१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

वैकल्पिक शक्तिको नेपाली अभ्यास र विश्वका नजिर

स्थापनाको एक बर्ष पुरा गर्दै गर्दा नै भ्लादमिर जेलनस्कीको  पिपुल्स सर्भेन्ट पार्टीले  युक्रेनको राजनितीमा छलाङ मार्न सफल भयो।  ७३ प्रतिशत जनमत प्राप्त गर्दै राष्ट्रपतिमा जेलनस्की बिजयी भए। कैयन पुराना पार्टीलाई पछि पार्दै पिएसपीले आफुलाई युक्रेनको राजनितीमा उदीयमान वैकल्पिक शक्तिको रुपमा स्थापित मात्र गरेन सत्ता सम्हाल्ने महत्वपूर्ण अवसर नै प्राप्त गर्यो।

जनताले राजनितीक दलको स्थापनाको इतिहास हेरेर अनि संगठनको स्वरुप हेरेर मात्र मत दिदा रहेनछन् भन्ने यो एउटा बलियो उदाहरण हो।  रुस र अमेरिकाको भिन्न भिन्न स्वार्थको शिकार भएर  बाह्य हस्तक्षेपको सामना गरि राखेको यो देश गरिबी संगै भ्रष्टाचार र कुशासनसंग जुध्न आज पर्यान्त बाध्य छ। युरोपियन मुलुक भएपनि यस्तो विवशताबाट गुज्रिरहेको युक्रेनलाई सुशासन, भ्रष्टचार मुक्त बनाउने अभियान र अन्य युरोपियानसंग विकासको गतिमा दौडाउने एजेण्डा प्रस्तुत गरेर नै पिएसपिले जनमत जितेको हो।  त्यो गतिमा जेलनस्कीको नेतृत्वले आफुलाई कसरी अगाडि बढाउँछ त्यो हेर्न अझ युक्रेनी जनताले केहि समय कुर्नु नै पर्ला।  

जनताले कांग्रेस कम्युनिष्टको बिकल्प खोजेका छैनन् भन्ने  हुँदै होईन। बरु विकल्पमा आउँछु भन्नेहरुलाई बिश्वास नगरेका मात्रै हुन। वास्तवमा नेपालको परिप्रेक्ष्यमा कांग्रेस कम्युनिष्टलाई नियन्त्रण र सन्तुलनमा राख्न पनि देशमा भरपर्दो अर्को शक्ति चाहिएको छ।

एजेण्डा, योजना र सहि आश्वासनबाट जनताको मन जितिन्छ भन्ने उदाहरण जेलनस्की बनेका छन्। यो छोटो आलेखमा युक्रेनको पछिल्लो परिवर्तित राजनीतिक सामजिक अवस्थाको बारेमा धेरै चर्चा गर्न सकिंदैन। तर पिएसपिको चामत्कारीक उदय पछिको अर्को महत्वपूर्ण पाटो भनेको राष्ट्रपति जेलनस्कीको ओजनदार ब्याक्तित्व नै हो। हास्य कलाकार तथा टेलिभिजन कार्यक्रम निर्माता प्रस्तोताको रुपमा जसरी उनले जनताको मन जितेका थिए त्यसको परावर्तन राजनीतिमा प्रत्यक्ष देखिएको मात्रै हो। यसलाई जोगाउने जिम्मा त उनकै कांधमा छ। यस बाट पुष्टी हुन्छ वैकल्पिक राजनीतिक दल निर्माणमा ब्यक्त्विको पनि उत्तिकै महत्व छ।

विश्वका अन्य कैयन विकसित तथा विकासोन्मुख देशमा पनि   अल्टरनेटिभ पोलिटिकल फोर्सको रुपमा नयाँ  दलको सफल उदय भईरहेको पनि छ।  दुई बर्ष अघि मात्र स्थापना भएको लिबर्टी कोरिया पार्टी दक्षिण कोरियाको ठूलो दल भित्र पर्छ। जसको सदस्य संख्या मात्र ३.५ मिलियानको हाराहारीमा छ। तर यो अवस्थामा पुग्नका लागि नबगठित यो दलले पुराना सायनुरी र ,हन्नरा लगायत अन्य फोर्स संगको एकतालाई जोड दिएको थियो। यो दल अहिले प्रतिपक्षमा छ। 

