१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

बिजनेस वार्ता

भित्र वार्ता चलिरहेको थियो । बाहिर सञ्चारकर्मी एवं अन्य प्रकारका कर्मीहरू प्रतीक्षारत थिए । सबैको चासो एकै ठाउँमा केन्द्रित थियो– वार्ता के भयो ? भित्रबाट खबर आउँथ्यो, वार्ता हुँदै छ, कुरा मिल्ने देखिन्छ।

बाहिर जति व्यग्र प्रतीक्षा थियो, भित्र त्यति नै घनीभूत संवाद जारी थियो । जुँगा भएका नेताजीले भने, ‘वार्ता लामै भयो । तपाईंले ख्वाएको खाना पनि खाइहालियो । अब कुरा मिलाऔँ ।’उनले (जोसँग वार्ता भइरहेको थियो) भने, ‘अब त मिलाउनैपर्ला नेताजी । कुरा मात्रै धेरै लामो भयो । आखिर यो मेडिकल कलेज खुल्यो भने फाइदा मलाई मात्र हुने होइन, तपाईंहरूलाई पनि हुने हो क्या रे।’

जुँगे नेताजीले भने, ‘म पनि त्यही भन्दै छु, फाइदा सबैलाई छ । अब प्रधानमन्त्री बन्ने उहाँ नै हुनुहुन्छ । उहाँको कुरा मिल्यो भने मेरो पनि मिल्छ ।’जुँगा नभएको नेताजी मुसुमुसु मात्रै हाँसेर बसिरहे । जुन नेताजीको पहिले दाह्री समेत थियो । अहिले जुँगा पनि छैन । उनको पहिले दाह्री किन थियो, अहिले जुँगा समेत किन छैन, त्यो कसैलाई थाहा छैन । स्वयं दाह्री काट्ने हजामलाई पनि थाहा छैन होला । उनी यसरी थाहै नपाउने गरी काम गर्नुहुन्छ । अहिले उनी मुसुमुसु जो हाँसे, त्यो पनि किन हाँसेको हो, कसैलाई थाहा छैन।

कुरामा मुसुमुसु हाँसो मिसाउँदै उनले भने, ‘हामीलाई हतार छ, भन्दैमा रातको २ बजे सूर्य उदाउँदैन । म त यहाँ त्यही कुरा मिलाउँछु भनेर नै वार्ता गर्न आएको छु । त्यो पनि तपाईंको आफ्नै घरमा । कुरा मिलाउनलाई अलिकति ‘कुरा’ पनि त मिलाउनुप¥यो नि । ‘कुरै’ नमिलीकन कसरी कुरा मिल्छ ?’
वार्ताका लागि बोलाएका घरमालिक र जुँगे नेताले एकअर्काको मुख हेरे । घरमालिकले भने, ‘त्यही कुरा मिलाउन त यहाँ कुरा गर्न बोलाएको नि । अब तपाईं नै भन्नुस् केचाहिँ ‘कुरा’ मिल्यो भने कुरा मिल्छ ?’
‘सबैभन्दा पहिले त तपाईंले लाइसेन्सै लिनुभा’छैन,’ जुँगा नभएका नेताले भने ।
‘त्यो त हो...’ घरमालिकले स्विकारे ।‘हो, कुरो त्यहीदेखि मिलाउनुपर्यो । तपाईंलाई मनपर्यो भन्दैमा भालेले अण्डा पार्दैन,’ जुँगा नभएका नेताले भने।

‘हो त नि... मने, कुरा मिलाउने हो भने त्यहीँदेखि मिलाउनुपर्छ,’ जुँगे नेताले भने ।घरमालिकले भने, ‘मिलाउनुपरे मिलाउला नि । कुरै मिलाउँ भनेर यो बैठक डाकेको हो ।’‘बस्, पहिले त्यो कुरा मिलाउनुस्,’ जुँगा नभएका नेताले भने, ‘त्यसपछि अरु कुरा मिलाउन गाह्रो छैन।’जुँगे नेताले भने, ‘गाह्रोको त कुरै होइन नि । मने, त्यस्तो गाह्रोसाह्रो परेको हटाउनलाई नै त हामी आएका हौँ नि।’


