१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

ग्रामीण समाजको यथार्थ

लक्ष्मण ओझा
बेहोस भएर ओछ्यानमा लडेकी आमाको उपचारका लागि चिकित्सकलाई घर बोलाउन बालक स्वास्थ्यचौकी पुग्छ। र, चिकित्सकलाई घर गइदिन आग्रह गर्छ। तर, चिकित्सक भने उसको कुरा सुन्ने ‘मुड’मा हुँदैनन्। उनी आफ्नो बिहेका लागि लमीले देखाएको केटीको तस्बिर हेर्नमै मग्न हुन्छन्। र, बालकको आग्रह नकार्छन्। तर, बालक जसरी पनि चिकित्सकलाई घर लैजानै प्रयासमा हुन्छ। र, चिकित्सकसँग अनुनयविनय गर्न थाल्छ। अन्ततः चिकित्सक पाइला गनेर पारिश्रमिक लिने सर्तमा बालकको घर जान सहमत हुन्छन्। र, बालकसँग पाइला गन्दै उसको घरतर्फ लाग्छन्।  

बालकको घरमा पुगेपछि चिकित्सकले बिरामीको चेकजाँच गर्छन्। र, कमजोरीले बेहोश भएको भन्दै औषधी लेखिदिन्छन्। त्यसपछि बालक चिकित्सकले लेखिदिएको औषधी र स्लाइन किन्न बजार जान्छ। यता बालकका बुबा श्रीमतीलाई सन्चो नभएको भन्दै गाउँलेको सल्लाह अनुसार घरमा तीन जना धामी बोलाउँछन्। केही समयपछि धामीहरू छुट्टाछुट्टै काम्न थाल्छन्। पहिलोले ‘बोक्सी’, दोस्रोले ‘लागो’ र तेस्रोले ‘मसान’ लागेको भन्दै क्रमशः कालो बोका, रातो भाले र भेटी माग्छन्। धामीले भने अनुसार गरिन्छ। तर, बिरामीको होश खुल्दैन। त्यही क्रममा बालक पनि औषधी लिएर घर आइपुग्छ। 

धामीको उपचारले सन्चो नभएपछि पुनः चिकित्सकलाई नै बोलाइन्छ। चिकित्सकले बिरामीलाई स्लाइन दिएर औषधी खुवाइदिन्छन्। त्यसको केही समयपछि बिरामीको होस खुल्छ।  यो दृश्य हो, केही दिनअघि थापागाउँस्थित कुञ्ज थिएटरमा मञ्चन गरिएको नाटक ‘तिनीहरू कहाँ गए होलान्’को। नाटकमा अझै समाजमा धामीझाँक्रीप्रति अन्धविश्वास कायम भएको देखाइएको छ। यसर्थमा नाटक ग्रामीण समाजको यथार्थ तस्बिर मान्न सकिन्छ। नाटकमा बालक (फुस्रे) पात्रलाई मुख्य पात्रका रूपमा देखाइएको छ। 

नाटक लेखक विजयराज आचार्य आफ्नै गाउँको घटनालाई चित्रण गरेर नाटक लेखिएको बताउँछन्। ‘आफ्नै बाल्यकालको घटनालाई आधारित बनाएर नाटक लेखेको हुँ,’ उनले भने।  नाटकमा शुभकामना एकेडेमीका कक्षा ४ देखि ८ सम्मका विद्यार्थीले अभिनय गरेका थिए। जसमा बिगिन वञ्जाडे, संयोग थापा, मोनिका रोक्का, सञ्जु महर्जन, सुवर्णविक्रम नगरकोटी, आँचल आचार्य, सनिप कार्की, विवेचना आचार्य, प्रज्ञान बुढाथोकी, सिद्धार्थ भुसाल, उमंग नेपाल, दिलिस केसी, ऋतुल नेपाल, गीता मल्ल, मदन बस्नेत, सुशील बिक, श्याम कुँवर, सिद्धान्त शर्मा, प्रकृति थापा र प्रणय सुवेदी छन्। 

नाटक निर्देशन पुष्पराज अवस्थीले गरेका थिए। उनका अनुसार नाटक आइतबारदेखि तीन दिनसम्म मञ्चन गरिएको थियो। नाटकबारे दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया मिलेको उनले बताए। ‘दर्शकहरूले सार्क राष्ट्रमा पनि नाटक मञ्चन गर्न सुझाव दिनुभएको छ,’ उनले भने। उनले आगामी वर्ष उपत्यका बाहिरका जिल्लामा नाटक मञ्चन गर्ने योजना रहेको जानकारी दिए। उनका अनुसार नाटक उपत्यकाका करिब एक हजारभन्दा बढी जनाले अवलोकन गरेका थिए। नाटकको मञ्च व्यवस्थापन बिपुल थापा र प्रकाश परिचालन पब्लु बस्यालले गरेका थिए। यस्तै, नाटकमा स्वर तथा संगीत टेकेन्द्र नेपालीले दिएका थिए भने संगीत संयोजन महेश महर्जनले गरेका थिए।  

 

प्रकाशित: १८ फाल्गुन २०७५ ०३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App