एलपि भानु शर्मा, प्राध्यापक पोखरा विश्वविद्यालय एवं जीवन विकास विशेषज्ञ
सुन्दरतालाई हामीले बृहत् रुपमा बुझ्नुपर्ने हुन्छ। सुन्दरता भन्ने बित्तिकै भौतिक रुपमा मात्र सुन्दर हुनु भन्ने बुझिन्छ तर यतिमा मात्रै सुन्दरताको परिभाषा राख्दा अपुरो हुन्छ। विश्वमा महिलाको सुन्दरतालाई बढी ग्राह्यता दिएको पाइन्छ। देश कालअनुसार सुन्दरताको मानक बनाएको पाइन्छ। दक्षिण एसियामा गहुँगोरी महिला, चीनमा सानो गोडा भएकी, अफ्रिकामा ठूलो ओठ भएकी एवं कुनै देशमा ज्यान ठूलो भएकी महिलालाई सुन्दर भएको मानिन्छ। महिलाको तुलनामा पुरुषको सुन्दरताको मापक उति सुनिँदैन।
मान्छेमा मात्र हैन सारा ब्रह्माण्डमा सुन्दरता लुकेको हुन्छ। हरेक कुरा सुन्दर छन्। चाहे जनावर होस् चाहे रुखपात या खोलानाला अथवा मानवनिर्मित कुरा नै किन नहोस् सुन्दरताले भरिपूर्ण छन्। हिस्रंक जनावर नै भए पनि प्रकृतिले उसलाई सुन्दर बनाएको हुन्छ।
जस्तो हेराई उस्तै संसार
एउटै कुरा कसैलाई राम्रो लाग्न सक्छ कसैलाई बेरुप लाग्न सक्छ यसको कारण के त ? आनी छोइङले गाएको ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ गीतले धेरै कुरा बोलेको छ। कुनै पनि कुरालाई हामीले जस्तो दृष्टिकोणबाट हेर्छौँ उस्तै पाउँछौँ। उदाहरणका लागि यदि हामी सहरमा बस्छौँ भने र कहिलेकाहीँ गाउँ गएको बेलामा नदी, हिमाल, हिउँ हेर्दा रमाइलो मान्न सक्छौँ तर जो सधैँ त्यहीँ बस्नुहुन्छ। उहाँहरुलाई त्यसको त्यति वास्ता नलाग्न सक्छ। एउटा बच्चालाई आकाश, पानी परेको रमाइलो लाग्न सक्छ तर जब ऊ ठूलो हुँदै जान्छ उसलाई वास्ता नलाग्न थाल्छ। तसर्थ हामीले कुनै कुरालाई सुन्दर हेर्न चाहन्छौँ भने हाम्रो हेराइ सुन्दर हुन जरुरी छ।
मानौँ बगैँचामा फूल फुलिरहेको छ। सामान्य मान्छेलाई फूल फुल्नु र नफुल्नुले केही प्रभाव पर्दैन तर कवि होस् उसका लागि त्यो अमूल्य अवसर हुनसक्छ कविताका लागि। चित्रकार होस् राम्रो चित्र बन्न सक्छ। हर चिजमा मान्छेको आफ्नो सोचाइअनुरुप हेरेको हुन्छ,। मान्छेपिच्छे सौन्दर्यताको देख्ने शक्ति फरक हुन्छ। त्यसकारण के भन्न सकिन्छ भने सौन्दर्य वस्तुमा होइन, हेराइमा हुन्छ।
जति सुखी उति सुन्दर
सुन्दर देखिन के गर्नुपर्छ ? उत्तर एकदमै सजिलो छ खुसी हुनुपर्छ। फेरि पनि प्रश्न उठ्न सक्छ खुसी हुन के गर्नुपर्छ ? यसको पनि उत्तर सजिलो छ सबै प्राणी तथा वनस्पतिलाई आफूमा समाहित गर्नुपर्छ। खुसी हुन केही गर्नुपर्दैन हर चिजमा रमाउन सिके पुग्छ।
हामी जति दरिद्र सोचाइ राख्छौँ उति कुरुप हुँदै जान्छौँ। यदि हामीमा सोचाइको विराटता छ भने कालो बादलमा पनि आदिम सौन्दर्य देख्न देख्छौँ। औंशीको रातमा पनि झलमल उज्यालो देख्न सक्छौँँ। आन्तरिक रुपमा हामी सुखी हुन जरुरी छ यसको अचुक उपाय भनेकै आफूतिर फर्कने कला हो त्यो भनेकै ध्यान हो। ध्यान गर्ने व्यक्तिहरु संसार नै उज्यालो देखेका हुन्छन्। जुन उज्यालो शब्दमा वर्णन गरेर सकिन्न। भौतिक रुपमा सौन्दर्यको परिभाषा फेरिँदै जान्छ जुन दिगो हुन्न तर आन्तरिक सौन्दर्यको परिभाषा फेरिन्न र दिगो पनि हुन्छ। कुनै पनि कुराको सौन्दर्य व्यक्तिसँग जोडियो भने मदनमोहन हुन्छ।
