मुलुकमा लोकतन्त्र आएपछि सबै ठिक हुन्छ भन्ने लागेको थियो । नेपाली कांग्रेस समाजवादी पार्टी हो । कम्युनिष्ट पार्टी त झन् क्रान्तिकारी भइहाले । यी दुवै पार्टी मिलेर संयुक्त जनआन्दोलनका माध्यमबाट लोकतन्त्र ल्याउनुपर्छ भन्ने पुष्पलालको सिद्धान्तअनुसार हामी हिडेका हौं ।
अहिले केपी ओलीले संसद् विघटन गर्नुपर्ने नै थिएन । उनले त कृषि, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई राम्रो गर्दै लैजानु पथ्र्यो । पार्टीभित्र पनि समन्वय गर्दै जानुपथ्र्यो । ओलीले यस्तो अवसरलाई गुमाए । डा.गोविन्द केसी शिक्षा, स्वास्थ्य निःशुल्क वा राष्ट्रियकरण गरौं भन्दै आन्दोलन गर्छन् । पुष्पलाल, मदन भण्डारीको अनुयायी हुँ भन्नेहरू शिक्षा र स्वास्थ्य निजिकरण गर्छन् । यहीँ हो अहिलेको विडम्बना ।
पहिलादेखिनै हेर्ने हो भने गिरिजाप्रसाद कोइरालको इष्र्या (इगो)ले राज्यप्रणाली बिग्रियो । अहिले केपी ओलीको इष्र्याले राज्यप्रणाली बिग्रदै गएको छ । अहिले संसद् विघटन गर्नुपर्ने कुनै आवश्यकता थिएन । उहाँले संसद्मै छलफल गर्नुपथ्र्यो । पार्टीमा छलफल गर्नुपथ्र्यो । प्रधानमन्त्रीबाट हटाउने भनिएको थिएन । तर, संसद् विघटन गरिदिनुभयो ।
मैले फिनल्याण्डमा देखिरहेको छु ३४ वर्षकी महिला प्रधानमन्त्री छिन् । उनले पार्टीसँग सल्लाह गरेर काम गरिरहेकी छिन् । पार्टीसँग सल्लाह गरेर काम गर्दा नै राज्य राम्रोसँग सञ्चालन गर्न सकिन्छ । अहिले केपीले संसद् विघटन गर्नु महाभुल हो । गिरिजाले पनि २०५१ सालमा संसद् विघटन गरे । अहिले केपीले त्यही भुल दोहोर्याए ।
एक पटक मैले किसुनजी (कृष्णप्रसाद भट्टराई)लाई भने– ‘तपाईंले चुनाव हार्नुभयो । तपाईं गान्धीवादी पनि हुनुहुन्छ । तपाईंको शान्तिपूर्ण लाइनमा नेपालमा प्रजातन्त्र आयो । बरु बिपी सशस्त्र संघर्षमा जानुभयो । अब एकपटक तपाईंले पहाडे राष्ट्रवादलाई सच्याउने गरी महेन्द्रनारायण निधिलाई प्रधानमन्त्री बनाउनुहोस् ।’ गिरिजाबाबुले संसद् विघटन गरेपछि पुनस्र्थापना हुनपर्छ भनेर मैले अभियान चलाएँ । गणेश पण्डित र हरि नेपालले पनि साथ दिए । यसमा दुर्गा सुवेदीको पनि साथ रह्यो ।
कलकत्तामा गएर ज्योती बसुलाई भेटेर पुस्तकहरू लिएर आएँ । संसद् सम्बन्धी त्यहाँको अभ्यास के छ भनेर हेरेर आए । यो २०५१ सालको कुरा हो । त्यतिबेला विश्वनाथ उपाध्यायले गिरिजाको पक्षमा फैसला गर्नुभयो । त्यतिबेला पुर्नवहाली भएमा महेन्द्रनारायण निधिलाई प्रधानमन्त्री बनाउने योजना थियो । महेन्द्रनारायण निधिलाई प्रधानमन्त्री बनाएको भए मधेस आन्दोलन नै हुने थिएन् ।
