दीप श्रेष्ठ, गायक
मेरा बुवा लगाउनको बहुतै सोखिन हुनुहुन्थ्यो । म फुटबल खेलाडी थिएँ । त्यो बेला जुत्ता लगाएर फुटबल खेल्न पाउनु ठूलो कुरा हुन्थ्यो । एक साँझ बुवाको जुत्ता लगाएर फुटबल खेल्न निस्कन लागेको थिएँ । थाहा पाउनुभयो भने त राम्रै धुलाई खाइन्छ भन्ने डर थियो । उहाँको आँखा छलेर विरालाको चालले म उहाँको सबैभन्दा महँगो जुत्ता लगाएर निस्केँ ।
त्यो बेला राम्रा लुगा र जुत्ता उहाँले बेलायतबाटै मगाउनु हुन्थ्यो । मेरो बुवाको ट्रान्सपोर्ट कम्पनी थियो । हुलाकका चिठ्ठीहरु ल्याउन लैजान उहाँका ट्रक प्रयोग हुन्थे । समग्रमा बुवा छउञ्जेल हामीले एउटा शानको जीवन बाँचेका थियौँ ।
बुवाको देहान्त चाँडै भयो । म स्कुलमा पढ्दै थिएँ । हामी सबैको छहारी हुनुहुन्थ्यो बुवा । अझ मलाई त विशेष स्नेह गर्नुहुन्थ्यो । त्यस्ता बुवा नरहनु भएपछि हाम्रो घरमा मशान शान्ति छायो । अनि सधैँ म त्यही जुत्ता सम्झन्थेँ । त्यो दिन त्यो जुत्ता लगाएर निस्केपछि मैले यस्तो फुटबल खेलेँ कि जुत्ता धुजाधुजा भएको पनि पत्तो पाइनँ ।
हो, बुवाले नराम्रोसँग गाली गर्नुभयो । कान निमोठ्नु पनि भयो । गल्ती मेरै थियो । मैले त्यसमा गुनासो गरिनँ तर बुवा चाँडै बिदा हुनुभएकोमा चाहिँ मेरो चित्त दुखाइ थियो ।
उहाँको देहान्तले मेरो घरमा उथलपुथल मच्चियो । हाम्रो सम्पत्तिमा धेरैले दागा धरे । हामी लगभग सम्पन्न परिवारबाट विपन्न भयौँ । अकस्मातको यस्तो विपत्तिका कारणले होला मलाई बच्चै बेलादेखि विरहका गीत मन पर्थे ।
घर मात्र बिग्रिएन हाम्रो, मेरो त पढाइ नै बिग्रियो । राम्रोसँग पढ्न सकिनँ । भनौँ, अभिभावकत्व नरहेपछि म बरालिएँ ।
गाउन त म सानैदेखि गाउँथे । मेरो गायकी बुवाले पनि मन पराउनु हुन्थ्यो । हौसला दिनुहुन्थ्यो तर पढाइलाई प्राथमिकता दिनुपर्छ भन्ने उहाँको सधैँ भनाइ रहन्थ्यो । त्यही भएर पनि पढाइमा राम्रो गरेस् भनेर मलाई दार्जिलिङमा पढ्न पठाउनु भएको थियो । दार्जिलिङ मेरो मावली भएकाले म त्यहीँ रत्तिएको थिएँ तर बुवाको ममाथि विशेष स्नेह थियो क्यार ! त्यही भएर धरानमै पढाउने कुरामा जोड दिनुभयो ।
बुवाको देहान्तपछि म संगीतमा बढी ढल्किएँ । धरान वरपरका कार्यक्रममा म छुट्तिन थिएँ । विराटनगरसम्म आएर कार्यक्रममा भाग लिन्थेँ । मेरा अग्रज ममाथि भरोसा गर्नुहुन्थ्यो, विश्वास थियो उहाँहरुको ममाथि ।
मेरो स्वर राम्रो त थियो तर केटीको स्वर थियो । नौ कक्षामा पढेपछि मात्र अलि केटाको स्वर आयो । सन् ६० को दशकका हिन्दी गीत मात्र होइन, अंग्रेजी, बाङ्ला भाषाका गीत पनि गाउँथे । रेडियोमा आउने गीत कण्ठ पारेर गाउँथे । आउने–जाने व्यवस्था भयो कि ठाउँठाउँमा दौडिहाल्थ्यौँ । धरानमा सांस्कृतिक संस्थान भन्ने थियो । त्यहाँ देखेसुनेका बाजा त्यहीँ थिए र त्यो सिक्नकै लागि म नियमित रुपमा जान्थेँ । रामचन्द्र बनेपालीले मलाई हार्मोनियमका तरिका र गायकी सिकाउनुभयो, विष्णु मास्के र नवीन किशोर राईको नक्कल गरेर गीतार सिकेँ । प्रायः बाजा सबै बजाउँथे ।
