१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

संघर्षकी अथक यात्री रामझरी

महिला एकीकृत कृषि फर्ममा गाईहरूलाई स्याहार्दै रामझरी यादव। तस्बिर : मिथिलेश यादव/नागरिक

आर्थिक अवसर र बाध्यता, खुला परिवेश, अनि ‘म पनि केहि गर्न सक्छु’ भन्ने महत्वाकांक्षी भावनालाई साकार पार्ने कार्य मधेसका महिलाका लागि कतिको चुनौतीपूर्ण हो त्यो रामझरीभन्दा राम्ररी कसलाई थाहा हुन सक्छ र!

दूरदेहातमा ग्रामीण महिलाको दैनिकी भनेकै परम्परागत चुलोबाट सुरु भई चुलोचौकोमै समाप्त हुन्छ। घर बाहिर निस्किएर घरबाहिरको काम वा उद्यममा ग्रामीण महिलाका लागि लाग्नु चुनौतीपूर्ण सपना देख्नु सरह नै छ । यो चुनौतीपूर्ण सपनालाई साकार पारेकी छन्– औरही गाउँपालिका–४ खजनपुरकी रामझरी यादवले । उनी एकीकृत महिला कृषि फर्ममार्फत् कृषि उद्यममा अघि बढ्दै छिन्।

बाध्यताले व्यवसाय अँगाल्नेहरूको अर्कै कुरा तर, रामझरी जोसले व्यवसायमा लागेकी महिला हुन् । उनी चुलोचौको जस्तो सजिला विकल्प छाडेर संघर्षपूर्ण व्यवसायमा जोखिम उठाइरहेकी छन् । असहयोगी सामाजिक संस्कार, साना उद्यमीहरूलाई राज्यबाट पाउने सेवासुविधा उपलब्ध नहुने जस्ता सामाजिक र सरकारी अनुदारताले यस क्षेत्रका महिलाहरूलाई उद्यम व्यवसाय अगाडि आउन सकिरहेका छैनन्।

रामझरी त्यो उदाहरण हुन्, जसले साहस र हिम्मत बटुलेर जोखिम बेहोर्दै आफ्नो व्यवसायमा सफलता पाएकी छन्, गर्दैछिन्। चार वर्षअघिसम्म आर्थिक हिसावले कमजोर रामझरी अहिले दैनिक तीन–चार हजार आम्दानी गर्छिन्।

तर, सबै चुनौतीलाई अवसरको रूपमा लिँदै आफ्नै पौरखले व्यवसायिक माछा पालन, गाई पालन, हाँस पालन, घाँस खेती, तरकारी खेती गरेर मनग्य आम्दानी मात्र आर्जन गरिरहेकी छैनन्, परम्परागत सोचलाई समेत चुनौती दिएकी छन् । ग्रामीण महिला चुलो चौकोमा मात्र सीमित रहनुपर्छ भन्ने ग्रामीण सामाजिक मान्यतालाई बदल्दै रामझरीले महिला पनि सफल उद्यमी पनि बन्न सक्छिन् भने उदाहरण बन्नेतर्फ अग्रसर छिन्।

रामझरी त्यो उदाहरण हुन्, जसले साहस र हिम्मत बटुलेर जोखिम बेहोर्दै आफ्नो व्यवसायमा सफलता पाएकी छन्, गर्दैछिन् । चार वर्षअघिसम्म आर्थिक हिसावले कमजोर रामझरी अहिले दैनिक तीन–चार हजार आम्दानी गर्छिन् । कृषि विकास बैंकबाट जग्गा धितो राखेर लिएको १० लाख ऋण रकमबाट सुरु भएको उनको कृषि व्यवसायले अहिले उनको आर्थिक सामाजिक हैसियत नै बदलिदिएको छ।

गाउँको छाप्रे पसलको कमाइले परिवार धान्न नसके पछि तीन वर्षअघि (०७२) सालमा रामझरीले कृषि विकास बैंक, मिर्चैयाबाट गोलबजारमा रहेको आफ्नो १० धुर जग्गा धितो राखेर १० लाख ऋण रूपैयाँ लिइन । त्यो रकमबाट उनले गाउँमै ४६ कट्ठा जग्गा लिज (धितो)मा लिएर दुई गाई र तीन पोखरीबाट कृषि व्यवसाय सुरु गरिन् । अहिले उनका ९ पोखरी र १५ गाई छन् । करिब दुई सय वटा हाँस छन् । जसबाट दैनिक ३ हजारदेखि ४ हजार रूपैयाँ जति आम्दानी हुने उनी सुनाउँछिन्।