सन २०१६ अप्रिल ६ मा स्थापना भएको ला रिपब्लिक इन मार्र्चै पार्टीका संस्थापक इमानुयाल म्याक्रोन त अहिले  फ्रान्सको २५ औ राष्ट्रपति छन। उसो भए जन्मदो रहेनछ त नयाँ दल ? जन्मन्छ मात्र होइन शक्तिशाली नै बन्न सक्दो रहेछ, यसलाई  प्रमाणीत गरेका छन म्याक्रोन र उनको दल ले। म्याक्रोनको दलले उदारवाद, प्रो युरोपियानिजमको राजनितीक नारा र “आधुनिक फ्रान्सको विकासका लागि नैतिकवान फ्रान्सेली ”को अभियान समेत चलाएका थिए। दलको सदस्यता लिन चाहनेलाई  शुल्क अनिबार्य नगरी  राजनीतिक समूह बाहिर भएको ठूलो हिस्सालाई समेत  मार्चै पार्टीले समेटेको थियो। तर यथार्थमा उनीहरुले उठाएको मुद्दासंगै युवावस्थामै अध्ययन, अनुभव र खोजबाट खारिएका बहुआयमिक ब्यक्तित्व म्याक्रोनको प्रभावले नै उनको दल यति छिटो स्थापित भएको मा भने दुईमत छैन।।

आठ बर्ष अघि स्थापना भएको फ्रि इजिप्सीयान दल अहिले इजिप्ट संसदको ठूलो दल हो। खाश गरेर उदारवाद र सेक्युलरिजम, को नारा  सहित पार्टी फर अल इजिपसीयानको अभियान लिएर यो दल जनता सामु पछिल्लो निर्वाचनमा पुगेको थियो। यस्ता थुप्रै  दलहरु  बिभिन्न देशमा उदियमान भएर आई रहेका छन। तर सबैको लताको कडी भनेको दलले अगिंकार गरेको शिद्धान्त अनि बिशेष गरेर नेतृत्व गर्ने ब्याक्तीको ओजनले नै जनताको विश्वास आर्जन गर्न सहयोग गरेको छ।

तीन बर्ष अघि फ्रान्समा स्थापना भएको ला फ्रान्स इन्सोउमिस पार्टीदेखि सन २०१४ मा स्थापना भएको स्पेनको पोडेमोस पार्टीको छोटो समयको सफलतामा पनि नेतृत्वको ब्याक्तीत्व र एजेण्डाले नै काम गरेको छ।  दक्षिण अमेरीकी देश मेक्सीकोमा ५ बर्ष अघि स्थापित नेसनल रिजेनेरेसन मुभमेन्ट दल होस या ८ बर्ष अघि ब्राजिलमा स्थापना भएको सोसल डेमोक्रयाटिक पार्टी नयाँ भएरपनि जनताको मन र मत जित्न सफल छन्।  विश्वका विकसितदेखि विकासोन्मुख धेरै देशमा बनेका नयाँ राजनीतिक शक्तिको उदय अहिले बिशेष गरेर नेतृत्वको ब्याक्तित्वमा केन्द्रित भएको छ। 

 तर नेपालमा किन भएन ?

माथी उल्लेख गरिएका बिभिन्न देशमा छोटो समयमा नै उदाएका राजनीतिक दलको उदयको मुख्य आधार नेतृत्वको ब्यक्तित्वमा केन्द्रित छ।  नेपालमा पनि पछिल्लो समय वैकल्पिक राजनीतिक शक्ति निर्माणको बहस हवत्तै चुलिएको छ। अर्का तर्फ जनता पनि कम्युनिष्ट कांग्रेसको विकल्पमा अरु कुनै विश्वासिलो दल बनोस भन्ने नै चाहेको देखिन्छ। तर परिणाम हेर्ने हो भने नयाँ विकल्प बन्छु भन्ने दललाई विश्वास गरि हालेको देखिैदन। यस पछिको मुल कारक पनि नेतृत्वको ब्यवहार र ब्यक्तीत्व लाई नै मान्न सकिन्छ। वैकल्पिक बन्ने दाउमा धेरै छन् तर जनताले किन पत्याइ रहेका छैनन्? गहन बिषय यहि नै हो। समाजवादी पार्टी र  राष्ट्रिय जनता पार्टीबीचको हालसालै भएको एकताको कडी पनि बैकल्पिक बन्ने प्रयास नै हो।   जनता सरकारसंग रुष्ट भएकै आधारमा मात्र नयाँ दल बन्दो रहेनछ भन्ने प्रमाण  मंसिरमा सम्पन्न  उपनिर्बाचनको परिणामलाइ हेरे मात्र पनि पुग्छ।

