२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

जोर–बिजोरले प्रणालीले सर्वसाधारणलाई सास्ती

जोर–बिजोर प्रणालीका कारण सवारी नपाएपछि पैदल यात्रा गर्दै सर्वसाधारण। तस्बिरः दिपेश श्रेष्ठ

उपत्यकामा आजदेखि लागू गरिएको जोर–बिजोर सवारी प्रणालीका कारण सर्वसाधारणले सास्ती खेपेका छन्। राजधानीमा बिहीबारदेखि सुरू भएको ‘एसिया प्यासेफिक सम्मेलन’मा भाग लिन आउने विदेशी पाहुनालाई लक्षित गरेर सरकारले जोर–बिजोर सवारी प्रणाली लागू गरेको हो।  

जोर–बिजोर सवारी प्रणालीका कारण पर्याप्त गाडी नचलेपछि गन्तव्यका लागि हिँडेका यात्रु सडकमै अलपत्र देखिन्थे। यो समस्या बिहान र बेलुकी तथा कार्यालय समयमा बढी देखियो।

जोर–विजोर लागू गरिएको पहिलो दिन बिहीबार विजोर नम्बर प्लेटका सवारीमात्रै सञ्चालन भएका थिए।

पर्याप्त गाडी नचलेपछि गन्तव्यका लागि हिँडेका यात्रु सडकमै अलपत्र देखिन्थे।

थोरै गाडी सञ्चालनमा आएपछि घर फर्कन बस कुर्ने यात्रुको भीड बाक्लो देखिन्थ्यो। तर, सर्वसाधारणको समस्यालाई सरकारी निकायले बेवास्ता गर्दै आएको छ। जोर–बिजोर प्रणालीको सामाजिक सञ्जालमा समेत चर्को आलोचना भएको छ। सरकारले सर्वसाधारणलाई दुःख दिएको यात्रुहरूको गुनासो छ।

बिहीबार सुन्धारामा लगनखेल जानको लागि बस कुरिरहेकी नारायणी थापाले एक घण्टामा पनि बस नपाएको गुनासो गरिन्। ‘गाडी पाइन्छ कि भनेर बसपार्क पनि पुगेँ। तर, त्यहाँ पनि पाइनँ,’ उनले भनिन् ‘बस आए पनि सबै भरिएर आउँछन्, खुट्टा टेक्ने ठाउँ हुँदैन। यात्रुलाई सास्ती हुने गरी सरकारले किन जोर–बिजोर प्रणाली लागू गरेको होला ?’

बाहिर देशका पाहुना आएपछि सधैं नेपाली जनताले दुःख मात्रै भोग्नुपरेको उनी बताउँछिन्। बस नपाएपछि ट्याक्सीमा जान खोज्दा पनि ट्याक्सी समेत नरोकेको उनले बताइन्।  

सुन्धारामा बस कुरिरहेका श्रवणकुमार श्रेष्ठले गाडी कुरिरहेका यात्रुहरूलाई देखाउँदै सरकारले सवारीमा जोर–बिजोर प्रणाली लागू गरेर हजारौ यात्रुलाई विचल्ली पारेको बताए। उनले भने, ‘बस कुरेको आधा घण्टा भयो। तर, पाइन। जति पनि विदेशी पाहुनाहरू आउँछन् त्यतिखेर यात्रुहरू सधैं बिचल्लीमा पछौँ। चार दिनसम्म कसरी यात्रा गर्ने होला ?’ सडकमा गुड्ने सवारीसाधन पनि भरिभराउ भएको उनले बताए। गाडीमा झुन्डिएर यात्रा गर्नेहरू धेरै भएकाले बालबालिका र वृद्धवृद्धाले सास्ती भोग्नु परेको उनको भनाइ छ।

चार दिनसम्म सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू हुने भएकाले जतिसुकै बसमा मान्छे चढे पनि कोचिएर यात्रा गर्नुको कुनै विकल्प नरहेको उनले बताए। बिहीबार अन्तिम अंक जोर भएका सबै सवारीसाधनहरू चल्न पाएनन्। जोर नम्बरको प्लेट भएका सवारी रोकिँदा निजी सवारीका धनी समेत सार्वजनिक सवारी साधनमा चढ्न बाध्य छन्।
उपभोक्ता हित संरक्षण मञ्जका अध्यक्ष ज्योति बानियाँले जोर–बिजोर  प्रणाली अवज्ञा गर्नुपर्ने बताए। उनले भने, ‘यो प्रणालीले सर्वसाधारण जनताले सास्ती पाएका छन्। सरकारले यो प्रणालीलाई हटाएर यात्रुलाई सहज वातावरण मिलाउनुपर्छ।’  

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखका एसपी जयराम सापकोटाले विदेशी पाहुनाहरूको सवारी सहज बनाउन सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको बताए। उनले भने,  ‘नियम नै त्यस्तो बनेको छ। चार दिनसम्म हामीले त्यही नियमलाई अपनाउनु पर्छ।’

महाशाखाले १३ र १५ गते बिजोर र १४ र १६ गते जोर नम्बर प्लेटका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो।

एसपी सापकोटाका अनुसार बिहीबार क्याम्बोडियाका प्रधानमन्त्री हुनसेन र म्यानमारकी नेतृ आङ साङ सुकी आइसकेका छन्। सो क्रममा सडक खाली गराइएको थियो।

पाहुनाहरू आउने क्रम जारी रहेकाले शुक्रबार पनि सडक खाली गराइनेछ। समिटका लागि १७ राष्ट्रका पाहुनाहरू नेपाल आउनेछन्। १५ गते हायत होटलमा उक्त कार्यक्रमको उद्घाटन गरिनेछ।

ट्याक्सी चालकले मिटरमा लैजान नमाने तुरुन्तै १०३ मा फोन गर्न उनले यात्रुलाई आग्रह गरे।

प्रकाशित: १४ मंसिर २०७५ ०३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App