अनिता न्याैपाने
आफैले अनुभूत गरेको प्रेमको भ्रान्तिबाहेक सांसारिक रचनामा मानिस सधैँ एक्लै हुन्छ– जन्मँदा एक्लो, मर्दा पनि एक्लो, एक्लोपना शाश्वत सत्य । आफू एक्लो छैन भन्ने भ्रान्तिमा राख्न मानिस सधैँ आफन्ती मनोकल्पनाहरू रचना गर्छ र बेलाबेला समूहकै माझमा ब्युँझेर त्यही शाश्वततालाई आत्मसात गर्छ । एक दिन मलाई त्यस्तै भयो । दसैँ भर्खरै सकिएको थियो ।
मखमली फूलले रंगिएका भित्ता र त्यतातिरबाट आएको खिरिलो बास्नाले मनमा झलक्क–झलक्क तिहार अनुभूत हँुदै थियो । बजारमा सामान किन्नेको लर्को, सप्तरंगी टीकाको व्यापार र रेडियो टेलिभिजनमा घन्कने मंगलधुनहरूले तिहार आवागमनलाई संकेत गर्दै थियो । एक्लै बसेर विगततिर फर्कंदा स–साना घटनाले पनि चिमोट्न आउँछन् । साना नानीहरू देउसी–भैलोको रिहर्सल गर्दैछन्, म विगतमा गहिरिँदै छु । प्रत्येक तिहारमा म एक्लै हुन्छु । एक्लै खुसी हुने बानी परेको छ, खुसी हुने सबैका आआफ्नै शैली हुन्छन् ।
बा मरेर जाँदा रक्सीसँगै जान सकेन । गाउँका ठूलो बा, काका बा, हजुरबाको मुखमा ह्वास्स रक्सी गन्हाउँथ्यो । मलाई रक्सीसँग रिस पनि त्यही बेलादेखि उठेको हो । मेरो बाको साथी नै मेरो सबैभन्दा ठूलो दुश्मन साबित भएको थियो । मेरो जिन्दगीको सबैभन्दा प्रिय मान्छे पनि रक्सीसँगको संगतमा छ भन्ने थाहा पाएपछि अप्रिय बनिदिन्छ । मैले रक्सीको कारण धेरै साथी–आफन्तलाई छोडिदिएकी छु ।
मेरो बाका दिदीबहिनी थिएनन्, मेरा दाजुभाइ छैनन् । बा र मेरो तिहार उस्तै हुन्थ्यो । न बाले कसैको हातबाट टीका लगाउनुभयोे, न त मैले नै कसैलाई दाजुभाइ बनाएर टीका लगाइदिएँ । त्यसैले यो समयलाई मैले आफ्ना रहलपहल काममा लगाउने कोसिस गर्छु । पुस्तक पढ्ने, भेटघाट गर्ने गर्छु । तर, मन स्थिर भइरहेको हुँदैन । मनमा आँधी उठिरहेको हुन्छ । धेरै वर्षअघि तिहार मेरो जीवनमा आँधी बनेर आयो, मेरा सारा सपनालाई चकनाचुर बनाएर गयो, मैले हेरिमात्र रहेँ । त्यतिबेला म निकै सानी थिएँ । रहरहरू बनिसकेकै थिएनन्, खुसीहरूले उचाइ लिएका थिएनन् । मन कलिलै थियो । जता हावा आयो उतै झुक्थ्यो, तर भाँचिने बेला भएको थिएन । समय बिस्तारै बग्दै गयो र म बढ्दै गएँ । हरेक वर्ष तिहार आउँछ, त्यो आँधीमय तिहारले मेरा खुसीका मुनालाई भाँच्न थाल्छ । मलाई सबैभन्दा बढी बाको सम्झना गराउँछ । भित्तोमा झुन्डिएको तस्बिरलाई मनमा सजाउँदा त्यसै–त्यसै भक्कानो फुट्दोरहेछ ।
बालाई रोगले च्यापेर अस्पताल भर्ना गरिएको थियो । आमा मात्र हुनुहुन्थ्यो साथमा । काठमाडौँ नै घर भएकाले ठूलो बाबा र ठूली आमा पनि बेलाबेला पुग्नुहुन्थ्यो रे । धेरै दिन भइसकेको थियो बाले केही नखाएको । आमा त्यसैत्यसै आत्तिइसक्नुभएको थियो बाको अवस्था देखेर । आमा पनि केही नखाएर बाँस जस्तै भइसक्नुभएको थियो । बाले केही नखाएसम्म आमाले पनि केही खानु हुन्नथ्यो रे । आँखाभरि आँसु बोकेर काठमाडौँमा एउटा युद्ध जित्ने प्रयासमा हुनुहुन्थ्यो मेरी आमा । बालाई त्यो समय घर फर्काएर ल्याउन सक्नुभएको भए आमाको सिन्दुरको जित हुन्थ्यो । दिनानुदिन घर बढार्दा नाडीमा छन्कने ती चुराको जित हुन्थ्यो । कसैले नजर लगाउनुअगाडि घाँटीमा झुन्डिएको पोतेको डोरोेले सबैलाई परास्त पारिदिन्थ्यो र सायद त्यसको पनि जित हुन्थ्यो । त्यसो भएन, आमाको हार भयो, बाले गोरु तिहारको दिन बिहान ८ बजे हामी सबैलाई छोडेर यो संसारबाट बिदा लिनुभयो ।
