१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

बाबुरामको शान्त-सुखी परिवार

रामकुमार डिसी

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई नेपाली राजनीतिका केन्द्रीय पात्र हुन्। उनको परिवारलाई राजनीतिक परिवार भन्न सकिन्छ। उनकी श्रीमती हिसिला यमी, छोरी मानुषी यमी भट्टराई र ज्वाइँ जेकेन्द्र श्रेष्ठ पनि राजनीतिमा सक्रिय छन्।

गोरखा, खोप्लाङको एउटा संयुक्त परिवारमा बाबुरामको जन्म भयो। बुबा भोजप्रसाद र आमा धर्मकुमारीका दोस्रो सन्तान हुन् उनी। उनका एक दिदी, एक भाइ र एक बहिनी छन्। सानैमा आमा बितेका कारण आमाको न्यानो मायाबाट वञ्चित बाबुरामलाई बाबुको स्नेहको छहारी भने अहिलेसम्म  प्राप्त छन्। उनका बुबा कान्छो छोरासँग बस्छन्।

बाबुरामलाई कहिलेकाहीँ आफ्नो परिवार निरसजस्तो लाग्छ। 'छोरी बिहे गरेर गइसकिन्,' उनले भने, 'हिसिलाजी पनि व्यस्त भइराख्नुहुन्छ। कहिलेकाहीँ त हाम्रो भेट हुनै समय लाग्छ। त्यो बेला यस्तो पनि जिन्दगी हुन्छ? भन्ने लाग्छ। तर, हामी स्वेच्छाले राजनीतिमा लागेका हौँ। यसलाई पनि सहजै स्विकार्छाैं।'

बाबुरामको आफ्नै परिवार भने एकल परिवार हो। मानुषी बाबुराम र हिसिलाका एक मात्र सन्तान हुन्। परिवारका तीनै सदस्य राजनीतिमा सक्रिय छन्। हिसिला पटक–पटक मन्त्री भइसकेकी छिन् र अहिले पनि नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय छिन्। छोरी मानुषी भने विद्यार्थी राजनीतिमा छिन्। उनी त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरकी पूर्व स्ववियु सचिव पनि हुन्। राजनीतिशास्त्रमा विद्यावारिधि गर्न हाल उनी भारतमा पढिरहेकी छिन्। उनले तनहुँका जेकेन्द्र श्रेष्ठसँग लगनगाँठो कसेकी हुन्। जेकेन्द्र पनि विद्यार्थी राजनीतिमा सक्रिय छन्। उनी नयाँ शक्ति पार्टीको विद्यार्थी संगठनका प्रवक्तासमेत हुन्। 

भट्टराई परिवारमा अंशबण्डा भने पहिले नै भएको हो। बुबा भोजप्रसादले बाबुरामको बिहेअघि नै दुर्ई छोरालाई अंशबण्डा गरिदिएका थिए। 'म राजनीतिमा लागेका कारण अंशबण्डामा खास चासो थिएन,' बाबुरामले भने, 'बुबाले पहिले नै हामी दाजुभाइबीच अंशबण्डा गरिदिनुभएको रहेछ।' ऊ बेला छोराले मात्रै अंश पाउने चलन थियो। 'तर, पछि हामी दाजुभाइले सल्लाह गरेर बहिनीलाई पनि अंश दियौँ,' बाबुरामले भने।

उनका अनुसार उनको  व्यक्तिगत सम्पत्ति छैन। आफ्नो अंशमा परेको सम्पतिमध्ये केही छोरी मानुषीलाई दिएको र बाँकी माओवादी जनयुद्धकै बेला पार्टीका नाममा राष्ट्रीयकरण गरिसकेको उनी बताउँछन्। र, पत्नी हिसिलाले दाइजोस्वरूप पाएको सम्पत्ति उनले आफ्नै नाममा राखेकी छिन्। उनीहरूको काठमाडौँमा घर छैन।

अरू बेला व्यस्त भइरहने भट्टराई परिवारको दशैँतिहार तथा विशेष अवसरमा भने जमघट हुन्छ।  अरू बेला टीका नलगाए पनि दशैँमा बुबा र तिहारमा दिदीबहिनीका हातको टीका आफूले लगाउने गरेको बाबुराम बताउँछन्। कतिपयले दशैँतिहारमा बाबुरामले टीका लगाएनन् भनेर हल्ला गरे पनि त्यो सत्य नभएको उनको भनाइ छ। 'हल्ला गरेजस्तो बिलकुल होइन, दशैँतिहारमा सधैँ टीका लगाउँछु,' उनले भने, 'म धर्म, संस्कृतिको विरोधी होइन।'