नेकपा एमालेको सरकार भएको बेला म आयल निगममा गए । म गएपछि रानीले वर्षको १२ करोड रुपैयाँ विना लेखपरीक्षण लग्ने गरेकी रहेछिन् । त्यो आयल निगम भ्रष्टाचारको दलदल भएको ठाउँ हो, त्यसलाई मुक्त गराउनुपर्छ मनमोहन अधिकारीले मलाई पठाएको हो । त्यो भन्दाअघि पाँचौ महाधिवेशनमा मदन भण्डारीको विरोधमा सिपी मैनाली र मैले सहकार्य गरेका थियौं । मदन भण्डारीले मलाई साथ दिनुपर्छ भन्नुभएको थियो । मैले त्यतिबेला तपाईंले नयाँ जनवादी क्रान्ति छाड्नु भयो बहुदलीय प्रतिस्पर्धा भन्ने हो भने नयाँ सोसलिष्ट पार्टी गठन गरौं कम्युनिष्ट पार्टी छाडौं भने ।
तर, उहाँले बहुदलीय प्रतिस्पर्धा नै भन्ने कम्युनिष्ट पार्टी नै राख्ने भनेपछि हामी सिपी मैनालीको धारतिर लागेका थियौं । म सिपीसँग नजिक पनि थिए । उनी आपुर्ति मन्त्री भएपछि पनि आयल निगममा जानुपर्यो भन्नुभयो । मनमोहनले पनि बोलाएर तिमी नै जानुपर्छ भन्नुभयो । तर, मैले जान्न भनेको थिए । मैले पदका लागि राजनीति गरेको होइन भनेका थिए । मैले पार्टीको अनुशासन बिरुद्ध राष्ट्रिय पञ्चायतको सदस्यमा चुनाव लडेको थिएँ त्यो मेरो भुल थियो । तर मैले गणतन्त्र माग गरेको थिए । आयल नियममा जानका लागि मनमोहन, माधव नेपाल, सिपीजीले जानुपर्छ भनेपछि म गएँ ।
त्यहाँको बेथितिबारे मैले जुन अन्र्तवार्ता दिएँ र त्यो प्रकाशित भयो । त्यतिबेला म पोखरामा थिएँ । मनमोहनजीले पत्रिका देखाएर तपाईंले भनेको हो कि होइन भन्नुभयो । त्यहाँ माधव नेपाल, सिपी मैनाली, अमृत बोहोरा हुनुहुन्थ्यो । मैले हो भन्दिए । उहाँले मलाई नसोधी किन बोल्नु भयो भन्नुभयो । युवराज दिपेन्दले प्रधानमन्त्रीलाई कि यो मान्छेलाई हटाऊ कि आमालाई अपराधी घोषणा गर नत्र माफी माग्न लगाउ भने भनेको कुरा मनमोहनजीले सुनाउनुभयो । मैले भने– ‘म गणतन्त्रवादी हँु म त माफी माग्दिन तपाईंहरूले टुडिखेलमा पम्फादेवी भनेर भाषण गर्नुभयो । अहिले संवैधानिक रानीको विरोध गरेको छैन, पैसा लगेको विरोध गरेको हो । राजारानी राख्ने भनेर सम्झौता गर्नुभएको हुनाले त्यही गर्नुस् भनेर म उठेर हिडे ।’ भोलिपल्ट मन्त्रिपरिषदको बैठक राखेर मलाई हटाउनु भयो ।
अवकाश पत्रमा भने मलाई धन्यवाद दिएको छ । त्यतिबेला म चुपलागेर बसेको भए पैसा कमाउँथे, गाडी चढ्थे, तर, त्यतिबेला मैले कम्युनिष्ट पार्टीको सरकार सम्झे । यो देशमा आमुल परिवर्तनका लागि लडेको सम्झिएँ । समान आर्थिक हैसियत बनाउन हिडेको मान्छे भ्रष्टचारलाई त रोक्नुपर्यो नि । त्यहाँ आयल निगमको अध्यक्ष म थिए, सदस्यमा सिपीले आफ्नी पत्नी सीतालाई नियुक्ति गर्नुभएको थियो । अन्य सदस्यहरूमा वाणिज्य बैंक, नेपाल बैंक, अर्थ मन्त्रालय थिए । अर्थमन्त्रलयबाट सहसचिव माधव घिमिरे आउँथे ।