हाम्रो कोही नभएर त्यो समय बाको नामको डालो बोकेर दिदी सधैँ खोलामा सेलाउन पुग्थिन् रे । म कताकता हल्ला सुन्थेँ– ‘यसको परिवारले छोरा नभएर छोरीले डालो बोकेर खोला गएको रे । कस्तो चलन आयो, अब त संस्कार भन्ने कुरै रहेन ।’ मलाई यो सुन्दा निकै पीडा हुन्थ्यो । दाजुभाइ नभएकामा म धेरै रुन्थेँ । कटुवचनले जहिल्यै घोच्ने, वचन प्रहारले मुटु र मस्तिष्कमा एकैपटक बिझ्न पुग्थ्यो । मलाई लाग्थ्यो, म संसारबाट किन बिदा भइनँ होला ? आज पनि कसैले नराम्रो वचन बोल्यो भने, मेरो निद्रा हराउँछ । असह्य पीडा हुन्छ । आँखा त्यसै रसाउँछन् र बर्सन थाल्छन् । मलाई निकै गाह्रो हुन्छ, त्यो अवस्थालाई आत्मसात गर्न । हुन त बा नभए पनि जिन्दगी चलेको छ । बा–आमा नहुनेहरू पनि संसारमा बाँचेका छन् । भनिन्छ, बरु बाभन्दा आमाको अभाव बढी खड्कन्छ जिन्दगीमा । तर, बाको अभावले नै म महसुस गर्छु, बा–आमाको माया तराजुको पल्लामा बराबरी नै हुन्छ । आमाले दिने नारी संस्कार र बाबुले दिने सामाजिक संरक्षण जीवनका अमूल्य पाटा हुन् । मानिसमा मातृत्व र पितृत्वका नैसर्गिक गुणहरू बाबु र आमाबाट संस्कारका रूपमा प्रदान हुन्छन् । हेर्दा केही फरक नदेखिएला, तर बाबुको माया नपाएको पीडा कस्तो हुन्छ भन्ने मैले अनुभूत गरेकी छु ।
प्रत्येक वर्ष गोरु तिहारको दिन मेरो घरमा श्राद्ध पर्छ । म आमालाई यी श्राद्ध गरेर बाको याद दिलाउने काम नगर्नुस् भन्छु । आमा मान्नुहुन्न । भन्नुहुन्छ– ‘मेरो पछि तिमीहरू जेसुकै गर तर म हुन्जेलसम्म त्यो हुन दिन्नँ ।’ आमाको खुसीको गला रेट्नु पनि मेरो नैतिकताले दिँदैन र श्राद्धको दिन म पुग्ने गर्छु । आमा बिहान घर बढार्नुहुन्छ, पोछा लाउनुहुन्छ, घरका सारा सामान निकालेर पखाल्नु हुन्छ । अनि, बाको तस्बिरमा हेरेर हामी उठ्नुअगाडि नै निकै बेर रुनु हुन्छ । म प्रत्येक वर्ष आमा रोएको प्रस्ट सुन्छु, तर केही बोल्न सक्दिनँ, केही भन्न पनि सक्दिनँ । चुपचाप सिरकबाट अलिकति मात्र आँखा निकालेर आमाको अनुुहार हेरिरहन्छु । लाग्छ, बा भएको भए आमाले यो दिनको सामना गर्नुपर्ने त थिएन । अनि, सिरक भित्रैबाट फुट्छन् मेरा आँखाबाट पनि आँसुको भल । तर, आमालाई आफ्नो आँसु देखाउँदिनँ । पण्डित आउँछन्, दुई–चार थान किताब भट्याउँछन् र जान्छन्– चामल, घिउ, तरकारी, दही, आदि–इत्यादि सामानको पोको बोकेर । निधारमा पहेँलो टीका टाँसेर दक्षिणा थापेर फर्केको पुरेतलाई हेर्दै म सोच्ने गर्छु, यदि त्यो पण्डितले मेरो बाको आत्मालाई भेट्छ भने