२८ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

सयौँ कम्पनमा अटल :  नारायणगोपाल

गीता त्रिपाठी

सयौँ कम्पनले तरंगित तर अटल। लयहरूको अविराम जलधी। कहिल्यै तृप्त नहुने, तर अतृप्तिको सम्बोधन किन पनि उनलाई सुहाउँदैन भने एउटै गीतमा पूर्णता छ। उनका हरेक गायनमा यस्ता पूर्णता लहरजस्तै उठ्छन्। मैले त्यो पूर्णतालाई केकेमा विभाजित गरिनँ। गाउँबेसीको एक्लो यात्रामा, पँधेरी र स्कुलको बाटो हुँदै साथीका निम्ति लेखिदिएका प्रेमपत्रमा समेत उनको पूर्णताको अंशहरू साभार गरेँ। समुद्रमा भए किनारसम्मै मात्र सीमित हुँदो हो, तर यी लहर हुन् आवाजका। त्यसैले त गीतकी सौखिन कवि वानिरा भन्ने गर्छिन्— 'ऊ त गीतगंगाबाट उठेर अन्तरिक्षसम्मै फैलिएको छ। त्यसैले ऊ अमर छ यो आँखाले हेरी नभ्याउने ग्यालेक्सीमा ऊ सर्वत्र छ।' वानिराले भनेजस्तै उनको आवाजका लहरहरू आकाशभरि परिव्याप्त छन्। यही परिव्याप्तिमा उनी संगीतको नारायण र गोपाल दुवै भएका हुन्। संयुक्ति छ, त्यसैले उनी नारायणगोपाल। उनी शिवगोपाल पनि हुन्। त्यसैले त बागिनाको परिकल्पना उनैले गरे। बस् उनी मिथक हुन्। शब्दमा मिथकको परम्परा पुरानै छ, तर सुर र स्वरको यो भूमिमा पहिलो मिथक उनी नै हुन्। बाल्यकालमा हामी स्कुले केटाकेटीहरू उनैका गीत गुन्गुनाउँथ्यौँ र भन्थ्यौँ, 'भोलि उठी कहाँ जाने केही थाहा छैन।' अनि गुराँस टिप्न पाखातिर उक्लँदा गाउँथ्यौँ, 'म त लालीगुराँस भएछु।'

आमश्रोताको मूल्यांकनलाई गम्भीरतापूर्वक लिइएको भए नेपालमा नारायणगोपालको सपना फक्रने संगीतको त्यस्तो स्कुल बन्दो हो, जहाँ नेपाली संगीतका पूर्वाधारसहितको एउटा समृद्ध शिक्षण, प्रशिक्षण, मूल्यांकन र अनुसन्धानका गतिविधि हुन्थे! नेपाली सभ्यताको अगम परिचायक गीतगंगाले पूर्णता पाएको दिन नेपाली संगीतमा आइरहेका सस्ता लोकप्रियताले नारायणगोपालको साधनालाई दिइरहेको चुनौती समाप्त हुँदो हो! 

प्रकृतिमा समाहित भएको अथाह स्वरराशि उनको गलामा अवतरित थियो। उनी संगीतलाई वरदान ठानेरै समाधीमा बसे। आवाजको तन्काइ–उचाइ, गहिराइ र फैलावट तीनै स्थितिमा जति पनि उकाल्न र ओराल्न सक्ने, यी दुवै अवस्थामा अन्तःस्थ भई चाहेजति रोकिदिन पनि सक्ने उनको कलाको वजन नाप्ने कुनै यन्त्र थिएन। भनिन्थ्यो उनको आवाजको रेन्जले हार्मोनियमको निश्चित किल्ला नाघिदिन्छ। बाबु आशागोपालको सांगीतिक बीजबाट फैलिएको विरासत बने उनी। नेपाली गीत–संगीतलाई हरेक आउने युगका अघि यति उचाइ दिएका छन्, निश्चय नै नेपाली गीत–संगीतमा उनी पछि आउने अर्को युगको परिकल्पना आजसम्म पनि हुन सकेको छैन। तर, उनैको युगले कैयौँ शताब्दी थेग्न सक्ने पुँजी कमाइदिएर गएको छ।