मन, वचन र कर्म एकै
हाम्रा ऋषिहरु जे सोच्थे, त्यही बोल्थे र व्यवहारमा पनि त्यही लागू गर्थे तसर्थ उनीहरुमा एकरुपता थियो। जो व्यक्तिमा मन, वचन र कर्म एक हुन्छ त्यो व्यक्ति वास्तविक सुन्दर हुन्छ। उदाहरणका लागि हामीले खप्तड बाबा र कवि शिरोमणि लेखनाथ पौड्याललाई लिन सक्छौँ। उहाँहरुको चेहराको उज्यालोपनता चम्किलोपन मन वचन र कर्म एक भएको फल हो। जसलाई हामी आध्यात्मिक सौन्दर्य भनेर भन्छौँ। यी तीन कुरा एक ठाउँमा आयो भने व्यक्ति अत्यन्तै सुन्दर देखिन्छ। एक ठाउँमा आएको अन्तरतत्वलाई चिन्न सक्ने नैे व्यक्ति हो। यो प्रकारको सौन्दर्य दिगो हुन्छ। आध्यात्मिक सौन्दर्य सर्वकालीन हुन्छ।
भौतिक सुन्दरता र आध्यात्मिक सुन्दरताको सम्बन्ध
मान्छेको स्वभाव नै राम्रो देखिन र बन्न चाहने प्राणी हो। हरेक मान्छेले भौतिक रुपमा र आत्मिक रुपमा राम्रो हुने चाहना उसको अन्तरहृदयमा राखेको हुन्छ। तर भौतिक रुपले एकदमै सुन्दर भएका मान्छेहरु उसको कारण लाखाँैले पीडा पाइरहेका हुन्छन्। उसले आत्मिक शान्ति न अरुलाई दिन सक्छ न त आफूले नै पाउन सक्छ। आत्मिक र भौतिक सुन्दर मानिस यो संसारमा निकै कम छन्। जब मनमा उज्यालोको दियो बल्छ बाहिरी रुपमा उसको सुन्दरता गौण बन्न जान्छ।
भौतिक सुन्दरताको र आध्यात्मिक सुन्दरताको सम्बन्ध गहिरो रहेको हुन्छ। भौतिक सुन्दरताले मात्रै कोही पनि व्यक्तिको सुन्दरता पूर्ण हुँदैन। आध्यात्मिक सौन्दर्यताले मात्रै पनि पूर्ण हुन सकिँदैन किनभने आजको युग विज्ञानको युग हो। खोज तथा आविष्कारको युगमा भौतिकसँगै आत्मिक सौन्दर्यलाई स्थान दिइयो भने व्यक्ति सर्वकालीन सुखी रहन्छ।
के ऋषिहरुको ध्यान भंग परिहरुले गरे ?
हामीले पौराणिक कथाहरूमा पढ्दा ऋषिहरुको ध्यान भंग परिहरुले गरेका थिए भनेर उल्लेख गरेको पाउँछौँ। यसको सत्यता के हो भनेर भन्नुभन्दा पनि के हुन सक्छ भनेर अनुमान लगाउन भने सक्छौँ। ईश्वरलाई हेर्ने तीनवटा आँखा छन्। सत्यम्, शिवम् र सुन्दरम्। हाम्रा ऋषिहरुले पनि ध्यान गर्दा यी तीन कुरालाई ध्यान दिएको पाउँछाैं। जो व्यक्ति साधनामा क्रियाशील भई जप, तप ध्यान गर्छ उसलाई केही पनि कुराले छुन सक्दैन तर जो त्यो प्रकारको व्योहोरा छैन ऊ जे भए पनि भड्किन्छ।
उर्वशी रम्बा भनेका त्यतिबेलाका परिहरु हुन्। उनीहरुको रुपको होइन उनीहरुभित्र रहेको आत्मिक सुन्दरताको व्याख्या गरिएको हो। परिले नै ध्यान भंग गरेको नभई केही लोभ लाग्दा कुराले ध्यान भंग गरेको हुन सक्छ। सबै ऋषिले सधैँ साधना गर्छन् भन्ने छैन। एकपटक ऋषि बनिसकेपछि अँध्यारोलाई चिरेर उज्यालो चिनिसकेपछि आफूभित्र बाह्य सुन्दरताले केही फरक पार्दैन।
(प्रजु पन्तसँग कुराकानीमा आधारित)
प्रकाशित: १९ फाल्गुन २०७५ ०७:१६ आइतबार