१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

शशि शाहका घोडाहरू

रङहरूको आहालमा 
निथ्रुक्क रूझेर एउटा सपना
रङहरूसँगै कुरा गर्छन्
शशि शाह र उनका घोडाहरू ,

मेरा घोडाहरू–
मान्छेका अस्तित्व र अधिकारका लागि
निर्माण गरेको हुँ मैले,
प्रेमका व्याकरणहरूमा
यसले वेलगाम वेगमार्न सक्छ,
शान्तिका पानाहरूमा
यसले अत्याधिक करुणा बाँड्न सक्छ,
हिंसाको राजधानीहरूमा  यसले
हिंसा कै विरुद्ध प्रतिहिंसाको 
हुरी ल्याई दिन सक्छ,
मेरा घोडाहरू
स्वप्न सामथ्र्यका सूर्य किरणहरू हुन्
नछुनु, ख्याल गरेर पटक्कै नछुनु
बिर्सनै नसक्ने गरी पोल्छ यसले,
एउटा हात क्यानभासको आकाशमा
र 
अर्काे हात मनको लामो सफरमा
सभ्यताले
युगौं देखि पर्खिरहेको त्यो पदचाप
कतै सूचना जस्तो
कतै त्रास जस्तो
कतै आभाष जस्तो
हृदयको बोलीमा
आकाशले झैं बोल्छन्–शशि शाह,

स्तब्ध सभ्यताको किनारामा
अलिकति आवाज बास बस्न नसक्ने कान

समुद्र जस्तै हृदय बोकेर
समय रङहरूको आहाल बसेको बेला

बैजनी रङ चढेको आकाशलाई 
सोधें मैले– 
कहाँ छन् शशि शाह !
कहाँ छन् उनका अवतार जस्तै घोडाहरू ?

बिस्तारै 
फूलका पत्रहरू जस्तै नरम स्वरले
सिमानाबाट फर्किएका सिपाहीहरूका 
देश प्रेम र
उनिहरूका कथाका पानाहरूलाई सोधें मैले–
खै शशि शाहका अक्षरहरू !
राष्ट्रिय झण्डाका आँखाजस्तै भएका
चन्द्र सूर्यलाई सोधें मैले–
खै शशि शाहका तुलिकाघातका 
उडान र व्यप्तीहरू ?

एकहुल दार्शनिक चेतले
चराहरू झैं कानेखुशी गरेको
नयाँ बिहानीहरूले सुनेपछि–
रङहरूको आहालमा
निथ्रुक्क रूझेर
रङहरूसँगैको ईन्द्रेणी मनले
मानवमुक्तिका कुराहरू गर्छन्
शशि शाह र शशि शाहका घोडाहरू,

बिस्तारै घाम लाग्छ र समुद्र बढ्छ
उसै गरी पानी पर्छ र समुद्र घट्छ
शशि शाहका घोडाहरू
शशि शाहसँगै
यसरी नै जन्मन्छन् र अमर रहन्छन्
रङ र रेखाहरूका सपनाहरूमा ।

प्रकाशित: १२ माघ २०७५ ०५:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App