यसपालि ठट्टैठट्टामा सामाजिक सञ्जालमा ‘रातो मार्सी’को चामल भाइरल नै बन्यो अर्थात् यसले मिडिया र सामाजिक सञ्जालमा कुनै कुराको पर्यायवाची थेगोको रूपसमेत लियो । धेरै दिनसम्म अखबारका पाना पनि यसैमा रंगिए । कम्प्युर खोलेर जुन साइट खोल्यो वा नयाँ पुस्ताका ‘एलिट’हरूको फेसबुकको पोस्ट हे-यो अथवा ट्वीटेहरूको अकाउन्ट स्क्रल ग-यो कि अतिरञ्जित रूपमा रातो मार्सी चामलको प्रसंग वा त्यसको भात पस्किरहेको फोटो मात्र देखिने पो भयो ! तर पोखरेली मसिनो र मन्सुली अनि विदेशबाट आयातित विभिन्न नामधारी चामल खाएर हुर्केको पुस्ताका लागि विशेष चर्चा र छलफलको विषय भएको र यसको बखानमा आनन्द मान्ने अरुहरूलाई पनि सायद सक्कली रातो मार्सी चामलबारे थाहै छैन जस्तो अनुभव हुन्छ मलाई ! जबर्दस्ती धनाढ्यताको परिचयात्मक आवरण दिइएको यो बेस्वादको चामल यथार्थमा हाम्रो मात्र होइन, यसको बहसमा संलग्न धेरैको घाँटीबाट त्यो बहुचर्चित चामल छिर्नै पनि गाहारो हुने पक्कै छ।
विगत केही वर्ष यतादेखि भारत र अझ कता कतादेखि थरी थरीका चामलले हाम्रो बजार भरिएका छन् । काठमाडौँवासी उपभोक्ताहरू गच्छेअनुसार यही चामल घटाघट गरी ल्याएर खाने गर्छन् । त्यसैले उनीहरूको चञ्चल र कौतूहल मनमा मार्सी चामलका कुराले चौचौ नलाग्ने कुरै भएन । त्यति मात्र होइन यही रातो मार्सी चामल सम्झेर धेरैले मनको लड्डु पनि अवश्य खाए पनि होलान् ! मेरा केही मित्रहरू पनि हतारिएर किन्न पुगेछन्, भोलिपल्टै दिक्क माने, विनासित्ती पैसा खन्याइयो भनेर।
मार्सी चामल अलिकति आफ्ना घरमा हुनु र यदाकदा पाहुनापासा आउँदा यसले भान्साकै शोभा बढाउने भएकाले पनि सबैका लागि महत्वपूर्ण हुन्थ्यो।
अहिले हाम्रा खेतबारीका कान्लाकुन्लीमा छरेर गाईबस्तुलाई खुवाउने गरिएको परम्परागत आलसलाई अंग्रेजी नाम ‘फ्लेक्स’ दिँदै दैनिक सेवन गर्ने र अझ विदेशबाट त्यस्तै ‘चिया सीड’समेत भित्र्याइ खान सुरु गरेको पुस्तालाई त यो मार्सीको क्रेजले झनै रन्थन्याएको जस्तो लाग्छ ! हामी जस्ता माटो कोट्याएर खानेका लागि चाहिँ अलिअलि सामान्य ज्ञान बढ्ने (?) काम पनि भयो, किनभने रातो मार्सीसँगै विभिन्न ठाउँमा उत्पादन हुने मार्सी चामलको थप बखान र छलफल अहिलेको बहसमा थपिएको छ।
मार्सी चामलको प्रसंग चल्दा मलाई आफ्नो बाल्यकालमा ललितपुरको काँठको घर वरिपरिको खेतमा लगाउने गरेको केही प्रजातिका मार्सी धानको सम्झना भयो, तिनताका आफैँ खान भनी पिताजीले २/४ किसिमका मार्सी धान लगाउनुहुन्थ्यो । यसबारे आफूले बुझे नबुझे पनि गाउँको घर वरिपरिका खेत र फगटा फुगुटीमा दसैँताका ती धान लहलहाएका दिन सम्झन्छु । सधैँ चुल्होमा नपाके पनि त्यो समयमा, खास गरी म हुर्केको सामाजिक परिवेशमा, मार्सी चामल अलिकति आफ्ना घरमा हुनु र यदाकदा पाहुनापासा आउँदा यसले भान्साकै शोभा बढाउने भएकाले पनि सबैका लागि महत्वपूर्ण हुन्थ्यो।
