पहिलो तथ्य, महामारीपूर्व करिब ४३.५ प्रतिशत (८८२००० जना) पाँच वर्षमुनिका बालबालिका चरम कुपोषणबाट सिकार भएको युनिसेफको रिपोर्टमा उल्लेख छ।
यो संख्या महामारीको दोस्रो चरणपछि करिब १४ प्रतिशत वृद्धि भएको आकलन गरिएको छ। यसबाट के प्रष्ट हुन्छ भने अझै पनि लाखौँ बालबालिकाका अभिभावकले आफ्ना सन्तानाको भोक मेटाउन सकिरहेका छैनन्। अर्थात खानाकै लागि संघर्ष गर्न विवश नेपालीको संख्या ठूलो छ।
दोस्रो तथ्य, अन्तर्राष्ट्रिय श्रम संगठनले प्रकाशित गरेको रिपोर्टमा १५ देखि २९ बर्ष उमेर समूहका करिब १९.२ प्रतिशत युवा बेरोजागार रहेको उल्लेख छ। कुल जनसंख्याको २.७ प्रतिशत बेरोजगार छन्।
प्रत्येक वर्ष करिब ४ लाख युवा काम गर्ने उमेर समूहमा प्रवेश गर्ने गरेको पनि आइएलओको तथ्यांकमा उल्लेख गरिएको छ। यसको मतलव बेरोजगार युवा अनुपातको दर प्रतिवर्ष बढ्दो छ। देशमा रोजगार सिर्जना गर्नेखालका उत्पादनमूलक काम हुन नसकेकोसमेत सो रिपोर्टमा जनाइएको छ।
युएनडिपीले तयार पारेको मल्टी डाइमेन्सनल पोभर्टी रिपोर्टका अनुसार अझै पनि कुल जनसंख्याको १७.४ प्रतिशत मानिस विविधखालका चरम गरिबीको सामना गर्न विवश छन्। गरिबी विकासको प्रमुख बाधक बनेर उभिएको छ। यसले के देखाउँछ भने सुखी नेपाली, समृद्ध नेपाल भाषणमा भनिने कुरामात्र हो। वर्गीयरूपमा तल्ल्लो तहमा रहेका जनताका निम्ति यो केवल निर्वाचनमा बेचिने नारामा सीमित छ। गाँस, बास र कपास जस्ता आधारभूत आवश्यकताको अभावमा अहिले पनि धेरै नेपालीले कष्टपूर्ण जीवन यापन गरिरहेको यो तथ्यले प्रष्ट्याएको छ।
अशिक्षाको दर पनि उस्तै कहालीलाग्दो छ। ७९ प्रतिशत पुरुष र ६० प्रतिशत महिलामात्रै सन् २०१८ सम्म साक्षर रहेको युनेस्कोको तथ्यांकमा देखाइएको छ। औसतमा ६८ प्रतिशत जनसंख्याले मात्र साक्षर बन्नदेखि उच्च शिक्षा लिनसमेत पाएका छन्। अझ पनि करिब ३२ प्रतिशत जनसंख्या शिक्षा पाउनबाट वञ्चित देखिन्छ।
यी तथ्यांकले हामीलाई तर्साउनुपर्ने हो। सचेत गराउनुपर्ने हो। तर त्यस्तो भइराखेको पाइँदैन। हो, यी तथ्य र तथ्यांकमा १,२ प्रतिशत तल–माथि नहोला भन्न सकिँंदैन। तर देशको वास्तविक चित्र यही हो। यसको प्रमाण गत वर्ष जेठ मध्यतिर भोककै कारण ज्यान गुमाएका सप्तरी पथरीका मलर सदा मुसहरलाई हेरे पनि हुन्छ। चार दिनदेखि चुलो नबलेपछि खानाको खोजीमा हिँडेका सदाले सदाका लागि जीवन गुमाउनुपर्यो।
अनि अर्को नजिर २०७६ असोजताका उपचार अभावमा बाटोमै मृत्युवरण गरेका ३५ वर्षिया रूपलाल साहलाई लिँदा पनि हुन्छ। साह पनि मिर्गौला डायलसिसिसको आशामा रौतहटबाट राजधानी आउँदै गर्दा बाटैमा मृत्यु वरण गर्न विवश भए। रूपलाल र मलर सदा त कैयन्मध्येका प्रतिनिधि पात्रमात्र हुन।
