१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

तीन कविता

राजेन्द्र तारकिणी

प्यारा दुःखहरू

अस्तु खरानीमा मिल्नुअघिको

तर डिम्बाशयको म्याराथन जितेदेखिको

बाँचिरहेको यो अन्तरिम कालखण्डमा

मलाई त दुःखहरू सबैभन्दा प्यारा लाग्छन्।

 

दुःखबिना संसारमा

केही/कोही जन्मेको थिएन/छैन

दुःखबिना ब्रह्माण्डमा

केही पनि सुन्दर बनेकै छैन।

 

जस्तो कि हेर्नुहोस् मलाई–

यी आँखाका सुन्दर तलाउ

यो निधारको फराकिलो पठार

त्यसपरको सदाबहार वन

नाकडाँडाको चुचुरो

ओठका कापमा भञ्ज्याङ

चिउँडोमुनिको खर काट्ने भीर...

यी सबैसबै मेरो अनुहारमा रोपेर

एउटा यो हदको जीवन रचना गर्न

आमाले कति सुन्दर दुःख पिएकी छन्

बाबाले कत्रो प्रतीक्षाको दुःख उठाएका छन्!

 

जस्तो कि हेर्नुहोस् पृथ्वीलाई–

यी देउताजस्ता लाटा चट्टानहरू

यो गरिबजस्तो इमानदार माटोको रङ

त्यसमाथि सज्जन मित्रजस्ता हरियालीहरू

मायालुझैँ गालामा चुम्न आउने बतास

अनुशासित नोकरजस्तो बिहानै ट्रेमा उज्यालो बोक्ने घाम

कर्तव्यनिष्ठ सिपाहीजस्ता काँडाहरू

अनवरत पथिकजस्ता बाटाहरू

छलरहित हृदयजस्तो समुद्रको फैलावट

अहंकाररहित हिमालयजस्तो उचाइ

विषादीरहित उपत्यकाजस्तो गहिराइ...

यी सबैसबै कलाकृति रचेर

एउटा यो सभ्यताको जीवन दिन

प्रकृतिले कति सुन्दर हलचल,

कति लामा तनावका रात भोगेकी छन्।

 

रामको धनुकाण पनि दुःख, पैगम्बरको बुर्का पनि

बुद्धको तपस्या/ईशाको क्रुसारोहण पनि दुःख

हिटलर जन्मनु पनि दुःख, विज्ञान हुर्किनु पनि

बादलले चुमेपछि

चट्याङ खोक्दै पीडाको झरी रोइरहने आकाश पनि दुःख

दुःख पिएरै नाइटोमा कमल फुलाउने धरतीको कला दुःख

गुलाफ फुल्नु पनि दुःख/झर्नु पनि दुःख

स्पेसमा तैरिन अभ्यासरत पिण्डहरूको प्लेग्राउन्ड यो ब्रह्माण्ड

दुःखले दुःखलाई अँगालेपछि अंकुराउने यी यावत् लीला

कति सुन्दर दुःख/कति प्यारा दुःख हुन्!

 

त्यो दुःख कति प्यारो

 जसले लालित्यपूर्ण गर्भाधान बनायो।

त्यो दुःख कति महान्

 जसले सुन्दर प्रसव वेदनाजस्तो चक्र रच्यो।

त्यो दुःख कति गौरवशाली

 जसले चिहानको सौन्दर्यशास्त्र लेख्यो।

 

फालीको टुप्पोमा

क्रेनको पाखुरीमा

रकेटको धुवाँमा

जहाँ झुण्डिएर भोगे पनि

रोमान्सका लागि लामबद्ध सुन्दर प्रेमिकाभन्दा

मलाई त दुःखहरू प्यारा लाग्छन्।

  –०–

 

 

 

दुःखको कला

खुसी कति हलुँगो चिज हो,

 हेर्नुहोस् सिमलको भुवालाई

दुःख कति गहु्रँगो चिज हो,

  हेर्नुहोस् फलामको डल्लोलाई

 

पट्ट फुट्छ सिमल र उड्छ माथि

तैरिन्छ शून्यको महासागरमुनि

भुंग्रोमा/उग्र तापमा जाकिन्छ फलाम

चुटिन्छ, पिटिन्छ, कुच्चिन्छ...

र, एउटा आकार लिन्छ।

 

हो, खुसीले मान्छेलाई उन्मुक्ति दिन्छ

दुःखले पो जीवनलाई आकार दिन्छ,

बाँच्ने कला दिन्छ।

–०–

 

अदुःख

अदुःख त मृत मात्रै हुन सक्छ

जीवन्त त सदुःख हुन्छ।

 

दुःख जीविका काँधमाथि चढेर

कपटपूर्ण सुखभोग गर्नेहरू

सत्ता/शक्ति/सम्पत्तिको भागिदार बन्नेहरू

मूल्यवान् कात्रो ओढेका लासजस्ता लाग्छन्

(लास पनि एक समय शक्तिशाली हुन्छ

तर्साउँछ दुनियाँलाई)।

 

अचेल त सिसाको महलमा बस्नेहरू

     सोकेसभित्रका 'सिलिकन डल'जस्ता लाग्छन्

हरक्षण हाँसो हुन्छ ओठभरि,

कागजको फूलजस्तै लाग्छ त्यो अदुःखपूर्ण हाँसो!

 

कुनै दुःखको भँगेरोले ठुङ्दैन

सोकेस–मानवका यान्त्रिक हृदयहरूमा

जब तिनी मज्जाले देखिरहून्–

तल सडकमा

गोली लागेको परेवाझैँ छटपटाइरहेको बूढो मजदुर

नजिकै चिहानमा

आमालाई दागबत्ती दिन तयार सेतो लपेटिएको नाबालक

पहाडको गहिरो पहिरोजस्तो

मनभरि आघात बोकेर हिँडिरहेकी दीनहीन आइमाई।

 

सहरमा मानवता अपहरित भएको खबर पढेर

कत्ति पनि बिग्रँदैन

कागजको फूलजस्तो ती ओठको हाँसो।

 

(तर उता हेर्नुहोस् त–

तारा निभ्ने मिर्मिरेदेखि

जुनकीरी बल्ने रातिसम्म

घामको भुर्भुराहट/झरीको झम्झमाहट,

आँधीको झुन्झुनाहट/चट्याङको चट्चटाहटसँगै

जीवनमा सुन्दर दुःखका लय भर्नेहरू

डाँडाको निधारमाथि पोतिएको चन्दनजस्तो 'घाम' हेरेर

एकै क्षण हाँसे पनि संसारै उज्यालो लाग्छ

एकै क्षण रोए पनि संसारै उराठ लाग्छ

कति जीवन्त हुन्छ त्यो सदुःखपूर्ण हाँसो/रोदन!)

अदुःख त मृत मात्रै हुन सक्छ।

प्रकाशित: ६ कार्तिक २०७३ ०४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App