९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

नेपाली रंगकर्मको बृहत् दस्तावेज

अशेष मल्ल

नेपाली रंगमञ्चको लामो इतिहास छ। अनेक कालखण्डमा अनेक नाटक लेखिए, मञ्चित भए। नेपाली लोकपरम्परामा नाटक, संगीत र कला संस्कृतिको अभिन्न अंगकै रूपमा रहेको पाइन्छ। खोज र अनुसन्धानको अभावमा तिनको इतिहास हराउन थालेको छ। नाटकका साहित्यिक पक्षका बारेमा समीक्षा, समालोचना र इतिहास प्रशस्तैै लेखिएका छन्। तर, दुर्भाग्य नाटकको रंगमञ्चीय पक्ष र तिनको इतिहास ज्यादै न्यून छ। लेखिएकै छैन भन्दा पनि हुन्छ। अनेक कालखण्डमा अनेक प्रतिभाको उदय भए पनि अभिलेखको अभावमा तिनको इतिहास नेपथ्यमै बिलाएर गए। एउटा नाटककार स्थापित हुन मञ्चनको ठूलो हात रहेको हुन्छ। रंगमञ्च एक व्यक्तिको प्रयासले सम्भव हुने विधा होइन। अनेक व्यक्तिको संलग्नताले एउटा नाटक प्रस्तुत हुन्छ। बालकृष्ण सम, विजय मल्ल आदि नाटककार नेपाली नाट्य साहित्यमा अमर छन्, तर तिनका नाटकमा अभिनय गर्ने र प्रस्तुतिमा संलग्न हुने कुनै पनि रंगकर्मीका अभिलेख खोज्दा निराश हुनुपर्ने स्थिति छ।

किताब पल्टाउँदै जाँदा नसमेटिएका थुप्रै पक्ष भेटिन्छन्। थुप्रैका नाम छुटेका होलान् वा पूर्ण विवरण नसमेटिएका पनि होलान्। समग्र पुस्तकको लेखन हेर्दा लेखकलाई दोष थोपर्नुभन्दा कमसेकम यतिसम्म आधार तयार गरिदिएकोमा धन्यवाद दिनैपर्छ।

नाट्यकृति छापिन्छ कमसेकम त्यो किताबका रूपमा जीवित हुन्छ, तर नाट्य प्रस्तुति मञ्चनपछि अभिलेखको अभावमा हराएरै जान्छ। रंगप्रस्तुतिको यो अत्यन्त दुखद सत्य हो। नेपाली रंगमञ्चको समग्र अभिलेखको अभावको यही स्थितिमा कृष्ण शाह यात्रीले निकै परिश्रमका साथ एउटा कृति प्रकाशनमा ल्याएका छन्। यो एउटा विशुद्ध रंग इतिहासको दस्तावेज हो। बिनापूर्वाग्रह यथार्थ अभिलेख पुस्तकका रूपमा प्रकाशित हुनु यसको विशेषता हो। पुस्तकमा समीक्षा, समालोचना या लेखकीय विवेचनाभन्दा पनि अनेक कालखण्डका यथार्थ विवरण र तिनको दस्तावेजलाई अभिलेखीकरण गरिएको छ।

'नेपालको रंगमञ्च :  विगत र आगत' नामकरण गरिएको प्रस्तुत कृति स्वयं बोल्छ। समेट्न खोजेको विषय यही नामकरणबाटै प्रष्ट हुन्छ। नेपाली रंगमञ्चबारे छिटपुट नलेखिएको होइन, तर समग्र नेपालकै इतिहास भने पहिलो पटक यस कृतिले समेट्ने प्रयास गरेको छ। यो निकै जटिल काम हो। नेपाल केवल काठमाडौँ उपत्यकामात्र होइन। नेपाली साहित्यको इतिहासमा पटकपटक गल्ती भएका छन्। साहित्यको मूल्यांकनलाई राजधानीमै सीमित गराउन खोजिएका प्रसंग बग्रेल्ती छन्। प्रस्तुत कृतिले भने केही हदसम्म देशैभरिका गतिविधिलाई समेट्ने प्रयास गरेको छ।।

सामग्री संकलन स्वयंमा एउटा कठिन काम हो। हाम्रो जस्तो भौगोलिक जटिलतामा सबै तथ्य फेला पार्न निकै गाह्रो छ। किताब पल्टाउँदै जाँदा नसमेटिएका थुप्रै पक्ष भेटिन्छन्। थुप्रैका नाम छुटेका होलान् वा पूर्ण विवरण नसमेटिएका पनि होलान्। समग्र पुस्तकको लेखन हेर्दा लेखकलाई दोष थोपर्नुभन्दा कमसेकम यतिसम्म आधार तयार गरिदिएकोमा धन्यवाद दिनैपर्छ। केही वर्षअघि सर्वनामले नेपाली रंगमञ्चको इतिहास तयार गर्ने प्रयास गरेको थियो। शोध–अनुसन्धानका लागि आह्वान पनि गरेको थियो। जसअन्तर्गत डा. केशवप्रसाद उपाध्यायको कृति प्रकाशित भइसकेको छ।

