११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

खुसी बोकेर आउने दसैं

हनिफ मियाँ 

मूलतः दसैं हिन्दू समुदायको चाड हो तर यो चाड आउँदा हाम्रो मन पनि रमाउँछ । आनन्दित हुन्छ । बर्खापछिको निख्खर नीलो आकाश, खेतमा झुलेका पहेँलपुर धान, गामबेसीका उज्याला अनुहार, जताततै आशैआशा देखिन्छ दसैंताका।  

मौसम पनि सफा हुन्छ सर्वत्र । हाम्रो गाउँबाटै देखिन्छन्, कुमारी माछापुच्छेसँगै अन्नपूर्ण हिमालहरु । बिहान उठ्नेबित्तिकै नीलो आकाशमुन्तिर चाँदीझैं टलक्क टल्केका हिमाल देख्दा मनमा उत्साहको दियो बल्छ । जसरी प्रकृतिले पोखरालाई सुन्दर बनाएको छ, त्यसैगरी यो सुन्दर फूलबारीमा थरिथरिका जातजाति मुस्कुराएका छन्। 

हाम्रो पोखरामा को हिन्दू, को मुसलमान, को बौद्धमार्गी हामी सबै मिलेर बसेका छौं । हाम्रो गाउँ मियाँपाटन (पोखरा महानगरपालिका–१३)मा आजका मितिमा करिब मुसलमानको जनसंख्या करिब १५ सय छ । हाम्रो गाउँसँगै जोडिएको कुँडहरमा विशेषतः ब्राह्मण, क्षेत्री, नेवारलगायत जातजातिको बसोबास छ।     

मलाई लाग्छ, दसैं आउँदा मुस्लिम जति खुसी हुन्छन् सायदै त्यति हिन्दू होलान् ! नढाँटी भनुँ भने अलिकति धन कमाएका व्यापारीमा चाहिँ दसैं आउँदा व्यापार बढ्नेथियो भन्ने खुसी मात्रै हुन्छ । गरिब समुदाय भने दसैंकै बहानामा नयाँ–नयाँ लुगा, खानपिन र किनमेलमा रमाउन पाउँदा बेग्लै खुसी हुन्छ।  

पहिला–पहिला पोखरामा चुरा, धागोको व्यापार हाम्रो समुदायले मात्रै गथ्र्यो । दसैं–तिहार र तीजजस्ता चाडबाडमा धेरै व्यापार हुन्थ्यो । आज पनि हुन्छ । त्यस हिसाबले पनि व्यापारीलाई दसैं आइदेओस् भन्ने लाग्नु स्वाभाविक हो।   

हाम्रो गाउँमा दसैंमा च्याङ्ग्रा, खसी, राँगो, परेवा र कुखुरा काटेर खाने चलन पुरानै हो । नयाँ कपडा किनेर लगाउने चलन पुरानै हो । त्यस्तै पहिला पहिला त ढुंगा र माटाका घर बढी थिए । त्यसैले हामी कमेरो र रातोमाटोले लिपपोत गथ्र्यौं । अचेल धेरै आधुनिक घर बनिसके । लिपपोत गर्नुपर्ने घर कम छन् ।  अहिले पनि हाम्रो एउटा घर पुरानै छ, दसैंको मुखमा हामी त्यसमा लिपपोत गर्छौं । करेसाबारी र घर आँगन सफा गर्छौं । नाति–नातिनालाई नयाँ कपडा किनिदिन्छौं। 

दसैं आउँदा हामी घरआँगन लिपपोत गर्छौं । सेलरोटी पकाउँछौं । च्याङ्ग्रा काट्छौं । पहिला पहिला त टीकासमेत लगाउँथ्यौं , अचेल लगाउँदैनौं।  

पहिला–पहिला हाम्रो गाउँमा पिङ हाल्ने चलन थियो । रोटे पिङ, लिंगे पिङ खेल्थ्यौं हामी । अचेल न पिङ देखिन्छ, न पिङ हाल्ने जग्गा नै छ । चचहुई... गर्दै पिङमा मच्चिएको  सम्झँदा आनन्द लाग्छ । ती दिन साँच्चै सुखद् थिए ।  
एउटा कुरा दसैंमा सेल रोटी पकाएर खाने चलन भने कायमै छ । मासु खाने चलन पनि कायमै छ । सक्नेले सिङ्गै खसी र च्याङ्ग्रा ल्याउँछन् । नसक्ने वा कम मासु खानेहरु मिलेर ल्याउँछन् । मेरो आफ्नै कुरा गर्ने हो भने छिमेकी भीमप्रसाद रानाभाट, अम्बिका भट्टराई र म मिलेर च्याङ्ग्रा ल्याउँछौं । बाँडेर खान्छौं। 