विशेष बेला मात्रै जमघटको अवसर पाउने भट्टराई परिवारमा त्यो बेला के कुरा बढी चल्दो हो। 'राजनीतिक परिवार भएकाले स्वाभाविक रूपमा राजनीतिका कुरा हुन्छन्,' बाबुरामले भने, 'तर, बढी पारिवारिक गफगाफ नै हुन्छ। धेरै राजनीतिका कुरा गरेर भेटघाटलाई निरस बनाउने कुरा हुन्न।' उनका अनुसार भेटघाटमा व्यक्तिगत हालखबर र भावी पारिवारिक योजनाजस्ता कुराले ठाउँ पाउँछन्। 

राजनीतिक परिवार अरू सामान्य परिवारसरह रसिलो र सुखी हुन्छ? बाबुरामलाई कहिलेकाहीँ आफ्नो परिवार निरसजस्तो लाग्छ। 'छोरी बिहे गरेर गइसकिन्,' उनले भने, 'हिसिलाजी पनि व्यस्त भइराख्नुहुन्छ। कहिलेकाहीँ त हाम्रो भेट हुनै समय लाग्छ। त्यो बेला यस्तो पनि जिन्दगी हुन्छ? भन्ने लाग्छ। तर, हामी स्वेच्छाले राजनीतिमा लागेका हौँ। यसलाई पनि सहजै स्विकार्छाैं।'

अरू परिवारजस्तो हप्तामा एक चोटि घुमघाम, रमाइलो गर्ने मौका भट्टराई परिवारले पाउँदैन। पाँच/छ महिनामा भने एक पटक  समय निकालेर बाहिर घुम्न जाने गरेको उनी बताउँछन्। 'बेलाबेलामा बुबालाई पनि बाहिर घुमाउन लैजान्छु,' उनले भने, 'परिवारका अरू पनि घुम्ने, रमाइलो गर्ने गर्छन्।'

राजनीतिमा लागेको मान्छेले विवाह गर्दा राजनीतिक करिअरमै धक्का लाग्छ भन्ने सोचिन्थ्यो, कुनै बेला। बाबुराम पनि एक पटक यस्तै सोच बोकेर हिँडेका थिए। 'हिन्दू संस्कारमा जन्मेकाले लोभ, मोह त्यागेर ऋषिमुनिझैँ बस्नुपर्छ भन्ने प्रभाव पनि थियो,' उनले भने, 'विवाहले राजनीति बिथोल्छ भन्ने त छँदै थियो। त्यसैलै कुनै बेला विवाह नगर्ने मुडमा थिएँ।'

तर, हिसिलालाई भेटेपछि चाहिँ बाबुरामको मन बदलियो। 'हिसिला आत्मनिर्भर हुनुहुन्थ्यो,' उनले सम्भि्कए, 'इन्जिनियर भएकाले उहाँ जागिरै गरेर पनि परिवारलाई राम्रोसँग पाल्न सक्नुहुन्थ्यो। धेरै झमेला बेहोर्नुपर्दैन भन्ने लागेपछि विवाहका निम्ति राजी भएँ।'

अहिले बाबुराम विवाह र परिवारलाई अनिवार्य भएको बताउँछन्। 'विवाह गरेपछि मान्छे पूर्ण हुँदो रहेछ,' उनले भने, 'परिवार अनिवार्य सामाजिक तŒव हो। व्यक्तिको चरित्र उसले कस्तो सामाजिक मूल्य–मान्यता भएको परिवारमा जीवन व्यतीत गर्‍यो भन्नेले निर्धारण गर्छ।' शान्त र सुखी परिवार भए मान्छे एक्लोपन र निराशाको शिकार हुनबाट जोगिने उनको बुझाइ छ। उनी परिवारलाई मार्क्सवादी दृष्टिकोणबाट पनि हेर्छन्। भन्छन्, 'परिवार पनि विपरीतहरूको एकत्व हो। विपरीतहरूको एकत्व हुँदा शक्ति पैदा हुन्छ। नयाँ विचार सिर्जना हुन्छ। यसले फाइदै गर्छ।'

परिवारमा कहिलेकाहीँ सानातिना कुरामा ठाकठुक पर्नुलाई सामान्य ठान्छन् उनी। '३५ वर्ष भयो विवाह भएको,' उनले भने, 'अहिलेसम्म धेरै बेर रिसाउने गरी हाम्रो झगडा भएको छैन।' सुखी परिवारका लागि समझदारी नै  मुख्य हुने उनको बुझाइ छ। 'एकले अर्कालाई बुझ्ने र समझदारी गरेर अघि बढ्ने हो भने परिवारमा दुःख आउँदैन,' उनको मान्यता छ।

नेपालीको परिवार संरचनामा व्यापक परिर्वतन आएको आफूले अनुभव गरेको डा. बाबुराम भट्टराई बताउँछन्। 'बदलिँदो समयसँगै संयुक्त परिवारहरू धमाधम न्युक्लियर (एकल) परिवार बन्दैछन्,' उनी भन्छन्, 'यो परिवर्तनलाई सहजै आत्मसात् गरेर जानुपर्छ।' 

नागरिक परिवारबाट

प्रकाशित: २६ चैत्र २०७३ ०७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App