माधव सयपत्री
मैले दुई कक्षादेखि नै स्वस्थानी व्रतकथाको पुस्तकका अक्षर खुट्ट्याउन सकेँ। त्यसका तिलस्मी र जादुयी कथाले मेरो कलिलो दिमाग बेस्कन भुटिदिए। सँगैका साथीले स्वस्थानीका अक्षर ५ कक्षा पुगिसक्दा पनि सररर पढ्न सकेनन्। सानैमा अक्षर पढ्न सक्नुको एउटै कारण थियो– आमाको अक्षरप्रतिको लगाव। आमालाई कसैले पढ् भनेको पनि होइन रे। स्कुल जान स्कुलै थिएनन्। हजुबा आतेपाते गर्न जाँदा सधैँ आमा सँगै जानुहुन्थ्यो रे। हजुरबा र ठूलो मामाले पढेको सुनेकै भरमा आमाले पनि अक्षर चिन्नुभएको रे। देवीभागवत र महाभारत आमाका प्रिय पुस्तक हुन्। तिनका धेरै श्लोक आमालाई कण्ठस्थै छन्। महाभारतका अनगिन्ती पात्रका चरित्र र तिनले कथामा खेलेको भूमिका आमा बताउन सक्नुहुन्छ। आमाको कथा प्रेमकै प्रेरणाले म पनि 'कथाप्रेमी' भएको भएँ छु।
पछि दुई–चारजना शिक्षक साथीले दुई–चार पटक पढे। खै कुनचाहिँ मूर्ख मनुवाले हो, 'मलामी' शीर्षकको कथाका कथाकार भाउपन्थीको नाम काटेर मसीले 'वामपन्थी' बनाइदिएछ। पछि हाँसो उठ्यो। पुस्तकका अरू ठाउँमा पनि केर्नसम्म केरेछन्।
ठूलो मामाको ट्यांकामा थुप्रै पुस्तक थिए। त्यसमा दन्त्यकथाको पुस्तक पनि थियो। पुस्तकले मेरो मन खिचेको थियो। ठूलो मामा पनि पुस्तकलाई औधि माया गर्नुहुन्छ। त्यसैले हतपती उहाँ कसैलाई पनि पुस्तक दिनुहुुन्न। निकै अनुनय गरेपछि एक हप्ताका लागि मैले त्यो पुस्तक पाएको थिएँ। (सायद त्यसका लेखक/संकलक बोधविक्रम अधिकारी थिए।) त्यसमा भएको लाटोबुंगाको कथाले हँसाउनु हँसायो। गतिलै शिक्षा पनि दियो नि! त्यो कथाको लाटो पात्र अजिबकै लाग्यो। कथाकार कसरी यस्तो अद्भूत पात्र र घटनाको कल्पना कल्पना गर्छन् हँ! त्यस पुस्तकका अरू कथाका पात्र र परिवेश याद छैन। ऊबेला मेरो दिल–दिमागमा छिरेको लाटोबुंगो अझै पनि जिउँदै छ। कथा याद हुन पात्र पनि विशेष हुनुपर्ने रहेछ। यत्ति कुरा मैले सानैमा बुझेको थिएँ।
०००
काठमाडौं छिरेपछि पत्रिका र पुस्तकको पहुँच बढ्यो। साथसाथै कथाप्रतिको मेरो प्रेम पीपलको रूखझैँ झांगियो। नेपाली पढाउने गुरुआमाको मुखबाट मधुपर्क, गरिमा र रूपरेखाको नाम सुनेपछि म पत्रिका खोज्न थालेँ। पहिलोचोटि ती पत्रिका हात पर्दा कम्ता खुसी भइनँ। तिनमा भएका कथाले मलाई तान्न थाले। कथा छापिएका पत्रिका भेट्नेबित्तिकै ती मेरा साथी बन्थे। कथा नपढी निद्रै लाग्दैनथ्यो।
मलाई सम्झना छ, मैले पहिलोचोटि पढेको कथाको पुस्तक प्रेमा शाहको 'पहेँला गुलाफ' हो। एकचोटि, दुईचोटि मात्र होइन, तीनचोटि पढेँ त्यो पुस्तक। 'वा, यस्ता पो कथा!' चरित्र, कथा र परिवेशको मिहीन प्रस्तुतिका उनका कथाले उनलाई मेरो प्रिय कथाकारको लिस्टमा दर्ज गरिदियो।
