६ आश्विन २०८१ आइतबार
image/svg+xml
विचार

बाढी/पहिरोबाट कसरी बच्ने ?

नेपालमा हरेक वर्ष बाढी/पहिरोबाट व्यापक जनधन क्षति हुने गरेको छ। पहाडी क्षेत्रमा पहिरो तथा बाढीबाट के/कति क्षति हुन्छ भन्ने त सिन्धुपाल्चोककै उदाहरण काफी हुन्छ। त्यसै गरी तराई क्षेत्रमा डुबानको समस्या उस्तै छ। पछिल्लो समय विभिन्न पालिकाबीच डोजर लगाएर बाटो बनाउँदै दुर्गम क्षेत्रसम्म यातायात विकास गर्ने होडबाजी चलेको छ। अवश्य पनि विकास हुनु राम्रो हो तर व्यवस्थित गरिएन भने त्यसले विनाश निम्त्याउँछ भन्ने उदाहरण हाम्रा अगाडि अनगिन्ती छन्।  

भौगर्भिकरूपमा नेपालको धरातल चलायमान छ। प्रत्येक वर्ष १.४ सेन्टिमिटरका दरले उत्तरतर्फ सर्दै गरेको हिमालयन शृंखलामा पहाड बन्ने र टुटफुट हुने क्रम निरन्तर चल्दै आएको छ। पहाडी र हिमाली क्षेत्रमा पर्वतका चट्टान कुहिने र फुट्ने गरेको पाइन्छ भने समथर भूभाग, जस्तै–चुरे र तराईमा नयाँ पहाड बन्ने र नदीजन्य पदार्थ बन्ने क्रम लाखौँ/करोडौँ वर्षदेखि चलिआएको छ। भौगोलिक तथा भौगर्भिक अवस्थाले नेपालमा विभिन्न प्राकृतिक प्रकोप हुँदै आएको छ। 

भूकम्प तथा बाढी/पहिरो जस्ता प्राकृतिक प्रकोपहरू एकापसमा अन्तरघुलित भएका छन्। यस्तै भूबनोट भएकाले सक्रिय मनसुनको प्रभाव पर्ने नेपाल जस्तो देशमा बाढी र पहिरोले वर्षौँदेखि ठूलो जनधन क्षति हुँदै आएको सर्वविदितै छ। अव्यवस्थित विकास निर्माण र पानीको उचित निकास दिन नसक्दा हुने क्षतिसँगै अतिवृष्टि र अव्यवस्थितरूपमा खनिज पदार्थ उत्खननले प्रकोप बढाउँछ। त्यसमाथि कमजोर भूधरातलमा भूकम्पको नियमित पराकम्पनका कारण पहिरो जाने गर्छ र थप क्षति निम्तन्छ।

यही सन्दर्भमा गोरखाको लिगलिगकोट र यसको सेरोफेरोको अवस्थाबारे थोरै चर्चा गर्नु उपयुक्त होला। गोरखाको पालुङटार नगरपालिकास्थित लिगलिगकोट समुद्री सतहबाट करिव १४३० मिटरको उचाइमा अवस्थित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिकरूपमा महत्वपूर्ण स्थान हो। मगर भाषामा ’लिग–लिग’ भनेको ’प्रस्टसँग देखिने सुन्दर दृश्य’ हो। यही आधारमा यो ठाउँको नाम लिगलिगकोट रहेको मानिन्छ। पालुङटारको २ र ३ नम्बर वडाको सीमामा पर्ने यो स्थानबाट अरू थुप्रै जिल्ला अवलोकन गर्न सकिने भएकाले यसको पर्यटकीय महत्व पनि छ। 

भौगर्भिकरूपमा लिगलिगकोट र यसको सेरोफेरोका चट्टान करिव १ अर्ब ८५ करोड ६० लाख वर्ष पुरानो मानिन्छ। यो महाभारत शृंखलामा लेसर हिमालयको कुन्छा फर्मेसनमा पर्छ। निकै पुरानो र कमजोर चट्टानले बनेको यो पहाड हेर्दा जति सुन्दर छ त्यति नै खिइँदै गएको छ। लगातार भूकम्पको पराकम्पको धक्का र माटोको क्षयीकरणले यसको क्षमता दिनानुदिन घट्दो छ।

