७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

भिभिआइपीको विद्युतीय कार मोह, रहर कि आवश्यकता ?

न डिजेल–पेट्रोल भर्न नै लाइनमा बस्नुपर्ने न त कुनै वायु प्रदुषण हुने। यस्ता झमेलाबाट दिक्क सवारीसाधनका सौखिनहरूको ध्यान यतिबेला विद्युतीय सवारीसाधनले तानिरहेको छ। एक दशक अघिसम्म काठमाडौं उपत्यका सडकमा छिटफुट रूपमा मात्रै केही विद्युतीय स्कुटर मात्रै देखिन्थ्यो। तर, अहिले समय फेरिएको छ। अहिले काठमाडौं उपत्यकामा मात्रै होइन, उपत्यका बाहिरका पनि विद्युतीय सवारीसाधन चल्न थालेका छन्।

विद्युतीय सवारी भनेर नाक खुम्चाउनेहरू पनि अहिले विद्युतीय सवारीतर्फ आकर्षित हुन थालेका छन्। अहिले सर्वसाधारण मात्रै होइनन्, देशका अतिविशिष्ट व्यक्ति –भिभिआइपी) पनि विद्युतीय सवारीमा आकर्षित छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युतीय कार चढिरहेकी छन्। यस्तै, ऊर्जामन्त्री वर्षमान पुन, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडल लगायतको रोजाईमा पनि विद्युतीय कार परिसकेको छ। भिआइपी र भिभिआइपीहरूको मोहमा विद्युतीय सवारीसाधन परे पनि  अझैसम्म सार्वजनिक सवारीसाधनको रूपमा  सर्वसाधारणले विद्युतीय सवारी उपयोग गर्न भने पाएका छैनन्।

राष्ट्रिय योजना आयोगमा स्वर्णिम वाग्ले उपाध्यक्ष हुँदा पहिलो पटक सरकारी कार्यालयको लागि बिवाइडीको इसिक्स–४०० मोडलको विद्युतीय कार खरिद गरिएको थियो। त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छोटो दुरीमा प्रयोग गर्नको लागि भन्दै बिवाइडी कम्पनीकै विद्युतीय कार चढिरहेकी छन्। उनी मात्रै होइनन्, ऊर्जामन्त्री वर्षमान पुनले पनि बिवाइडी कम्पनीले उत्पादन गरेको इसिक्स मोडलको विद्युतीय कार चढ्न थालिसकेका छन्। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेले पनि पछिल्लो समय विद्युतीय कार उपयोग गर्न थालिसकेका छन्। 

अहिले सर्वसाधारण मात्रै होइनन्, देशका अतिविशिष्ट व्यक्ति पनि विद्युतीय सवारीमा आकर्षित छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युतीय कार चढिरहेकी छन्। यस्तै, ऊर्जामन्त्री वर्षमान पुन, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडल लगायतको रोजाईमा पनि विद्युतीय कार परिसकेको छ।

वातावरणविद् तथा यातायात अभियन्ता भूषण तुलाधार विशिष्ट व्यक्तिले विद्युतीय सवारीसाधन उपयोग गर्नुलाई सकारात्मक ढंगले लिनुपर्ने बताउँछन्। ‘विद्युतीय गाडी नेतृत्व वर्गले  प्रयोग गर्नु राम्रो नै हो,’ उनले भने, ‘नेतृत्ववर्गले राम्रो कामको सुरुवात गरे अरुले पनि सिक्ने अवसर पाउँछन्। त्यसैले नेतृत्व तहमा कार्यरत विशिष्ट व्यक्तिले विद्युतीय सवारी प्रवद्र्धनमा जुट्नु सुखद् पक्ष हो।’ उनका अनुसार भिआइपी÷भिभिआइपीले विद्युतीय सवारीसाधन चढेसँगै जनमानसमा सकारात्मक सन्देश जाने गर्छ।

