१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

नेपाली सभ्यतामाथि गम्भीर विचरण

नरनाथ लुइँटेल

अखण्ड नेपाली राष्ट्रिय एकतामाथि धेरै शंका र सन्देह पैदा भइरहेको संगीन बेला हो यो । आज आन्तरिक रूपमा यो देश जति कमजोर बन्दै गइरहेको छ, त्यति नै बाह्य शक्तिको चलखेल बढिरहेको छ । आफ्नै नाभीबाट आइरहेको बास्ना कस्तुरीले चाल नपाएर बिना खोज्न अन्यत्रै भौँतारिएझैँ हामी भौँतारिइरहेका छौँ । प्रकृतिले दिएको यहाँको अजस्र स्रोत र साधनलाई सदुपयोग गरेर सम्पन्न हुनतिर हाम्रो दृष्टिकोण, रुचि र जाँगर छैन । यो अजस्र स्रोत र सम्पदामाथि छिमेकी र बाँकी विश्वको ध्यान अधिक बढिरहेको छ । हाम्रा यी अमूल्य प्राकृतिक सम्पदाबाट लाभ लिन उनीहरू ५० वर्ष, सय वर्ष पछिसम्मका योजना अहिलेदेखि बनाइरहेका छन् । हामीले उनीहरूको योजनाबद्ध हमलाबाट जोगाउने र संरक्षण गर्नेबारे सोच्न सकिरहेका छैनौँ ? यो अथाह सम्पदालाई सुव्यवस्थित योजनाका साथ आफैँले सदुपयोग गर्ने हो भने छोटो अवधिमै यो देशले काँचुली फेर्न सक्ने थियो । तर हाम्रो राष्ट्रिय नेतृत्वलाई यसतर्फ सोच्नेसम्म फुर्सद छैन । सत्ता स्वार्थबाहेक केही पनि नदेख्ने दृष्टिभ्रमले मतिभ्रष्ट भएकाहरू व्यक्तिगत रूपमा अकुत धन थुपार्ने ध्याउन्नतिरै अघि बढिरहेको देखिन्छ । यो देखेर औँलामा गन्न सकिने लोककृष्णहरू दिक्क मान्छन्, तर निराश भएका छैनन् । जल, जमिन, जंगल, जडीबुटी आदि सम्पदाको सदुपयोग गरी राष्ट्र निर्माणमा योगदान पु¥याउने ‘अष्टज अभियान’ चलाइरहेका छन् उनीहरू । यस अभियानका एक अभियन्ता हुन्, लोककृष्ण ।

यही गौरवपूर्ण भू-भागबाट मानवले आफ्नो आदि सभ्यताको थालनी गरेको हो भन्ने थुप्रै प्रागऐतिहासिक प्रमाण फेला परिसकेका छन् । सयकडौँ वर्ष व्यतित गर्दै मानिसको शाखा र हाँँगा यतैबाट अन्यत्र अरू महादेशतिर गएका हुन् भन्ने आधार भाषा–वैज्ञानिक खोजहरूले समेत संकेत गरिरहेका छन् । यही विशाल भूभाग अन्तर्गत विकसित भएको सभ्यता, आर्यावर्त संस्कृति, भाषा र प्राचीन साहित्यको अजस्र ज्ञानभण्डार संस्कृत वाङ्मयमा थिग्रिएर रहेको छ ।

्०००

पछिल्लो चरणमा लोककृष्ण भट्टराई नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक रूपान्तरणमा पुष्पलालले दिएको योगदान विस्मृत हुन नदिन जमेर लागे । पुष्पलाल स्मृति प्रतिष्ठान स्थापनामा उनको क्रियाशीलता उल्लेखनीय  छ । पुष्पलाल प्रतिष्ठानको अगुवाईमा नेपालको कम्युनिस्ट इतिहासको खोज–अनुसन्धान, संरक्षण एवं प्रकाशनका केही महŒवपूर्ण काम सम्पन्न भएका छन् । कीर्तिपुरको चम्पादेवीमा प्रतिष्ठानको आफ्नै भवन निर्माण भएको छ, त्यसको परिसरमा पुष्पलालको सालिक र पुष्पवाटिकाले आकार लिएको छ । पुष्पलालका राजनीतिक रचनाको ग्रन्थावली झन्डै आधा दर्जन भागमा प्रकाशित छन् । प्रतिष्ठानबाट पुष्पलालकै पालाको प्रकाशन ‘नौलो जनवाद’को पुनप्र्रकाशन भयो । यसका केही अंक यो पंक्तिकारले पनि सम्पादनको अवसर पाएको हो । केही अंक निस्केर अहिले स्थगित भएको छ । यी यावत् काममा लक्ष्मीभक्त उपाध्यायसँगै लोककृष्णको संलग्नता अविछिन्न रहेको प्रस्ट हुन्छ । हरेक वर्ष पुष्पलाल स्मृति दिवसका दिन प्रतिष्ठान परिसरमा विशेष समारोहको आयोजना गरिन्छ । प्रायः सबै खेमाका वामपन्थी लोककृष्णकै निम्ता पाएर सहभागी हुने गरेका छन् ।

