१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अन्य

सम्झेर आमालाई

वाक्सेली थापा

आमा !
सेतै फुलेको तिम्रो कपालमाथि
अझै हटेको छैन अभावको घुम्टो
र, छुटेको छैन बूढो थाप्लोबाट
नियतिको निर्दयी नाम्लो
त्यसमाथि पनि मेरै पीर खापेर
हिँडिरहिछ्यौ तिमी निरन्तर
जिन्दगीको दुर्गम गोरेटोमा !

मलाई जन्माउने तपस्यामा
वैंश फुल्नु अघिदेखि नै
रगत भएर बग्यौ तिमी लगातार
हरेक वर्ष कम्तिमा ४८ दिन
जबकि
बग्ने कल्पना गर्न सक्तिनँ म
४८ सेकेन्ड पनि
मलाई हुर्काउने जिम्मेवारीमा
चिन्ता भएर बग्यौ तिमी पलपल
बग्नुको पनि सीमा हुन्छ आमा !
तर, पनि देखिरहेछु
आँसु भएर बगिरहिछ्यौ अझैसम्म
अचम्म लाग्छ मलाई
जिन्दगीभर नथाकिकन अविरल
कसरी बगिरहन सकिरहिछ्यौ ?

विभेदका चोटहरूले
जीर्ण भएको शरीर ढलपल गर्दै छ
तैपनि कसरी जुधाउन सकेकी यति विघ्न
सन्तापको रापले मुजा परेको निधार
अन्धकार समुद्रको कालो चट्टानसँग
आमा के दुख्दैन तिमीलाई ?

प्रार्थना त गर्यौ सधैँ भगवानसँग
तर, केही मागिनौ आफ्नो लागि
त्यही ऊर्जाले दौडिरहेछु म यता
सुविधाको चिल्लो सडकमा आजसम्म
आशीर्वाद यति थुपार्यौ
र, आफ्नै मुटुमा मेरो लागि
सायद त्यहाँ रगत अट्ने ठाउँ छैन
र, त सेताम्य भएको छ तिम्रो छाला
यति सुख्खा तिम्रो ज्यानबाट पनि
कति बर्सिन सकेको मायाको वर्षा
जसले सिञ्चिएको छ मेरो पूरै जीवन  ।

आजभोलि तिमीलाई
आफ्नै घरमा घरिघरि तर्साइरहन्छ
बढेमानको शून्यताले
दुःखको पहाड तिम्रै छाती टेकेर
छोडिरहेछ निर्लज्ज खित्काहरू
तिमी सुन्छौ कि नसुनेजस्तै गर्छौ ?
कहिलेकाहीँ सोच्छु कि
सहनशीलताको यो हद पनि हुन्छ ?

आमा !
मलाई थाहा छ
गाउँमा तिमी सुत्दा
सुत्छ्यौ आँखाको नानीमा राखेर मलाई
उठ्दा, उठ्छ्यौ मनको काखमा राखेर
तर, माफ गर मलाई !
यता सहरमा
तिम्रोबारे कविता लेख्न बस्दा
भर्खर मात्र तिमीलाई सम्झेको छु।

 

प्रकाशित: ८ वैशाख २०७५ ०१:५१ शनिबार

सम्झेर आमालाई