९ आश्विन २०८१ बुधबार
image/svg+xml
विचार

सेल्फ आइसोलेसनमा सेल्फ टकको महत्व

कोरोना भाइरस (कोभिड–१९)को महामारीले विश्वभरि नै मानिसहरूलाई ‘सोसियल डिस्ट्यान्सिङ’ र ‘सेल्फ आइसोलेसन’मा बस्न भनिएको छ । यो धेरै मानिसका लागि चुनौतीपूर्ण छ । सेल्फ आइसोलेसनका कारण मानिस उदासी र एक्लोपन महसुस गरिरहेका छन् । लकडाउनका कारण मानिसको सामाजिक व्यवहारमा पनि परिवर्तन भएको छ । केही साताअघि लन्डनमा भएको एक अनुसन्धानअनुसार न्यूज साइट र सोसियल मिडिया हेर्ने र प्रयोग गर्ने व्यक्ति ४६ प्रतिशतले बढेका छन् । विभिन्न किसिमका समाचारले मानिसको सोच्ने र महसुस गर्ने तरिकामा फरक पर्न थालेको छ । सेल्फ आइसोलेसनमा रहेका व्यक्तिलाई यसको प्रभाव अझ बढी परिरहेको छ ।

जब व्यक्ति एक्लै हुन्छ, तब उसले अधिकांश समय आफैंसँग संवाद गरिरहेको हुन्छ । सेल्फ टक अर्थात् स्व–संवाद, संवादको शक्तिशाली स्वरूप हो । स्व–संवाद तपाईको भित्री आवाज हो । हामी के सोचिरहेका छौं, त्यही हाम्रो धारणा बन्दछ । हाम्रो दिमागमा एक दिनमा हजारौं विचार चलिरहेका हुन्छन् । ती विचारहरू विभिन्न कारणले उत्पन्न हुन्छन् । जस्तैः स्वास्थ्य अवस्था, आर्र्थिक अवस्था, सामाजिक प्रतिष्ठा, पारिवारिक सम्बन्ध, खुसी, तनाव आदि आदि ।

अहिले विश्वभर मानिसहरूलाई दुई कारणले बढी प्रभावित गरिरहेको छ । पहिलो हो, स्वास्थ्य । कसरी कोभिड–१९ बाट बच्ने अथवा बाहिर आउने ? दोस्रो हो, आर्थिक अवस्था । कसरी आजको भोक मेटाउने भन्ने वर्गदेखि अर्बाैं नोक्सानी व्यहोरिरहेका मानिसहरू छन् । विश्वका अधिकांश मानिस अहिले लकडाउनमा छन् र धेरै मानिस सेल्फ आइसोलेसनमा छन् । सेल्फ आइसोलेसनमा रहेका बेला तपाई कसरी संवाद गरिरहनुभएको छ ? सकारात्मक कि नकारात्मक ? सकारात्मक स्व–संवाद गरिरहनुभएको छ भने तपाई आफूलाई सशक्त पार्न सक्नुहुन्छ । नकारात्मक स्व–संवाद गरिरहनुभएको छ भने तपाईंले आफूले आफूलाई धोका दिइरहनुभएको पनि हुन सक्दछ । यदि तपार्इंले बारम्बार नकारात्मक सन्देश दोहो-याइरहनुभयो भने नकारात्मक भावना पैदा हुन्छ र प्रतिक्रियास्वरूप त्यही बाहिर आउन थाल्दछ र त्यस्तै हुन थाल्दछ ।

तर, सकारात्मक स्व–संवाद दोहो-याइरहनुभयो भने त्यस्तै भावना बन्दछ र शरीरले त्यस्तै प्रतिक्रिया दिन थाल्दछ । मानौं, तपाई कोभिड–१९ पोजिटिभ हुुनुहुन्छ । तपाईं हस्पिटलको बेडमा हुनुहुन्छ । पूरा दिन तपाई सकारात्मक विचारहरू दोहो-याउनुहोस् । म छिट्टै स्वस्थ भइरहेको छु । मेरो रोग प्रतिरोधात्मक क्षमता अझ मजबुद बन्दै गइरहेको छ । मलाई सबैले माया, हौसला र प्रेरणा दिइरहनुभएको छ । मेरो शरीरले छिट्टै नै भाइरसलाई परास्त गर्नेछ । मेरो रिपोर्ट केही दिनमै नेगेटिभ आउनेछ । म स्वस्थ भएर केही दिनमै घर फर्कनेछु ।

