१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

थरीथरीका ब्रेक फास्ट

हरेक समुदाय तथा क्षेत्रमा बिहानीको खाजा (ब्रेक फास्ट) खाने प्रचलन छ। यद्यपि, वर्ग, जाति, भूगोल अनुसार परिकार फरक–फरक हुन्छन्। अधिकांश नेपालीले बिहानको खाजाका रूपमा चिया, दूध, हनी लेमन, रोटी तरकारी, कर्नफ्लेक्स, ओट्स, ब्रेड, अन्डा, चना लगायतका परिकार खाने गर्छन्।

ब्रेक फास्ट खाने तरिका छुट्टै हुने बताउँछन्, सेफ रामेश्वर खत्री। उनले सेफ भएर काम गर्न थालेकोे २६ वर्षभन्दा बढी भइसक्यो। उनले नेपाली, इन्डियन फुड (पञ्जाबी, साउथ इन्डियन, नर्थ इन्डियन), कन्टिनेन्टल लगायतका खानाका परिकारको मुख्य सेफ भएर काम गर्छन्। ‘यहि खानुपर्छ भन्ने छैन, घरमा उपलब्ध जे छ त्यहि बे्रक फास्टका रूपमा खान सकिन्छ,’ उनले भने।

१५ औँ शताब्दिमा बिहानीको खाजालाई ‘मनिङ मिल’ भनिन्थ्यो। तर, पछि यसलाई ‘ब्रेक फास्ट’ भन्न थालियो। ब्रेक फास्ट भन्नाले ब्रेक द फास्टिङ, अर्थात् भोकलाई तोड्नु। रातभरि भोकै बसी खाइने पहिलो खान्की भएकाले पनि बिहानीको खाजालाई ‘ब्रेक फास्ट’ भनिएको हो।

सहर बजारमा रोजीरोजी बे्रक फास्टका परिकारहरू पाइने हुनाले स्वास्थ्यको ख्याल गरी खानुपर्ने उनी बताउँछन्। चिसो याममा भने बिहानको खान्कीको रूपमा लागि तातो खाने कुरा खान उपयुक्त मनिने उनी बताउँछन्।

केही सहरिया ब्रेकफास्टका परिकारहरू
स्वाद र इच्छा अनुसार थरीथरीका बे्रक फास्टका परिकारहरू खान सकिन्छ। साँझको डिनर नखाए पनि ब्रेकफास्ट अनिवार्य रूपमा खानुपर्ने चिकित्सक बताउँछन्। चिल्लो, मसला र पिरो कम हुने खानाका परिकारहरू ब्रेकफास्टको रूपमा खाइने गरेको खत्री बताउँछन्।

बेकरी आइटम
ब्रेक फास्टको रूपमा बेकरी आइटमलाई निकै रुचाइएको पाइन्छ। सबै उमेर समूहका व्यक्ति बेकरी परिकार (ब्रेड, क्रिम रोल, पफ, पाउरोटी, मफिन, दुनोट) खान रुचाउने व्यापारी सनिता श्रेष्ठ बताउँछिन्। उनी चिया र बेकरी आइटमका परिकार बेच्छिन्। उनी भन्छिन्, ‘बिहानको समयमा बेकरी आइटमहरूको व्यापार निकै हुने गर्छ, बिहानै केटाकेटीहरू दुनोट र पाउरोटी किन्न आउँछन्।’ चिया र दूधसँग खान मिल्ने बेकरी आइटम बिहानको खानाका रूपमा रुचाइएको उनको भनाइ छ।

इन्डियन ब्रेक फास्ट
इन्डियन फुडका परिकारहरूमध्ये परौठा, पाउ भाजी, छोले भटुरे, कचौडी आलु, पुरी तरकारी, पकौडी, पोहा (चिउरा फ्राइ) आदि खानाका परिकारलाई ब्रेक फास्टको रूपमा खाइने सेफ खत्रीले बताए।

मसला र चिल्लो खान रुचाउनेहरूले यी परिकार अर्डर गर्ने उनको भनाइ छ। परौठाका परिकारहरूमध्य आलु परौठा, मेथी, मुला, मिक्स तरकारी लगायतको स्वादमा रुचाइने बताउँछन्, टोखास्थित गाउँबेसी खाजा घरका सञ्चालक प्रकाश देवकोटा। आलुको परौठा धेरैले मन पराउने उनी अनुभव सुनाउँछन्। इन्डियन फुडका पारखीहरूको लागि यो बिहानको खान्कीका रूपमा प्रचलित छ।