त्यहाँ कस्तो थियो भने ७/८ हजार बराबरको खाजा आउँथ्यो । अध्यक्षलाई ५ सय ५५ चुरोट राखिदिने गरेका रहेछन् । त्यो मैले हटाएर खाजामा चिया र विस्कुट राखिदिए । कर्मचारीहरू मुखमुखा गर्थे । झलनाथजीको साथिलाई महाप्रबन्धक बनाएको रहेछ त्यो पनि मुखामुख गर्ने । एक पटक बैठकमा ६६ हजार खर्च हुँदोरहेछ । त्यसपछि मलाई त्यहीँका मान्छे लागेर हटाइदिए । तर, पछिसम्म पनि मेरो र मनमोहनसँग कुनै पनि प्रकारको सम्बन्धमा दरार आएन ।
छैठौं महाधिवेशनमा वामदेव गौतम र केपी ओलीको मतभेद भयो । त्यसबेला मध्यमार्गी धारमा रहेका मनमोहनको अपिलको मस्यौदा मैले नै तयार गरेको हो । त्यहाँ गौरिभक्त प्रधानलगायतको हस्ताक्षर थियो । नेपालगन्जको महधिवेशनमा मनमोहनले केन्द्रीय कमिटीको सदस्यमा उम्मेदवार हाल्दिन भनेर बसेका थिए । तर, पछि उम्मेदवारी दिए । मनमोहन जता लाग्नुभयो त्यतै आधिकारिकता भयो ।
नेपालगन्ज महाधिवेशनमा मलाई पनि ओलीले महाकाली सन्धीको पक्षमा मत जाहेर गर्न आग्रह गरे । केन्द्रीय सदस्य बनाउछु भनेका थिए । महाकाली सन्धी नभएको भए पार्टी फुट्दैन थियो । त्यतिबेलै एमालेले दुई तिहाइ ल्याउँथ्यो र मनमोहन अधिकारी प्रधानमन्त्री हुन्थे । उनले घुस खाँदैनथे मुलुकमा सुधार आउँथ्यो । इतिहासमा गल्ती गर्दा के हुन्छ भन्ने प्रमाण हो ।
मुलुकमा लोकतन्त्र आएपछि सबै ठिक हुन्छ भन्ने लागेको थियो । नेपाली कांग्रेस समाजवादी पार्टी हो । कम्युनिष्ट पार्टी त झन् क्रान्तिकारी भइहाले । यी दुवै पार्टी मिलेर संयुक्त जनआन्दोलनका माध्यमबाट लोकतन्त्र ल्याउनुपर्छ भन्ने पुष्पलालको सिद्धान्तअनुसार हामी हिडेका हौं ।
विभिन्न कम्युनिष्ट पार्टीका हाँगाले भने उहाँलाई संशोधनवादी, कांग्रेस परस्त भनिरहेका थिए । तर, पुष्पलालले ऐनमौकामा तिनीहरू पनि संयुक्त जनआन्दोलनप्रति सहमत हुनेछन् भन्नुभएको थियो । त्यही कुरा २०४६ सालमा लागु भयो । २०४२ सालमा कांग्रेसले आह्वान गरेको सत्याग्रहलाई तत्कालीन मालेले बहिस्कार गर्यो । तत्कालीन बाम समूह मनमोहन अधिकारी, सहाना प्रधान, निर्मल लामालगायतले भने सत्याग्रहको समर्थन गरेका थिए । तर, तत्कालीन मालेलाई पनि आन्दोलनको मैदानमा ल्याउनुपर्छ भन्ने कांग्रेस नेता गणेशमान सिंहलाई लागेछ ।
उहाँले मलाई २०४६ साल असोज–कात्तिकतिर सोध्नुभयो, ‘माले नेतृत्वसँग तपाईंको कत्तिको सम्बन्ध छ ?’ राधाकृष्ण मैनाली, केपी ओलीलगायतका नेता २०४२ सालमा जेलबाट छुटेका थिए । मोहनचन्द्र अधिकारीलगायत २०४६ कात्तिकमा छुट्नुभयो । त्यो बेलामा मरिचमान सिंहले केही उदार नीति अपनाएर यी राजबन्दीलाई रिहाइ गरेका थिए ।
