हरिराज भट्टराईद्वारा लिखित उपन्यासको ‘याङ्सिला’मा मैले यात्रा, भूगोल, अनि भूगोलको पहिचान वनस्पति र प्राणीहरू, मानव समाज, समाजभित्रका परम्परा र अन्धविश्वासहरू, जबरजस्त माया प्रितीका सञ्जालहरू, त्यसबाट सृजिएका रोमाञ्चकारी रहस्यहरू, प्राकृतिक यौन मनोविज्ञानका कुण्ठा वा विकृतिहरू, जनसंस्कृति र राजसंस्कृतिहरू, अनुनय, विनय, आडम्बर र स्वाभिमानहरू आदि धेरै कुराका झलकहरू झुलुकझुल्किँदै क्षितिजतिर बिलाएका पाएँ।
उपन्यासको पृष्ठभूमि नेपालको राजधानीदेखि पूर्वाञ्चल हुँदै चीनको ल्हाशा र चीनको राजधानी बेजिङलाई लिइएको छ । कथा नेपालका प्राचीन एक शिल्पकार अरनिको चीनमा नेपाली वास्तुकला प्रचार गर्न गएको ऐतिहासिक पृष्ठभूमिलाई लिइएको जस्तो देखिन्छ । तर, यो कति प्रमाणित कुरो हो भन्ने कुरा इतिहासविदहरू नै जानून् । यहाँ बखान गरिएको कलाकारहरूका क्रियाकलाप प्राचीन भनी हाल्न नमिल्लाजस्तो देखिन्छ । कलाकार अरनिको भूमिकामा पञ्चसरलाई लिइएको हो कि जस्तो पनि लाग्दैन । कथा लेखकको सवारी कल्पना मार्ग हुँदै अर्कै औपन्यासिक धारमा बगेको अनुभूति हुन्छ।
यस याङ्सिला उपन्यासमा नेपाली कलाकारहरूको एक टोली महाचीनको सम्राट टिमुर खाँको निमन्त्रणामा नेपाल सरकारको तर्फबाट प्राचीन प्यागोडा शैलीको दरबार बनाउन महाचीन पठाइएको प्रसंगबाट प्रारम्भ हुन्छ । नेपालबाट जाने कलाकारहरूमा पञ्चसर, मौनी, गुइठे, धने, जोखे,क्यातुके, नाम्चे, होक्से, बिरसे, जन्तरे आदि हुन् भने चीन तर्फका मेलम्ची, याङशीला, ओमु, केरुङ, तोला, जिमू, कान्छा लामा, वाङ्दी आदि हुन् ।
कथा यस्तो छ–
पञ्चसरको नेतृत्वमा रहेको ११ सदस्यीय कलाकार कर्मी टोली सप्तकोशीको किनारामा एक्कासि देखा पर्छ । उक्त टोलीबीचको केहि वार्ता सुन्दा उक्त टोली कान्तिपुरबाट आएको भन्ने बुझिन्छ ।
सप्टकोसी तरेपछि उक्त टोली दुई भागमा बाँडिँदै एक टोली पञ्चसरको नेतृत्वमा मौनीसहित धरानको बूढासुब्बातर्फ लाग्छ भने बाँकी ९ सदस्यीय कर्मी टोली तमोर खोलैखोला ओलाङ्चुङगोलातर्फ लाग्छ । मौनी वाणीहिन हुन्छ । तर, ऊ खरीपाटीमा लेखेर आफ्नो मनोभाव दोहोरो अभिव्यक्त गर्न सक्छ । अर्थात् ऊ उक्त टोलीको बुद्धिजीवी वा ब्रेनबक्सझैँ देखिन्छ ।पञ्चसर र मौनी विजयपुरको बूढासुब्बाको दर्शन गरेर साँगुरी भन्ज्याङ हुँदै मूलघाट तरेर हिले तीनजुरेतिर लाग्छन् । तीनजुरे मिल्के भञ्ज्याङको प्राकृतिक स्वरूपको खुब व्याख्यान गरिएको पाइन्छ । अनि गुफापोखरी वासिद्धपोखरीको किम्बदन्तीबाट सृजिएको फ्यान्टासीभित्र लेखक निकै अलमलिन्छन् । अन्तमा मेन्छायम डाँडाको किम्बदन्तीभित्र लेखकले दुई यात्रुहरूलाई निकैबेर विचरण गराउँछन् ।