यहाँ बुझन पर्ने कुरा के छ भने फ्रान्सको नेतृत्व गरिराखेका म्याक्रोनको पार्टी मात्र नयाँ होइन कि स्वयं म्याक्रोन पनि राजनीतिमा नयाँ पात्र थिए। राजनितीमा आउनुपूर्व नै उनले एक सक्षम सवल र सफल आर्थिक सामजिक क्षेत्रको अनुसन्धाताको रुपमा काम गरेर उच्चतम नमुना प्रस्तुत गरेका थिए। युक्रेनका जेलनस्की पनि आफ्नो क्षेत्रमा यहि बाटोमा थिए। कतै नेपाली पनि राजनीतिमा नयाँ तर अन्य क्षेत्रमा उदाहरणीय काम गरि राखेका प्रखर पात्राको पर्खाइमा त छैनन्।  २०७४ को निर्बाचनमा साझा पार्टीका उम्मेदवार तथा संयोजक रबिन्द्र मिश्रले काठमाण्डौको आफ्नो निर्बाचन क्षेत्रमा चुनाव  नजिते पनि जुन मत  प्राप्त गरे यसले त्यस्तै इंगित गरेको देखिन्छ। हुन त उनले त्यो क्रेजलाई अहिले जोगाउन सकेको देखिंदैन।

किन रुचाइएन

    वैकल्पिक शक्तिको निर्माणमा लागेका जनता समाजवादी र साझा पार्टी प्रति जनताको  आकर्षण नहुनु पछिको मुल कारण ती दलका नेतृत्व प्रति जनतामा विश्वास जाग्न  नसक्नु नै हो। पुरानो पार्टी माओवादी केन्द्रमा अडिन नसकेका  र  आफैले निर्माण गरेको नयाँ शक्ति पार्टीलाई गतिशिल बनाउन नसकेका डा बाबुराम भटटराईको अस्थिर राजनीतिक छबिका कारण जनता माझ उनको लोकप्रियता गिर्दो छ।  दलहरु मिल्दैमा मात्र हुँदैन सिद्धान्त, नेतृत्वको कार्यक्षमताले जनमत आकर्षणमा असर गर्छ भन्ने प्रमाण  समाजवादी पार्टीले उपनिर्बाचनमा पाएको मतले  पनि प्रष्ट पारेको छ।  आलोचनामा अब्बल डा भटटराईले जसरी कांग्रेस र कम्युनिष्टको कमजोरीलाई मात्र प्रचार गरे आफुले गर्ने के हो भन्ने  कुरा पुष्टि गर्न सकेनन। यसले बरु उनलाई मन पराउने कांग्रेस कम्युनिष्ट भित्रका उनका समर्थक पनि चिढिए। जसका कारण पहाडमा त उनको दल झनै खुम्चियो। पुरानै प्रवृत्तीको अरुको आलोचना गरेर मत माग्ने संस्कृतीले राजनीतिलाई सिर्जनशिल र आधुनिक मार्गमा डोर्याउँदैन। बिपक्षीले गरेका राम्रा कामको समेत प्रसंशा गर्दै त्यो भन्दा राम्रो आधार सहितको एजेण्डाले जनतामा नेतृत्वलाई स्थापित गर्न सक्छ नकि एकहोरो अरुको आलोचनाले मात्र। अहिले युरोपदेखि एसियासम्म उदाएका नयाँ नयाँ राजनीतिक हस्तीले यस्तै सिर्जनशिल शैली अपनाउँदै आएका छन। अनि निर्बाचनमा मधेशको मत चाहिने तर  ब्याक्तीगत लाभहानी हेरेर निरन्तर सरकारमा आउजाउ गरि राख्ने उपेन्द्र यादव र राजेन्द्र महतोको  प्रवृतीले  पनि दरिलो विकल्प बन्ने जनता समाजवादीको यात्रामा ठेस पुर्याएको हुन सक्छ र पुग्न सक्छ। पटक पटक परीक्षामा असफल भइसकेका उनै पात्रालाई नेतृत्वको इपिसेन्टरमा राखेर बनाइएको दल सायद जनताको नजरमा पर्न गाह्रो छ। दलको नाम मात्र होईन पात्रा परीवर्तनले मात्र बैकल्पिक बन्ने आधार तयार हुन्छ कि!