नारायणगोपाल प्रकृतिका सबै सुरहरूले स्वतः दीक्षित थिए। बेलाबखत उनका गायनका बारेमा विश्लेषण भइरहेका हुन्छन्। यो पुस्तालाई उनको गायकीको मात्र विश्लेषणले नपुग्ने भइसकेको छ। उनको विस्तारित सांगीतिक धरातल जोगाउने हातहरू, कलम र मसी, ध्वनि र दृश्यहरूको अपेक्षा सँगसँगै उनका कृतिलाई जोगाउने कर्महरू कठ्यांग्रिनु दुखद सत्य हो। आज उनी नरहेको २६ वर्ष भइसकेको छ। हरेक वर्ष उनका बारेमा नयाँ अनुसन्धानहरू होऊन्। नारायणगोपाल चोकको एउटा प्रतिमा जो हरेक क्षण उनको गीतको स्वयं साक्षी बसेको छ, प्रत्येक क्षण यो देशको दुर्दशा हेरिरहेछ। आमजीवनमा झरेको पातजस्तो उजाडपन हेेर्नुको विवशतामा स्वतःस्फूर्त गुन्जिएका केही युवा ढुकढुकीले मध्यमंसिरमा चोकवरपर केही उत्साह पनि थपिदिने गर्छन्। आकर्षणचाहिँ उनका नामको पुरस्कार र सम्मानले मात्र जोगाएझैँ लाग्छ। उनैका समकालीनहरू सँगै युवा कलाकार पनि उनको नामसँग जोडिएर सम्मानित हुन पाउनुले बेहद खुसी देखिन्छन्। यो वर्ष प्रसिद्ध गायिकाद्वय मीरा राणा र ज्ञानु राणाका गहहरू त्यसरी नै गर्वले रसाएका थिए। नारायणगोपालले सदैव नारी स्वरमा विविधताको खोजी र सम्मान गरिरहे। गायिका दिलमाया खातीलाई आफूसँग गीत गाउन आग्रह गर्ने उनले थुप्रै गायिकासँग युगलमा सहकार्य गरेका छन्। नेपाली संगीतका सुप्रसिद्ध गायिकाहरू तारादेवी, अरुणा लामा, दिलमाया खाती, मीरा राणा, ज्ञानु राणा, निर्मला श्रेष्ठ, कमला श्रेष्ठ हुँदै उनले स्वर्णिम सन्ध्यामा नयाँ पुस्ताका गायिका लोचन भट्टराई र विजया गिरीसँग समेत सहकार्य गरेका थिए। यसरी नारी स्वरलाई सम्मान गरी सांगीतिक यात्रामा विविधताबीच चुनौती स्वीकार्ने नारायणगोपालको नामको यो वर्षको पुरस्कारले विशेष अर्थ बोकेको छ।

 शब्द र संगीतलाई अनेक कोणबाट परीक्षण गरेपछि मात्र स्वर दिने गायक, ऋतुले धर्तीका हरेक जीव र पदार्थलाई छोएर आफ्नो आगमनको बोध गराएजस्तो गरी नेपाली गीतमा प्रवेश गर्थे। त्यसैले नारायणगोपालको गायनकाल एक प्रकृति बन्यो, जसमा लोक, आधुनिक हुँदै अत्याधुनिक संगीतको प्रवेशले पनि नेपाली चोखो हार्दिकतालाई बिथोल्न सकेन। हरेक जाति, धर्म, सम्प्रदाय र वर्गका लागि एउटै गीत उसरी नै गाए उनले, जहाँ अनेकताबाट एकताको जागृति भइरह्यो। प्रेम, वियोग र राष्ट्रिय भावनाका कवितामय शब्द छनोट गर्ने उनको संगीत चेतना पनि उत्तिकै विशिष्ट भएकाले नै तीन दशक लामो उनको गायन यात्रामा कुनै गीतप्रति श्रोताले समस्या देखेनन्। सुनझैँ खार्नु उनको स्वच्छन्द गायनभित्रको शिल्पगत परिष्कार थियो। अनुभूतिका गायक नारायणगोपाल यसैकारणले श्रोताका ढुकढुकी बने। हर्ष र विस्मात् वा उत्साह र निराशा दुवै समय स्वतः गुन्गुनाइने उनका लयमा जीवनका कठिन क्षणहरू पनि बगिरहेको महसुस भइरह्यो।

