१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

नाम रहस्य उद्घाटन

तेजेश्वरबाबु ग्वंगः

 

जेसिस माध्यमिक विद्यालय, इन्द्रायणी पीठ, खौमाटोल, भक्तपुर–१५ । आठ कक्षाका शिक्षार्थी भाइबहिनीसित कक्षामा रमाइरहेथेँ । नामको अर्थ खोतल्ने सन्दर्भ गाँस्दै थिएँ । नाम सोध्दै अर्थ लगाइरहेथेँ । अचेल अर्थविनाका नाम राख्ने प्रचलन बढ्दै गरेको पाएँ । नामको अर्थ आफैँलाई नखुलेको भेटाएँ । प्रत्येक हामीले आफ्नो नामको अर्थ जानिराख्नुपर्ने विचार पोख्दै थिएँ । एकले जिज्ञासा राखे, ‘तपाईंको नामको अर्थ के हो ?’
भन्नैपर्यो भनेँ ।

‘दाइ, ग्वंगःको अर्थ ? मैले फलानासित सोधेथेँ, उहाँले त ग्वंगःको अर्थ अलि लाटोलाटो नबुझ्ने खाले बताउनुभयो– ग्वाँजे ! तेजेश्वरजस्तो मान्छे नि लाटोलाटो अबुझ हुन्छ ? जान्ने–बुझ्नेले कहाँ आफैँ बुझ्ने–जान्ने भन्दै फलाकी हिँड्छ त ?’