एकपटक मलाई पनि भेटाइदिए हुन्थ्यो ! तर, यो असम्भव छ, अचेतन मनले मागेको मात्रै हो । नत्र सांसारिकता, जन्म–मृत्युको प्राकृतिक नियमको उपादेयता नै कसरी रह्यो र ? पुरेत जो छन्, उनले मेरो बाको तस्बिर मात्र देखेका छन् । जुन फोटोमा बा युवा अवस्थाको हुनु हुन्छ । बा बित्दा उहाँको अनुहारमा झल्किएका पीडाका रेखालाई मैले केही हदसम्म महसुस गरेकी छु । बासँग मेरी आमाले जिन्दगीका सबै दुःख सेयर गर्नुभएको छ । त्यही भएर त आमा शून्यबोधमा बारम्बार रुनुहुन्छ । मैले बा बित्दाको पीडा, अभाव, दुःख महसुस गरेकी छु । तर, त्यो पण्डित जसले मेरो बाको तस्बिर त युवा अवस्थाको देखेको छ भने कसरी मेरो बालाई उसले भेटेको जिद्धी गर्छ ? बा बित्दा आमाको उमेर २७ वर्ष थियो । त्यस क्रमका धेरै दुःख–कष्टलाई आमाले आफ्नो भाग्यको खेल सम्झँदै हामीलाई हुर्काउनु भयो । पढाउनु भयो, बढाउनु भयो र यो स्थानसम्म ल्याइ पु¥याउनु भयो । हामीले भोलिका दिनको खाका कोरिसकेका छैनौँ । आमालाई माया गर्नु हाम्रो कर्तव्य हो ।
आमाका काखमा आफ्नो जिन्दगीका अनगिन्ती सपना देख्न पाउनु हाम्रो अधिकार हो । आमा र बाको प्रेम–विवाह हो । उहाँहरू एकअर्कालाई निकै माया गर्नुहुन्थ्यो । मेरा मावली हजुरबुवा आमालाई मेरो बासँग बिहे गराउन चाहनु हुन्नथ्यो । कारण, बाको घर काठमाडौँ । त्यो समय यातायात थिएन । काठमाडौँ निकै टाढा थियो । छोरीलाई टाढा पठाउने हजुरबा–हजुरआमाको चाहना थिएन । प्रेम अन्धो हुन्छ भन्थे, त्यस्तै भयो । आमाले भागेर बासँग बिहे गर्नुभयो । बालाई पाउँदा आमाको खुसीको सीमा नै थिएन रे । सायद बाको मनमा पनि त्यस्तै भएको होला । बा कामको सिलसिलामा धेरै देश घुम्नु हुन्थ्यो । विदेशका सामानले सजिसजाउ थियो मेरो घर । बा घरमा भएका बेला कहिले पनि आमालाई खाना बनाउन दिनुहुँदैन थियो रे ।
म कहिलेकाहीँ एल्बम पल्टाएर आमा र बाको फोटो हेर्छु । आमाको त्यो हँसिलो अनुहार देख्छु । उहाँ निकै खुसी देखिनुभएको छ । बाले आमाको काँधमा हात राखेर तस्बिर खिचाउनु भएको छ । त्यो तस्बिर मैले हेर्दा त तन्नेरी वयका प्रकृति सुलभ प्रेमको सम्झनाले मलाई गाल्छ भने आमा कुन मुटुले हेर्नु हुँदो हो ? बाका यादहरू धेरै छैनन् मसँग । मैले कहिले पनि बाको काँधमा चढेर हट् घोडा हट् गर्न पाइनँ । बाको हात समाएर मैले कहिल्यै अक्षर चिन्न पाइनँ । बा के कुराले बढीभन्दा बढी पिरिनु हुन्थ्यो वा के कुरामा खुसी हुनुहुन्थ्यो मलाई थाहा भएन । कुन लुगामा बाले आफूलाई सबैभन्दा हिरो ठान्नु हुन्थ्यो ? बाको सबैभन्दा मन पर्ने हिरो को हो ? बा कत्तिको फिल्म हेर्नुहुन्थ्यो ? बाले जिन्दगीमा आमालाई भन्दा बढी माया अरुलाई कसैलाई गर्नु भो कि ? या आमा नै पहिलो र अन्तिम प्रेमिका ? बाले कुनै दिन आमाको आँखामा आँसुका थोपा ल्याउनु भयो कि भएन होला ? अँहँ, बाको बारेमा मलाई त्यति धेरै केही थाहा भएन । कहिलेकाहीँ आमासँग कुरा हुँदा सोध्ने गर्छु– ‘आमा, हाम्रा बाले हाम्रो लागि के–के प्लान बनाउनु भएको थियो ।’ तर आमा प्लानको अर्थ फिटिक्कै बुझ्नु हुन्न । आमा भन्नु हुन्छ– ‘खै तेरा बा सधैँ सुत्नुअघि एक गिलास रक्सीमा जिन्दगीका सारा सपना लुकेर बसेको अनुभव गर्थे । भन्थे– मेरा छोरीहरूका लागि भए पनि मैले यो रक्सीको लतलाई छोड्नुपर्छ । तेरा बाको र रक्सीको यस्तो राम्रो मित्रता थियो, एकबिना अर्को बाँच्नै सक्दैनथे ।’