हिन्दीका कथाकार पे्रमचन्दको 'प्रेमचन्द कि कथाएं' वा यस्तै केही नामको कथाको पुस्तक भेटेँ। किनारीकृत वर्गको जीवनलाई केन्द्रमा राखेर लेखिएका उनका कथाले मलाई बायाँ किनारतिर हिँडायो।
पात्रका सम्पूर्ण मनोदशाभित्र डुबेर लेखिएको बिपीको 'दोषी चस्मा' जस्ता कथाले रन्थनायो। थोरै आयतनमा पनि कुनाकुना छोएर बगेको पारिजातको 'मैले नजन्माएको छोरो' ले दिमाग कम्ती रिँग्याएन। भिक्षुको 'सावित्रीको बाख्रो'ले मलाई तान्यो वा बाख्रालाई मैले तानेँ। म कथा खोजिखोजी पढ्न थालेँ। बिपी, पारिजात, भिक्षुका अतिरिक्त सीता पाण्डे, कुमार ज्ञवाली, पोषण पाण्डे, मल्ल ब्रदर्स लगायतका कथाले मलाई फलामलाई चुम्बकले तानेझैँ ताने। कथाप्रति मेरो लगाव बढ्दै गयो। कथामा म जीवन खोज्न लागेँ। आफैँलाई कथामा अनुवाद गर्न थालेँ।
०००
म वल्लो घरको नोकर थिएँ। पल्लो घरमा बत्तीसत्ती बिग्रिँदा तार जोडजाड पार्न मलाई बोलाउँथे। यस्तै केही काम गर्न जाँदा टि–टेबुलमाथि मैले एउटा पुस्तक देखेँ। निकै दिनदेखि त्यो टेबुलमै थियो। र, त्यसले मलाई तानिरहेको थियो। तर, म पुस्तक नजिक जान सकेको थिइनँ।
परबाटै हेर्दा पुस्तक निकै मोटो थियो। सामान्य र सेतो गाता थियो। कैयौँ झमटमा पनि त्यो पुस्तक मैले छुन सकिनँ। छुन नसक्नाका केही कारण थिए। पहिलो, म घरायसी नोकर थिएँ। त्यसमाथि अर्कै घरको। मालिक मालिक्नीको आदेशबेगर कोठाभित्र गएर केही वस्तु छुनु, हेर्नु वा हात लगाउनु नोकरचाकरको अलिखित आचारसंहिता गम्भीर उल्लंघन गर्नु थियो। दोस्रो, घरका मानिसले देख्लान् र मलाई पुस्तक चोरको आरोप लाग्न सक्थ्यो।
म त्यो पुस्तक मालिकलाई बक्साएर पनि पढ्न सक्थेँ। तर, मैले त्यसो गरिनँ। त्यसो गर्न चाहन्नथेँ। सदाका लागि म त्यो पुस्तक आफ्नो बनाउन चाहन्थेँ। अर्थात् म पुस्तक चोर्न चाहन्थेँ। पुस्तक छोउँछोउँ, मुसारुँमुसारुँ लागेको थियो। 'पुस्तक मेरो हातमा पनि परोस् र मालिकको टि–टेबुलबाट पनि नहराओस्,' मेरो मनले यसै भन्थ्यो। तर, यी दुई कुरामध्ये एउटा मात्र हुन सक्थ्यो। एकदिन मलाई त्यो पुस्तक हात पार्ने अवसर मिल्यो। आँखा छलेर त्यो पुस्तक उम्काएँ। कुदाएर कोठामा ल्याएँ। पुस्तकलाई मायाले हेरेँ। प्रेमले मुसारेँ। रूपरेखा पत्रिकाको ३००औँ अंक थियो त्यो। नयाँ वर्ष ०४३ को अवसरमा आएको कथा विशेषांक। (त्यसलाई 'पत्रिका' मात्रै भन्न उचित ठान्दिनँ म। यहाँ पनि रूपरेखाको त्यो अंकलाई पुस्तक नै भन्छु।)
पुस्तकका पाना पल्टाएँ। कभरपछिको पेजमा लेखिएको थियो–
'...ज्यूमा सप्रेम उपहार!' नाममुनि हस्ताक्षर थियो– उत्तम कुँवर र शान्ति कुँवरको। लेखक/सम्पादक स्वयंको हस्ताक्षरसहितको पुस्तक/पत्रिका हात लाग्नु झनै महŒवपूर्ण कुरा थियो। नेपाली साहित्यमा अनेकौँ लेखक/साहित्यकारलाई आफ्नो पत्रिकामा रचना छपाउन अवसर दिएर स्थापित बनाउने नेपाली साहित्यका साधक उत्तम कुँवरको हस्ताक्षरसहितको पुस्तक आफैँसँग जोगाएर राख्नसक्नु गर्व गर्नलायक कुरा थियो।
