१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

चीनको विकासमा प्राविधिक अनुसन्धान

चीन र अमेरिकाबीचको प्रतिस्पर्धा मूलभूतरूपमा प्राविधिक प्रतिस्पर्धा हो । यो कुनै भौगोलिक विवाद होइन । यो विषयमा स्पष्ट हुनु जरुरी छ ।  

अमेरिकाले चीनको उदयलाई रोक्न सक्ला वा नसक्ला भन्ने कुराको निधो सूचना प्रविधिजस्ता उच्च प्रविधिमा निर्भर रहनेछ । चीन मौलिक प्राविधिक अनुसन्धानमा अझै पनि अमेरिकाको दाँजोमा पछाडि छ ।  

सन् १९८० को दशकबाट चीन संसारकै सबभन्दा ठूलो उत्पादन गृह बन्यो । त्यसमा चिनियाँ जनताले गौरव गरे । तर यो बुझाइमा सच्चाइनुपर्ने केही पक्ष भने अद्यापि छन् । सन् १९८० को दशकदेखि चीन मुख्यतः प्राविधिक सामग्री उत्पादनमा अब्बल बन्दै गयो । पर्ल नदीको बगर संसारकै सबभन्दा ठूलो उत्पादनको केन्द्र बन्यो । अझ स्पष्ट शब्दमा भन्दा त्यो ठाउँ प्राविधिक सामग्री जोडजाड (एसम्बल) गर्ने संसारकै प्रमुख केन्द्र बन्यो । लगत्तै चीनले प्राविधिक सामानहरू ‘चीनमा एसेम्बल गरिएको’ बाट ‘चीनमा बनेको’ कसरी बनाउने भन्ने विषयमा चिन्तन गर्न थाल्यो । चीनमै मौलिक प्राविधिक अनुसन्धान कसरी सम्भव बनाउने र प्राविधिक अनुसन्धानको निम्ति के÷कस्ता कुरा खाँचो छ भन्ने विषयमा चीनले विचार गर्न थाल्यो । 

सन् २०५० सम्ममा एउटा शक्तिशाली देश बनाउने चीनको योजना सफल बनाउन प्राविधिक अनुसन्धान अत्यावश्यक छ ।

चीनलाई त्यो तहमा पुर्‍याउने मूल आधार भनेको खुलापन र बजार नै हुन् ।  

खुला वातावरणमा मात्र प्राविधिक अनुसन्धान सम्भव हुन्छ । चीनले निकै कठिनाइपछि यो पाठ सिकेको हो । उसका प्राचीन चार आविष्कारले चीनलाई आज प्राविधिक अनुसन्धानको नेतृत्वदायी स्थानमा पुर्‍याउन नसक्नु विडम्बनाको कुरा हो ।  

अङ्ग्रेजी दार्शनिक फ्रान्सिस बेकनले एक सन्दर्भमा ‘छापाखाना, बारुद र दिशासूचक यन्त्र(कम्पास) ले संसारको रूप परिवर्तन गरिदिएको र संसारभर सबै कुराको अवस्थामा फेरबदल गरेको’ भनेका थिए । छापाखानाले पश्चिमा जगतमा धार्मिक क्रान्ति निम्त्यायो । बारुदले युद्धमा आमूल परिवर्तन निम्त्यायो । दिशासूचक यन्त्रको प्रयोगले सामुद्रिक यात्रामा नयाँ अध्याय आरम्भ गर्‍यो । पश्चिमा देशहरूमा आविष्कारको युग बारुद र दिशासूचक यन्त्र संयोजनको परिणाम थियो । त्यसले पश्चिमा संसारको शक्तिमा उल्लेखनीय विस्तार गर्‍यो ।  

दुर्भाग्यवश, चीनले चार महान् आविष्कार गरे पनि ती आविष्कारले उसको उन्नतिमा कुनै उल्लेखनीय भूमिका खेल्न सकेन किनभने मिङ र छिङ राजवंशको शासनमा चीनले आफैंलाई बाहिरी संसारबाट बन्द राखेको थियो ।  

चीनको सन्दर्भमा पूर्वसोभियत सङ्घको शिक्षाले अझ बढी महत्व राख्छ किनभने सोभियत सङ्घ धेरै पुरानो इतिहास होइन । सोभियत सङ्घले पनि अनेकन प्राविधिक अनुसन्धान ग¥यो तर ती ‘अनुदार’ अनुसन्धान थिए किनभने तिनको बजारमा कुनै माग थिएन । सोभियत सङ्घका त्यस्ता अनुसन्धान रणनीतिले सुरुमा उल्लेखनीय परिणाम हासिल गरे पनि बजारको अभावले अनुसन्धानको गति कायम राख्न कठिन भयो । अर्को शब्दमा भन्दा खुला वातावरणमा भएका अनुसन्धानले आफ्नो निकट प्रतिस्पर्धीलाई पछार्‍यो । शीतयुद्धमा योजनाबद्ध अर्थतन्त्रलाई बजार अर्थतन्त्रले पछार्‍यो । गोर्भाचोभको गलत मूल्यांकनले पनि पक्कै भूमिका खेल्यो । तर सोभियत सङ्घको असफलताको मूल केन्द्रमा आत्मकेन्द्रित विकासको ढाँचा मुख्यतः जिम्मेवार थियो ।  

