‘ज्ञान लिन कहाँ जाने ?’ भन्ने प्रश्न सोधे धेरैको उत्तर हुन सक्छ, विद्यालय । तर विद्यालय मात्र हाम्रो शिक्षा पूरा हुँदैन । विद्यालयले सैद्धान्तिक ज्ञान दिन्छ भने व्यावहारिक शिक्षा भने विद्यालय बाहिर नै हुन्छ । त्यसैले बानेश्वरमा रहेको किड्सल्याण्ड मन्टेश्वरीका साना विद्यार्थीहरू गएको बिहीबार पढ्नका लागि खेतमा गए।
सधैं विद्यालयका कक्षाकोठा भित्र किताब पढ्ने उनीहरु खेतका आली र गह्रामा रमाउँदै, सिक्दै थिए । उनीहरु रोपाइँ हेर्न खेतमै पुगेका थिए । असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा उनीहरूलाई भक्तपुरको कमलविनायक क्षेत्रको खेतमा पुगेका हुन्।
सहरमा जन्मिएका र सहरमै हुर्किएका बालबलिकाका लागि यो बिल्कुलै नौलो अनुभव थियो । कोही उत्साहित देखिन्थे भने कोही डराएजस्ता । कोही खेतमा हिलो खेलिरहेका थिए भने कोही छेउमा बसेर हेरिरहेका । बालबालिका, शिक्षिका र किसानहरू खेतमा रोपाइँ गर्दै रमाइरहेको दृश्य लोभलाग्दो देखिन्थ्यो।
यही रोपाइँका एक सहभागी थिइन्, एलकेजी पढ्ने सृष्टि पुरी । उनी खेतको गह्राछेउमा बसेर रोपाइँ हेर्दै थिइन् । साथीहरुले खेत रोप्दै गरेको दृश्य रमाइलो लागेको उनले बताइन् । उनले भनिन्, ‘पानी पर्यो । खेतमा पस्न डर लागेर गइनँ ।’ खेतमा गएर धान रोप्न नपाए पनि आफूलाई रोपाइँ हेर्न पाउँदा खुसी लागेको सृष्टिले सुनाइन्।
सृष्टिले धान नरोपे पनि उनकी बहिनी दृष्टिले भने मज्जाले खेतमा हिलो खेलिन् । गाउँले किसानसँगै धान पनि रोप्ने प्रयास गरिन् । उनी खेतमा रमाइलो गरिरहँदा उनी दिदी सृष्टि भने खेतको माथिल्लो गह्रामा बसी हेरिरहिन् । ‘म डराएर जान सकिनँ । प्रतिष्ठा म्यामसँग भ्यानमा बसिरहेँ ।’ सृष्टिले भनिन्।
खेतमा रोपाइँ गर्दा निकै रमाइलो लागेको दृष्टिले सुनाइन् । खेतमा रमाउँदै गरेकी दृष्टि भनिन्, ‘मैले त धेरै हिलो, पानी खेलेँ । म्यामसँग पानीमा गएँ । पछि सबैसँग बसेर टिफिन पनि खाएँ ।’सहरीकरणसँगै बदलिँदो जीवनशैली खेतमा पनि प्रष्ट देखिन्थ्यो । चामल पसलबाट बोरामा आउँछ भन्ने पुस्ता आफैं खेतमा गएर रोपाइँको मज्जा लिइरहेका थिए । अनि उनीहरूलाई धान उत्पादन प्रक्रियाबारे सिकाइएको थियो ।
विद्यालयका ४० विद्यार्थीले रोपाइँ कार्यक्रममा सहभागिता जनाएको विद्यालयका शिक्षिका सुरेखा जोशीले बताइन् ।
विद्यार्थीलाई खेतमा लिएर गएकी थिइन्, विद्यालयकी शिक्षिका सुरेखा जोशी । विद्यार्थीलाई असार १५ र राष्ट्रिय धान दिवसबारे बुझाउन खेतमा लगिएको उनले बताइन् । शिक्षिका जोशी भन्छिन्, ‘हामी नेपाली बाह्रै महिनामा कुनै न कुनै चाडपर्व वा दिवस मनारहेका हुन्छौँ । ती पर्व र दिवसबारे हामी विद्यार्थीलाई पनि जानकारी दिन्छौँ । यसै क्रममा हामीले बालबालिकालाई धान दिवसबारे सिकाउन यहाँ ल्याएका हौँ ।’ विद्यार्थीलाई खेतमा रोपाइँ गराउनु प्रयोगात्मक पाठको एक अंश भएको उनले बताइन्।
अवलोकनमा आएका बालबालिका कोही पानीमा रमाइरहेका थिए भने कोही खेतको आलीमा बसेर रोपाइँ हेरिहेका थिए । युकेजी पढ्ने द्रव्य पटानले साथीहरूसँग निकै बेर खेतमा पानी खेलेर रमाइलो गरे । उनले भने, ‘खाजा खाएर खेतको हिलो खेलेँ । धेरै रमाइलो भयो ।’ खेतमा पानी खेलेपछि लुगा फोहोर भएको गुनासो गर्दै थिइन्, एलकेजीका विद्यार्थी कुसुम तामाङ । उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘पानीमा हिँडेको अनि लडेर लुगा फोहोर भयो ।’ लुगामा हिलो लागे पनि खेतमा रोपाइँ गर्दा रमाइलो अनुभव भएको उनले सुनाइन्।
सिकाइ प्रभावकारी बनाउन विद्यार्थीलाई प्रयोगात्मक अवलोकनका लागि लगिने गरेको विद्यालयकी शिक्षिका यमुना सुवेदी बताउँछिन् । उनले भनिन्, ‘धान रोपेको बालबालिकालाई प्रत्यक्ष रुपमै देखाएर सिकाइ प्रभावकारी बनाउने हाम्रो उद्देश्य हो । कक्षाकोठा र किताबमा सीमित बालबालिका पढ्दालेख्दा दिक्कवाक्क भएका हुन्छन् । यसरी बाहिर ल्याउँदा उनीहरु ताजगी पनि महशुस गर्छन् ।’ किड्सल्याण्डले हरेक वर्ष असार महिनामा विद्यार्थीलाई खेतमा लगी रोपाइँ र किसानसँग अन्तरक्रिया गराउने गरेको शिक्षिका सुवेदीले बताइन्।
साना स्कुले बालबालिकालाई खेतमा देख्दा स्थानीय किसान पनि रमाए । स्थानीय किसान सरस्वती मर्हजनले सधैं गाउँले खेताला देख्ने खेतमा स्कुले केटाकेटी देख्दा छक्क परेको सुनाइन् । ‘हिजोआजका केटाकेटीलाई यस्तो खालको शिक्षा पनि दिनुपर्दोरहेछ । नत्र पछिसम्म त रोपाइँ के हो भन्ने कुरा नै बिर्सन्छन्,’ महर्जनले भनिन्, ‘सबै विद्यालयले प्रयोगात्मक ज्ञानमा ध्यान दिए राम्रो हुन्छ ।’
(प्रशिक्षार्थी)
प्रकाशित: ३० असार २०७५ ०४:१७ शनिबार