जुँगा नभएका नेताले भने, ‘अब त्यो कसरी, कतिमा कुरा मिलाउने हो हामीलाई भन्नुस् । हामी मिलाइदिउँला ।’घरमालिकले भने, ‘उसो भए त्यसको जवाफ म भोलि दिन्छु, हुन्न ?’‘किन नहुनुपर्यो र ? लौ उसो भए आज यति नै गरौँ,’ जुँगा नभएका नेताजीले भने ।तीनैजना उठे । घरमालिक त घरको मालिक भइहाले, उनी भित्रै बसे । दुई नेता मात्र बाहिर निस्के । बाहिर पर्खेर बसिरहेका सञ्चारकर्मीहरू झुम्मिन आइपुगे, ‘वार्ता कस्तो भयो ? कुरा मिल्यो ? एकता कहिले ? अझै कति टाइम लाग्छ ?’

जुँगावाल नेताले भने, ‘कुरा मिल्नेवाला छ । अब अलिकति मात्रै बाँकी भन्दा नि हुन्छ । अत्यन्त सौहार्दपूर्ण निर्णयहरू हुनेवाला छ ।’जुँगा नभएका नेताले पनि बोले, ‘अब दुई–चार दिनभित्रै कुरा मिलिहाल्छ । तपाईंहरूलाई खुसीको खबर प्राप्त हुन सक्छ ।’एकजना सञ्चारकर्मीले प्वाक्क सोधिहाले, ‘कुरा अलिकति मात्रै मिलेको छैन भन्नुभयो । नमिलेको कुराचाहिँ कुन हो नि ?’

जुँगे नेताले भने, ‘नमिलेको खास कुरो त त्यही कुरामा हो । अब हामी यो कुरा पनि मिलाउँछौँ ।’
जुँगा नभएका नेताले त्यसैमा थपे, ‘कुरो मिल्यो कि सबै थोक मिल्छ ।’‘त्यही त के कुरा मिलेको छैन भनेको ?’ सञ्चारकर्मीले सोधे ।‘त्यो अहिल्यै यहाँ नखुलाऔँ,’ जुँगे नेताले भने, ‘फेरि कुरा बिग्रन सक्छ । एक–दुई दिनमा कुरो थाहा पाइहाल्नुहुन्छ नि ।’‘अब अर्को बैठक कहिले ?’ पुनः पत्रकारको प्रश्न ।
‘अब पर्सि अर्को बैठक मित्तलजीको घरमा बस्दैछौँ ।’ जुँगे नेताले जवाफ दिए ।‘को मित्तल ?’ मान्छे नचिनेकाले पुनः प्रश्न आयो ।

‘उही क्या, जलविद्युत् सेक्टरको लगानीकर्ता । अर्को बैठक उहाँको घरमा नबसी हुन्न भन्ने खबर आएको छ । त्यसैले अर्को बैठक उहाँकै घरमा बस्ने निधो भएको छ,’ नेताजीले स्पष्ट पारे ।‘तर, यो बैठक उहाँहरूकै घरमा किन बस्नुपरेको होला ? केही कारण छ कि ?’‘हैन, कुरा त त्यहाँ पनि मिलाउनुपर्यो । कुरो नमिलेर हैरान भएका छन् । त्यसैले त्यताको कुरा पनि मिलाउनलाई नै यो बैठक उता बस्न जान लाग्या हो ।’‘अब मिल्छ त कुरा ?’ अन्तिम प्रश्न ।‘नमिली त सुखै छैन,’ जुँगे नेताजीले भने, ‘त्यो नमिले वार्ता गरेकै मने औचित्यहीन हुन्छ ।’अर्को बैठक अर्को व्यापारीको घरमा गर्ने निर्णयसहित बैठक टुंगियो ।  
 

प्रकाशित: १२ फाल्गुन २०७४ ०२:४७ शनिबार

बिजनेस वार्ता