रूपरेखा पूर्णांक– ३०० मा भएका कथाले मलाई पटकपटक ताने। रेजा लगाएरै पढेँ। सम्पादकको हस्ताक्षर नछोपिने गरी पुस्तकमा कभर हालेँ। आफ्नै ट्यांकामा जतनसित राखेँ। चोरेको माल थियो। 'कहाँबाट ल्यायौ?' भनी कसैले सोधे मसँग जवाफ थिएन। किन्नलाई मसँग पैसा थिएन। त्यसैले लुकाएरै पढेँ, लुकाएरै राखेँ।
३००औँ अंकपछिका रूपरेखा पत्रिका मैले भेटेको छैन। सायद रूपरेखाको ३०१औँ अंक निस्किएन। रूपरेखा बन्द भयो। नेपाली साहित्यको स्वर्णिम एउटा इतिहासको अन्त्य भयो। मसँग त्यसअघिका रूपरेखाका केही नियमित अंक पनि थिए। रूपरेखाका अरू अंकभन्दा नेपाली कथा–साहित्यका हाइप्रोफाइलदेखि सिकारु कथाकारका कथा भएकाले त्यो अंक निकै उम्दा छ। नेपाली कथा–साहित्यमा रूपरेखाको त्यो कथा विशेषांकसँग दाँज्न मिल्ने अर्को कुनै पत्रिकाको विशेषांक निस्केजस्तो लाग्दैन।
पुस्तक पाँच सय पेजभन्दा माथिको थियो होला। गाउँ ल्याएपछि त्यसलाई मैले हिफाजतसाथ राखेँ। पछि दुई–चारजना शिक्षक साथीले दुई–चार पटक पढे। खै कुनचाहिँ मूर्ख मनुवाले हो, 'मलामी' शीर्षकको कथाका कथाकार भाउपन्थीको नाम काटेर मसीले 'वामपन्थी' बनाइदिएछ। पछि हाँसो उठ्यो। पुस्तकका अरू ठाउँमा पनि केर्नसम्म केरेछन्।
अक्षर चिन्ने भएपछि त्यो पुस्तक छोरीले कैयौँचोटि पढिन्। कक्षा १२ पास गरेर गाउँ छाड्ने बेला पनि उनी त्यै पुस्तक पढ्दै थिइन्। उनलाई पनि रूपरेखाले कथाप्रेमी बनाइदियो। जतन गर्दागर्दै धेरैको हातमा परेको र बढीपटक पढिएको हुनाले मेरो प्रिय पुस्तकका पाना घट्दै गए। जति जोगाए पनि पुस्तकका पाना छुट्दैछुट्दै अहिले अगाडिपट्टि ७३ पेज पुगेको छ। पछाडिपट्टि भने चार सय ५० पेजपछिका पाना छैनन्।
मैले याद गरेको थिइनँ, त्यो पुस्तक ठ्याक्कै कति पेजको थियो। बाइनडिङ गरेको स्टिचपिनमा खिया लागेर फुतुफुतु पाना खस्न लागेको छ। मोटो पुस्तकमा बल्लबल्ल सियो छिराएर धागोले बाँधेर राखेको छु। भूकम्पछि बनाएको घरमा सर्दा त्यो पुस्तकलाई छुट्टै राखेँ। फेरि एकपटक रूपरेखाको ३००औँ अंकका कथा पढ्न मन लाग्यो। पेज ७३ बाट पढ्न सुरु गरेँ। भएकोमध्ये सुरको कथामा महाभारत युद्ध प्रसंग अर्थात् गीताको सारलाई मिथक बनाएर लेखिएको कथाको आधा भाग मात्रै बाँकी छ। पाण्डव पक्षतर्फबाट युद्धमा होमिएको सिपाहीकी स्वास्नीको आलापविलापको भाषाशैलीमा पनि भरमार लालित्य छ। सिपाहीकी स्वास्नीमा युद्ध नभइदिए हुन्थ्यो भन्ने मनसाय छ। आफ्नो लोग्नेले मर्नुनपरे हुन्थ्यो भन्ने कामना गर्छे ऊ। तर, युद्ध अवश्यम्भावी छ। कृष्ण अर्जुनलाई उकासिरहेका छन्। युद्धमा उसको लोग्ने मर्छ।
