१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

सुमलाप्रति...

प्रिय सुमला ∕
हरपलको सम्झना,

तिम्रो झझल्कोले बारम्बार छाएकाले यो पत्र लेख्न खोजिरहेकी छु। जब ‘अपांगता’ भन्ने शब्द मेरो दिमागमा आउँछ तब सुरुवातको पंक्तिमा तिम्रै नाम आउँछ। यसको अर्थ मैले तिमीलाई अपमान गर्न खोजेको होइन, बरु सम्मानले भरिपूर्ण छु म। तिम्रो कलिलो र उज्यालो मुहार ह्विलचेयरमा बसेको रूप म झलझली सम्झिन्छु। अझ विशेष गरी तिमीलाई सम्झिने एउटा कारण छ। त्यो कारण हो– तिम्रो चित्रकला। तिम्रा ती सुन्दर चित्रहरू मेरो सम्झनाको क्यानाभासमा टा“गिएका छन्।

तिम्रा प्रेमको भावना मिसिएका चित्रहरू हेर्दा १३–१४ वर्षकी किशोरीले बनाएजस्ता देखिँदैनन्। आफनो शरीरमा भएको कठिनाईको बावजुद तिमीले गरेका सिर्जनाहरूलाई सलाम गर्नैपर्छ। आफू अप्ठयारोमा बा“चेर पनि तिमीले कलामार्फत् देखाएको शक्ति एकदम प्रशंसनीय छ। अनि तिम्रो शक्तिको दस्तावेज तिम्रो कला हो। तिम्रो संघर्षको परिचायक हो।

सुमला ∕ तिमीजस्तो अपांगता भएका व्यक्तिहरू विश्वमा धेरै छन्। अनि फरक खालको अपांगताहरू भएका पनि छन्। आफ्नो पीडालाई शक्तिमा बदल्न तिमी उनीहरूलाई प्रेरणा देऊ।  शरीरमा अपांगताले प्रवेश गरिसकेपछि सोचेजस्तो काम गर्न त गाह्रो छ। तर, अपांगता भएका व्यक्तिले पनि जीवनमा उदाहरणीय योगदान दिन सक्छन्। त्यसको लागि आफ्नो क्षमता चिन्न र इच्छाशक्तिलाई सबल बनाउन सक्नुपर्छ।  

मैले जबदेखि अपांगता क्षेत्रमा काम गर्न थाले तबदेखि यसबारे गम्भीर अनुभव संगाल्ने मौका पाएँ । यही साइनोले मैले तिमी र अरु अपांगता भएका व्यक्तिलाई भेटेँ। जति किसिमका अपांगता त्यति किसिमका विविधता। अहिले नेपालमा अपांगतालाई १० किसिममा वर्गीकरण गरिएको छ र तिम्रो अपांगता शारीरिकमा पर्छ भनेर मैले तिमीलाई प्रष्ट पार्नैपर्छ।

मेरी प्यारी चित्रकार ∕ अपांगता विशेषगरी दुईवटा परिस्थितिमा हु“दोरहेछ। एउटा जन्मस“गै लिएर आएको र अर्काे जन्मिसकेपछि जीवनको जुनसुकै मोडमा हुन सक्ने अपांगता। आमाको कोखबाटै सुरु भएको अपांगता जन्मजात र कुनै रोग लागेर, दुर्घटना आदिको कारणले सुरु भएको अपांगतालाई जन्मपश्चातको अपांगता भनिँदोे रहेछ।

तिमीले सुनाए अनुसार तिम्रो अपांगतालाई तिमी जन्मिएपछिको भन्न सकिन्छ। तिमी कक्षा ३ सम्म पढ्दा हिँडेरै विद्यालय गएको कुरा आमाले सुनाउनुभयो। अनि बिरामी भएपछि तिमीले हिँड्ने क्षमता गुमाएको जानकारी पाइयो। सबै कुरा बुझेपछि मलाई तिम्रो अपांगता जन्मपश्चातको रहेछ भन्ने थाहा भयो।

मानिसको कलात्मक क्षमता अक्करमा फुलेको फूलझैं विषम हुँदोरहेछ। तिमी त्यसकै उदाहरण हौ सुमला ∕ एक पाइला पनि हिँड्न नसक्ने तिमी आफ्नो कलामार्फत् विश्व घुमिसकेकी छ्यौ। विश्वमा अपांगता भएका व्यक्तिहरूले धेरै राम्रा काम गरेको उदाहरणहरू छन्। जस्तै : हेलेन केलर। उनी श्रवण दृष्टिविहीन थिइन्। तर, उनले आफनो अदभूत क्षमता प्रदर्शन गरेर विश्वभर चर्चित भइन्। मन छुने खालको आफनो जीवनकथा लेखिन्।