२४ वर्षअघि संगीतज्ञ अम्बर गुरुङले भनेका थिए, 'नारायणगोपाललाई अब हामीले प्रिजर्भ गर्नुपर्छ, प्रसिद्धीकरण गराउन छोड्नुपर्छ। प्रसिद्ध त ऊ त्यसै पनि थियो (बागिना, २०४९ : ५)।' प्रसिद्धिको मापन संख्याले होइन, प्रभावले हुन्छ भन्ने मान्यता राख्ने गुरुङ आफै पनि एउटा अगम्य चुली भएरै गएका छन्, तर उनको जीवनकालमा उनले नारायणगोपालको सांगीतिक उचाइलाई गति प्रदान गर्न जुन संरक्षणको सपना साँचेका थिए, ती आज पनि अधुरै छन्। लाग्छ, नेपालमा जन्मनु देवकोटाका लागि मात्र होइन, सबै कलाकार र साहित्यकारका लागि आजसम्म पनि भौगोलिक भूलकै नियति बनेको छ!

नारायणगोपालका श्रोताबीच कुनै उमेरको सीमा थिएन। किशोर उमेरमा उनका गीतले पार्ने प्रभाव अत्यन्त भावुकताले स्पन्दित हुने, युवा उमेरमा प्रेमका कोमलतासँगै वियोगान्त र निराशाका रेखाहरू जोडिने र प्रौढका निम्ति जीवन दर्शनको गहिराइ र उचाइ एकैपटक प्रतिबिम्बित गराउने हुँदा उनका गीतमा नेपालको प्राकृतिक विविधताको विशेषता अनुभव हुन्थ्यो। र त गायनलाई गम्भीरतापूर्वक लिने गायक चेतनारायण राईले आफू नारायणगोपालका गीतको कतिसम्मको फ्यान र फलोअर हुँ भन्नेबारेमा अलग अभियानको मंसिर शृंखलामा भनेका थिए, 'नारायणगोपालका गीत सुन्न भुतुक्कै हुन्थेँ, तर आमाले खाइलाग्दो छ भनेर श्रमको काममा मलाई नै अघि सार्नुहुने। एकदिन मकै भाँच्न पठाउनुभयो। मकैबारीनजिकै रहेका मुखिया बाको रेडियोमा अल्झेछ क्यारे पछ्यौरी... गीत बजिगयो। भाँचेको अलि ठूलो मकैको घोगा हातैमा थियो, सास रोकेर गीत सुन्न लागेछु। त्यहीबेला उनै मुखियाको ठूलो भाले कताबाट मेरो छेवैमा आएर कुखुरी काँ को ठूलो डाँकोले करायो। यति साह्रो रिस उठेछ कि पत्तै नपाइ हातको मकैको घोगाले त्यसलाई हानिसकेछु। बिचरो भाले ठहरै। अनि त त्यसबेलाकेा रु. १५० जरिबाना तिर्नुपरेको थियो।' यस्ता घटना कति भए होलान् श्रोताका व्यावहारिक जिन्दगीमा! उनैका गीत सुन्दै हुर्किएका चेतनारायणले सधैँ आफूले गह्रौँ गीतलाई चुन्नुको पृष्ठभूमिमा धेरैपटक नारायणगोपाललाई सम्झिए। गायक शैलेश सिंह स्वर सम्राटको गायन स्वच्छ, सफा, निलो नदीको पानीलाई परबाट हेर्दा आउने आनन्दसँग दाँज्छन्। श्रोताका लागि एउटा त्यस्तो अवर्णनीय आनन्द, तर गाउनेलाई त्यही नदीको सघनतामा पौडिने चाह, नसक्नुको भय र आँटको खिचातानी। त्यसैले नारायणगोपालको गीत गाउन खोज्नुलाई उनी सर्वथा मीठो दुस्साहस ठान्छन् र स्वर सम्राटप्रतिको आदरले समर्पित भएर गाउँछन्।