अभियन्ता तुलाधारले विद्युतीय सवारीसाधनको प्रयोगले अर्थतन्त्रमा समेत सकारात्मक सुधार आउने दाबी गर्छन्। ‘पेट्रोलियम पदार्थको आयातले अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको छ,’ उनले भने, ‘विद्युतीय सवारीसाधनलाई प्रवद्र्धन गर्न सके मात्रै वातावरण र अर्थतन्त्र दुवैका लागि हितकर छ।’ उनका अनुसार विद्युतीय गाडीको सुरुको लागत धेरै भए पनि दीर्घकालीन रूपमा विद्युतीय गाडीले सस्तो नै पर्छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसी सिटौलाले भिभिआइपीले मात्रै  विद्युीय सवारीसाधन चढेर विद्युतीय सवारीसाधनको प्रवद्र्धन नहुने बताउँछन्। ‘उच्च पदस्थ तथा विशिष्ट व्यक्तिले विद्युतीय सवारी चढेर मात्रै विद्युतीय सवारीसाधनको प्रवद्र्धन हुँदैन,’ उनले भने, ‘उच्च पदस्थ व्यक्तिले विद्युतीय सवारीसाधनको लागि  आवश्यक पर्ने नीति तथा ऐन बनाएर सहज वातावरण बनाए मात्रै विद्युतीय सवारीसाधनको उचित ढंगले प्रवद्र्धन हुन्थ्यो।’

प्रदेश ३ सरकारले चालू आवमा ल्याएको नीति तथा कार्यक्रममा आगामी १० वर्षमा अर्थात्  २०८५ सालसम्म काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, हेटौँडा, बनेपा, धुलिखेल, पनौतीलगायत सहरमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा प्रतिबन्ध लगाएर विद्युतीय सवारीसाधन चलाउने घोषणा गरेको छ। सोही नीति कार्यक्रमअन्तर्गत प्रदेश ३का मुख्यमन्त्री पौडेलले पनि बिवाइडी कम्पनीको विद्युतीय कार खरिद गरेर चढिरहेका छन्।

इलेक्ट्रिक भेहिकल एसोसिएसन अफ नेपालका अध्यक्ष उमेश श्रेष्ठ देशका गन्यमान्य व्यक्तिले विद्युतीय सवारीसाधन चढ्नुलाई सकारात्मक ढंगले लिनुपर्ने बताउँछन्। ‘विद्युतीय सवारीसाधनको युग सुरु भइसकेको छ,’ उनले भने, ‘विद्युतीय सवारीसाधनको लागत मूल्य धेरै नै पर्छ। तर, अपरेसन खर्च अत्यन्तै कम भएकाले दीर्घकालीनरूपमा सस्तो नै पर्न जान्छ।’

अध्यक्ष श्रेष्ठले सरकार आफैंले तीन सय विद्युतीय बस खरिद गर्नुको सट्टा सार्वजनिक निजी साझेदारीअन्तर्गत धेरै सवारीसाधन भित्र्याउनु उपयुक्त हुने बताउँछन्। ‘सरकार आफैंले तीन सय विद्युतीय गाडी भित्र्याउने पैसाले सार्वजनिक निजी साझेदारीमार्फत् १२ सयभन्दा धेरै विद्युतीय बस भित्र्याउन सकिन्थ्यो। त्यसैले सोतर्फ सरकारको ध्यान जानु जरुरी भइसक्यो।’

अभियन्ता तुलाधारका अनुसार सरकारले विद्युतीय सवारी प्रवद्र्धनको लागि चार्जिङ स्टेसन र डिपो निर्माण गर्न आवश्यक भइसकेको बताउँछन्। ‘पेट्रोल पम्प जताततै  छन्,’ उनले भने, ‘पेट्रोल पम्पजस्तै नभए पनि निश्चित स्थानमा भने चार्जिङ स्टेसन आवश्यक भइसक्यो।’