साउथ इन्डियन ब्रेक फास्ट
कामको सिलसिलामा होस् वा अध्ययन तथा घुमघामको सिलसिलामा होस्, नेपालमा आउने अधिकांश इन्डियनहरूको रोजाइमा पर्ने साउथ इन्डियन खानाका परिकार धेरै रुचाइने सेफ खत्री बताउँछन्। उनी भन्छन्, ‘साउथ इन्डियन परिकारहरू हरेकको रोजाइमा परेको छ, हामीकहाँ आउने स्वदेशी–विदेशी सबै पाहुनाहरूको मनपर्ने ब्रेक फास्ट भएको छ।’

काठमाडौंका अधिकांश होटल तथा रेस्टुरेन्टहरूमा साउथ इन्डियन फुडलाई ब्रेक फास्टको रुपमा राख्ने गरेको सेफ खत्री बताउँछन्। साउथ इन्डियन फुडका पारखीहरूले इड्ली, साम्बर, उत्तपम आदि खान रुचाउने उनले बताए। साउथ इन्डियन फुडमा चिल्लोको मात्रा कम हुने भएकाले पनि यो ग्राहकको रोजाइमा परेको उनको भनाइ छ।

चिल्लोरहित स्टिम गरेर तयार गरिएको हुनाले इड्लीलाई स्वस्थ्यकर मानिन्छ। मास, अडहर, मुम स्वाद अनुसारको दालबाट तयार गरिन्छ, साम्बर। साम्बरसँग मौसम अनुसारका तरकारीसँग खाने गरिन्छ। दालबाट तयार पारिएको साउथ इन्डियन फुडमध्ये साम्बरलाई ब्रेकफास्टको रूपमा खाइने गरिएको खत्री बताउँछन्। उनी भन्छन्, ‘हाम्रोमा इन्डियन पाहुनाहरू बेसी आउने भएकाले साउथ इन्डियन फुडको परिकार नै ब्रेक फास्टको रूपमा दिने गरिन्छ, यसको माग पनि राम्रो छ।’ ‘हामीले बनाउने नेवारी खानाको परिकारमा हुने बाराजस्तै हुन्छ उत्तपम,’ उनले भने। उत्तपमदलाई ब्रेक फास्टको रूपमा निकै रुचाइएको उनको अनुभव छ। चिल्लो, मसला कम हुने भएकाले उत्तपमलाई निकै लाभदायक मानिन्छ।

कन्टिनेन्टल ब्रेक फास्ट
सहर बजारमा धेरै थरीका कन्टिनेन्टल ब्रेक फास्टका परिकारहरू उपलब्ध छन्। सहरिया जीवन, हतारको जीवन हुने भएकाले धेरैजसो कन्टिनेन्टल ब्रेक फास्ट फुडप्रतिको मोह निकै बढेको व्यापारी बताउँछन्। प्रिती थापाले ब्रेक फास्टको रूपमा ओट्स खाने गरेकी छन्। धेरै समय खर्चिनु नपर्ने र पेट टन्न हुने भएकाले पनि ओट्स खाने गरेको उनले बताइन्।

सहरबासीमध्ये धेरैको रोजाइ बनेको छ, कन्टिनेन्टल ब्रेकफास्ट आइटम। बजारमा उपलब्ध कर्नफ्लेक्स, ओट्स, ब्रेड एन्ड चिज, बेकन, ससेज, अम्लेट आदि सहरिया ब्रेक फास्ट पर्ने सेफ खत्री बताउँछन्। अचेल प्याकिङ खाना रुचाउनेको संख्या निकै बढेको उनको भनाइ छ।

पेय पदार्थ
पेय पदार्थको रूपमा बिहानै चिया, कफी, फलफूल तथा तरकारीको जुस खाने गरिएको पाइन्छ। रुचि र इच्छा अनुसारको बिहानीको पेय पदार्थको माग हुने सेफ खत्री बताउँछन्। रातभरि केही नखाइने भएकाले बिहान पानी पिउनु स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App