हिजोआजका नयाँ पुस्तामा थोरैले मात्र नारायणगोपाल सुनिरहेका छन् भन्नुपर्दा निकै नरमाइलो अनुभव हुन्छ। उनले जसका गीत गाए, जसका गीतमा संगीत गरे र सांगीतिक सहयात्रामा जोजोसँग सहकार्य गरे, तिनले मात्र सम्झिरहने सीमित घेरामा नारायणगोपाल कैद हुँदै गएको आभास भइरहेको छ। नारायणगोपाल आधुनिक संगीत स्कुलको पहिलो पाठ्यक्रम किन हुन सकिरहेका छैनन्? उनका औँला नाचेका हार्मोनियममाथि कति धूलो जमेको होला? संसारका प्रख्यात संगीतकार र गायकका कति जीवनी तयार भएका छन्, तर नेपालको सांगीतिक युगलाई स्वर्णिम बनाउने हस्ती आज पनि लेखकअनुकूलका फुटकर रचनामा पालैपालो खोजिने विषय बनेर रहेका छन्! जसरी नेपाली मनपर्ने गायक को हो? भन्ने प्रश्नको जवाफमा आज पनि नारायणगोपाल भन्ने नै आउँछ, त्यो आमश्रोताको पवित्र मूल्यांकनलाई गम्भीरतापूर्वक लिइएको भए सायद नेपालमा पनि नारायणगोपालको सपना फक्रने संगीतको त्यस्तो स्कुल बन्दो हो, जहाँ नेपाली संगीतका पूर्वाधारसहितको एउटा समृद्ध शिक्षण, प्रशिक्षण, मूल्यांकन र अनुसन्धानका गतिविधि हुन्थे होलान्! परैबाट शीर ठाडो गरेर देखाउन सकिने गरी नेपाली सभ्यताको अगम परिचायक गीतगंगाले पूर्णता पाएको दिन नेपाली संगीतमा आइरहेका सस्ता लोकप्रियताले नारायणगोपालको साधनालाई दिइरहेको चुनौती सायद समाप्त हुँदो हो! 

नारायणगोपालसँगै एउटा नाम अविभाज्य छ, पेमला लामा। दार्जीलिङसँग नारायणगोपालको प्रेम जोडिनु र प्रेमको पुलचाहिँ नेपाली गीत–संगीत हुनु ठूलो प्राप्ति हो। दार्जीलिङको साहित्य, संगीत र कलासँग नेपालको साहित्य, संगीत र कलाको मिश्रण भएपछि नेपाली संगीतले एउटा सांस्कृतिक उचाइ पाएको हो। प्रेमले फैलन सिकाउँछ, यो फैलावट व्यक्तिबाट आरम्भ भई विश्वभर पुग्छ, नेपाली संगीतमा पेमला एउटा संस्कृति भएर रहिन्, तर हामीले अब लगभग त्यो संस्कृतिलाई बिर्सिसकेका छौँ। नारायणगोपालले जतिकै दार्जीलिङसँग निकट रहेर उत्कृष्ट गीत–संगीत र गायनको सिर्जना गर्न नेपालका अरु कलाकारबाट सम्भव भएको देखिँदैन। उनको सफलतामा प्रतिभासँगै परिवेश पनि विशेष कारक भएको छ।