०००

केही वर्षयता विभिन्न पत्रपत्रिकामा अलि पृथक् विषयमा लेखिएका लोककृष्णका लेख–रचना प्रकाशित हुँदै आएका छन् । उनका यी लेख–रचनामा नेपाली सभ्यताको उत्थान कसरी भयो, हाम्रो प्राचीन सभ्यताका विशेषता के के हुन्, नेपाली समाजको विकास प्रक्रिया कस्तो छ, आदि विषय–क्षेत्रमा नवीन किसिमले विश्लेषण गरिएको पाइन्छ । नेपाली सभ्यता र संस्कृति एवं समाज विकासका चरणबारे रुचि राख्ने अध्येयताको ध्यान तान्ने गरी लोककृष्ण लेख्दै छन् । यसैबीच लोककृष्णको ‘नेपाली सभ्यता ः विगत र वर्तमान’ नामक ग्रन्थ प्रकाशित भएको छ, नेपाली सभ्यताको गम्भीर विश्लेषण गरिएको यस विशालकाय ग्रन्थमा लोककृष्णले नेपाली समाजको प्राचीन वैदिककालदेखि आधुनिक कालको पनि पछिल्लो चरणसम्मका सन्दर्भलाई नयाँ दृष्टिकोण साथ उठाएका छन् । हिन्दू परम्परामा आराध्यदेव मानिएका शिवलाई आदि नेपालीका रूपमा उल्लेख गर्दै मानव सभ्यताको आदि थलो नेपाल भूमि रहेको तर्क अघि सारिएको छ । शिवसंहिताको अन्तर्वस्तुलाई नेपालकै भूमिमा जन्मिएका गौतम बुद्धले तत्कालीन सन्दर्भमा पुनव्र्याख्या गरेको र बुद्धको दर्शनबाट आधुनिक समाजवादी दार्शनिक कार्ल माक्र्सले आफ्नो दर्शनलाई समृद्ध पारेको समेत चर्चा भट्टराईले यस ग्रन्थमा गरेका छन् । पश्चिममा उद्भव भएको भनिएको लोकतान्त्रिक वा गणतान्त्रिक सभ्यता पश्चिमले अपनाउनुभन्दा हजारौँ वर्ष अघिदेखि नै हाम्रै भूमि कपिलवस्तु र जनकपुरमा शुद्धोधन र जनकले स्थापना गरेको लोकतान्त्रिक गणतन्त्र हामीले अपनाइरहेका थियौँ, धेरै पछि आएर मात्र पश्चिमले यसैको अनुसरण गरेका हुन् भन्ने जबर्जस्त आधार र प्रमाणको स्पष्ट संकेत गरिएको छ, यस ग्रन्थमा । हामीकहाँ हजारौँ वर्ष अघिदेखि प्रयोग भएका हाम्रा ज्ञान र प्रविधिलाई पश्चिमले अनुसरण गरेको र थप विकास गरेको हो भन्ने तार्किक सन्दर्भलाई ग्रन्थमा निकै बलियोसँग प्रस्तुत गरिएको छ ।