स्टफेन हकिन्सको शरीरको अंगमध्ये आँखा मात्र चल्थ्यो। तर, उनले वैज्ञानिक भएर विश्वभर फैलाए।

निक भुजिसिकको जन्मजात हात र खुट्टा थिएन्। तर पनि आफ्नो आत्मविश्वास र लेखकीय क्षमताको कारण उनले विश्व हल्लाए।

झमक घिमिरेले साहित्य लेखनमार्फत् नेपालकै ठूलो मदन पुरस्कार पाइन्। उनले शीतको थोेपाले भुइ“मा ‘क’ अक्षर लेखेर आफनो लेखनयात्राको सुरुवात गरेकी थिइन्। जेसिका टबका दुवै हात छैनन्। तर, उनी खुट्टाले प्लेन चलाउँछिन्।

अमिर बमजनको शरीर र हात चल्दैन। टाउको र मुख मात्रै चल्छ अनि उनी मुखले चित्र बनाउँछन्। गीतको एल्बम पनि निकालेका छन्। यस्ता कयौ व्यक्तिहरूले आफूमा अपांगता भएता पनि नयाँ काम गरेर देखाएका छन्। मैले यी उदाहरणहरू तिमीमा अझ बढी प्रेरणा थपियोस् भन्ने मनसायले प्रस्तुत गरिरहेकी छु।

२७ औँ विश्व अपांगता दिवस नजिकिँदैछ। तिम्रो र अपांगता भएका मानिसहरूको अझ बढी सम्झना बढिरहेको छ। अपांगता भएका व्यक्तिहरूको लागि आफू दिलोज्यानले केही गर्न अघि बढौं जस्तो लागिरहेको छ। सुमला ∕ यो वर्ष संयुक्त राष्ट्र संघले तय गरेको अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको नारा निकै सशक्त छ। ‘अपांगता भएका व्यक्तिहरूको सशक्तीकरण तथा समावेशिता समानताको सुनिश्चितता’ अनि मूल आयोजक समितिले तय गरेको राष्ट्रिय नारा ‘मलाई गणना गर र हामीलाई समावेश गर’ भन्ने छ। अपांगतालाई समावेशी बनाउने, प्रतिष्ठा बढाउने, मूल धारमा समावेश गर्ने, संस्थागत बनाउने, समानताको सुनिश्चितता गर्ने, सामाजिक नीतिहरूको विकास गर्ने, स्वरोजगार, समावेशी शिक्षा, सामाजिक सद्भावना, मानव अधिकारको सम्मान, स्वास्थ्यको पहुँच, अपांगता भएका व्यक्तिहरू कसैलाई पनि नछुटाई तथ्यांक संकलन गर्ने, सचेतना अभियान फैलाउने आदि यो दिवसको अवसरलाई सम्बोधन गर्दै लक्ष्य राखिएको छ। तिमी र अन्य अपांगता भएका व्यक्तिहरूलाई समावेश गरेर यसलाई अझ भव्य बनाउनुछ। आफ्नो हक, अधिकारको बारेमा बुझेर जीवनमा केही गर्न प्रेरित गर्नुछ।  

सुमला ∕ अपांगता भएको व्यक्तिको शक्तिलाई उजागर गर्न तिमीले यो समाजमा प्रभावकारी भूमिका खेल्नुपर्छ। तिमी पनि संघर्षको उदाहरण बन्नुपर्छ।  आफ्नो पीडा र आँशुलाई कलामा उतार। हिम्मत नहार, पीडालाई शक्तिमा परिवर्तन गर। म तिम्रो पछाडि सधैं छाँयाजस्तै घुमिरहेकी हुन्छु। मैले यस्ता धेरै चिठ्ठीहरू समाजलाई परिवर्तन गर्न र अपांगता भएका व्यक्तिहरूको पुनस्र्थापनाको लागि लेख्नुछ। अँध्यारा कुनाहरूमा सचेतनाको दियो बाल्नुछ। तिमीलगायत अन्य अपांगता भएका व्यक्तिलाई यो दिवसको शुभकामना।

प्रकाशित: १५ मंसिर २०७५ ०३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App