धेरै समयपछि पढेको हुनाले ठ्याक्कै भन्न सक्दिनँ, त्यो कथा कसको हो र कथाको शीर्षक के हो। कथामा सिपाहीकी स्वास्नी भन्छे–
'के यो सबै मिथ्या हो, भ्रम हो? यो विशाल जन समुद्रमा प्यारो पतिलाई खोजेर हिँडिरहेको मेरो आँखाले देखेका यी दृश्य सारा के माया हुन्? मेरो हृदयमा अहिले केवल वांछा भएर रही रहेको मेरो नजन्मेको सन्तानका मसिना रसिला ओठमा राखिन उन्मुख भएका मेरा ऊर्ध्वस्तन–युगल के मात्र मायाका लघुमांस शिखर हुन? समुद्रको गर्भमा स्वातौको दृष्टि–बिन्दुलाई चाहना गरेर खुल्ने र बन्द हुने सिपी सम्पुटजस्तो सन्तानका तीव्र कामनामा स्पन्दित हुने मेरो मातृ गर्भ के त्यो पनि मिथ्यो हो? हे केशव स्वर्गको उच्चतामा बसेर तलका कीटमय मृत्युलोकमा हामी प्राणीलाई देखेर तिमीलाई लाग्दो हो, मानव जीवन मायावत्, मिथ्यावत्, अप्रासंगिक छ, ..तर हाम्रो जीवन हामीलाई अप्रासंगिक छैन। कुनै तर्कले पनि, कुनै उच्च दर्शनको जोरले पनि जीवनको सुख दुःखलाई, जन्म मरणको सत्यलाई, यो ठोस घेरालाई मिथ्यामा परिणत गर्न सक्दैन, मुरारे!'
युद्धोन्मुख सिपाहीकी स्वास्नीको यो मनोसंवादका केही शब्दको अर्थ खोज्न सायद शब्दकोश नै पल्टाउनु पर्ला। र, गोलमटोल वाक्य गठन बुझ्न गाह्रो पनि होला। तर यसमा प्रयोग भएका शब्दले वियोगमा पनि शृंगारको भाव प्रस्तुत गरेका छन्। प्रस्तुतिलाई वजनदार बनाएको छ। साहित्यमा यत्तिका गह्रौँ शब्द आउनैपर्छ। सीधा लेख्न र बुझ्नलाई त पत्रकारिता छँदै छ नि! समाचार पढे भइहाल्छ। किन साहित्य पढ्नुपर्यो?
यस कथापछि खगेन्द्रबहादुर केसीको 'हराएकी छोरी' शीर्षकको कथा छ। चार सय ४५ पेजमा चर्चित कथाकार गोविन्दबहादुर मल्ल 'गोठाले'को 'मोड' शीर्षकको कथा छ। मसँग भएको रूपरेखा–३०० मा ४९ वटा कथा बाँकी छन्। तिनमा पारिजात, भीमनिधि तिवारी, धुस्वाँ सायमी, किशोर पहाडी, परशु प्रधान, पिटर जे कार्थक, अनिता तुलाधर, विजय मल्ल, इन्द्रबहादुर राई, खगेन्द्र संग्रौला, मदनमणि दीक्षित, सोमध्वज विष्ट, मोहनराज शर्मा, जगदीश घिमिरे, शैलेन्द्र साकार, मनु ब्राजाकी, ध्रुव सापकोटा, शंकर फागो, उत्तम कुँवर, अविनाश श्रेष्ठ, कुमार ज्ञवाली लगायतका नेपाली कथाका टे्रन्डसेटरका कथा छन्। बिपी, भिक्षु, तारिणीहरूका कथा च्यातिएका पानासँगै झरे होलान्। यो पुस्तक कुनै पुस्तकालय वा साहित्यिक पुस्तक संकलकहरूसँग पक्कै होला। यसमा समावेश सबै कथाकार र कथाको बारेमा लेख्ने उत्कट चाहना हुँदाहुँदै पनि मबाट त्यो काम हुन सकेन। कोहीबाट होस्, कामना र आग्रह गर्छु। पुस्तक पुनः प्रकाशन भए झनै राम्रो हुन्थ्यो। आधुनिक नेपाली कथाको सक्कली प्रवृत्ति र रूपरेखा थाह पाउन 'रूपरेखा' को पूर्णांक– ३०० लाई कथाका पाठक र कथाकारले एकपटक पढ्नैपर्छ कि! मलाई कसैले पढ्नैपर्ने कथाको पुस्तकको नाम माग्यो भने म 'रूपरेखा' पूर्णाङ्क ३०० लाई नै सिफारिस गर्छु।