सकारात्मक स्व–संवादले व्यक्तिमा आत्मविश्वास बढाउँछ । शक्ति बढाउँछ । आशावादी बनाउँछ । मुहारमा खुसी र उत्साह थप्छ र व्यक्तिलाई छिट्टै कुनै पनि खराब अवस्थाबाट बाहिर आउन मद्दत गर्दछ । अहिले तपाईं– जो सेल्फ आइसोलेसनमा हुनुहुन्छ, तपाईंको सकारात्मक मानसिक अवस्थाले तपाईंलाई यस विषम परिस्थितिको सामना गर्न हिम्मत दिनेछ । जब तपार्इंको दिमागले राम्रो महसुस गर्न थाल्दछ परिणाम पनि सकारात्मक आउन थाल्दछ ।

स्व–संवाद, नेपाललगायत विश्वभर लकडाउनका कारण घरमै रहनुभएका र विशेषगरी सेल्फ आइसोलेसनमा रहनुभएका व्यक्तिका लागि महŒवपूर्ण छ । यो समयमा तपाईं अरूसँग समय बिताउन पाइरहनुभएको छैन । यो अवस्था अझ केही दिन, हप्ता अर्थात महिनासम्म पनि रहन सक्दछ । तसर्थ, यो समयमा तनाव, चिन्ता नलिनुहोस् । सकरात्मक स्व–संवाद बढाउनुहोस् ।
सकारात्मक स्व–संवाद कसरी बढाउने ?
-आफूसँग कृतज्ञ बन्नुहोस् ।
-आफूमा विश्वास गर्नुहोस् ।
-नकारात्मक विचार दिमागमा आउनेबित्तिकैै सकारात्मक विचार ल्याइहाल्नुहोस् ।
-अरूसँग सकारात्मक शब्दको प्रयोग गर्नुहोस् ।
-अरूलाई सहयोग गर्नुहोस् ।
-समाचार र सोसियल मिडियाको प्रयोगलाई सीमित गर्नुहोस् ।
-सन्तुलित भोजन गर्नुहोस् ।
-शारीरिक र मानसिक अभ्यास गर्नुहोस् ।
-उल्लिखित सकारात्मक कुरा दोहो-याइरहनुहोस् :
-म विजेता हुँ ।
-म खुसी र कृतज्ञ छु ।
-म आफूमा गर्व गर्दछु ।
-म जस्तोसुकै परिस्थितिको पनि सामना गर्नसक्छु ।
-म यो अवस्थाबाट छिट्टै बाहिर आउनेछु ।
-म पुनः आफ्नो काममा सफलता प्राप्त गर्नेछु ।
-म आफूलाई धेरै माया गर्दछु । किनकि जीवन अमूल्य छ ।

मदर टेरेसाले भनेकी छन्– हामी शारीरिक रोगलाई औषधीले निको गर्न सक्दछौं तर एक्लोपन र निराशालाई मायाले मात्र निको गर्न सक्दछ ।

यो विश्वव्यापी महामारीमा आफूलाई एक्लो र निराश नबनाउनुहोस् । आफूलाई माया गर्नुहोस् । आफ्नो जीवन मूल्यवान् ठान्नुहोस् । महसुस गर्नुहोस् त– लकडाउनका कारण तपाईंले आफू र आफ्नो परिवारलाई समय दिन सक्नुभयो होला । धेरै वर्षदेखि पूरा गर्न नसकेका रुचिका काम, इच्छा पूरा गर्नुभयो होला । स्वच्छ हावामा सास फेर्न पाउनुभयो । सेल्फ आइसोलेसनले तपाईंले आफूभित्रको म चिन्न सक्नुभयो होला । तसर्थ, लकडाउन अवधिभर घरमै रहँदा, सेल्फ आइसोलेसनमा रहँदा सकारात्मक स्व–संवाद गर्नुहोस् । जसका कारण तपाईंको जीवनमा महत्वपूर्ण परिणाम प्राप्त हुनेछ । कोरोना भाइरसको अन्त्यपछि हामी सबैको जीवनमा पुनः चम्किलो रोशनी छाउनेछ ।  
सुरक्षित रहौं । खुसी रहौं ।
लेखक नेपाल आन्ट्रपे्रनसिप एजुकेसन फाउन्डेसन (नीफ)का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् ।

प्रकाशित: २७ वैशाख २०७७ ०२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App