तर, बा मरेर जाँदा रक्सीसँगै जान सकेन । गाउँका ठूलो बा, काका बा, हजुरबाको मुखमा ह्वास्स रक्सी गन्हाउँथ्यो । मलाई रक्सीसँग रिस पनि त्यही बेलादेखि उठेको हो । मेरो बाको साथी नै मेरो सबैभन्दा ठूलो दुश्मन साबित भएको थियो । जुन आजसम्म पनि निरन्तर दुश्मनको रूपमा नै रहेको छ । मेरो जिन्दगीको सबैभन्दा प्रिय मान्छे पनि रक्सीसँगको संगतमा छ भन्ने थाहा पाएपछि अप्रिय बनिदिन्छ । मैले रक्सीको कारण धेरै साथी–आफन्तलाई छोडिदिएकी छु । गाउँकै दाजुभाइ पर्नेहरू रक्सीको संगतमा छन् भन्ने थाहा पाएपछि मलाई बोल्नै मन लाग्दैन । कुनै दिन यस्तो पनि आउँछ जस्तो लाग्छ– यो रक्सी खानेको संसार एकातिर र म अर्कोतिर हुन्छु । मैले बाका नाममा धेरै कविता लेखेँ, कविताले मलाई निकै छुन्छ । अरुका बाको अनुहार हेर्दै आफ्नो बाको कविता लेख्न मलाई निकै गाह्रो हुन्थ्यो । तर, जस्तो भए पनि मेरो बाको अन्तिम सम्बोधन आज पनि मेरो कानमा फुसफुसाएर जान्छ । मलाई मेरो जिम्मेबारीबोध गराइदिन्छ । त्यसैले पनि होला, मलाई कसैको मायाले पनि हत्पत्ति छुँदैछुँदैन । मलाई कसैले माया देखाउनेबित्तिकै लाग्छ, के मेरो बाको सम्झनामा यो प्रतिनिधि पात्र बनेर कतै सामेल हुन सक्छ होला र ?
आमाले झारेको आँसुलाई मैले देखेकी छु । आमाका सपनाहरू मेरो मनमा अटुट छाप बनेर बसेका छन् । आमाले गाली गरेका, माया गरेका, आमाले भोगेका सारा कुरा मेरो जिन्दगीमा छन् । यो समाज किन मेरोविरुद्धमा बोल्छ, त्यो पनि मलाई थाहा छ । यो समाजका मान्छे किन यस्ता छन्, त्यो पनि मलाई थाहा छ । यो समाजमा मेरो भूमिका के हुनुपर्छ, त्यो पनि मलाई थाहा छ । समाजले औँला ठड्याउँदा मेरी आमाको आँखामा आँसुका भुल्काहरू किन जन्मिन्छन्, त्यो पनि मलाई नै थाहा छ । आमा किन घर बेचेर कुनै ठाउँमा सर्न किन चाहनु हुन्न, त्यो पनि मलाई थाहा छ । आमा घरमा एक्लो भएर पनि किन त्यही खाटमा सुत्न मन पराउनु हुन्छ, त्यो पनि मलाई थाहा छ । सब थाहा भएर पनि भन्नु नै पर्छ मलाई आमा तपाईंले आफ्नो अतीतको बारेमा । तपाईंले भोगेका पीडाको बारेमा मलाई केही थाहा छैन । किनकि यो थाहा पाउँदा म दुःखी हुन्छु भन्ने तपाईंलाई थाहा छ । आमा म दुःखी भएको एक मिनेट पनि हेर्न सक्नुहुन्न भन्ने कुरा पनि मलाई थाहा छ । हामी आमा–छोरीमा अटुट माया छ, विश्वास छ । त्यसैले हाम्रो सम्झनामा, तस्बिरमा वा सम्झनाको क्यान्भासमा मेरा बा सदासदाका लागि जीवित हुनुहुन्छ, हाम्रो जीवनको एक अभिन्न अंग बनेर ।
प्रकाशित: २० कार्तिक २०७३ ०४:५२ शनिबार