०००
रूपरेखा– ३००औँ अंक पढेरै म कथाप्रति बढी तानिएँ। पहिलो पठनले नै कथा लेखनमा उत्प्रेरणा जगाएको थियो। केही कथा लेखेको थिएँ। उतिबेला कथा प्रकाशनको सुविधा कहाँ पाउनु! ०४३ सालमा म गाउँ फर्कें। यता आएपछि कथा न सथा। लेखनपठन सबै व्यथा भयो। लेख्यो, थन्क्यायो। ०६३ सालदेखि दोलखाबाट निस्कने कालिञ्चोक सन्देश साप्ताहिकले मेरा कथा छाप्न थाल्यो। (यसको मतलब २० वर्ष म मरे बराबर भएँछु।) हरेक हप्ता म नयाँ कथा लेखेर चरिकोट पठाउँथेँ। हप्ताको दुइटा कथा पनि लेखेँ। मेरो कथायात्राको पहिलो सहयात्री कालिञ्चोक सन्देश साप्ताहिक हो। त्यसपछि दह्रै पापड बेलेर म कथा संसारको अलि फराकिलो दुनियाँमा छिरेँ। मिर्मिरे, गरिमा मधुपर्क, मूल्यांकन, नवयुवा, समष्टि, ज्योति, नेपाल, नारी, रचना, अभिव्यक्ति, कौशिकी, शब्दसंयोजन, अन्तरबोध, शब्दाङ्कुर, नागरिक, अन्नपूर्णपोष्ट, राजधानी, गोरखापत्रलगायत पत्रिकामा मेरा सयौँ कथा छापिए। पत्रिकामा मात्रै किन! कथासंग्रहै निकाल्न म कस्सिएँ। ०६५ सालमा नयाँ–पुराना कथाको संग्रह 'सत्ताकवच' निस्कियो। ०६९ मा 'मखमलीका राजाहरू'। दुवै संग्रह भुँडीपुराण प्रकाशनबाट आएका हुन्। दुवैमा २५/२५ कथा छन्।
थाह छैन, मेरा कथा कुन कोटिका हुन्। भोलि मेरा कथाको 'कथामूल्य' निर्धारण कसैले गर्ला वा नगर्ला। मेरो नोटबुकको रेकर्ड अनुसार यो आलेख तयार गर्दासम्म मैले एक सय ५३ वटा कथा लेखेँछु। नेपाली कथा साहित्यमा बढी कथा लेख्नेमा ध्रुवचन्द्र गौतम पर्छन्। रोशन थापा 'नीरव' को सम्पादनमा आएको 'बीचबजारमा मुद्राबोध' (बिएन पुस्तक संसार, प्रथम संस्करण, ०६९) कथासंग्रहको परिशिष्टमा लेखिएअनुसार गौतमले जम्मा एक सय ४३ वटा कथा लेखेको देखिन्छ। तर, मैले सबैभन्दा बढी कथा लेखेँ भन्ने मेरो दाबी होइन। अरू कोही होलान्। त्यसमाथि संख्याले मात्रै कथा र कथाकारको 'स्तर' निर्धारण गर्दैन। संख्याले मात्रै कथा बाँच्ने होइन र कथाकारलाई बचाउने पनि होइन। यहाँ मैले मेरो कथा प्रेमको सन्दर्भ र कथाप्रेरकको सम्मान गर्न मात्र खोजेको हुँ। प्रिय रूपरेखालाई नमन! उत्तम र शान्ति कुँवरलाई सलाम! आमालाई सेवाढोग र मामालाई टाढैबाट नमस्कार!
०००
हरेक मानिसका आ–आफ्ना कथा हुन्छन्। मेरा पनि आफ्नै कथा छन्। अरूका पनि हुन्छन्। त्यसैले मलाई जीवन कथाजस्तै लाग्छ, कथा जीवनजस्तै। उम्दा भाषाशैली, विश्वसनीय कथानक, जीवन्त चरित्र। कथाजसरी बग्ने जीवन। जीवनजसरी नै बग्ने कथा। कथाको पर्याय जीवन र जीवनको अर्को नाम कथा।
प्रकाशित: ३ भाद्र २०७४ ०४:३३ शनिबार