किरात लिम्बू संस्कृति र परम्परालाई देखाउने उदाहरण स्वरूप गाउँमा आएको दुई यात्रू पाहुनालाई स्वागत मात्र होइन, गाउँकी अनाथ दुई अबोध बालिकाहरू सिजहाङ र सानजाङलाई यात्रुद्वय पन्चसर र मौनीलाई अर्पन वा चढाइएको अनौठो संस्कारको प्रसंग यहाँ उल्लेख गरिएको देखिन्छ । यो त्यस बेलाको जनश्रूतीमा आधारित हो वा होइन सोही लिम्बु जनजातिहरूले भन्न सक्लान् । तर, यस्ता किम्बदन्ती मलाई थाहा नभएकोले बोल्ने साहस गरिनँ ।त्यसपछि ताप्लेजुङ लेलेप हुँदै दुई सदस्यीय यात्रु टोली ओलाङ्चुङतिर लाग्छ । तर, अघिल्लो टोली त्यहाँबाट भोटतिर लागी सकेको हुन्छ । तसर्थ उक्त टोली पनि उतैतिर सोझिन्छ । ल्हासा पुगेपछि मात्र सप्तकोशीबाट छुटेका अन्य साथीहरूसँग पन्चसर र मौनीको भेट हुन्छ ।
त्यहाँबाट भने एक औपचारिक कर्मी टोली भई चीनको राजधानी बेजिङतर्फ लाग्छन् । यो टोली राजधानी पुगेपछि सम्राट टिमुर खाँले मेलम्ची नामक एक सरकारी कर्मचारीलाई सहयोगको लागि जिम्मा लगाइन्छ । मेलम्चीले एघार सदस्यीय नेपाली कर्मी टोलीको सहयोगको लागि एघारै वटी चिनियाँ युवतीहरू व्यवस्था गरी दिन्छिन् ।त्यसपछि भने मेलम्ची र पञ्चसरको नेतृत्वमा पहिलो प्यागोडा शैलीको दरबार बनाइन्छ । तर, राजाले उक्त दरबार मन पराएको बहना गर्दै जनताको नाममा अर्पिन्छन् । अनि आफ्नो चित्त बुझाउन अर्को दरबार बनाउन आदेश गरिन्छ।
दोस्रो पल्ट दरबार बनाउँदा कर्मीहरू त्यति जाँगरिला वा उत्साही देखिन्न । उनीहरूलाई आफ्नो घर गाउँको सम्झना आउन थाल्छ । यहीबीच मेलम्ची र पन्चसर दरबार बनाउने ठाउँ खोज्न टाढा गाउँतिर लाग्छन् । ओमु पनि मौनीको उपचार गर्न अर्कैतिर लाग्छे । यसैबीच बाँकी कर्मीहरू बस्ने आवाश गृहमा जघन्य यौन अपराध भएको देखाइन्छ र एकजना जोखे नामक कर्मीलाई बलात्कार गरेको आरोप प्रमाणित भएकोले मृत्युदण्ड दिइन्छ । त्यसपछि बाँकी कर्मीहरूलाई तुरुन्त फिर्ता पठाइन्छ ।मौनी र पञ्चसर भने आवास बाहिर भएकोले छाडिएका देखिन्छन् । त्यसपछि मौनी र ओमु आफ्नो समस्या राजासँग राख्न दरबार जान्छन् । तर, बाटैमा ठूलो प्राकृतिक प्रकोप हुरी आँधीमा परेको देखाइन्छ ।
उनीहरू बचेर घर फर्के कि फर्केन केही खुलाएको भने छैन । अपितु दोस्रो दरबार निर्माणपछि राजाले प्रवेश गर्न अघि नेपाल भ्रमण गर्न चाहन्छन् । यो अवधिमा मेलम्ची रहस्यमय तरिकाले हराउँछिन् । राजाको औपचारिक भ्रमण तय भएपछि पञ्चसर टिमुरखाँलाई नेपाल लिएर जाँदा ल्हासामा प्राकृतिक प्रकोपमा परेको देखाइन्छ । अचानक ल्हाशामा ठूलो संकट आइपर्दा मानिसहरू ज्यान बचाउन भागाभाग हुन्छन् । यही क्रममा पञ्चसर पनि आस्रयको लागि गुम्बा जाँदा नाटकीय रूपमा याङ्सिलासँग भेट हुन्छ । केही गनथन चल्दाचल्दै अचानक पुनः मेलम्चीसँग पनि गुम्बामै भेटेको देखाइन्छ । त्यसपछि ती दुवै युवतीलाई गुम्बाको लामाले पञ्चसरसँग बिहा गरी आशिर्वाद दिँदै बिदा गर्छन् । अनि ती पन्चसर दुई पत्नीसहित काठमाडौं भित्रिएको प्रसंगसँगै उपन्यास टुंग्याइएको छ । बस यति हो कथा वस्तु ।