जसरी बाँच्नका लागि पृथ्वी एउटा परिवेश हो, त्यसरी नै नारायणगोपालका गीतमा आएका विविधताका निम्ति पेमला एउटा उर्वर परिवेश रहिन्। नारायणगोपाललाई दार्जीलिङसँग जोड्ने मितेरी पुलका निर्माता ईश्वरवल्लभ थिए। गोपाल योञ्जनसँगको मितेरी साइनो नेपाली संगीतका लागि आशीर्वाद साबित भयो। अम्बर गुरुङ, अरुणा लामा, गोपाल योञ्जन, कर्म योञ्जन, दिलमाया खाती, दिव्य खालिङ, हरिभक्त कटुवाल, मनबहादुर मुखिया, तुलसी घिमिरे, रञ्जित गजमेर, सिके रसाइलीजस्ता नेपाली गीत–संगीत र कलालाई माया गर्ने व्यक्तित्व पहिल्याएर सहकार्य गर्ने अवसरको निरन्तरता बनाइराख्नमा प्रेम र मितेरी दुवै साइनो हकदार भएका हुन्। त्यसरी लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, भूपी शेरचन, भीम विराग, राममान तृषित, नगेन्द्र थापा, रत्नशमशेर थापा, किरण खरेल, क्षेत्रप्रताप अधिकारी, नीर शाह, , दीपक जंगम, चेतन कार्की, कालीप्रसाद रिजाल, दिनेश अधिकारीलगायतका विशिष्ट कवि–गीतकारहरूसँगको सहकार्य उनको युग निर्माणमा निर्णायक रहन पुग्यो।

पेमलाले बनाइराखेको परिवेशभित्रको अर्को विशिष्टता हो— स्वतन्त्रता। नारायणगोपालको प्रतिभा र संगीत चेतनालाई गहिरो गरी बुझेर ती सबैको संयुक्त स्वरूपलाई प्रेम गरेकी पेमलाले एउटा स्वाभिमानी गायकको हृदयलाई कहिल्यै संकुचनमा फस्न दिइनन्। अभाव र एक्लोपनालाई जीवनको स्वाभाविक क्रिया मानेर नारायणगोपालका प्रत्येक गीतलाई आफ्नो सन्तान बनाएकी पेमला जीवनको पछिल्लो एकाकी क्षणमा पनि तिनै गीतहरूलाई स्याहार्दै बाँचिन्। नारायणगोपालको पाइलामा गृहस्थीको बोझ नबोकाइदिएर नेपालीका प्रिय गायकलाई पेमलाले दिएको प्रेम, समर्पण र स्वतन्त्र परिवेशको सम्मान गरी तिनका सपनाको जगमाथि भवन बनाउन सबै नेपाली संगीतप्रेमी जुट्ने बेला आएको छ। संगीतकोषको स्थापना गर्ने सपना त पूरा भएको धेरै भयो, तर अम्बरले भनेजस्तै संरक्षणको अनिश्चितता भने यथावतै रहेको छ। प्रत्येकका हातमा नारायणगोपालको सांगीतिक जीवनको एउटा यस्तो कृति उपलब्ध हुन सकोस्, जहाँबाट विश्वले नेपाली संगीतको श्वेतसभ्यता नियाल्न पाओस्। बाँकी यात्राका लागि सञ्जयजस्तै सारथि भेटियोस्। गोपाल योञ्जनको शब्द–संगीतमा नारायणगोपालले गाएको गीत 'सबैलाई रिझाऊँ भन्दा...'को नियतिबाट गीतगंगा स्वतन्त्र रहोस्।

प्रकाशित: २५ मंसिर २०७३ ०४:५३ शनिबार

सयौँ कम्पनमा अटल   नारायणगोपाल