तेजेश्वरबाबु ग्वंगः । तेज+ईश्वर= तेजेश्वर । बाबु, बाआमाको प्यारो छोरो बाबु । ग्वंगः नेपालभाषाको शब्द । ग्वंगः= भाले, जसको अर्थ अनेक छ । मल्ल राजाहरूसित नेपाल पसेथे हाम्रा पुर्खा । हाम्रो पुख्र्यौली थर राठौर, राठौर क्षेत्रीय वंश । त्यसताका काठमाडौं उपत्यका नेवार बस्तीको केन्द्र थियो । मल्ल राजाहरूले नेवारभाषा÷नेपालभाषालाई राजभाषा अपनाए । जनताको भाषा राजभाषा बनाउनु राजकाजको सुझबुझ बन्यो । राजाले जनजिब्रो÷जनबोली राजकाजको मध्यम बनाएथे ।
वर्षौं वर्षको पैदल यात्रा । सँगसँगै हिँडेका । दरबारमा पनि एकै तलाका कोठामा सुत्ने प्रथा । राजा सखारै भालेको पहिलो डाँकोमै बिउँझने । ‘ए, फलाना !’ ‘हाजिर महाराज !’ बिउँझिई उपस्थिति जाहेरी । त्यो क्रम निरन्तर चल्दै गयो । एकदिन राजाले भारदारी जमघटमा भने, ‘फलानो यो त भालेजस्तो अर्थात् ग्वंगःजस्तो । म भालेको एकै डाँकोमा बिउँझन्छु ।’
‘ए, फलानो !’
जहाँतहीँ हाजिरी त्यसपछि ‘राठोर’ ग्वंगः अर्थात् ग्वंगल बने । ग्वंगः उपमा । उपमा प्रतीक । यसले ऐतिहासिक विम्ब बोक्छ ।
गजलाधीश सनतकुमार वस्तीले एक साँझ जिज्ञासा राख्नुभयो, ‘दाइ, ग्वंगःको अर्थ ? मैले फलानासित सोधेथेँ, उहाँले त ग्वंगःको अर्थ अलि लाटोलाटो नबुझ्ने खाले बताउनुभयो– ग्वाँजे ! तेजेश्वरजस्तो मान्छे नि लाटोलाटो अबुझ हुन्छ ? जान्ने–बुझ्नेले कहाँ आफैँ बुझ्ने–जान्ने भन्दै फलाकी हिँड्छ त ?’ एक भाषाको शब्द अर्को भाषामा कसरी अर्थिंदो रैछ । हाँसेँ मुसुक्क आफैँ, आफ्नो नामथर रहस्य अर्थान्तरित भइदिँदा । भाषा संस्कृतिको मूल जरो, एउटा भाषा अर्को भाषाभाषीले अथ्र्याउँदा अर्थ नै अनर्थ बन्दो रहेछ, विश्वभरिकै संस्कार ।
तेजेश्वर नामसित आमाबुबाका इच्छा गाँसिएको झल्किन्छ । आफ्ना सन्तान ईश्वरको तेज धारण गरेका बनून्, यो आकांक्षा आमाबुबाको मनको । अनुमान मेरो । विश्लेषण तपाईंको । प्रत्येक आमाबाबुको मनभित्र एउटा घमाइलो इच्छा, आकांक्षाले बास लिएको हुन्छ । मैले सिकेँ आफैँसित, आफ्नै नाम भित्रभित्र । छोरोको नाममा आफैँले आफूलाई पढेँ । दीर्घजीवी जीवन कामना ! नातिको नाम राख्दा अरु बढी पढेँ, सिकेँ । नातिको नाम लिजः, नुगःजः, मूजः । एक विद्यार्थी बहिनीले सोधी, ‘लिजः, नुगःजः र मूजःको अर्थ के ?’
यी तीनै शब्द नेपालभाषाका । लिजःको अर्थ भविष्य किरण । नुगःजः को अर्थ हृदयकिरण । अनि मूजःको अर्थ मूल किरण । लि= भविष्य । नुगः= हृदय । मू= मुख्य, मूल । जः= किरण । जः= जला÷ज्योति । जला शब्दको अन्त्याक्षर= अन्तको अक्षर प्रायः उच्चारण गरिन्न नेपालभाषामा । नेपाल शब्दको पनि ल लोप गरी उच्चारण गरिन्छ, नेपाल त नेपाः मात्र हुन्छ, बन्छ । यस्ता धेरै छन् । यो नेपालभाषा विज्ञानको आफ्नै स्वरूप बन्छ, बनेको छ । नाति भविष्य मेरो । म नातिमा बाँचिरहेको हुन्छु । मरेपछि पनि । नातिकै हृदयमा ढुकढुकी बन्छु मरिसक्दा पनि । नाति त्यसैले हृदय किरण । मुटुको ढुकढुकी नुगःजः । नाति मूल किरण÷मुख्य किरण पनि । मूल÷मुख्य किरण अन्तरालबाटै अन्तरालदेखिको न्यानो राप मूजः । नाम रहस्य यस्तै हुन्छन् । प्रत्येक नामसित मातापिताका मनोकांक्षा जोडिएको हुन्छ ! त्यसैले सबै आमाबाबुले सार्थक÷अर्थपूर्ण नाम दिनुपर्छ । जस्तोसुकै होइन अर्थ न बर्थको ।
आकांक्षाको महिमा नाम भण्डार । लाग्छ प्रत्येक आमाबुबाको मनको इच्छा, आकांक्षा यस्तै यस्तो । आमा–बाबु बनी अनुभूत हुने यी अनुभूति... ! कति महान् आत्म साक्ष ! अन्तर्मनको सोच भित्री चाहना । यही हो, जहाँ रहरका लहसिँदो सुखानुभूति यो आनन्दको लहर जसमा तरंगिन्छन् । सच्चा आनन्दका लहरहरू ! तिनै लहरमा तरंगिन पुग्छु उत्तिनै खेर । उन्मुक्त तरंग पावन बन्छ– पवित्र ! पावन तरंगमा तरंगिएर आनन्दी मनले चुक्क चुमिदिन्छु । लिजः, नुगःजः र मूजः– विशेष नातिहरूलाई चुक्क चुम्बन ! सर्वोच्च आनन्द !
भन्दाभन्दै लाग्न थाल्छ– नाम त सार्थकै राख्नुपर्दो रैछ । मन बोल्न थाल्छ मैसित । ‘ए, अर्थविनाको नामसित अनर्थ काम हुन सक्छ पनि । फेरि पनि मन बहस गर्न आउँछ । भन्छ अनि, ‘कहाँ त्यसो हो र ? अर्थपूर्ण नाम पनि अनर्थ काममा लाग्न सक्छ है !’ अनि आफैँसित अन्तर्वार्ता गर्न पुग्छु म । अर्थको अर्थ र अनर्थ त परिवेशले बनाउँछ । ‘छोरा के हेर्नु छोराको साथ हेर्नु !’ माझिएको उखान हाम्रो । यहाँ छोरोको साथ परिवेश बनिदिन्छ । परिवेश समाज । समाजैले त हो पवित्रलाई अपवित्र पारिदिन्छ । वागमती कत्रो पवित्र थियो । अहिले कस्तो छ । अथक परिश्रम गरेर फेरि पुनर्जीवन दिइरहेछ समाज जुटेर !
नाम संज्ञाको एकै मात्र अर्थ रहन्न । ‘कुण्ड कुण्ड पानी मुण्ड मुण्ड विचार ।’ ग्वंगः जागरणको दूत म भन्छु । ऊ भन्ला पोथीको भाले । अर्को भन्लान्, ‘रातो भाले क्वायाँक्वायाँ, सुत्केरीलाई ख्वायाँ । पोथी आउँदा ऊ ऊ पोथी आई पछि पछि लागी लखेट न ! भन्ने गरेको अझै झल्याँस्स हुन्छु । ठट्टाठट्टै हो, एकछिनको रमझम, रमझम एकछिनको, एकछिनमै टुंगिन्छ । एकछिनमै तुहिने रमझमको असर भने दीर्घकालीन प्रभाव बन्न पनि सक्छ । यो मेरो मनको बह । कसैलाई नकह होइन, सबैसित धक फुकाएर कह । टोले, छिमेकीले जिस्काएको ग्वंगः महिमा सँगालेर एक हास्यव्यंग्य निबन्धै रचेथेँ । धेरै वर्षपछि थाहा पाएँ– त्यो त डिप्लोमा कोर्समा राखिएको रहेछ– नेपालभाषामा ।
मनलाई फनक्क फर्काएँ । के अनर्गल गरिरहेछु ? चाहिँदो प्रलाप हो र यो ? हुन नि सक्छ, नहुन नि सक्छ । हुनुको सोच नि म । नहुनुको नि त मै । मै अर्थ । मै अनर्थ । मै सार ! मै निसार । आफू असल त जगत् असल । आफ्नै मन्थन । आफ्नै सोच । आफैँ सबैथोक । आफैँ सबसोच । आठ कक्षाका भाइबहिनीसित एक कक्षाको मन्थन । यो उपहार तपाईंलाई । मेरै पाठक हजुरलाई । सलाम ! असल मति असल गति । नाम रहस्य वर्णन अहिले यति !

प्रकाशित: २५ कार्तिक २०७४ ०४:३८ शनिबार

नाम रहस्य उद्घाटन