त्यो बेला मरिचमानले समेत मलाई सहाना प्रधान र गणेशमान सिंहसँग कुरा गराइदिनुहोस् भन्नु भएको थियो । मैले मरिचमानको कुरा पनि गणेशमान सिंहलाई सुनाएँ । उहाँले भन्नुभयो, ‘कुरा त गरौं, तर हामी पञ्चायतमा जाँदैनौं ।’ मरिचमानलाई गणेशमान र सहाना भाउजुले त्यही भन्नुभयो । उनले भूमिगत माले र मसालसँग कसरी कुरा गरे थाहा भएन ।
जेलबाट छुटेका मोहनचन्द्र अधिकारीलाई त्रिचन्द्र कलेजमा गणेशमानले सम्मान गर्नुभयो । त्यो कार्यक्रमपछि मेरो गणेशमानसँग भेट भयो र उहाँले मलाई मालेको नेतृत्व पत्ता लगाउनु पर्यो भन्नुभयो । मैले उहाँलाई भनेँ– ‘तपाईंले मोहनचन्द्रलाई सम्मान गर्नुभएको छ, उनीहरू नै माले हुन् । केपी ओली, राधाकृष्ण मैनालीहरू नै हुन् उनीहरूसँग तपाईंले कुरा गर्नुहोस् भनेँ । उहाँले भन्नुभयो, ‘तिनीहरूसँग पार्टीको पकड छैन । पकड भएको मान्छे खोज्नु पर्यो ।’
त्यसपछि म कोसिस गर्छु गणेशमानजी भन्दै आएँ । त्यौडमा लालिमा पुस्तक सदन चलाएका तत्कालीन मालेका एक कार्यकर्ता उत्तम महत (पछि राष्ट्रियसभा सदस्य भए)सँग भेट भयो । त्यहाँ म ‘बेइजिङ रिभ्यु’ किन्न गइरहेको थिएँ, जीवराज आश्रितसँग भेट भयो । संयोग, उहाँले पनि हामीलाई खोज्नु भएको रहेछ । त्यतिबेला म सहाना र बलराम उपाध्यायको पार्टीको केन्द्रीय सदस्य थिएँ ।
तत्कालीन माले र चौंथो महाधिवेसन (चौम)ले राष्ट्रिय पञ्चायत सदस्यमा उठ्ने योजना गरेका थिए । त्यही बारेमा कुरा गर्न मलाई खोज्नुभएको रहेछ । जीवराज आश्रित र मदन भण्डारीसँग एउटै पार्टीमा कुनै काम गरेका हुनाले पनि हामी नजिक थियौं । पछि मालेमा जाऔं भनेर प्रस्ताव गर्नु भए पनि म गइँन् । त्यहाँ भेटभएपछि गायक रामेश श्रेष्ठका गोरखको नरदेवीभन्दा तल रहेको घरमा हामीले तीन घण्टा कुराकानी गर्यौं । मैले गणेशमानजीको कुरा राखेँ ।
आश्रीतले असोजमा हुने चौंथो महाधिवेशनपछि संयुक्त जनआन्दोलनको नीति पारित गर्ने बताउनुभयो । महाधिवेशनपछि जो महासचिव हुन्छ, उसले गणेशमानजीसँग वार्ता गर्ने भन्नुभयो । महाधिवेशनपछि मदन भण्डारी महासचिव बन्नु भएको जानकारी आश्रितले दिनुभयो । त्यसपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन र आश्रित ४ जनाकोबीचमा २०४६ कात्तिकमा वार्ता भयो । त्यही वर्ष माघ ५ मा गणेशमानको निवास चाक्सीवारीमा फागुन ७ बाट आन्दोलन गर्ने गरी सम्मेलन भयो । त्यहीबेला मदन भण्डारीले प्रस्ताव राख्नुभयो, ‘गणेशमानजी तपाईं गणतन्त्रसम्म जानुहुन्छ ?’ ‘ल अब जाने,’ गणेशमानजीले भन्नुभयो, ‘तिमीहरू प्रतिपर्धामा आउने कि नआउने ?’ ‘आउने,’ भण्डारीले भन्नुभयो । देवनारायण महर्जनको घरमा यो वार्ता भएको थियो । त्यो बैठको मध्यस्थकर्ता म मात्रै अहिले जीवित छु । देवनारायण कम्युनिष्ट पार्टीका सदस्य भए पनि गणेशमान सिंहसँग नजिकको नाता भएका व्यक्ति हुन् । त्यसपछि गणेशमानजी आफैं खटेर वाममोर्चा बनाउनुभयो । मदनलाई त्यहीबेला सहाना र मनमोहनलाई ‘रिकोग्नाइज’ गर भन्नुभयो । वाममोर्चाको बैठक गणेशमान सिंहसहित पद्यरत्न तुलाधरको घरमा भयो । राधाकृष्ण मैनाली र सुशील प्याकुरेल मालेको तर्फबाट आउनुभयो । कृष्णराज बर्मा, विष्णुबहादुर मानन्धर सबै त्यसमा आउनुभयो । वाममोर्चा अध्यक्ष सहानालाई बनाइयो । त्यहाँ मनमोहनलाई अध्यक्ष बनाउने कि सहानालाई भन्ने पनि कुरा आएको थियो । त्यतिबेला मदन भण्डारीले सहानालाई अध्यक्ष बनाउने प्रस्ताव राख्नुभयो ।
सहाना अडान राख्नु हुन्थ्यो । मनमोहनजीले त्यत्तिकै बोलिदिनु हुन्छ भन्ने पनि धेरैलाई परेको थियो । सहाना अडान लिने खरो महिला हुनुहुन्थ्यो । सहाना र मनमोहन एउटै पार्टीमा हुनुहुन्थ्यो । वाममोर्चाको मानार्थ अध्यक्ष तुल्सीलाल हुनुभयो । निर्मल लामा समूहका लीलामणि पोखरेल त्यसमा बसे । मानन्धर समूहका लक्ष्मीभक्त उपाध्याय र मानन्धर आफैं हुनुहुन्थ्यो । त्यसपछि सहाना र कृष्णप्रसाद भट्टराईको वक्तव्य जारी भयो । त्यो वक्तव्य किसुनजीकै घर कुपण्डोलमा मस्यौदा भएको हो । त्यसमा सघाउने म जिउँदै छु ।
अचेल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताका लागि पद प्राप्ति सबैभन्दा ठूलो अभिष्ठ भएको छ । पद र पैसा पाएपछि जे पनि हुन्छ भन्ने राजनीति यतिबेला बलवान छ । नेपाल आयल निगमको अध्यक्ष भइसकेपछि लोककृष्ण भट्टराईले पत्रिकामा अन्तर्वार्ता दिए, ‘पञ्चायतकालमा रानीलाई वर्षको १२ करोड रुपैयाँ बुझाउनु पथ्र्यो ।’
२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा मुलुकमा पहिलो पटक गठित कम्युनिष्ट सरकारले भट्टराईलाई निगमको अध्यक्षमा नियुक्त गरेको थियो । उनले त्यस्तो अन्तर्वार्ता दिएपछि ‘मैले बोलेको होइन’ भनेर जागिर जोगाउन सक्थे । तर, प्रधानमन्त्री र मन्त्रीहरूका अगाडि उनले भनिदिए, ‘यो मैले बोलेको हो । मलाई कारबाही गर्नुहोस् ।’
उनलाई सरकारले जिम्मेवारीबाट मुक्त गर्यो । विगतमा दुःख पाएका भट्टराईले सुधार गर्लान्, आफूलाई पनि केही सजिलो होला भनी त्यो नियुक्ति दिइएको थियो । तर, उनले त्यसलाई व्यक्तिगत लाभभन्दा संस्थाको विकासमा बढ्ता जोड गरे । त्यही भएर पद गए जाओस्, विवेकले देखेको काम गर्छु भनेरै उनी लागिरहे ।
नेपाल कम्युनिष्ट पार्टीका प्रथम महासचिव पुष्पलाल निकट रहेर राजनीतिमा प्रशिक्षित भट्टराई २०४६ को आन्दोलनमा वाममोर्चा र नेपाली कांग्रेसबीच सहकार्यका सहयोगी समेत हुन् । कम्युनिष्ट कार्यकर्ता भए पनि कांग्रेस नेताहरूले पनि उनलाई उत्तिकै विश्वास गर्ने गरेको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद् विघटन गरेपछि राजनीति फेरि गर्माएको छ । यसले दोस्रो जनआन्दोलन २०६२/०६३ को उपलब्धिका रूपमा आएको संविधानको कार्यान्वयनमै समस्या उत्पन्न गर्न लागेको छ । यसै पृष्ठभूमिमा भट्टराईसँगको कुराकानीका आधारमा तयार गरिएको आलेख ।