इलेक्ट्रिक भेहिकल एसोसिएसन अफ नेपालका अनुसार नेपालमा दुई हजारभन्दा धेरै विद्युतीय स्कुटर रहेका छन्। त्यस्तै गरी करिव चार सय विद्युतीय कार सञ्चालनमा आएका छन्। नेपालमा ८० हजारदेखि तीन लाख रूपैयाँ पर्ने विद्युतीय स्कुटर बजारमा उपलब्ध छन्। नेपालमा न्यूनतम २१ लाखदेखि एक करोड रूपैयाँसम्मका विद्युतीय कार बजारमा उपलब्ध छन्।

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा) सचिव अनुप बरालले विद्युतीय सवारीतर्फ भिभिआइपीदेखि सर्वसाधारणको रोजाइमा पर्दै आएको बताउँछन्। ‘विगतका वर्षमा नाडा अटो सोमा विद्युतीय गाडी पर्दैनथे। तर, अहिले जमना फेरिसक्यो,’ उनले भने, ‘अहिले त विद्युतीय सवारीसाधन नै धेरैका लागि आकर्षणको केन्द्रविन्दु बनेको छ।’ उनका अनुसार अधिकांश कम्पनीले यस वर्ष विद्युतीय सवारीसाधन भित्र्याएर बेचविखन गर्दै आइरहेका छन्। ‘संसारभर नै विद्युतीय सवारीसाधनको उत्पादन र बिक्री वितरण तीव्र गतिमा बढेको छ,’ उनले भने, ‘नेपालमा पनि विद्युतीय गाडीको प्रवाह नदेखिने कुरै भएन।’ नेपालमा रहेका आधिकारिक डिलर अटोमोबाइल्स कम्पनीहरूले नेपाली प्रयोगकर्तालाई सुहाउँदो विद्युतीय गाडी आयात गर्न थालेका छन्।

यस्ता कार उपलब्ध छन् बजारमा
एड्भान्स अटोमोबाइल प्रालिले न्यु रेनल्ट कुइड विद्युतीय कार बजारमा ल्याएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यसै वर्षदेखि ‘आयोनिक इभी’ इलेक्ट्रिक गाडी बजारमा ल्याएर बिक्री वितरण गर्दै आइरहेको छ। सोही कम्पनीले हुन्डाईको आइओएनआइक्यु इलेक्ट्रिक गाडी पनि बजारमा बेचविखन गर्दै आइरहेको छ। त्यस्तै गरी सिप्रदी ट्रेडिङ प्रालीले टिगोर इभी कार बजारमा ल्याएर बिक्री वितरण गर्दै आइरहेको छ। टाटा मोर्टसले उत्पादन गरेको टिगोर इभी पहिलो विद्युतीय कार हो। अग्नि इन्कर्पोरेटले नेपालमा महिन्द्राको इटुओ विद्युतीय कार नेपालमा भित्र्याएको हो। यो कार उकालो तथा आरोलोमा समेत सहजै गुडाउन सकिने कम्पनीले जनाएको छ।

कोरियाली अटो कम्पनीले किया सोल इभी  विद्युतीय कार उत्पादन गरेको हो। उक्त विद्युतीय कार नेपालमा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले केही वर्ष अघिदेखि बजारमा भित्र्याएको हो। चिनियाँ कम्पनी बिवाइडीले उत्पादन गरेको इसिक्स मोडलको विद्युतीय कार निकै लोकप्रिय देखिएको छ। नेपालका सरकारी निकायले धमाधम बिवाइडीले उत्पादन गरेका विद्युतीय कार खरिद गरेसँगै यसको क्रेज बढेको छ। इसिक्स मोडेलको विद्युतीय कार फुल चार्ज गरेपछि चार सय किलोमिटर दुरीसम्म गुडाउन सकिनेछ। दुई घण्टामा नै चार्ज गर्ने क्षमता रहेको छ। उक्त कारको बजार मूल्य ६० लाख रूपैयाँ पर्छ।

प्रकाशित: २० पुस २०७५ ०३:४८ शुक्रबार

भिभिआइपी विद्युतीय_कार