वि.सं. २०२० सालमा चिकित्सकहरुको सम्मेलन हुँदा विराटनगरमा पहिलो पटक काठमाडौँका राम्रा गायकगायिका नातिकाजी, शिवशंकर, पुष्प नेपाली, तारादेवीलाई भेटेँ । कलिलै उमेरमा मैले उहाँहरुलाई भेट्दा संगीतमोह अझ बढ्यो ।
धरानमा म ‘बंजो बजाउने केटो’का रुपमा प्रख्यात भइसकेको थिएँ । त्यही बाजा बजाउन रेडियो नेपालबाट इन्द्रलाल आउनुभएको भयो । मेरो बजाउने कौशल देखेपछि उहाँले भन्नुभयो, ‘यो तिमी नै बजाऊ ! म अर्कै बाजा बजाउँछु ।’
यस कार्यक्रमले मलाई ठूलो हौसला दियो तर त्यसैको पछि लाग्छु भन्ने त्यतिञ्जेलसम्म सोचेको थिइनँ । वि.सं. २०२५ साल पुस १ गते राजा महेन्द्रको जन्मोत्सवमा गीत गाउने कार्यक्रममा भाग लिन निम्ता आयो । म जम्मा १७ वर्षको थिएँ । मेरो भागमा त्यही बंजो बजाउने काम परेको थियो । बीचबीचमा हास्यव्यंग्यसँगै मौका मिल्दा गाउला पनि भनेर मलाई लगिएको थियो ।
कार्यक्रम थियो, राजा महेन्द्रको जन्मदिन । गीतसंगीत क्षेत्रका त्यो बेलाका विशिष्ट व्यक्ति थिए । मसँग त्यसबेला गाउनका लागि दुई वटा गीत थिए । एउटा आफैँले रचेको थिएँ– ‘मायालु रुप छ तिम्रो, प्यार गरेँ के बिराएँ’, अर्को चाहिँ विजय श्रेष्ठको थियो– म पत्थरको देवता होइन ।
राजा महेन्द्रले कार्यक्रम अवलोकन गरिसकेपछि सामूहिक तस्बिर खिचाउने कार्यक्रम थियो, खिचाए । पछि रेडियो नेपालका तत्कालीन महाप्रबन्धकलाई आज गाउने सबैको गीत रेकर्ड गर्ने व्यवस्था मिलाउनू भन्ने आदेश राजाको आयो ।
त्यसपछि पुस ३ गते नै ‘म पत्थरको देवता होइन’ र ‘मायालु रुप’ रेकर्ड गराएँ । गीतको पनि भाग्य हुँदो हो, ‘पत्थरको देवता’ चल्यो, अर्को चलेन ।
यसपछि हरेक वर्ष काठमाडौँ आउँथे । त्यो बेला जुन बेला चाह्यो, त्यस बेला आउन गाह्रो थियो । धरानबाट विराटनगर हुँदै इन्डियाको जोगवनीबाट फरबिसगन्ज, कटिहार, बरौनी, समस्तीपुर हुँदै आउनुपथ्र्यो । काठमाडौँ लरीमा चढेर आउँथ्यौँ ।
पहिलो पटक रेकर्ड गरेर धरान फर्कन २० दिन जति लाग्यो । नयाँ साथी बनिए, बनाइएँ । धरान नफर्किउञ्जेलसम्म मैले आफ्नै गीत रेडियोबाट बजेको सुनिनँ । त्यो बेला सबैको घरमा रेडियो पनि हुँदैनथ्यो । मेरो घरको रेडियो बिग्रेर थन्किएको थियो, त्यसैले गीततर्फ चासो पनि भएन ।
घर आइपुगेको भोलिपल्टै एक जना साथीले हौसिएर गीत सुनेको बतायो । मेरो घरमास्तिर केही मारवाडी परिवार थिए । तीमध्ये एउटा मेरो नजिकको साथी थियो, रामानन्द अग्रवाल । उसले भन्यो, ‘तँ त पपुलर भइसकिस् यार !’ आफूले गीत सुन्न पाएको छैन, साथी भने लोकप्रिय भएको कुरा सुनाइरहेको छ । पत्यार लागेन ।
‘तेरो गीत त दिनदिनै बज्छ त, था छैन ?’ उसले जोड ग¥यो । मैले नपत्याएको देखेपछि उसले भन्यो, ‘तेरो गीत बजेको बेला सुनाउँछु ।’
अर्को दिन त्यही साथी घरबाट चप्पलै नलगाई दौडिदै आएर गीत सुनायो । गीत अन्तरामा पुगिसकेको थियो । त्यो दिन पहिलो पटक रेडियोमा आफ्नै आवाज सुन्नुको ‘थ्रिल’ महसुस गर्न सकिनँ तर आफैँलाई लाग्यो– मेरो स्वर ठीकै रहेछ !
