८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

चितवन काव्य यात्रा

गाउँघरतिर साना बाबु नानीका आमा बुवालाई इष्टमित्रले सोध्छन्, बोल्न सुरु गर्‍यो ? मा मा, बा बा भन्छ ? हातखुट्टाले हिँड्ने भैसक्यो होला है अब त ? इत्यादि ...सन्तान जन्मेपछिको आश हुन्छ आवाज  र चालको। बच्चा पाइताला टेकाउँछ धर्तीमा र सार्न थाल्छ पाइला। यसरी सुरु भएको यात्रा चलिरहन्छ निरन्तर धर्तीबाट बिदा नलिउन्जेसम्म। जिन्दगी भन्नु नै यात्रा त रैछ !  

यसरी यात्रा गर्ने दौरानमा पुस पहिलो साता घलेगाउँ, राइनासकोट हुँदै रारा ताल घुमियो। लगत्तै  संयोग जुर्‍यो ‘चितवन काव्य यात्रा’मा मिसिन। सौराहामा हात्ती महोत्सवको उद्घाटन हुने दिन। महोत्सवमा काठमाडांैबाट लेखकहरूको नेतृत्व गर्ने संस्था थियो कन्सेप्ट नेपाल। ११ पुसमा सौराहाका लागि कलंकीमा पर्यटक बसको ढोकामा लामबध्द हुन्छन् लेखकहरु। निकै सजगताका साथ अघिल्लो राती मात्रै चयन गरिएका टोलीप्रमुख थिए मृदुभाषी मिलनसार देवेन्द्र बस्न्यात। जुन कुराको राज खुल्छ बस चढेपछि ।

पाँच घन्टाको यात्रा पछि पुगियो सौराहा। बाघमारा चौरस्थित स्टेजमा चलिरहेको थियो साँस्कृतिक कार्यक्रम। थारु पहिरनमा सजिएका महिलाले छुट्टै आकर्षण बढाएका थिए १५ औं हात्ती महोत्सवको। लाग्थ्यो सौराहा दुलहीझैं बनेको छ। क्षणभरमै मञ्चमा देखापर्छन् ११ वर्षीय बालक र भन्छन् ट्रयाक बजाइदिनू है ! पिन्स सिलवालले आधुनिक गीत गाएर भरपूर मनोरञ्जन दिलाए। बेजोड थियो उनको प्रस्तुति। त्यस्तै अर्का मिठो स्वरका धनी थिए समृध्दि तिमल्सिना।

रिसेप्सनमा नाम टिपाउन जान समेत लजाउने कवि अभय श्रेष्ठको नृत्यले सबैलाई चकित तुल्यायो। कसैले अनुमानसम्म गरेका थिएनन् कि उनी त्यति राम्रो नाच्न जान्दछन् भनेर। पसिनाले निथ्रुक्क भिजिसकेका थिए उनी। अनि त्यहाँ कवि भूपिनलाई अति नै मन पर्ने गीत सालको पात टपरी हुनी.....दोहर्‍याई तेहेर्‍याई बजिरह्यो। 

यस्ता महोत्सव बालबालिकाा लागि प्लेटफर्म हुन्। आशा र प्रेरणाका अाँगन हुन्। यस्तै अवसरले निखारिँदै जानेछन् उनीहरू। र, फैलाउने छन् सौराहाको आभा स्वर, संगीत र शब्दका माध्यमले। महोत्सवले स्थानीय नवप्रतिभालाई निम्त्याउनु भनेकै उनीहरुलाई भोलिका दिनको जिम्मेवारी सुम्पिनु पनि हो। त्यस क्षेत्रको पर्यटन प्रर्वधनका लागि दिइएको चुले निम्तो पनि हो। साथै उनीहरुको प्रतिभाको कदर पनि।

प्राकृतिक, धार्मिक, ऐतिहासिक,साँस्कृतिक सम्पूर्ण किसिमले धनी छ नेपाल। नेपालको अबको समृध्दि भन्नु नै पर्यटन हो। अहिलेसम्म बढीभन्दा बढी लगाव अनि लगानी नीजि क्षेत्रकै रहेको छ। अब राज्य सक्रिय ढंगले लाग्नु पर्छ। विश्वभर पर्यटनलाई एउटा उद्योगका रुपमा हेरिन थालिएको छ। यसबाट आय आर्जनका साथै प्रेम सद्भाव र भाइचाराको सम्बन्ध समेत बढ्दै जान्छ। व्यक्तिगत हिसावले पनि ठाउँठाउँमा भ्रमण गरेर ज्ञान सीप बटुल्दै जाँदा व्यक्तित्व निखारिँँदै जान्छ। अरुको उन्नति र प्रगतिले केही कुरा सिकाउँछ। नशानशामा नौलो पारामा रक्तसंचार हुन्छ। साथै आशा पलाउँछ। मनभरी उत्सुकताले डेरा जमाउँछ।