चुपचाप छैन समाज
मधेसी समाजमा केहि नभएको भने होइन । यहाँका नागरिक स्थानीयस्तरकै स्रोत परिचालन गरेर आर्थिक उन्नतीको पथमा अग्रसर हुँदै छन् । उद्योग÷व्यापार र व्यवसायमा मधेसी समाजका नागरिक जोडिने क्रम बढ्दो छ । जहिल्यै घरधन्दामा गुम्सिएर बस्न बाध्य ग्रामीण महिलाहरू पनि विस्तारै व्यवसायमा अघि बढ्दै छन् । ग्रामीण महिलाको व्यवसायमा प्रवेशले समाज चुपचाप नबसेको देखाउँछ । शिक्षा, आर्थिक अवसर, साहस, दृढ इच्छाशक्ति भएकाहरू केही न केही गरिरहेकै छन् । व्यवस्था परिवर्तनसँगै ल्याएका महिला सशक्तीकरण, लैंगिक तथा जातीय समानता, तथा प्रतिस्पर्धी भावनाले ‘म पनि केहि गर्छु’ भन्ने भावना ग्रामीण समाजमा जागृत गरिदिएको छ । सँगै सामाजिक अभियान, लघु उद्यम, ऋण, सहकारी जस्ता कार्यक्रमले महिलामा उद्यमशीलता वढाउनमा विशेष भूमिका खेलेको घरेलु तथा साना उद्योग कार्यालय लहानका निमिक्त प्रमुख लक्ष्मी पौडेलको कथन छ।

यस्ता कार्यक्रमहरूले महिलाहरूमा रहेको सीप विकास गर्ने काम मात्र गरेन, उनीहरूलाई व्यवसाय शुरु गर्ने आत्मविश्वास पनि पैदा गरेको छ।

विगतमा छाप्रोमा पसल थापेर जेनतेन गुजारा गर्ने रामझरीले अहिले यस भेगमा उदाहरणीय व्यवसायीको परिचय पाएकी छन् । उनी भन्छिन्, ‘पैसा कमाउन मात्र होइन, इज्जत कमाउन पनि काम गर्नुपर्छ ।’ उनको यो भनाईले कामबाट मानिसको इज्जत बढ्छ भन्ने भावनाको प्रतिविम्ब गर्छ । अहिले उनी जिल्लाकै महिला उद्यमीहरूमा ‘रोल मोडल’ बनेकी छन् । कृषि सम्बन्धी प्रशस्त तालिम लिएकी उनी सिलाइकटाइ तालिमको पनि प्रशिक्षक हुन् । गाई पालन, तरकारी खेती, घाँस उत्पादन, माछा उत्पादन, रासायनिक मल उत्पादन जस्ता तालिम लिएर उनी आफ्नो उद्यमको व्यवसायिक गुणस्तर बढाउँदै मनग्य आम्दानी गर्दैछिन् । उनी आफू मात्र नभई गाउँका महिलाहरूलाई समेत उद्यम, व्यापार, व्यवसाय गर्न प्रेरित र प्रोत्साहित गर्दै छिन् । छिट्टै उनी ग्रामीण महिलाहरूलाई समेटेर महिला सहकारी खोलेर ग्रामीण महिलालाई आत्मनिर्भर बनाउने थालनी गर्दै छिन्।

परिश्रम, संघर्ष गर्ने आँट र हिम्मतका सामु शिक्षाले मात्र कुनै अवरोध ल्याउन सक्दैन । उच्चा शिक्षा आर्जन नगरेकी गृहिणीले पनि सफल व्यवसायी बन्न सक्ने ज्वलन्त उदाहरण पनि हुन् उनी।

पत्रकार एवं सामाजिक अभियन्ता रामरिझन यादवका अनुसार रामझरीको संघर्षबाट समाजलाई सिक्ने कुरा धेरै छन् । एउटी महिला सामाजिक परम्परागत सोचलाई मात्र बदलिनन्, मेहनत गरे केही असम्भव छैन भनेर प्रमाणित समेत गरेर देखाएकी छन् । पहिला गिज्याउने, होच्याउने समाज अहिले रामझरीलाई सम्मानको आँखा हेर्छन् । पहिला नकारात्मक कुरा काट्नेहरू अहिले उनको सफलताको चर्चा गर्छन् । ‘कर्म प्रधान हो, कर्मको अगाडि बाँकी कुरा गौण हुन् भन्ने मान्यतालाई यस समाजमा रामझरीले स्थापित गरेर देखाएकी छन्,’ यादवले भने।

समस्यै समस्या
उद्योग व्यवसायमा थोरै महिलाहरूको मात्र सहभागिता हुनमा शिक्षा र आत्मविश्वासको अभाव, सीप तालिमको कमीसँगै प्रमुख कुरा लगानीको समस्या नै हो । त्यस अर्थमा समस्यै समस्यासँग जुध्नुपर्ने वाध्यताका कारण महिलाहरू यो चुनौतीपूर्ण क्षेत्रमा हात हाल्न हच्किन्छन् । ‘बैँकबाट ऋण लिन पनि दुनीयाभरको झन्झट छ,’ रामझरी अनुभूति पोख्छिन्, ‘ऋण लिन बैंक धाउँदा धाउँदा पैताला खिइसक्यो । बैंकले ऋण पत्याइदिए व्यवसाय बढाएर धेरै ग्रामीण महिलाका लागि रोजगारी सृजना गर्न सक्थे।’