चीनले सोभियत सङ्घबाट पाठ सिक्न आवश्यक छ र दुईवटा सिद्धान्त अवलम्बन गर्नुपर्छ– खुला अनुसन्धान र बजार लक्षित । चीनले तीन तहका पुँजी– राज्य पुँजी, साना तथा मध्यम आकारका निजी पुँजीको उल्लेख्य आकार र मध्यम तहमा राज्य पुँजी र निजी पुँजीको समिश्रणबीच सन्तुलन गर्न आफ्नो आर्थिक प्रणालीमा सुधार गर्नुपर्छ ।  

धेरै वर्षदेखि पश्चिमा देशहरूले चीनलाई बौद्धिक सम्पत्तिको विषयमा खेदो खन्दै आएका छन् । चीनले प्राविधिक सामग्री विकासको मूल अवरोध भत्काइसकेको छ । अब उसले मौलिक प्रविधिको बौद्धिक सम्पत्तिको अधिकारको रक्षा गर्नुपर्छ । मौलिक प्रविधि विकासमा धेरै लगानी खाँचो पर्ने हुनाले बौद्धिक सम्पत्ति अधिकार (आइपिआर) को सुनिश्चितताबिना कुनै पनि कम्पनीले विपरित इन्जिनियरिङ सहज बन्दै गइरहेको अवस्थामा अनुसन्धान र विकास (आरएन्डडी) मा लगानी गर्न मान्दैन ।  

प्राविधिक अनुसन्धानमा प्रायशः मध्यम आय भएका जनताको बलियो उपस्थिति भएको समाजले सफलता हासिल गर्ने गर्छ । जुनसुकै मौलिक काम गर्दा पनि जोखिम अन्तरनिहीत हुन्छ । मध्यम आय र त्यसभन्दा माथि आय भएका जनसमुदायले मात्र त्यस्तो जोखिम बोक्न सक्छ । चीनमा ४० करोड मध्यम आय भएका जनता छन् । यो भनेको कुल जनसङ्ख्याको ३० प्रतिशतभन्दा कम हो । वास्तवमै प्राविधिक अनुसन्धान फलिफाप गर्न चीनमा यो जनसङ्ख्याको अनुपात निकै सानो हो । त्यसकारण चीनले नयाँ पूर्वाधारको सट्टा सफ्ट (जनताको दैनिक जीवनमा सुधार ल्याउने) पूर्वाधारहरू विकास गर्न आवश्यक छ । उदाहरणका लागि चीनले स्वास्थ्य सेवा, शिक्षा, आवास र सामाजिक सुरक्षा आदि क्षेत्रमा विकास गर्न जरुरी छ । चीनले मध्यम आयका जनताको सङ्ख्या बढाउनुपर्छ । सफ्ट पूर्वाधार निर्माणमार्फत उसले यो काम फत्ते गर्न सक्छ । अनुसन्धानका लागि यो ज्यादै महत्वपूर्ण उत्तोलक र चालक शक्ति हो ।  

समग्रमा चीनलाई अहिले निकै ठूलो लाभको अवस्था रहेको मलाई लाग्छ । तर विकासको अर्को चरणमा ज्ञान अर्थतन्त्र (नलेज इकोनोमी)को केन्द्रमा रहेको प्रविधिलाई पनि जोड दिनुपर्छ । ज्ञान अर्थतन्त्रको निकै ठूलो महत्व छ । उत्तम प्राविधिक अनुसन्धान भनेको बलियो मध्यम आयका जनसङ्ख्याबाट आउने गर्छ । चीनले आगामी सन् २०३५ मा हासिल गर्न तय गरेका लक्ष्य प्राप्त गर्ने मूल आधार नै प्राविधिक अनुसन्धान हो । सन् २०५० सम्ममा एउटा शक्तिशाली देश बनाउने चीनको योजना सफल बनाउन प्राविधिक अनुसन्धान अत्यावश्यक छ ।

(डिन– चिनियाँ विश्वविद्यालय सेनचेनअन्तर्गत विश्व तथा समकालीन चिनियाँ अध्ययन प्रतिष्ठान।) स्रोत : सिजिटिएन

प्रकाशित: १७ पुस २०७७ ०५:०१ शुक्रबार

चीनको विकास प्राविधिक अनुसन्धान