यसपछि त रामानन्दले कहिले बोलाउला र दौडूँला जस्तो हुन थाल्यो ।
रेडियोबाट आफ्नै आवाज सुन्नुको नशाले मलाई छपक्क छोप्यो । त्यसपछि मैले लगातार हरेक वर्ष रेडियो नेपालमा आफ्ना केही गीत रेकर्ड गर्न थाले । हरेक वर्षको चैत २० गते रेडियो नेपालको वार्षिकोत्सव हुन्थ्यो । त्यसबेला गीत पनि रेकर्ड हुने र पुरस्कृत पनि हुने रहर थियो । त्यसैले २०२६ सालसम्म सबै वर्ष म लगातार प्रतियोगितामा भाग लिन आएँ ।
२७,२८,२९ सालमा भने म भाग लिन आइनँ । म प्रतियोगितामा तेस्रो, दोस्रो भइसकेको थिएँ । फेरि भाग लिएर दोस्रोमै चित्त बुझाउनु थिएन । त्यसैले तीन वर्ष लगातार परिश्रम गरेर नयाँ, राम्रो र उत्कृष्ट गीत बनाउने ध्याउन्नमा थिएँ ।
त्यसपछि तयार भयो, ‘विधुवाले सिन्दूरको रहर आँखामा टाँसेर’ । शिवशंकर थापाको शब्द थियो र थियो ठूलो आत्मविश्वास । २०३० सालमा भने रेडियो नेपालमा यही गीत गाएँ । भाग लिएर प्रथम हुन्छु र गोल्डमेडल लिने मेरो धोको थियो र पूरा पनि भयो । त्यो बेलाको गोल्ड मेडलको भाउ नै बेग्लै ।
मेडल त पाएँ तर साथीहरुले उकासे, ‘यो गोल्ड मेडलमा साँच्चिकै सुन हुन्छ कि हुँदैन हँ ? जाँचौँ न !’
मलाई पनि चासो लाग्यो । हामी न्युरोडको कुनै पसलमा छिर्यौँ । पसलेले सोधे, ‘बेच्न ल्याउनु भएको हो ?’
०००
पहिला रेडियो नेपालले गीत रेकर्ड गर्न समय दिन्थ्यो र पाँच सय रुपैयाँ पारिश्रमिक पनि । रेडियोमा गाउँदा एउटा अनुशासन हुन्थ्यो । सबै वाद्यवादक, संगीतकर्मी, रेकर्डिस्ट र गायकले एक लयमा, एक ध्यानले काम गर्नुपथ्र्यो । तीमध्ये कुनै एकले मात्रै आफ्नो लय बिगारे भने सबैको मिहिनेत खेर जान्थ्यो । त्यसैले त्यहाँ अनुशासन हुन्थ्यो । अरुको गाल खाइएला भन्ने सतर्कता पनि हुन्थ्यो ।
अहिले त यस्तो समय आयो, कसले कुन बाजा बजाएको हो थाहा हुँदैन । कतिपय अवस्थामा संगीतकार पनि थाहा हुँदैन र गीतकार पनि । गायक र वाद्यवादकहरुको भेट हुनु त अब संयोगले मात्र हुन्छ ।
सन् २००० मा पहिलो पटक ‘दृष्टि’ एल्बम बनाउँछु भन्ने सोच्दा यी सब परिवर्तन देख्दा मलाई उदेक लागेको थियो । ‘हर रात सपनीमा ऐंठन हुन्छ’ गीत गाउन मूड नै आएन । किनभने त्यहाँ अन्य वाद्यवादक थिएनन् । मात्र रेकर्डिस्ट र केही साथी मात्र थियौँ । मूड नआउँदा हार्मोनियम बजाएर गाउन थालेँ । एक छिन आफैँ रमाइलो गरेँ । त्यो सिडी निकाल्न एक वर्ष लाग्यो किनभने गाएर आउँछु, चित्तै बुझ्दैन । फिलिङ्स नै मिल्दैन । मोर्डन टेक्नोलजीसँग ‘जामअप’ हुनै गाह्रो भयो मलाई ।
जुन दिन ‘दृष्टि’ एल्बम फाइनल गरेँ, त्यही रात दरबार हत्याकाण्ड भयो र भोलिपल्ट म अमेरिका उडेँ ।
०००
मैले दरबारमा दुई तीन पटक मात्र गाउने अवसर पाएँ । वीरेन्द्र गीतसंगीतलाई खासै रुचाउने व्यक्ति हुन्जस्तो मलाई लाग्दैन । गीतका पारखी त ज्ञानेन्द्र, रत्न र ऐश्वर्या मात्र हो । उहाँहरुलाई चाहिँ शब्द, संगीत र स्वरको ठ्याक मिलेको थाहा पाउनुहुन्थ्यो ।