कृषि कार्यालयमार्फत् किसानका लागि आउने सरकारी सुविधा पनि गैरकिसानकै घरमा पुग्ने गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘किसानका लागि हालसालै कृषि कार्यालयबाट वितरण भएको स्मार्ट फोन समेत अधित्तर गैरकिसान र पहुँचवालाहरुकै हातमा पुग्यो, मैले पाइनँ।’

सरकारी सुविधा हाम्रो लागि सपना जस्तै भएको उनले सुनाइन् । आफ्नै पौरखमा यतिको संघर्ष गरेर फस्टाएको व्यवसायलाई सरकारी सहयोगको बल प्राप्त भए यस क्षेत्रका अन्य महिलाहरूलाई पनि संलग्न गराएर आत्मनिर्भर बनाउने उनको सपना छ । बैँकबाट ऋण प्राप्त भए दाना उत्पादन आफैले सुरु गर्ने उनको योजना छ । जसमा गाउँकै महिलाहरूले रोजगारी दिने उनले योजना बनाएकी छन्।

ग्रामीण क्षेत्रका तन्नेरी पुरुषहरूकोे पलायनले यहाँको समग्र कृषिको जिम्मा करिब–करिब महिलाको काँधमा आएको छ । महिला उद्यमशीलता बढावा गर्न सकिए ग्रामीण भेगमा आर्थिक क्रियाकलाप जागृत हुने बुद्धिजीबी रामविनय यादवले बताए । ‘जस्तोसुकै पारिवारिक पृष्ठभूमि भए पनि उद्यमशीताका लागि महिलाहरूलाई घरबाहिर निकाल्न सक्छिन् भने रामझरी जस्ता कर्मशील महिलाले देखाइदिएकी छन्,’ उनले भने।

अविराम संघर्ष यात्रा
गाउँको छाप्रे पसलबाट सुरु भएको उनको व्यवसायिक यात्रा अहिले महिला एकीकृत कृषि फर्मसम्म आइपुगेको छ । मधेसका थोरै सफल महिला उद्यमी÷व्यवसायीको सूचीमा माथि नै पर्छ उनको नाम । व्यापारमा रुचि भएकै कारण रामझरी गाई, माछा, हाँस, घाँसपालन व्यवसायमा लागेकी छन् । ‘महिला एकिकृत कृषि फर्म’बाट उत्पादित दुध नजिकैको गणेशपुर चोकस्थित चिस्यान केन्द्रमार्फत डेरी उद्योगहरूमा पुग्छ । माछा फर्ममा आएर व्यापारीहरूले खरिद गरी लग्छन् । अण्डा पनि फर्मबाटै बिक्री हुन्छ।

महिनाको झण्डै १ लाखभन्दा बढीको व्यापार गर्दै आएकी रामझरी भन्छिन्, ‘बजारको माग यति धेरै छ कि मैले उत्पादन बढाउन सकेँ भने व्यवसाय बढाउन नसकिने कुरै छैन । लगानी मात्र सहजरूपमा प्राप्त भई दिए मिहिनेतले यो फर्मलाई देशकै नमुना बनाउने थिएँ,’ उनले भनिन् । मेहनत, लगनशीलता र निरन्तरता नै आफ्नो सफलताको कारण बताउने रामझरी हरेक काममा यी कुराको आवश्यकता पर्ने बताउँछिन्।

गाई पालन, माछा पालनबारे प्रशस्त तालिम लिएकी रामझरी भन्छिन्, ‘मलाइ त्यो तालिमले बजारको बारेमा जान्ने मौका दियो । तालिमबाट दुध तथा माछा उत्पादन बढाउने जस्ता सीप सिक्ने अवसर मिल्यो,’ उनले भनिन् । तालिमले मानिसलाई व्यवसायिकता निखार्न बल दिने उनको बुझाइ छ।

रामझरीको मेहनतमा ऊर्जा थप्ने काम उनका पति रामप्रवल यादवले गर्छन् । उनी तालिममा गएको बेला फर्मको काम रामप्रवलले सघाउँछन् । रामझरी आफ्नो सफलतामा पति रामप्रवलको निरन्तरको साथलाई सम्झन्छिन् । ‘पतिको साथ नभएको भए परम्परागत मान्यताविपरित म व्यवसायिक जीवन सरुवा गर्न सक्दिनथे,’ उनले भनिन्।

आफ्नो सफलताका पछाडि पुरुष (पति)को हात र साथ रहेको उनी बताउँछिन् । ‘उनको मेहनत, लगन, आत्मविश्वास, कामप्रतिको निष्ठाको म कायल (फ्यान) हुँ,’ रामप्रवलले भने।

प्रकाशित: १७ कार्तिक २०७५ ०२:५९ शनिबार

संघर्ष कृषि