०००

अहिले अस्तित्वमा देखिएका अलग–अलग राष्ट्र नेपाल, भारत, भुटान, बंगलादेश, पाकिस्तान प्राचीनकालमा एउटै भूखण्डका रूपमा नेपाली शिव सभ्यताअन्तर्गत थिए । हिमालय पर्वत शृंखलाबाट गंगाको मैदानी तटसम्म फैलिएको विशाल भू–भागलाई भारत वर्ष भनिन्थ्यो । वर्तमानमा यो भूखण्ड विभिन्न सीमारेखामा खुम्चिए पनि सभ्यताको विकाससँगै नेपाली माटोमा जन्मिएका हाम्रा पुर्खाको प्रभाव उत्तरको चीनदेखि दक्षिणको मैदानी तटसम्मै विस्तारित थियो । उत्तरको विशाल चीन पुगेका नेपाली अरनिकोको प्यागोडा कला र भृकुटीले प्रसारित गरेको बुद्ध दर्शनले आजसम्म आलोकित गरिरहेको छ । यो ऐतिहासिक र विशिष्ट योगदानको कदर गर्दै माओत्से तुङकै पालामा अरनिको र भृकुटीलाई चिनियाँ राष्ट्रिय विभूति घोषणा गरिएको थियो । विश्वामित्र, व्यास, वाल्मीकि र जनकजस्ता नेपाली पुर्खाले निसृत गरेका विचारबाट हिन्द–चीनको भूखण्ड आजसम्म जबर्जस्त प्रभावित हुनु हाम्रो निम्ति गौरवको विषय हो । यो गौरवलाई भट्टराईको यस ग्रन्थले स्मरण गरेको छ ।

०००

यही गौरवपूर्ण भू–भागबाट मानवले आफ्नो आदि सभ्यताको थालनी गरेको हो भन्ने थुप्रै प्रागऐतिहासिक प्रमाण फेला परिसकेका छन् । सयकडौँ वर्ष व्यतित गर्दै मानिसको शाखा र हाँँगा यतैबाट अन्यत्र अरू महादेशतिर गएका हुन् भन्ने आधार भाषा–वैज्ञानिक खोजहरूले समेत संकेत गरिरहेका छन् । यही विशाल भूभाग अन्तर्गत विकसित भएको सभ्यता, आर्यावर्त संस्कृति, भाषा र प्राचीन साहित्यको अजस्र ज्ञानभण्डार संस्कृत वाङ्मयमा थिग्रिएर रहेको छ । वेद, उपनिषद् र यिनका अनेक शाखा–शास्त्र प्रमाणका लागि अझै जीवित छन् । खालि शोध–अनुसन्धान, अनुशीलन र व्याख्या विश्लेषण पर्याप्त हुनुपर्छ । यतै विकसित भएर हाम्रो ज्ञान प्राचीन दर्शन, योग, ज्योतिष, वाणिज्य, रोग निदान र उपचार पद्धति, आकाशीय पिण्ड, ग्रह–तारा नक्षत्रसम्मको खगोलीय चाल र गतिमा समेत हजारौँ वर्षअघि नै पहुँच पुगेको थियो । वेद र उपनिषद्मा अभिलिखित ती यावत् सन्दर्भको गम्भीर अध्ययन र अनुवाद गर्दै पश्चिमका अध्येयता, दार्शनिक, वैज्ञानिक र विद्वान् आश्चर्यचकित भएका छन् । यो आश्चर्यको आकलन गर्न उनीहरूका केही प्रतिनिधि अभिव्यक्ति यहाँ उद्धृत गर्नु असान्दर्भिक हुनेछैन ः

क) फान्सेली खगोलविद् जाँ सिल्भाइन बेलीले सन् १७९३ अघि नै भनेका थिए, ‘हिन्दूहरूको खगोलशास्त्र संसारमा प्राचीन विद्या हो । हिन्दूहरूबाटै इजिप्सिअन, ग्रिसेली रोमन र यहाँसम्म कि यहुदीले समेत त्यसको ज्ञान प्राप्त गरेका थिए ।... चार हजार पाँच सय वर्षपूर्व हिन्दूहरूले गणना गरेर निकालेको तारा गणहरूको गति आजसम्म क्यासिनी र मेयरले निकालेको आधुनिक तालिकाभन्दा एक पल पनि फरक परेको छैन ।’

ख) सन् १८०३ भन्दा अघि नै जर्मनका अर्का दार्शनिक जोहान गटफ्रिड हर्डरले भनेका थिए, ‘मानव जातिको उत्पत्तिको आद्य रूप खोज्दै जाँदा भारत वर्षमा पुगिन्छ, जहाँ मानव मस्तिष्कले सर्वप्रथम विद्वता र सदाचारको आकार पत्ता लगायो । ती गुण सरलता र शक्तिले उदात्ततासम्पन्न थिए, जसको तुलनामा कुनै कुरा हामी युरोपेलीका, यो चिसो दार्शनिक जगत्का कसैका मनमा आउँदैनन् ।

