१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्य

त्यो ३६ इन्चको मोता

विश्व बस्नेत, अभिनेता
जवानीमा म फेसनप्रति निकै सचेत थिएँ । लक्काजवान थिएँ, चिटिक्क परेर हिँड्न खूब मन लाग्थ्यो । प्रायः म मुम्बई (त्यतिबेलाको बम्बई) मा बस्ने गर्थें । त्यहाँ बस्दा डिपार्टमेन्ट स्टोर, सोरुमजस्ता ठाउँबाट गुणस्तरीय कपडा छानी–छानी किन्थेँ । २०३६ सालतिर बेलिबटम प्यान्टको फेसन थियो । त्यसै वर्ष रिलिज भएको फिल्म ‘सिन्दूर’ मा मैले ३६ इन्चको मोतावाला प्यान्ट लगाएँ । रेडिमेड किन्न पाइन्नथ्यो, सिलाउनुपथ्र्यो । त्यतिबेला मेरो कपाल कालो अनि बाक्लो थियो । साइड लक गरेको लामो कपाल थियो । मेरो कपालको स्टाइल हेर्दा हिन्दी फिल्मका हिरोको नक्कल गरे जस्तो देखिन्थ्यो । हुन पनि हो इन्टरनेटको पहुँच नभएको बेलामा हिन्दी फिल्मकै नक्कल गरिन्थ्यो । त्योबेला हिन्दी फिल्म निकै हेरिन्थ्यो । त्यसैबाट प्रभावित थिएँ, म । हिन्दी फिल्मका अभिनेता देवानन्द र शम्मी कपुरको फेसन मलाई साह्रै मन पथ्र्यो । त्यतिबेला म स्कार्फ पनि लगाउँथेँ ।  २०४६ सालमा रिलिज फिल्म ‘अन्याय’मा बेलिबटम हटेर जिन्स फेसनमा आइसकेको थियो । र, मोताको साइज पनि घटिसकेको थियो ।
आजभोलि म क्याजुअल ड्रेसअपमा ठाँटिन्छु । फर्मल पार्टीमा जाँदा सर्ट, कोट, प्यान्टमा सजिन्छु । साथीभाइसँग घुमघाममा जाँदा चाहिँ जिन्ससँग सर्ट अथवा टिसर्ट, कालो ज्याकेट लगाउँछु । दौरासुरुवाल त्यति लगाउँदिनँ ।
अहिलेको फेसनमा मेरो खासै रुचि छैन । नीलो रङ मलाई असाध्यै मन पर्छ । नीलो जिन्स भनेपछि भुतुक्कै हुन्छु । अहिले फाटेको जिन्सको फेसन चलेको छ । म पनि घरमा भएका फाटेका पुराना जिन्स कहिलेकाहीँ लगाउँछु । किनेरै फाटेको जिन्स लगाउने रहर चाहिँ छैन । युवावस्थामा म जति फेसनेबल थिएँ अहिले त्यति छैन । अहिले त साधारण लुगा लगाउन नै रुचाउँछु ।

 

 

प्रकाशित: २३ वैशाख २०७४ ०९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App