यसबाट पुष्टि हुन्छ हाम्रो गरिबी अभाव र पीडाको पारो कति माथि चढिसकेको छ। कति नेता, सांसद र मन्त्री त यो तथ्य र तथ्यांकबारे जानकार छैनन् भन्दा पनि फरक पर्दैन। उनीहरूलाई देशको गरिबी, बेरोजगारी, अभाव र पीडाको पारोले छुँदै छुँदैन। आफूलाई रोलमोडल सम्झने केही भाइरल युवा नेता पनि यस्ता गम्भीर विषयमा बेखबर जस्तै देखिन्छन्। उनीहरूको भाषण, अध्धयन र खोजको केन्द्रमा देशको पछौटेपनका यस्ता नजिर पनि पर्दैनन्।
अझ स्वास्थ्य क्षेत्रका विकराल समस्या, अन्धकार, कर्णालीको कथा, मुगेली, डोल्पाली, हुम्लीको कहालीलाग्दो कहानी त कति छ कति? साम्यवाद र समाजवादको सफरमा हिँडेका कामरेडहरूलाई यस्ता तथ्य र तथ्यांकले छुँदैन। जनताले भोग्नुपरेको चरम अभाव, गरिबी र पीडा प्राथमिकतामा पर्दैनन्। अन्यथा, एक्काइसौँ शताब्दीमा पनि अझै देशका ३२ प्रतिशत नागरिक निरक्षरताको बिल्ला भिरेर बस्न विवश हुँदैनथे। देशका लाखौँ बालबालिका भोकसँग सम्झौता गरेर दिन बिताउन बाध्य हुँदैनथे।
आज विश्वका समृद्ध मुलुकका नेतृत्व कसरी आफ्ना नागरिकलाई सुखी र खुसी राख्न सकिन्छ भनेर बहस गर्छन्। थोरै श्रम गर्दा पनि कसरी धेरै आय, आराम र मनोरञ्जन दिन सकिन्छ भनेर घोत्लिन्छन्। तर हाम्रा नेतालई कसरी आफ्नालाई ठेक्का र टेन्डर पार्न सकिएला, राज्यको सम्पत्तिको दोहन गरेर कहाँ आफन्तलाई लाभ दिने छिद्र भेटिएला भन्ने चिन्ताले नै सताएको पाइन्छ।
के यस्ता सवाल राजनीतिक नेतृत्वको बहसको वृत्तमा पर्नुपर्ने होइन? समस्याको निकासका लागि उपाय खोजी गर्नुपर्ने होइन? के विश्वका असल राजनीतिक अभ्यास गरिराखेका देशका नेताहरू पनि हाम्रोमा जस्तै यस्ता सवालमा नजरन्दाज गरेर बस्लान्? अवश्य बस्दैनन्।
त्यसरी बेवास्ता गरेका भए आज विश्वका समृद्ध देशहरू मंगल ग्रह र चन्द्रमामा मानव बस्ती बसाउने बहसमा जुटिरहेका हुने थिएनन्। विकासको रफ्तारमा यति अगाडि पुगिसकेका हुने थिएनन्। ठीक विपरीत हामी यो महामारीमा सिटामोलको समेत अभाव झेल्न विवश छौँ। सिटामोलमा समेत अनियमितता भयो भन्दै विवाद गर्न बाध्य छौँ। अब कल्पना गरौँ, हाम्रो नेतृत्वले कस्तो देश बनाउने रोडम्याप कोरिरहेको होला?
नेतृत्वको नियत
जोसँग चामल किन्न सक्ने क्षमता छैन, जो आधा पेट खाएर पटुकी कसेर दिनभर गिट्टी र बालुवा कुट्न बाध्य छन्, आफ्ना कलिला लालाबालालाई पेटभर खुÞवाउन नसकेकामा प्रताडित छन्। पढ्ने उमेरका आफ्ना सन्तानलाई भरिया बनाउन विवश छन्।
घाम र झरी छेक्ने ओत बनाउन नसकेकामा पछुताइरहेका छन्। तर जब चुनाव आउँछ, हाम्रा नेता तिनै बस्ती पुगेर घर–घरमा ग्यास पाइप बिछ्याउने सपना बाँड्छन्। जो दाउरा बालेर जाडो भगाउन विवश छन्। अब भन्नूस्, यो भन्दा गरिबीमाथिको भद्दा मजाक अरू के हुन सक्छ?