गत असार १६ गतेदेखि परेको मुसलधारे पानीबाट सिर्जित भलले सजिलै निकास नपाउँदा लिगलिगकोटको दक्षिण–पूर्व र दक्षिण–पश्चिम क्षेत्रतिरको कमजोर माटो खोतलेको देखिन्छ। ६० डिग्री भन्दा बढी भिर भएको यो क्षेत्रको माटो तथा स–साना चट्टान खसालेर तल्लो तटीय क्षेत्रमा ठूला माटाका ढिस्का, ढुङ्गा तथा रुख बिरुवालाई सँगै बगाएर लग्यो। यसको प्रत्यक्ष असर वडा नम्बर २ र ३ का अधिकांश तल्लो तटीय क्षेत्र, जस्तै– राउतेपानी, सिमपानी, पोखराबेसीसम्म पर्‍यो।

गोरखाकै भूसंरचना कमजोर रहेको अवस्थामा भूकम्पले थप समस्या सिर्जना गरेको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार २०७२ सालको भूकम्पपछि ४ रेक्टर स्केल भन्दा ठूला करिव ३८ वटा पराकम्प गोरखा नै केन्द्रबिन्दु भएर गएका छन्। त्यसैगरी दर्जनौँ पराकम्प यसको छिमेकी जिल्ला लमजुङ तथा धादिङमा केन्द्रविन्दु बनाएर गएकाले यसको असरले धेरै ठाउँमा जमिन चिरा परेको छ र त्यही चिराभित्र वर्षाको भल छिरेर पहिरो गएको हो। यसर्थ पहिरोको मुख्य कारण भूकम्पको पराकम्प, अतिवर्षा, पानीको उचित निकास नहुनु र अव्यवस्थित सडक निर्माण हुन् भन्दा फरक पर्दैन।

बाढी/पहिरो नियन्त्रणका तत्कालीन उपाय

– आफ्नो गाउँघरका माथिल्ला भागबाट गहिरो कुलो काटी पानीको उचित व्यवस्थापन गर्ने।

– कतै जमिन चिरा परेको देखेमा त्यसभित्र पानी नछिर्ने गरी टाल्ने।

– आफ्नो घर तल–माथिको जमिन तथा घरभित्र गहिरो चिरा परेको भएमा तुरुन्त सुरक्षित स्थानमा गएर बस्ने।

– पानीको बहाव बढ्दै ढुङ्गा माटो कटान गरेमा आफू भन्दा तल्लो भागमा बस्ने जनसमुदायलाई सूचना दिने।

– भूकम्पको धक्काले आफ्नो घरवरपर कत्तिको क्षति गरेको छ त्यसको राम्रोसँग निगरानी गर्ने।

– पहिरो कटान र यसले गर्ने क्षतिको आंकलन गरी विकास निर्माणका कामहरू, जस्तै– बाटो खन्ने, ढुङ्गा निकाल्ने, कुला तथा नहर बनाउने।

दीर्घकालीन समाधानका केही सुझाव  

– पहिरो जान सक्ने क्षेत्र पहिचान गर्न भौगर्भिक अध्ययन गर्ने।

– पानीको उचित व्यवस्थापन गर्न कम्तीमा पचास वर्षको पानी पर्ने सूचना आंकलन गरी त्यहीअनुसारको कुलेसो काट्ने र त्यसलाई खोला खोल्सामा लगेर निकास दिने।

– जमिन चिरा परेको क्षेत्रको विस्तृत भौगर्भिक अध्ययन गर्ने र बस्ती बस्न मिल्ने र नमिल्ने क्षेत्र छुट्याउने।

– भौगर्भिक हिसाबले नाजुक क्षेत्रका बस्ती उचित स्थानमा स्थानान्तरण गर्ने।

– पहिरो गइसकेको ठाउँमा थप क्षति हुन नदिन रोकथामका उपाय अपनाउने।

– हरेक वर्ष विकास निर्माणका काम गर्नुपूर्व यसले पार्न सक्ने असरको पूर्वानुमान गर्न भौगर्भिक अध्ययन गर्ने।

– विपद् व्यवस्थापनका लागि ग्रामीण स्तरमा सूचना केन्द्र स्थापना गर्ने।

(न्यौपानेले चाइनिज एकेडेमी अफ साइन्सेसबाट भूगर्भशास्त्रमा पिएचडी र पोस्टडक गरेका छन्।)

प्रकाशित: ३ श्रावण २०७८ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App