ग) सन् १७९४ भन्दा अघि नै प्रख्यात बेलायती भाषाशास्त्री सर विलियम जोन्सले भनेका थिए, ‘...यहाँसम्म कि पाइथागोरस र प्लेटोले पनि भारतवर्षका सन्तमहात्मासँगै ती स्रोतबाट अनुपम रस नलिएका भए ती लोकोत्तर सिद्धान्त बन्ने थिएनन् । ...म, हाम्रा अमर न्युटनको कीर्तिपताकामा सिउरिएको कहिल्यै नओइलिने यशरूपी पुष्पवाटिकाबाट एउटै पनि पत्र टिप्ने (चुँड्ने) आसय नराखी यो कुरा प्रमाणित गर्न साहस गर्छु– उनको सम्पूर्ण धर्मशास्त्र अनि उनको दर्शनको अंश वेदमा फेला पार्न सकिन्छ ।’

घ) सापेक्षताको सिद्धान्तको प्रतिपादनमा सन् १९२१ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका छन्, ‘हामी पूर्वीयप्रति चिर ऋणी छौँ, किनकि उनीहरूले हामीलाई गणित सिकाए, त्यसका अभावमा कुनै पनि सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार गर्न सकिने थिएन ।’

ङ) सन् १९६५ अघि नै विख्यात अमेरिकी दार्शनिक एवं कवि टिएस इलियटले भनेका छन्, ‘पूर्वीय दार्शनिकको विलक्षणताका तुलनामा महान् युरोपेली दार्शनिक पनि आभ्यासिक विद्यार्थीजस्ता देखिन्छन् ।’

०००

हो, हामी अहिले टुप्पाबाट पलाउन थाल्यौँ । जमिन छाडेर हावामा कावा खान थाल्यौँ । पूर्वको यो समृद्ध सभ्यताको ज्ञानगंगा स–साना कुलातिर कुल्याउँदै सुकाउन थाल्यौँ । हाम्रा शिक्षा–दीक्षा, आचार–विचार, दैनिकी भनौँ या जीवनयापनका समग्र क्रियाकलापलाई पश्चिमाभिमुख बनाएर हामी कृत्रिमतामा रमाउनमै गौरव गर्न थाल्यौँ । सभ्यता र समृद्धिको आदि थलोमाथि आधुनिक नामका औजार बजारेर जग नै उखेल्न थाल्यौँ । हामी आफैँ आफ्ना जरा खन्न थाल्यौँ । अन्ततः जरा उखेलिएपछि जमिनमा उभिन नसकेको रूख भएर हामी उभिन्डिँदै गल्र्याम्म लड्ने भयौँ । हाम्रो राजनीति, शिक्षानीति, आचार र व्यवहारलाई समाजमुखी र जीवनमुखी नबनाउने हो भने अब हामी सकिन्छौँ । हाम्रो सबल सभ्यताको महल धूलिसात हुने छ, नचाहँदानचाहँदै खरानीको थुप्रोमा परिणत हुनेछ ।

संसारलाई नेतृत्व गर्न सक्षम हाम्रो पूर्वीय सभ्यताले प्राप्त गरेको समृद्धतालाई, हाम्रो ज्ञानगंगाको अजस्र स्रोतलाई पुनप्र्रवाहित गर्नु आजको आवश्यकता हो । उल्टो दिशातर्फ चमचमाउन थालेको हाम्रो प्रज्ञाचक्षु अब सुल्टिनुपर्छ । शिक्षाको विषय, पद्धति र प्रक्रियालाई कर्मकाण्डबाट मुक्त गरी सभ्यताको पारखी र गुणग्राही बनाउनुपर्छ । कर्मकाण्डतिर रूपान्तरित हाम्रा पुरातन ग्रन्थमा रहेका विज्ञानसम्मत धारणाबारे आधुनिक व्याख्या र विश्लेषण गरिनुपर्छ । आधुनिकताका नाममा हाम्रो बिब्ल्याँटिँदै गएको चिन्तन र चेतनालाई सुल्टो दिशा दिन हाम्रो प्राज्ञिक समुदाय, विश्लेषक, विवेचकको ध्यान आकृष्ट होस् भनेर लोककृष्णले यस ग्रन्थमार्फत बलशाली आग्रह प्रस्तुत गरेका छन् । यस दिशातर्फको एउटा चमकदार झ्याल हो यो ग्रन्थ । अनि यो आफैँमा एउटा स्तुत्य प्राज्ञिक कार्य हो ।

प्रकाशित: १७ भाद्र २०७४ ०५:३० शनिबार

नेपाली सभ्यतामाथि गम्भीर विचरण