दरबारमा गीतका पारखी ज्ञानेन्द्र पनि हो । उहाँले एक पटक मलाई एउटा गीत गाउन लाउनुभयो । वीरेन्द्र वंशनाशपछि एउटा समयमा ज्ञानेन्द्रको शासनकालमा दरबारभित्रै सांगीतिक कार्यक्रम गर्ने उद्देश्यले कार्यक्रम राखिएको थियो । म गीतारवादकका रुपमा पुगेको थिएँ ।
सबैको परिचय भइसकेपछि ‘ऊ चैँ को ?’ भनेर सोध्नुभयो ।
साथीहरुले मेरो परिचय दिएपछि ‘गीत सुनौँ न त’ भन्ने प्रस्ताव राजाबाट आयो ।
मसँग गएका साथीहरुले उनीहरुका लोकप्रिय र चर्चित गीत सुनाएका थिए । म त्यस्तो केही तयारी नगरी गएको थिएँ । मैले जवाफमा भनेँ, ‘सरकार मलाई पूरा गीत आउँदैन, त्यसैले जे आउँछ त्यति मात्र सुनाउँछु ।’
राजाको स्वीकृति आयो । मैले गीत सुनाएँ । अचम्म के भयो भने राजा ज्ञानेन्द्रले मलाई त्यही गीत बारम्बार सुनाउन आग्रह गर्नुभयो । वसन्त थापाले लेख्नुभएको यो गीत मैले अहिलेसम्म रेकर्ड गराएको छैन ।
म हत्तपत्त गीत रेकर्ड गर्दिनँ । वर्षौंसम्म मलाई गीतका शब्द खेलाउन मन पर्छ । कति जना साथी र अग्रजहरुले त ‘तिमीलाई गीत दिनु बेकार छ’ भनेर आलोचना पनि गर्छन् । तर मेरो बानी यस्तै छ भनेर उनीहरुलाई भन्ने गरेको छु ।
०००
मेरो जीवनमा कैयौँ व्यक्तिहरु फ्यान भए । म पनि आफूभन्दा धेरै जना अग्रजका फ्यान भएँ । धर्मराज थापाको लोकगीत गज्जब लाग्थ्यो, एलबी जोशी, उपेन्द्र दुःखीका पूर्वेली भाका भनेपछि म हुरुक्क हुन्थेँ ।
हीरा वाइवादेखि दार्जिलिङका साथीहरुका गीत निकै पछि मात्र सुनेको हो र तिनले मलाई निकै प्रभावित पनि पारे । नारायण गोपालका आफैँ कम्पोज गरेका गीत होऊन् या प्रेमध्वज प्रधान र माणिकरत्नले संयुक्त रुपमा संगीत भरेका गीत हुन्, ती एक से एक थिए । नातिकाजी, बच्चु कैलाशका गीतमा खोट नै लाउन नसकिने थिए ।
पुराना मात्र होइन, म त नयाँ पुस्ताका गीत पनि गुन्गुनाउँछु । राम्रा गीत चाहे ती पुराना होऊन् या नयाँ, तिनले मलाई टाउकामा हानी बस्छ । जुन गीतले टक्क छुन्छ, नयाँ पुस्ताकै भए तिनलाई गम्ने गर्छु तर दुर्भाग्य नयाँ पुस्ताका गीत निकै कम मात्र टाउकोमा हानी बस्ने हुन्छन् । त्यस्ता सिर्जना कमै छन् । धेरैजसो चाहिँ ‘लन्जुफन्जु’ नै हुन्छन् ।
नयाँ पुस्ताका संगीतकार यति आतुर देखिन्छन् कि तिनले पाए भने गोरखापत्रैमा संगीत भरिदिउँलाजस्तो हतार गर्छन् ।
०००
मेरो एउटै मात्र गुनासो छ, सिडीको चलन नै हरायो । जे नयाँ प्रविधि आउँछ, त्यसमा अडिने, तिनको संरक्षण गर्ने, आर्काइभिङ गर्ने कुनै दिन आएन । हामीजस्तो कम सिर्जना गर्नेहरुका लागि समय गइसक्यो । आर्काइभिङका लागि सिडी निकै राम्रो प्रविधि थियो । त्यसको जमाना पनि गयो । हुन त हार्डडिस्कको समय आइसक्यो तर थोरै गीत ठूलो हार्डडिस्कमा राख्नु दुब्लो मान्छेलाई बोराको ह्वाङ्लो लुगा बनाइदिएजस्तो पो लाग्न थाल्यो !
