास प्रजापतीले भने, ‘संस्कृतिले उनीहरूमा आत्मविश्वास बढाउनेदेखि काम गर्ने तरिका समेत सिकाएको छ।’ ढिकी कुट्ने, मसला पिध्ने चलन त्यहि काम सिकाएको उदाहरणको रूपमा उनले प्रस्तुत गरे। पहिला समयमा नानीलाई सानैमा विवाह गरिदिने चलन भएकाले पनि यो त्यतिबेला भने निकै सान्दर्भिक रहेको उनले सुनाए।
‘यो संस्कृतिले धेरै ज्ञान दिने छ,’ उनले भने, ‘इहिमा नानीले सिकेका थुप्रै कुरा जीवनउपयोगी हुनेछ।’
सानो छँदा बेल विवाहको समयमा आफूले पनि सायराले जस्तै सिलौटोमा मसला पिसेको, ढिक्की चलाएको अनि लुसी कुटेको ६६ वर्षीय सगतमायाले सुनाइन्। ‘त्यतिबेला सिकेको सीप जीवनमा काम पनि आयो,’ उनले हास्दै भनिन्, ‘अहिले त लुसी ढिकी नै छैन, सायराले के कुट्ने हो ?’
प्रकाशित: २८ वैशाख २०७६ ०३:४५ शनिबार