कवि, लेखक र कलाकारले आआफ्ना सिर्जनामा बोक्दै रहे फिजिन्छ सन्देश। ताजमहल जति सुन्दर छ त्योभन्दा बढी नै सुन्दरताको व्याख्या गरे लेखकहरूले। कुनै तानाशाहले सम्पत्तिको साहारा लिएर गरिवको पे्रमको मजाक उडाएको बिचार व्यक्त गरे शायर लुधियानबीले आफ्नो कवितामा। त्यो कविताले चारैतिर सनसनी मच्चायो र झन बढी प्रचार हुन गयो ताजमहलको। शायद यी सबै कुरा मनन गरेरै होला कवि एवम् आख्यानकार सुमन धिमिरेले महोत्सवमा यसपटक लेखकलाई समेत निम्त्याएको !  

बाघमारा सामुदायिक वनको चौरको स्वागत गेट छेउको बायापट्टी देखिन्थे स्थानीय परिकार र फलफूलले सजिएका पसल। थारु समुदायको विशेष परिकार घोगीले राम्रै बजार पाएको थियो। त्यहाँबाट केही पर राप्ती नदीको छेउछाउतिर भीड थियो फोटो खिच्नेको। राप्ती भित्रै देखिन्थ्यो तातेर लाललाल भएको बाटुलो फलामको डल्लो जस्तो आकृति। माथि आकाशतिर फर्केर हेर्दा देखिन्थ्यो उस्तै अर्को डल्लो ओझेल पर्दै गएको। सौराहा क्षेत्रमा सूर्यास्तको पलले भित्रैबाट तानेर ल्याउँछ सुन्दरता अवलोकन गर्न र आनन्दको प्रत्याभूति गराउन। साँझपख देखाइएको कलाकारको नृत्य निकै रोचक थियो। सौराहाका होटलमा अतिथिलाई स्वागत गर्ने सुन्दर शैली हो स्थानीय नृत्य। दश वर्ष अघि जाँदा पनि यसरी नै मनोरञ्जन लिएको थिएँ।

स्थानीय कलाकारको नृत्य पछाडी सुरु हुन्छ कवि कलाकारको नृत्य। रिसेप्सनमा नाम टिपाउन जान समेत लाजाउने कवि अभय श्रेष्ठको नृत्यले सबैलाई आश्चर्यचकित तुल्यायो। कसैले अनुमानसम्म गरेका थिएनन् कि उनी कुशलतापूर्वक त्यति राम्रो नाच्न जान्दछन् भनेर। पसिनाले निथ्रुक्क भिजिसकेका थिए उनी। कवि भूपिनलाई अति नै मन पर्ने गीत सालको पात टपरी हुनी.....दोहर्‍याई तेहेर्‍र्या बजाइरहेका थिए।  एल बी क्षेत्री, भूपिन, प्रकट पगेनी शिवदेखि गणेश राई, आरके अदीप्त गिरि, सुरेन्द्र राना, दीपेन्द्र सिंह थापा, प्रजु पन्त, सबिता खड्का, सुरेन्द्र अस्तफल, धनराज गिरिहरुकै थियो त्यो रातको सुन्दर पल।  समिक्षक उदय अधिकारी पत्रकार मित्र कञ्चन अधिकारी, सञ्दीप पौडेल  र म जस्ता हेरेर आनन्द लिँदैथियौं।  