त्यो वक्तव्यमा फागुन ७ बाट आन्दोलनको आह्वान भएको थियो । फागुन ७ बाट आन्दोलन सुरु भयो । त्यतिबेला म किसुनजीसँग नजिक थिएँ । बिबिसीका पत्रकार मार्क टलीसँग सम्पर्क गर्ने अभिभारा उहाँले मलाई दिनुभयो । जनआन्दोलन केन्द्रीय संयुक्त संघर्ष समितिको केन्द्रीय सदस्यमा समेत किसुनजीले नै मलाई राख्नुभएको थियो । गणेशमान र किसुनजीलाई ‘हाउस एरेस्ट’ गरे । सहाना भाउजुलाई जेल लगे ।
फागुन ७ गते पहिलो दिन न्युरोड, महावौद्धबाट मनमोहनजी निस्किने । मनमोहनलाई निकाल्ने अभिभारा मलाई दिइयो । तुल्सीलालजीको नेतृत्वमा त्रिपुरेश्वरबाट जुलुस निकाल्ने अभिभारा राधाकृष्णजीलाई दिइयो । वसन्तपुरबाट जुलुस निकाल्ने अभिभारा जगन्नाथ आचार्यलाई दिइयो । त्यो बेला गिरफ्तार नहुने नीति थियो । महावौद्धमा हामी ५० जनाजति थियौं । हामीले कांग्रेस र कम्युनिष्ट पार्टी दुवैका झण्डा फहरायौं । गणेशमानका धर्मपुत्र पिएल सिंह पनि हामीसँग थिए ।
लगातार आन्दोलन अगाडि गयो । तर, बीचैमा आन्दोलन तुहिएला भनेजस्तो भयो । चैत १ गते जनएकता दिवसको कार्यक्रम वसन्तपुरमा मनाउने भनेर बिबिसी, रोयटर्सलगायतका सबै पत्रकार काठमाडौं आएका थिए । ती पत्रकारलाई भूमिगत रूपमा हामीले गाइड गर्यौं । त्यो दिवस मनाउन ६०/७० जना मात्रै भए । आन्दोलन उठेन । चैत १७ गते पाटनमा पूर्णचण्डी माविका विद्यार्थीले हडताल गरे । त्यहाँ पुलिसले गोली चलाएपछि एक विद्यार्थीको मृत्यु भएपछि पूरै बन्द भयो । ठैव र साना गाउँबाट मात्रै ३० हजार मानिस उठे । पाटनबाट धेरै मानिस उठे । ती कुपण्डोलसम्म नारा लगाउँदै आए । अगाडि बढ्न दिएनन् । सेनाका ट्यांक लगेर राखे । त्यो बेला उताबाट यता मान्छे आउन सकेनन् । चैत १७ देखि २२ गतेसम्मको आन्दोलनले चैत २४ लाई उठाउन मद्दत ग¥यो ।
ठूलो जुलुस भएपछि राजा वीरेन्द्रले वार्ता आह्वान गरे । मरिचमानलाई बर्खास्त गरे । लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए । चन्दले सहानालाई जेलबाट छुटाएर घर पुर्याए । सहाना, मनमोहन, कृष्णप्रसाद सबैलाई चन्दले भेटे । त्यतिबेला गणेशमानजी र मनमोहनजी विरामी भएर वीर अस्पतालमा भर्ना हुनुभएको थियो । अस्पतालमा उहाँहरूको हेरचाह गर्न म त्यहाँ बसेको थिएँ । लोकेन्द्र त्यही वार्ता गर्न आए ।