गर्नैपर्ने र गर्न सकिने जनताका मामुली समस्या पनि समाधान नहुने देशमा जति अग्लो धराहरा ठडिए पनि देशको शिर उचो हुन सक्दैन। जति धेरै भ्यु टावर बने पनि, त्यहाँबाट देखिने भनेको हाम्रा गरिबी, पीडा र अभाव हो। त्यसैले देशको चित्र बदल्न नेताले चरित्र बदल्नै पर्छ।
अनि जसले वर्षाैँदेखि रोजगारको खोजीमा हिँड्दा दर्जनौँ जोर जुत्ता फटाइसकेको छ, हातमा बोकेको सर्टिफिकेट थोत्राइसकेको छ, अन्तिम विकल्पमा कोही अरबको मरुभूमिमा भेडा चराउन जान गुण्टा कसिरहेका छन्। कोही कोरिया जान पाइने आशमा इपिएसको तयारीमा छन्। कोही युरोप र अमेरिका छिर्ने लोभमा घरबार बेचेर दलाललाई लाखौँ बुझाउन विवश छन्। तर जब निर्वाचन आउँछ या कुनै अमुक दलको राजनीतिक स्वार्थ पूरा गर्नुपर्ने हुन्छ तब तिनै युवालाई जम्मा गरेर बेरोजगार भत्ता दिने आश्वासन दिइन्छ। युवा पलायन रोक्ने चर्का भाषण छाँटिन्छ।
अब भन्नूस्, काम गर्ने उमेरका योग्य जनशक्तिलाई रोजगार दिन नसक्ने राज्यले के बेरोजगार भत्ता दिन सक्छ? नेताहरूको यो भन्दा उदेक लाग्दो राजनीतिक स्टन्टबाजी अरू के हुन सक्छ? कुनै पनि विकसित देशमा काम गर्ने उमेरका युवालाई भत्ता होइन, काम गर्नका निम्ति उत्प्रेरित गरिन्छ। अनि कामको व्यवस्थापन गर्ने जिम्मा राज्यले लिन्छ तर विपरीत हाम्रोमा भत्ता दिने अति असान्दर्भिक नारा बेचिन्छ।
बालबालिका कुपोषणको सिकार भइराखेका छन्। यत्रतत्र असहाय अनाथ वृद्धवृद्धा सहरभरि भिख मागेर जीवन जिउन बाध्य छन। उपचारको अभावमा एउटा गरिब अकालमा मृत्यु वरण गरिराखेको छ। तर देशका नेता बेरोजगार युवालाई भत्ता दिने सपना बाँडेर भोट बटुल्न उद्यत छन्।
अब भन्नूस्, योभन्दा बढी हामीेले नेता बनाएको र मानेका पात्रको अर्को दरिद्र चरित्र के हुन सक्छ? हुन त यस्तै अजेन्डा बेचेर हाम्रा नेताले कैयन् पटक जनताको मत लिइसकेका छन्। जहाँ सामान्य उपचारको अभावमा जनता मर्छन्, त्यहाँ बेरोजगार युवालाई भत्ता दिइन्छ भन्नु कतिसम्मको हाँस्यास्पद कुरा हो? यसको मतलव उनीहरू गरिब, निमुखा जनताका अगाडि जे बोले पनि फरक पर्दैन भन्ने ठान्छन्। के यस्तो चरित्र भएका पात्र असल नेता बन्न सक्लान्? उनीहरूबाटै हामीले अबको सुन्दर भविष्यको कल्पना गर्नुपर्ने हो? त्यसो हो भने यो भन्दा विडम्बना हाम्रा लागि अरू केही हुनै सक्दैन।
अन्त्यमा भन्नैपर्छ, जनताको यस्तै गरिबी, समस्या र अभावको फाइदा उठाउँदै कथित नेताहरू नोट दिएर भोट किन्दै आएका छन्। त्यसैको दुष्परिणाम आज हाम्रो देशको चित्र धुमिल बन्दै गएको छ। अब पनि हामी सचेत भएनौँ भने न देशको चित्र बदलिनेछ न त नेताकै चरित्र।
प्रकाशित: २६ माघ २०७८ ०३:०५ बुधबार