यस अनुसन्धानात्मक कृतिको विशेषता भनेको यसले समेट्न प्रयास गरेको समग्रता हो। यो त्यति सहज काम होइन। नाट्य क्षेत्रमा आज कैयौँ काम भएका छन्। यो एक वा दुई दशकको इतिहास स्मरण सम्भव भए पनि विगतका इतिहास प्रायः हराइसकेको अवस्था छ। म स्वयं पनि आफ्नै नाटकका अभिलेख खोज्दा भेट्न नसक्ने स्थितिमा छु। तीस–चालीस वर्षअघिका मेरा आफ्नै नाटकका तस्बिर मसँग छैनन्।

सात खण्डमा विभाजन गरिएको प्रस्तुत कृतिको महŒवपूर्ण पाटो भनेको नेपाली रंगकर्मको कालयात्रा र यसको दस्तावेज हो। यस पुस्तकको पहिलो खण्डमा रंगमञ्चको सैद्धान्तिक स्वरूपको चर्चा गरिएको छ। यसमा नाटक र रंगमञ्चको अन्तर्सम्बन्धका साथै रंगमञ्चका महŒवपूर्ण पक्ष– नाट्य आलेख, नाटक निर्देशक, कलाकार, मञ्च सज्जा र रंग सामग्री, रंग प्रविधि, रूप सज्जा, शृंगार, भेषभूषा, नाट्यशाला, दर्शकको छुट्टाछट्टै जानकारी दिइएको छ। दोस्रो खण्डमा नेपाली रंगमञ्चको प्रारम्भिक कालयात्राअन्तर्गत लिच्छवीकालीन, मल्लकालीन, नेपाल एकीकरणपछिको राणाकालीनलगायत अनुवादित नेपाली नाट्य परम्परा, रंगमञ्चमा पहलमानसिंह स्वाँरका नाटक हुँदै डबली नाटकसम्मको व्याख्या गरिएको छ। तेस्रो खण्डमा 'नेपाली रंगमञ्चको आधुनिक कालयात्रा'अन्तर्गत प्रथम चरण (वि.सं. १९९५–२०२९), द्वितीय चरण (२०३०–२०४६) र तृतीय चरण (२०४७–२०७२) लाई अभिलेखीकरण गरिएको छ। यस अवधिमा नेपाली रंगमञ्चमा भएका विभिन्न प्रयोगलाई समेत समेटिएका छन्। जसमा रंगमञ्चमा मल्टिमिडिया प्रयुक्त नाटकदेखि लघुकथा मञ्चनसम्मका सन्दर्भ छन्। चौथो खण्डमा 'मोफसलमा नेपाली रंगमञ्चको स्थिति' रहेको छ। नेपालका चौबीस जिल्लाका रंगमञ्चीय गतिविधि यसमा समेटिएको छ। इलाम, झापा, भोजपुर, सुनसरी, उदयपुर, धनुषा, बारा, नुवाकोट, मकवानपुर, चितवन, कास्की, सुर्खेत, दाङ, पर्वत, हुम्लालगायतका स्थानका महŒवपूर्ण इतिहास समेटिएको छ।

यात्रीको यो प्रयासले नेपाली रंगकर्मको अनुसन्धानको एउटा ढोका खोलिदिएको छ। यो पुस्तक भविष्यका अनुसन्धाताका लागि आधारका रूपमा रहने विश्वास गर्न सकिन्छ। यस पुस्तकमा छुटेका नाम र कामका टिपोट पनि प्रशस्त आउन सक्छन्, जुन यात्री स्वयंका लागि पनि आगामी संस्करण क्रमशः पूर्ण गराउन सहयोगी हुनेछन्। यो एउटा बृहत् खोज कार्य हो। भोलिका पुस्ताका लागि अनुपम प्रेरणाको स्रोत पनि हुन सक्छ यो पुस्तक।

नेपाली रंगकर्मको ऐतिहासिक दस्तावेज यसरी बृहत् रूपमा पहिलो पटक प्रकाशनमा आएको छ। यो जटिल र साहसी कामका निम्ति यात्रीलाई स्याबासी दिनैपर्छ।

 

नेपालको रंगमञ्च :  विगत र आगत

लेखक :  कृष्ण शाह यात्री

प्रकाशक :  नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान

मूल्य :  रु. ६५०/–

प्रकाशित: ९ पुस २०७३ ०६:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App