उपत्यकालाई जीवन्त राख्न बनाइएका धेरैजसो ढुंगेधारा (ल्वहं हिति) मा पानी सुकेको दशक नाघ्यो। यसअघि सरकारी निकाय र स्थानीयस्तरबाट केही ढुंगेधारा ब्यूँताउने प्रयास र पहल पनि भए। तर, पानी खस्ने मुहान रसाउन छाडेपछि ढुंगेधाराले पानी पाएनन्। अन्ततः ढुंगेधाराको अस्तित्व नै गुम्न थाल्यो।
पानीको अपर्याप्तता कारण उपत्यकाका ३ सय ५० हाराहारी ढुंगेधारा सुकिसकेको तथ्यांक ललितपुर महानगरपालिकासँग छ। अहिले पानी आउने धारा गणना गर्ने हो भने एकाध मात्रै भेटिन्छन्। कुनै ताका उपत्यकामा हजारौं मानिसको तिर्खा मेटाएको ढुंगेधारा संस्कृतिलाई ब्यूँताउन स्थानीय चासोका साथ लागेका छन्। मुहान नभएपछि मेलम्चीको पानी ढुंगेधारामा जडान गर्ने माग उनीहरूको छ। कुनै बेला कलकल पानी बग्ने ढुंगेधारालाई पुनः प्राण दिन सरकारको तदारुकता छैन। उपत्यकाको मुख्य खानेपानी योजनाले समेत ढुंगेधारालाई समेटिएको छैन। ‘ढुंगेधारा उपत्यकाको मौलिकता हो, यसले यहाँको जीवन्तता बोकेको छ, यसलाई कुनै न कुनै माध्यमबाट फर्काउन सकियो भने हामीले गौरव गर्ने ठाउँ रहन्छ, विदेशीहरू पनि यसलाई अनौंठो कल्चर मान्छन्,’ ललितपुर ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकारले भने, ‘करिब एक दशकअघिसम्म उपत्यकाका अधिकांश ढुंगेधारामा पानी आउँथ्यो। अहिले धेरैजसो ढुंगेधारा सुकिसके, यसलाई फर्काउन अब मुस्किल छ।’ उनका अनुसार पहिले–पहिले ढुंगेधारामा पानी मिसिने मूल स्रोत सुकिसकेका छन्। कुनै नयाँ विकल्प नअपनाएसम्म ढुंगेधारामा पानी नखस्ने निश्चित छ। ‘काठमाडौंमा मेलम्ची आउँदैछ, यही पानीलाई ढुंगेधारामा जडान गरियो भने दुईटा फाइदा पुग्छन्, एकातिर संस्कृति बच्ने अर्कातिर एउटै ठाउँमा जम्मा भएर समुदायका धेरै मानिसले पानी भर्न पाउने जीवन्तता,’ अध्यक्ष ताम्रकारले भने।
पानीको अपर्याप्तता कारण उपत्यकाका ३ सय ५० हाराहारी ढुंगेधारा सुकिसकेको तथ्यांक ललितपुर महानगरपालिकासँग छ। अहिले पानी आउने धारा गणना गर्ने हो भने एकाध मात्रै भेटिन्छन्।
त्यसो त राजकुलोसँग जोडिएका ढुंगेधारा पनि उहिल्यै सुकिसकेका छन्। पहिले–पहिले ललितपुर पाटनको सुन्धारा क्षेत्रमा रहेका ढुंगेधारा र काठमाडौंका सुनधाराहरूमा पानी रसाउने मुख्य स्रोत नै राजकुलो थियो। तर, अहिले राजकुलो बग्ने ‘डोब’ मेटिएको छ। जतिसुकै वैज्ञानिक कारण खोजे पनि उपत्यकाभित्रका ढुंगेधारामा पानी बगाउन मेलम्ची नै उपयुक्त हुने सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठको भनाइ छ। ‘यसअघि आयोजनासँग छलफल भएको त थियो। तर, यसबारे योजनाले खासै चासो दिएको छैन,’ उनले भने, ‘कतिपय भित्री गल्लीमा आयोजनाले कमसल पाइप ओछ्याएको छ। यसले पछि समस्या पार्ने देखिन्छ, बरु भित्री गल्लीमा पाइप ओछ्याउन ढुंगेधारालाई समेटेको र गुणस्तरीय पाइप जडान गरेको भए राम्रो हुनेथियो।’ उनका अनुसार उपत्यका तीन जिल्लामा रहेका सबैजसो ढुंगेधारामा मेलम्ची पानी जडान गर्ने हो भने त्यसले मौलिकता पाउँछ।
स्थानीयले ढुंगेधारामा पानी खस्ने गरी योजना अघि सार्न माग गरे पनि आयोजना कार्यान्वयन निर्देशनालयले ढुंगेधारामा पानी खसाल्ने कुनै योजना बनाएको छैन। ढुंगेधारामा पानी खसाल्दा योजना प्रक्रिया कठिन हुने र पाइप फुट्ने सम्भावना रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीले बताए। उनले सामुदायिक धारा र ढुंगेधारामा पानी जडान गर्ने सम्बन्धमा कुनै योजना नबनाइएको जानकारी दिए। ‘ढुंगेधारामा पानी रसाउने गरी त्यस्तो कुनै योजना बनाएका छैनौं,’ उनले भने, ‘पानी आइसकेपछि पाइप ओछ्याइएको भित्री गल्लीमा स्थानीयले सल्लाह गरेर ढुंगेधारामा जडान गर्न सक्नेछन्।’ उनका अनुसार धेरैजसो ढुंगेधारा भित्री गल्लीमा पर्ने भएकाले त्यहाँ पाइन खन्न अप्ठेरो छ। कहीँ–कहीँ मुख्य पाइपलाइनको छेवैमा रहेका ढुंगेधारामा भने स्वभाविकरूपमा पानी खस्ने जनाइएको छ।
संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार दशकौं बर्षअघि उपत्यकामा पानीको मूल स्रोत भनेको राजकुलो नै थियो। उक्त राजकूलोलाई ढुंगेधारामा जडान गरिएको थियो। जितामित्र मल्लको पालामा नगरकोटको महादेव पोखरीदेखि भक्तपुर दरबारभित्र राजकुलोको निर्माण भएको इतिहास छ। ‘ललितपुरको लेलेबाट पाटनमा र बुढानीलकण्ठबाट काठमाडौंका पोखरी र ढुंगेधारामा पानी मिसाइएको थियो, राजकूलो लोप भएसँगै पोखरी र ढुंगेधारा पनि सुक्ने अवस्थामा पुगे,’ उनले भने।
प्रकाशित: ६ फाल्गुन २०७५ ०६:०४ सोमबार