१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

ऋण लिने गरी योजना बनाउँदै स्थानीय तह

उपत्यकाका स्थानीय तह आन्तरिक ऋण समेत उठाउने गरी बजेटको तयारीमा लागेका छन् । नयाँ आर्थिक वर्षका लागि योजना तथा बजेट तर्जुमा गर्दा स्थानीय तहले आर्थिक स्रोत व्यवस्थापनका लागि आन्तरिक ऋण समेत उठाउने योजना ल्याउन लागेका हुन् । उनीहरूले स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन– २०७४ अनुसार आन्तरिक ऋण उठाउने गरी बजेट ल्याउन लागेको जानकारी दिए।

काठमाडौं महानगरपालिका

उपत्यकाका अन्य स्थानीय तहले ऋण उठाउने योजनासहित बजेट तयारी गरिरहेका बेला काठमाडौं महानगरपालिकाले भने ऋण नलिने गरी बजेट बनाइरहेको छ।

वित्त विभाग प्रमुख शिव अधिकारीका अनुसार महानगर बजेटको तयारीमा लागेको छ । ‘यतिबेला आउँदो आर्थिक वर्षका लागि बजेट बनाउने काम भइरहेको छ,’ उनले भने, ‘महानगरले ऋणबारे भने सोचेको छैन ।’ उनका अनुसार महानगर आर्थिक रूपमा सक्षम रहेकाले ऋण लिनुपर्ने अवस्था छैन । ठूला योजना बनाएर ऋण लिनुपर्ने अवस्था आए स्रोत पहिचान गरेर ऋण लिन सकिने अधिकारीले जानकारी दिए ।

ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले आन्तरिक ऋण प्रक्षेपणको विषय कार्यपालिका बैठकमा उठाएको छ । महानगरका प्रवक्ता राजु महर्जनका अनुसार महानगरले बजेट तयारी बैठकमा ऋणको विषयलाई उठाएको हो ।

‘ऋण ठूला योजनाका लागि लिने हो,’ उनले भने, ‘अहिले योजनाको छलफल भइरहेकाले कुन योजनाका लागि ऋण लिने निर्णय भएको छैन ।’ उनका अनुसार महानगरले नगरभित्र पाँचवटा अकासेपुल बनाउने योजना अघि सारेको छ । उक्त पुलका लागि ऋण लिन सक्ने सम्भावना छ । महानगरले ऋण लिँदा एसियाली विकास बैंकसँग लिने प्रवक्ता महर्जनले बताए ।

भक्तपुर नगरपालिका
भक्तपुर नगरपालिकाले भने योजना बनाएर ऋण लिने गरेको छ । चालू आर्थिक वर्षमा आवास योजनाका लागि ऋण लिएको थियो । एक हजार ६ सय ५३ रोपनी क्षेत्रफलमा जग्गा एकीकरण आयोजनाका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा ३५ करोड खर्च गरेको छ ।

यसमध्ये २५ करोड नगरपालिकाको आन्तरिक आयबाट खर्च भएको थियो । बाँकी १० करोड रुपैयाँ ऋण लिएको थियो । काठमाडौं उपत्यका विकास प्राधिकरणबाट १० करोड ऋण लिएर योजना सञ्चालन गरेको मेयर सुनील प्रजापतिले जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षका लागि पनि नगरपालिकाले योजना बनाएर ऋण लिन सक्छ । तर, अहिलेसम्म कस्तो योजना बनाएर कहाँबाट कति ऋण लिने भन्नेबारे भने यकिन भएको छैन ।

बूढानीलकण्ठ नगरपालिका

बूढानीलकण्ठ नगरपालिकाले योजना बनाएर ऋण लिने लक्ष्य राखेको छ । ‘ऋण लिने भनेको खास योजनालाई पूर्णता दिनका लागि हो,’ मेयर उद्धव खरेलले भने, ‘आगामी वर्षको योजना बनाउने कार्यमा लागेका छौँ ।

आन्तरिक स्रोतले नभ्याउने प्रकारका ठूला योजना स्वीकृत भएमा ऋणको प्रक्षेपण गरिनेछ ।’ उनका अनुसार ऋणको स्रोत भने पहिचान गरिएको छैन । सामान्य खालका योजना आए ऋण नलिई काम गर्ने र ठूला योजना आए मात्रै ऋण लिने लक्ष्य नगरपालिकाको छ ।

चन्द्रागिरि नगरपालिका
चन्द्रगिरि नगरपालिकाको भने ऋणको योजना बनाएको छैन । मेयर घनश्याम गिरीका अनुसार नगरपालिकाले बजेटको विषयमा छलफल सुरु गरेको छैन ।

‘ऋणबारे कार्यपालिका बैठकले निर्णय गर्ला,’ उनले भने, ‘सबैभन्दा पहिला केन्द्र र प्रदेशको छलफल हुन्छ, त्यसपछि मात्रै बजेटबारे छलफल हुन्छ ।’ उनका अनुसार माथिल्लो सरकारबाट कस्ता योजना र बजेट आउँछ, सोहीअनुसार ऋणको विषय उठाइनेछ । अहिलेसम्म नगरपालिकाले आन्तरिक ऋणको योजना भने बनाएको छैन् ।

कीर्तिपुर नगरपालिका

कीर्तिपुर नगरपालिका योजना बनाएर आन्तरिक ऋण लिने पक्षमा छ । मेयर रमेश महर्जनका अनुसार दिग्दर्शनले आन्तरिक ऋणको प्रक्षेपण गर्न सक्ने उल्लेख गरे पनि संघीय र प्रदेश सरकारको स्पष्ट कानुन नहुँदा ऋणको विषय अन्योल छ । ‘आन्तरिक ऋण लिएर योजना बनाई कार्यान्वयन गराउन सक्दा राम्रो हुन्छ,’ उनले भने, ‘तर, प्रदेश र संघीय सरकारले आन्तरिक ऋणलाई झन्झटिलो बनाउँदा समस्या देखिएको छ।’

यी केही स्थानीय तह मात्रै नभएर उपत्यकाका सबै स्थानीय तह यतिबेला बजेटको तयारीमा जुटेका छन् । यसरी बजेटको तयारीमा जुट्दा दिग्दर्शनअनुसार आन्तरिक ऋणको पनि प्रक्षेपण गर्छन् । मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङका अनुसार सही योजना बनाएर ऋण लिन सक्छन्, स्थानीय तहले । त्यस्ता योजना भने महत्वपूर्ण हुनपर्ने उनले बताए।

प्रकाशित: ४ जेष्ठ २०७५ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App