विदेशमा जाँदा एचएमभीका सो रुममा पुरानो मोडलमै गीत सुन्न पाइन्छ तर नेपालमा हामीले पुराना एलपी पनि देख्न नपाउने अवस्था भइसक्यो । हामीकहाँ चाँडै टेक्नोलजी फेजआउट भइरहेका छन् । यो दुःखको कुरा हो ।
०००
मलाई दैनिक गीत गाउन मन पर्छ । रेकर्डिङ छैन भने पनि म गुन्गुनाउँछु । रेकर्ड गर्ने बेलामा त सयौँ पटक गीत गाउँछु ।
अस्ति बाढी आएको बेला ‘दृष्टि’ एल्बमका तीन हजार सिडी बिग्रिए । धन्न माथि राखेका केही सिडी भने बच्यो !
धेरैले सोध्छन्, अर्को गीत कहिले आउँछ ? उनीहरुलाई म सोध्छु, ‘दृष्टि’का कति गीत सुन्नु भएको छ ? अधिकांशलाई तीन वटा गीत मात्र स्मरण छन् । बाँकी पाँच वटा गीत खै त ? मैले ती गीतलाई पनि उत्ति नै दुःख गरेर बनाएको थिएँ तर कसैलाई त्यसको मतलब छैन । त्यसैले पनि म एल्बम रिलिज गर्न हतार गर्दिनँ ।
हालै मैले १३ मिनेटको गीत रिलिज गरेँ । त्यसबारेमा सानो रिभ्यु पनि आयो । त्यो गीत कहाँ बज्छ थाहा छैन । हुन त एफएम रेडियोलाई १३ मिनेटको पूरा गीत बजाउने फुर्सद पनि नहोला । तर त्यो गीतमा हामीले प्रयोग गरेका छौँ । मैले विप्लव प्रतीकको कविता मन पराएँ, अनि त्यसैलाई लामो गीत बनाएँ । एउटा स्थायी र चार वटा अन्तरा छ र प्रत्येक पंक्तिमा बेग्लाबेग्लै सङ्गीतको प्रयोग गरेको छु । यो कुरा कसैले पनि त्यति ध्यान दिएको जस्तो लाग्दैन ।
यस्तो पागलपन किन भनेर धेरैले मलाई सोध्छन् तर मेरो भन्नु के छ भने हामीले जीवनमा कैयौँ कैयौँ नयाँ कम्पोसिन सुन्यौँ । पुराना गीत सुन्यौँ । नयाँ गर्नुपर्ने काम केही छैन । छैन भने किन दोहोर्याउँ पुरानै कुरा ? किन केही नयाँ काम नगर्ने ? यस्तै झोंकले यो गीत रेकर्ड गराएको थिएँ, ‘भनन, तिमी कसको प्रतीक्षामा...।’
लोकप्रियताका लागि म काम गर्दिनँ । यो देशमा जति काम गर्नुथ्यो, गरेँ । जति लोकप्रिय हुनु थियो भइसकेँ । कति दुःखको कुरा गर्नु भनेर केही राम्रा गीतकारले लेखेको हेरिरहेको हुन्छु ।
०००
विदेशमा संगीतको तलतल निकै राम्रो छ । नत्र त नेपाली कलाकारलाई बाच्न गाह्रो हुन्थ्यो होला । विदेशमा एक समय अनुशासित दर्शक थिए, अहिले तिनको बानी बिग्रेको छ । साँच्चिकै राम्रो माहोल हुन्थ्यो, त्यो चाहिँ छैन । अब ट्र्याकमा गाउने चलन छ ।
मलाई ट्र्याकमा गाउन मन पर्दैन । दीपलाई बोलाउनु महँगो हुन्छ भन्ने ठान्छन् मेरा स्रोता तर विदेशमा बस्ने नेपालीले गीतसंगीत बचाउन अझै पनि ठूलो सहयोग पु¥याउनु भएको छ ।