राजाले वार्ताका लागि बोलाएका छन् भने पनि गणेशमानजी सुरुमा जान मान्नुभएन । उहाँले वीरअस्पतालबाटै वार्ता समिति बनाउनुभयो । वाममोर्चाबाट सहाना प्रधान र राधाकृष्ण मैनाली, कांग्रेसबाट कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला वार्ता गर्न राजदरबार जानुभयो । सबैभन्दा बढी अडान सहानाले लिनुभयो । संविधान निलम्बन गर्ने, सरकार बनाएर चुनाव गराउने भन्ने दरबारको चाहना थियो । तुरुन्तै दलमाथिको प्रतिबन्ध हटाउने र अन्तरिम सरकार बनाउनुपर्ने अडान उहाँले राख्नुभयो ।
राजाले सहानाको भनाइअनुसार भित्र गएर कोकोसँग सल्लाह गरेर फर्केपछि दलमाथिको प्रतिवन्ध हटाउन तयार भए । तर, अन्तरिम सरकारको प्रधानमन्त्री लोकेन्द्र नै हुने भने । त्यसलाई पनि सहानाले मान्नु भएन । बाहिर विशाल जुलुस भयो । लोकेन्द्रले राजीनामा गरे । किसुनजीको नेतृत्वमा सरकार बन्यो । किसुनजी प्रधानमन्त्री भएर दरबारबाट आउनु भएपछि दुर्गा सुवेदी र म किसुनजीलाई बधाई दिन कुपण्डोल गएका थियौं । किसुनजीले मेरो सपथग्रहण छ, तिमीहरू दुवैजना जानुपर्छ भन्नुभयो । हामी गणतन्त्रवादी भएकोले भन्यौं, ‘तपाईं राजतन्त्र मान्नुहुन्छ हामी कहाँ जाने ?’
यस्तो खुला कुरा हुन्थ्यो । उहाँले हाँसेर भन्नुभयो, ‘हिँड न हिँड गणतन्त्रवादी भए पनि ।’ हामीले हार्न सकेनौं । आङदोर्जे लामाको एउटा थोत्रे जिप थियो । त्यसैमा हामी पछाडि बस्यौं । हामी दरबार गयौं । गणेशमानजी पनि जानुभएको रहेछ । सहाना भाउजू दरबारमा सपथग्रहण गर्न जानुभएन । किसुनजीले मात्र त्यहाँ सपथ लिनुभयो । किसुनजीले राजासँग सपथ ग्रहण गर्नु भएपछि बाहिर कालो कार रहेछ । उहाँले ठट्टा गर्नुभयो, ‘आज लोककृष्णजी र दुर्गाजी कालो कारमा चढ्ने हुनुभयो । उहाँले राजाकै अगाडि भन्नुभयो । राजाले पनि हामीलाई हेरे । राजाले पनि यिनीहरू प्रधानमन्त्रीका मानिस रहेछन् भने होलान् । बाहिर आएपछि हामीसँगै कारमा बस्यौं ।
सहाना दरबार नजाने भएपछि बाबु के गर्ने यिनीहरू दरबार नजाने भए, ईश्वरका नाममा पनि सपथ नलिने भन्छन् । तिम्री माइली भाउजूलाई गएर यसो ‘कन्भिन्स’ गर न भन्नुभयो । पुष्पलाललाई माइला दाइ भन्ने हुनाले माइली भाउजू भनिएको हो । मैले भने, ‘मैले कन्भिन्स गराउनुभन्दा पनि तपाईंले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सपथग्रहण गराउनुहोस् । त्यसमा सत्यनिष्ठा भन्ने शब्द राखिदिनुहोस् । हो बाबु ठीक भन्नुभयो भनेर उहाँले सिंहदरबारमै सपथ ग्रहण गराउनु भयो ।
अन्तरिम सरकार बन्यो । संविधान ल्याउने कुरामा राजा र दरबारले षड्यन्त्र गरेर २०१५ कै जस्तो राजामा सार्वभौमसत्ता राख्न खोजेका रहेछन् । प्रधानमन्त्रीलाई बोलाएर राजाले यो संविधान कस्तो छ हेर्नु भनेपछि कुटनीतिक रूपमा उहाँले व्यवहार गर्नुभयो । उहाँकै सुझबुझले मात्र जनतामा सार्वभौमसत्ता भएको संविधान आएको हो ।
प्रकाशित: १६ माघ २०७७ ०५:१३ शुक्रबार