च्याङ्ग्रा किन्न जाँदा रमाइलो लाग्छ । कहिले फूलपातीका दिन त कहिले अष्टमीका दिन च्याङ्ग्रा लिन हामी पोखराको पुरानो टुँडिखेल पुग्छौं । त्यो भीडबाट मन परेको एउटा छानेर ल्याउँछौं । ठूलाबडा अथवा मान्यजनका हातबाट टीका थाप्ने संस्कार दसैंको महत्वपूर्ण पक्ष हो जस्तो लाग्छ मलाई । केही वर्ष अघिसम्म हाम्रो समुदायमा दही र चामलको टीका लगाउने चलन थियो । गाउँका जिमुवाल र ठूलाबडाका हातको टीका थाप्न पाउँदा रमाउँथ्यौं हामी । त्यो चलन अहिले हटेको छ।

हिन्दु समुदायका मान्छे पनि मुसलमानकोमा टीका थाप्न आउँथे । मेरा पिताजी लोककवि अलिमियाँको हातबाट टीका थाप्न लमजुङका दीपक सोती, पोखराका डम्बरबहादुर, चिसापानीका कृष्णबहादुर थापा र काजीपोखरीका रामकृष्ण घिमिरेलगायत धेरै जना आउनु हुन्थ्यो । अन्यत्रबाट पनि आउँथे ।  मुसलमानको हातको टीका क्षत्री, बाहुन र नेवार पनि टीका लगाउन आउँथे । मलाई लाग्छ, टीकाले आत्मीयताको गाँठो मजबुत बनाउँथ्यो । आपसी सद्भाव गाढा बनाउँछ।  

सोह्र श्राद्धमा कसैले श्राद्ध गर्नु पर्दा, मुसलमान चोखो हुन्छन् भनेर हामीलाई बोलाउन आउँथे । जस्तो कि चाउथेका रामकृष्ण घिमिरेले आफ्ना मितबा (अलिमियाँं) लाई अगाडि राखेर मात्र श्राद्ध गर्थे ।  कुरा दसैंको मात्र होइन, अन्य चाडपर्वमा पनि हामीबीच सद्भाव छ । मैले तीजमा वरपरका चेलिबेटीलाई डाकेर दर खुवाउने गरेको छु । बुबाको मुख हेर्ने दिन कतिपय हिन्दुहरु पनि मलाई ‘बा’ भनेर उपहारसहित भेट्न आउँछन्। 

आपसी संगतबाट प्रेम बढ्छ । आपसमा सद्भाव बढ्छ ।  चाडपर्वमा आपसमा निम्तो गर्ने चलन बस्छ । यसले एक–अर्काको संस्कृति बुझ्न मद्दत मिल्छ । हिन्दू समुदायसँग पनि हामी हाम्रो इदमा मिलेर खानपिन गर्छौं । यसरी हामीले आपसी सद्भाव र मायाको भारी बोक्यौं भने मात्र समाजमा शान्ति हुन्छ।

हामी सबैले एक–अर्काको धर्म र संस्कृतिको सम्मान गर्नु पर्छ । ‘म मात्रै राम्रो हुँ’ भन्ने कट्टरताले विनाशतिर पुर्याउँछ । त्यतिबेला मानवता मर्छ । आखिर सबै धर्मको लक्ष्य शान्ति र सुख हो । हामीले जुनै धर्मको अभ्यास गरे पनि गन्तव्य भनेको मानवता नै हो । हामीलाई शान्ति चाहिएको छ । हामीले एक अर्काको सम्मान गर्न जान्यौं भने मात्रै समाजमा सहअस्तित्व र सहिष्णुता बलियो हुन्छ। 

क्लाइमेट चेञ्जका कारण अचेल कुमारी हिमाल माछापुच्छे«मा हिउँ कम पर्छ । तर, पनि हिमाल हाँस्न छाडेको छैन । तीव्र सहरीकरणका कारण पर्व मनाउने शैलीमा केही परिवर्तन भए पनि दसैं आउँदा हाम्रो मनमा खुसी सल्बलाउन थालिहाल्छ।  

              प्रस्तुतिः अमृत भादगाउँले  

प्रकाशित: २ कार्तिक २०७५ ०९:४५ शुक्रबार

दसैं  हिन्दू_समुदाय मुस्लिम_जति नागरिक परिवार