पहिलो पटक म वि.सं. २०४० मा रुसमा गीत गाउन गएको थिएँ ।
म आफूसमेत पाँच जनाको समूह बनाएर सन् १९९० ताका हङकङ गएको थिएँ । आफैँ कलाकार लिएर जाने भनेपछि मैले सोहीअनुसार तयारी गरेँ । एक जना गोर्खा मेजरले बोलाउँछु भन्नुभएको थियो तर त्यस बेला फकल्यान्डको समस्या भइरहेको थियो । त्यस समस्याका बेला पुग्दा मलाई बोलाउने व्यक्ति नै अन्तै सरुवा भएर जानु भएछ । अब कार्यक्रम नै नहुने भयो र विचल्ली पनि हुनेभयो । पाँच दिन होटलमा बस्दा पैसै सकियो । मैले हङकङमा चिनेजानेका केही व्यक्तिसँग हारगुहार गरे । एक जना विनिता गुरुङ भन्ने जेठी सासु हुनुहुन्थ्यो, उहाँले घरैमा बस्ने व्यवस्था मिलाउनु भयो ।
त्यसपछि फकल्यान्डबाट आउनेलाई गोर्खा सैनिकलाई कार्यक्रम देखाउने अवसर जुराएँ । त्यसपछि एक हप्तासम्म दिनमा दुई पटक सो गर्नुप¥यो । दिनमा चार घण्टा सो गर्दागर्दा हत्तु भइयो । आफ्नो खर्च उठ्यो भन्ने लागेपछि हामी फर्कियौँ ।
अर्को एक पटक चाहिँ देशका चर्चित कलाकारसँग सिंगापुरमा कार्यक्रम ग¥यौँ । त्यसमा गौरी मल्ल, सारंगा श्रेष्ठ लगायत हुनुहुन्थ्यो । पहिलो सोमा सोचेजस्तो पैसा भएन । त्यतिबेला खर्च लाखमा हुन्थ्यो । पहिलाजस्तो समय थिएन । उल्टै घाटा लाग्ने देखेपछि तीन दिन बाँकी रहँदा हामी ब्रुनाईतिर लाग्यौँ । त्यहाँ मैले चिनेका मेजर भुवनसिंह लिम्बु हुनुहुन्थ्यो । उहाँलाई फोन गरेँ । पूर्व र पश्चिमको ‘किस्सा’ हुँदोरहेछ । भन्नुको अर्थ पश्चिमका नेपालीले पूर्वका कलाकारलाई भाउ नदिने । मैले ट्रिक लाएँ– म पनि गुरुङकै ज्वाइँ हो किन यस्तो भेदभाव नि ? यस्तो भयो भने त मेरो जहाजै डुब्छ ।
जहाज डुबेन त्यो दिन । मैले अर्को पनि आइडिया लगाएँ । ब्रुनाइमा बाहिर रक्सी खान पाइँदैनथ्यो । सांगीतिक कार्यक्रम हुने भनेपछि बियर बेच्न दिनुपर्यो भन्ने आग्रह गरेँ । त्यहाँ बियर खान पाइन्छ भनेर बाहिरबाट पनि नेपालीहरू आउँदा रहेछन् !
यसरी पैसा उठाएँ ।
त्यही बेला गोपाल योञ्जन बित्नु भएको खबर पाएँ । त्यहाँ गएका प्रायः सबै कलाकार गोपाल दाइको भक्त थिए । कार्यक्रम सकिनुअघि उनीहरुलाई जानकारी दिइनँ । सो बिग्रन्छ भन्ने थाहा थियो । सबैलाई खानासाना खुवाइसकेपछि सुनाएँ । सुनाउनेबित्तिकै रुवाबासी ।
त्यसपछि त आफ्नो संयोजनमा कलाकारलाई विदेश लैजानै छाडेँ । कसैले निम्ता गरे, बेग्लै कुरा !
तस्विर : रुकेश श्रेष्ठ
(नागरिक परिवारबाट साभार)
प्रकाशित: १० श्रावण २०७४ ०७:४८ मंगलबार