दोस्रो दिन अर्थात १२ पुस। बिहान सूर्यका किरणसँगे चौरमा देखापर्छन् हात्तीहरु। लेखकहरु चारचार जनाको समूह बनाएर हात्तीमा सवार भए चितवन राष्ट्रिय निकुञ्ज घुम्न। प्रायः सबै तयारी अवस्थामा थिए जंगलका दृश्य क्यामेरामा कैद गर्न। बफादारीपूर्वक माउतेको आज्ञापालना गर्छ हात्तीले। लाग्छ एक जंगली जनावर आफ्नो बन्न सक्छ तर कुन्नि किन हो हिजोआज मान्छे स्वयम् मान्छेको बन्न सक्दैन। बीच जंगलमा घाम तापि रहेको बिमारी जस्तो लाग्ने मृग। छेउमै थियो ढाडमा घाउ टल्काइरहेको उसको बच्चा। कयौंको मनमा सोच पलायो रे साथमा भएको भए र मिल्ने भए घाउमा मलम लगाइदिन हुन्थ्यो। मनभित्र त्यो सोचको प्रवाह हुनु नै असली धर्म हो। धार्मिक पथमा लम्किनु हो। बाँकी धर्म भन्नु त पादरी, पुजारी, लामाआदिको रुचि र स्वार्थमा परिभाषित हुँदै आइरहेकै छन।

केटाकेटीलाई निकै नै मन पर्ने जनावर–हात्ती। सौराहामा हात्तीको संरक्षण सम्वर्धन र प्रचारप्रसार अझ बढी व्यापक गर्नसके बालबालिकाले आमा बुवालाई सौराहा घुम्न बाध्य तुल्याउने छन्। आन्तरिक पर्यटकले मात्रै पनि पुग्छ सौराहालाई। मान्छेको भन्दा दोब्बर मानिन्छ हात्तीको आयु। प्राचीन समयमा राजा महाराजाले युध्दमा हात्तीको प्रयोग गर्थे। हिजोआज आर्थिक उन्नतिको राम्रो माध्यम बनेका छन्। तर पनि घोडा पाले जस्तो व्यक्तिगत सौखका लागि सबैले पाल्न सक्दैनन्। आहारा नै पुर्‍याउन गाह्रो छ। माउतेका अनुसार दिनमा ३० किलो घान मात्रै चाहिन्छ रे उसलाई खुवाउन।    

दिउँसो १ बजेबाट सुरु हुन्छ कविता वाचन। सुमन घिमिरेको सभापतित्वमा मेयर नारायण वनको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा चितौने कविदेखि काठमाडौबाट पुगेकाहरूले क्रमैसँग सुनाए रचनाहरु। वाचन गरिएका रचनालाई पुस्तकका रुपमा प्रकासित गर्ने कार्यक्रमका प्रमुख अतिथि मेयर वनको प्रतिवध्दताले झल्किन्थ्यो उनीभित्रको काव्यिक हृदय।

दिन ढल्किँदै गर्दा चौरमा माथिदेखि तलसम्म एकै पंक्तिमा केरा, सुन्तला, गाजर, फर्सी, उखु जस्ता फलफूलले भरिभराउ बेन्च देखिन्छन्। लगत्तै पश्चिमपट्टीबाट देखापर्छन लस्करै आइरहेका हात्तीहरु। ५८ वटा हात्ती लाइनमा उभिन्छन् माउतेको आदेश अनुसार। एउटा हात्तीलाई केरा खुवाएर कार्यक्रम उद्घाटन गरिन्छ। तत्पश्चात सुरु गर्छन् सबैले आहारा खान। जसको नामाकरण गरिएको थियो– हात्ती पिकनिक। आन्तरिक र बाह्य पर्यटन प्रर्वधन गर्नुका साथै हात्तीको संरक्षण र महत्वका बारेमा जानकारी दिन महोत्सव मनाउन थालिएको होटल संध चितवनका अध्यक्ष समेत रहेका कवि सुमन घिमिरेले बताए।  

पाँचदिनसम्म चलेको महोत्सवमा अन्य आकर्षणका कार्यक्रम थिए : हात्ती फास्ट प्रतियोगिता, छावाहरु बीच फुटवल खेल, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पेन्टिङ र हात्ती पोलो। महोत्सवका प्रत्येक दिन आफैमा जिन्दगीका सुन्दर अनि प्रेमिल पल पनि हुन। जनावरप्रतिको स्नेह र प्रेम बढाउने माध्यम पनि हुन् यस्ता कार्यक्रम। जुन सन्देश हामीले चौतर्फी फैलाउन सक्यौ भने ओइरिने छन् पर्यटकहरु। यति धेरै हात्ती एउटै थलामा देख्न पाउनु पनि सौभाग्यकै कुरो हो।

प्रकाशित: २१ पुस २०७५ ०५:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App