मैले यो पुस्तक अध्ययन गर्दा खट्किएका केही कुराहरूमा पहिलो खण्डमा अत्यधिक संस्कृत शब्द वा वाक्य प्रयोग गरिएकोले यति क्लिष्ट भएको छ कि साधारण नेपाली पाठकले बुझ्न गाह्रो पर्छ । तर, एक चौथाइ भागमा भने साधारण नेपाली प्रयोग गरिएकोले बुझ्न सरल बनेको छ । कहिकहि झर्रो नेपाली शब्दहरू पनि पढ्न पाउँदा मौलिक आख्यान जस्तो पनि लाग्छ । अर्कोतिर नारी वा पुरुष सौन्दर्य अतिरञ्जित तरिकाले वर्णन गरिएको देख्दा यौन साहित्यको एउटा पाठ हो कि जस्तो भान हुन्छ । कहिकहि त नेपाली आदिम नारी र चिनियाँ नारीहरूको संस्कार परम्पराको प्रसंगको चित्रण देख्दा विश्वेश्वर कोइरालाका ‘सुम्नीमा उपन्यासलाई पनि उछिनेको देखिन्छ । कहिकहि त अश्लिल शब्द समेतप्रयोग भएको पाइन्छ।
मनोवार्ता वा आत्मरती यसका उदाहरण हुन् । पाहुनालाई छोरी चेली सोम्पनुपर्ने सामन्ती संस्कारलाई मेन्छायम डाँडामुनिको बासिन्दालाई उदाहरण दिई प्रस्तुत गरिएको देखिन्छ । मैले सुनेबमोजिम तिब्बती संस्कृतिमा बहुपति प्रथा(पोलिएन्ड्री) हुन्छ । तर, गुम्बामा बिहा गर्दा बहुपत्नी (पोलिगाइनी) संस्कारअनुसार लामाले कसरी बिहा गरिदिँदै नेपाल पठाउन सक्छन् भन्ने कौतूहल लाग्छ । यस्ता धेरै असामान्य कुराहरू ठाउँठाउँमा भेटिन्छन् जसलाई पाठकले हेका राखी रहन सकिन्न पनि।
तर, यस्ता केही कुराहरू बाहेक उपन्यासका अन्य कुराहरू जस्तै भौगोलिक वर्णन, प्रकृतिको चित्रण, मेलम्ची जस्ती बुद्धिमान, कुशल नेत्री आँटी र साहसी नारी र मौनी जस्ता वाणिहिन भए तापनि चाणक्य जस्तै हरेक अप्ठ्यारामा तत्कालै उपाय रच्न सक्ने बुद्धिमान पात्रहरूका चरित्रहरू भने अनुकरणीय छन्, सम्झन लायक छन् । हरेक घटना एकपछि अर्को रहस्यमय तरिकाले आउने हुनाले पढ्न सुरूगरेपछि नसकी बस्न मन लाग्दैन । यो यस पुस्तकको एउटा अनुपम विशेषता पनि हो । क्लिस्ट शब्दावलीका बावजुत पनि पाठकलाई आकर्षण गरीरहन लेखक सफल बनेका छन्।
यस उपन्यासमा नारी पात्रहरू मध्य मुख्य भूमिका याङ्सिलाको नभएर मेलम्चीको देखिन्छ । यसर्थ पुस्तकको शीर्षक पनि मेलम्ची राखेको भए राम्रो हुने थियो ।अन्त्यमा पुस्तक लेखक, भट्टराईलाई बधाई तथा उहाँकै भनाई अनुसार नेपाली साहित्य जगतमा महाकवि देवकोटाको मुनामदनपछि भोट चीनसँग जोडिएको यो दोस्रो साहित्यिक कीर्ति बनोस् भन्नु भएझैँ उहाँको सदिच्छा पुगोस्, मेरो शुभकामना छ । त्यसो त लेखक भट्टराईको सातौँ यो कृति उपन्यासमा भने चौथो हो।
याङ्शीला उपन्यास
लेखक : हरिराज भट्टराई
प्रकाशक : सांग्रिला बुक्स, काठमाडौं
पृष्ठ : ३१७ं२९
मूल्य : रू ३९५।–
प्रकाशित: १९ श्रावण २०७५ ०१:१३ शनिबार