बिसं २०७४ मा भएको संघ र स्थानीय निर्बाचनमा आशालाग्दो उपस्थिती देखाएको बिबेकशील साझा पार्टीको धरातल त  दुइ बर्ष पुग्दा नपुग्दै धेरै कमजोर बनिसकेको देखिन्छ। अर्थात टेक्न नपाउँदै लडन लागिसकेको जस्तो। यस पछाडिको रहस्य पनि नेतृत्वमा देखिएको अस्थिरता र उच्च महत्वकांक्षा नै हो। किनकी एकतामा नै बल हुन्छ भन्ने सामन्य सिद्धान्तलाई पनि अंगिकार गर्न नसकि एक बर्ष पनि सहयात्रा गर्न नसक्ने दल र तीनका नेतृत्व बाट जनताले अवश्यनै देशकै नेतृत्व गर्न सक्छन भन्ने आशा गर्ने आधार थिएन। तर्कको निम्ती जे पनि भन्न सकिएला तर जन्मन नपाउँदै एकता र बिग्रहको श्रृंखलाको आरम्भ  गरेका साझाका रविन्द्र मिश्र र बिबेकशीलका उज्वाल थापा को पार्टीले देशलाई नयां रुप दिन सक्छन भनेर आशा गर्ने आधार जनताले नदेख्नु स्वभाविक हो। नेतृत्वको परीक्षण त कठिन अवस्थामा हुन्छ अनि नेतृत्वको छाती त त्याग र समपर्णको फराकिलो रेखाले कोरिएको हुनुपर्छ। नकि ब्याक्तिगत महत्वकांक्षाले नभरिएको होस। उनीहरुसंग पनि आलोचना बाहेक अरु एजेण्डा  त थिएन नै।   अझ राजनीतिमा त सहनसिलता, धैर्यता, जवाफदेहिता नेतृत्वका लागि अपरिहार्य सीमा हुन। यी सबै सीमालाई तिलञ्जाली दिएर साझाका रविन्द्रले उपनिर्वाचन पछि जनताको मतले कुशासन र भ्रष्टाचारलाई नै अनुमोदन गरेको रुखो टिप्पणी गरिदिए।  हतार र  हारको आबेगमा गरिने यस्ता टिप्पणीले उनको राजनीतिक कदलाई घटाएको छ। यसर्थ नेतृत्वको ब्यक्तित्व बिना बिकल्प निर्माण हुन सक्दैन। यी बाहेक अन्य कैयन नाम मात्रका दल पनि निर्बाचनमा जाने गर्छन उनीहरु नगण्य मतमा सिमीत हुदै आएका छन। ब्याक्तिगत महत्वकांक्षा या अरु प्रतिको कुण्ठाले मात्र नेता बनिदैन भन्ने कुरा नयाँ पुराना सबैले सिक्न जरुरी छ।

  जनताले कांग्रेस कम्युनिष्टको बिकल्प खोजेका छैनन् भन्ने  हुँदै होईन। बरु विकल्पमा आउँछु भन्नेहरुलाई बिश्वास नगरेका मात्रै हुन। वास्तवमा नेपालको परिप्रेक्ष्यमा कांग्रेस कम्युनिष्टलाई नियन्त्रण र सन्तुलनमा राख्न पनि देशमा भरपर्दो अर्को शक्ति चाहिएको छ। अन्यथा अहिेलेका सत्तापक्ष र प्रतिपक्षमा झन बढी घमण्ड र अराजकता बढदै जान सक्छ। यी ठूलादलका अहिले भई राखेका पात्राहरुमा परिबर्तन गरेर युरोपियानहरुले जस्तै योग्य युवा पंक्तीलाई राज्यसत्ताको बागडोर सम्हाल्ने अग्रभागमा ल्याउन अभ्यास गर्नपनि जरुरी छ। बिकल्प बन्ने सपना देखेकाले पनि भई राखेका भन्दा फरक सक्षम र इमान्दार भएको पुष्टी गर्न आफुलाई परीक्षामा खरो रुपमा उतार्न आवश्यक छ।  बिकल्प बोलेर होइन,  ब्यवहारले मात्र बन्न सकिन्छ भन्ने पुष्टि नयाँले पनि गर्न सक्नुपर्छ। बिहानीले दिउँसोको संकेत गर्छ भने झैं आफ्नै साथीसंगीलाई मिलाएर लैजान र मिल्न नसक्नेहरुले देशलाइ नै बनाउने नेतृत्व गर्न सक्छन भन्ने बिश्वास जनताले नगर्नु स्वभाविक हो। त्यसैले देश बनाउँछु भन्नेहरुले  पहिले  छाती फराकिलो पारेर आफनो दललाई नमुना बनाएर प्रमाणित गर्न सक्नुपर्छ।

 माथी उल्लेखित बिबिध देशमा उदाएका बैकल्पिक दलको साझा आधार हो ती दलका नेतृत्वको ब्यक्तित्व र ब्यवहार। तसर्थ अहिलेको जनमत बोलीमा होइन ब्यवहारमा बिश्वास गर्छ भन्ने तथ्यलाई अंगिकार नगरी अरुको कमजोरीलाई बेचेर बिकल्प बन्छु भन्ने पुरातन शैलीलाई नसच्याएसम्म नेपाली जनताले चुन्ने भनेको खराब मध्यको कम खरावलाई नै हो।

 

 

 

प्रकाशित: २१ वैशाख २०७७ १०:३२ आइतबार

राजनीति विकल्प नयाँ_शक्ति