१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

प्रेरक जीवनकथा

मान्छेको जीवन सामान्य अवस्थाबाट कसरी असामान्य हुन पुग्छ भन्ने उदाहरण हुन् लोकगायक खड्ग गर्बुजा। तत्कालीन दुर्गम जिल्ला म्याग्दीको मराङको रिख भैसीगोठमा जन्मे/हुर्केका गर्बुजाको विगत दर्दनाक, पीडाडायी, संघर्षशील छ। उनको आत्मकथाबाट प्रेरणा मिल्छ।

जीवन कसैको एकनास हुँदैन। जन्मेदेखि मृत्युसम्मका भोगाइ र गराइ फरकफरक हुन्छन्। भविष्यको सपना के थियो, भै दियो अर्कै। मृत्युको मुखमा पुगेर मृत्युलाई नजिकबाट नियाल्न पुगेका उनको जीवनको गोरेटो कसरी परिवर्तन हुन पुग्यो? चर्चित गायक गर्वुजाको कथा ‘मोडिएको बाटो’ प्रकाशित भएको छ। उनको बाल्यकाल, युवावस्था, लाहुरे बन्ने आकाँक्षा, भीरबाट लड्न पुगी मृत्युको सम्मुख पुगेको क्षण, बाँच्नका लागि गरेको संघर्ष, अपांग जीवन, बाजा बनाउन, बजाउन र गीत गाउन जानेको अवस्था, बाटो, दोबाटो, मेला पर्वमा गाउँदै पैसा जम्मा गरेको क्षण, काठको गु्ड्ने साधन, व्हीलचेचर, काठमाडौमा आएपछिको संघर्ष, मायाप्रेम, फादर ग्याफ्नेसँगकोे संगत, जागिरको अवस्था, देशविदेश भ्रमणको बयान गाउँले ठेट शब्द र लवजमा रोचक ढंगले प्रस्तुत गरिएको छ।

जीवनीबाट समसामयिक परिस्थिति बुझ्न सघाउ पुग्छ। जीवनी वस्तुपरक हुन्छ, काल्पनिक हुँदैन। सामान्य व्यक्तिभन्दा भिन्दै तरिकाले जीवनयापन गरेका र समाजको नजरमा सक्षम र आदर्श कहलिएका व्यक्ति विशेषको जीवनी रोचक र प्रेरणामूलक हुन सक्छ। त्यस्तै आत्मकथा हो– मोडिएको बाटो।

लोकगायक खड्ग गर्बुजाको आत्मकथा ‘मोडिएको बाटो’ पढ्नलायक छ। 

आत्मकथामा कसैले इमानदारसाथ सबै कुरा खोलेका हुन्छन् भने कसैले ठिक्क मात्रामा खोलेका हुन्छन्। मलाई जहाँसम्म लाग्छ गर्बुजाले अधिकतम रूपमा निजी कुरा आत्मकथामार्फत् भनेका छन्।

विसं २०२६ को पुस कति गते र कुन समयमा जन्मेको भेउ नपाएका उनी  आत्मकथा किन लेख्न पुगे? भन्छन्– मेरो जीवनका पनि अनेक मोड छन्। जीवनको उतारचढाव, भोगाइ र अनुभूतिलाई पुस्तकको रूप दिने सोच थिएन। पत्रपत्रिका, रेडियो र टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा वास्तविकता, विरह, वेदना, विगत र वर्तमानलाई व्यक्त गर्थें। मैले आफ्ना व्यथालाई कुराकानी र गीतका रूपमा प्रकट गर्दा धेरैका आँखाबाट आँसु बगेको देखेको छु।  म आफू त कति रोएँरोएँ, अरूलाई पनि रुवाएँ। हुन त मलाई सम्झाउनेहरूले दुःखका कुरा गर्नु हुँदैन, शत्रु हाँस्छन् भन्थे। तर मलाई म जस्तो दुःखीको पनि को शत्रु होला जस्तो लाग्थ्यो। के शत्रु, के मित्र मलाई कुनै परवाह थिएन। आफ्नो वेदना पोखेर मन हलुङ्गो बनाउन पाए हुन्थ्यो।

म्याग्दीका राजनीतिक व्यक्तित्व, समाजसेवी, व्यवसायी, खेलाडी, कलाकार आदि केही व्यक्तिका जीवनी बेलाबखतमा प्रकाशित हुँदै आए पनि आत्मकथाको रूपमा सायद म्याग्दीका स्रष्टा गर्बुजाको यो कृति पहिलो हुनुपर्छ!

उननमा शारीरिक समस्या छ। जन्मँदा राम्रो जन्मिएका उनी ०४३ पुस ८ गतेभन्दा अघि लाहुरे बन्ने हुटहुटीले भारतमा व्यहोरेको हण्डर र बेलायती सेनाका लागि गल्लाबाट छानिएको अवस्थामा उक्त दिन भएको विभत्स र भयानक घटनाले उनको जीवनको गोरेटो नै परिवर्तन हुन पुग्यो। उनको जिन्दगी यसरी नमोडिएको भए लाहुरे जीवनबाट स्थायी पेन्सनको बन्दोबस्ती सहित अझै सम्पन्न हैसियतमा बाँचिरहेका हुन्थे होलान। तर, देश र विदेशका लाखौं, करौडौं श्रोतामाझ वाहवाही पाएर लोकसंगीतका मूर्धन्य कलाकार भनेर चिनिन पाउँदैनथे कि!

दुर्गम बस्तीमा जन्मेर आजको अवस्थासम्म आइपुग्दा संसारभर नेपाली लोकसंगीतको क्षेत्रमा परिचित हुन सफल गर्बुजाको आत्मकथा पठनिय छ। घोष्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तकको मूल्य ५ सय रुपैयाँ छ।   dns2467@gmail.com

प्रकाशित: १६ चैत्र २०७५ ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App