हाम्रो परिवार अर्थात् मेरो ठूलोबा र बुवाको संयुक्त परिवार थियो, हामी भन्ट्यांगभुन्टुंग नै नौ जना थियौँ । बाल्यकालको अधिकतम समय आफ्नो मामाघरमा हुर्कनुभएका मेरो ठूलोबा र बुबाबीच अगाध प्रेम थियो, त्यसैले पनि होम्रो संयुक्त परिवार लामो समयसम्म रहिरह्यो । ठूलोबा २००७ सालको परिवर्तनपछि तत्कालीन मेजिस्ट्रेट अफिसमा प्रशासनिक जागिरमा सरुवा हुनुभयो । उहाँ काठमाडौँमा नै डेरा गरी बस्नुहुन्थ्यो र हप्ताको एक दिन प्रत्येक शुक्रबार गाउँ पुग्नुहुन्थ्यो । मेरो पिताजी हाम्रो गाउँ नजिकका सरकारी स्कूलहरूमा हेडमास्टरको जागिर धान्दै हाम्रो संयुक्त परिवारमा रहेको खेतीपाती पनि हेर्नुहुन्थ्यो । तिनताका काठमाडौँको काँठको मध्यमवर्गीय परिवारहरूको जीवन लगभग यस्तै स्थितिमा रहेको हुन्थ्यो । जागिर र खेती दुवै धान्ने । अलिकति पढेलेखेका मध्यमवर्गीय परिवारका लागि जागिर एउटा प्रतिष्ठा अनि खेतिपाती चाहिँ जीविकोपार्जनको आवश्यकता थियो । जागिर र खेतीले एकले अर्कोलाई पूर्णता दिने भएकाले काँठको सबै मध्यमवर्गीय परिवारको जीवन यसै गरी आफ्नै ढंगले चलिरहेको हुन्थ्यो।
रातो मार्सीको रङ फिक्का रातो । फल्ने पनि अलि बढ्तै फल्ने, पराल पनि लामा र पुष्ट, सेता लाम्चा आकारका चामल । चामल कुट्दा कम टुक्रिने भएकाले पहिले त यो धान अलि बढी रोपिन्थ्यो ।
मेरो ठूलोबा ४ वर्ष हुनुहुँदा र बुवा २ वर्षको हुँदा हजुरबुवा बित्नु भएर टुहुरा हुनु भएकाले दुवै जना झन्डै १२ वर्ष रामकोट नजिक सीतापाइलास्थित मावलमा हुर्किनुभयो । सानै उमेरमा राणा प्रधानमन्त्रीको दरबारमा उच्च प्रशासनिक हैसियतमा पुग्नुभएका मेरा हजुरबुवाको हैजाको रोगले असामयिक निधन भएको थियो र त्यसपछि मात्र आमासँगै कुलघर फर्केर आफ्ना माहिँला बुवाले स्वेच्छाले दिनुभएको खेतबारी र एउटा सानो गोठजस्तो घर सकारेर दुवै जनाले जीवन सुरु गर्नुभएको थियो । यसरी पाएको पैतृक सम्पत्ति टुक्राटाक्रीको रूपमा गाउँमै तर विभिन्न ठाउँमा छरिएका थिए । ‘बाह्रबिसे’ भनिने खेत मात्र केही ठूलो क्षेत्रफल र एकै ठाउँमा फैलिएको थियो।
ठूलोबा र बुवाले मावलबाट फर्केपछि पैतृक सम्पत्तिको धेरै सानो अंश पाउनुभए पनि खान लाउन पुग्ने नै थियो । हाम्रो सबै खेतहरूमध्ये उत्पादनको दृष्टिले उम्दा मानिने करिब छ रोपनी क्षेत्रफल भएको ‘बाह्रबिसे’ भनिने एउटै समथल खेत थियो । मार्सी चामलको अन्य जातको तुलनामा उत्पादकत्व कम हुने कारणले मार्सी चामल उत्पादकहरूको प्राथमिकतामा पर्दैनथ्यो, त्यसैले मेरो बुवाको प्राथमिकतामा पनि अरु प्रकारका धान नै हुन्थे, मार्सी प्रजातिको धान पर्दैनथ्यो । सबैले भन्थे, मेरो बुवाको ज्यान खेतीमै बसेको थियो । मानौँ, उहाँ हेडमास्टर कम र किसान बढी हुनुहुन्थ्यो । वर्षा सुरु हुँदा नहुँदा पहिलेदेखि नै त्यो खेतमा गाउँभरको सबैभन्दा पहिलो रोपाइँ गर्ने सपना हुन्थ्यो उहाँको ! जेठ लागेदेखि खेतको आलीमा बसेर खेत खनाउने, आली लगाएर मल छर्न लगाउने, अनि रातभर कामदार कुरेर भए पनि टाढादेखि कुलो ल्याएर पानी जमाउने ! यी सबै काममा उहाँको सहयोगी हाम्रो पुराना मोही हुने गर्थे । खास गरी असार साउनका दिनमा हरेक दिन कम्तीमा ३/४ पटक ‘बाह्रबिसे’को खेत नघुमी चित्त बुझ्दैनथ्यो रे उहाँलाई ! अरु खेतहरूमा मेहनत गरे पनि उहाँको त्यत्ति विशेष लगाव थिएन रे।
यी भए पुर्खाका इतिहासका कुरा । अब मार्सी धान र चामलतिर जाऔँ । मैले सम्झेँअनुसार तिनताका एउटा डल्ले मार्सी प्रजातिको धान हुन्थ्यो, चामल पनि डल्लो, भात पकाउँदा गोलो गोलो आकारको केही गुलियो सम्भवतः स्टार्च बढी भएकाले होला कि र बास्ना पनि मन्द मन्द आउने । यसको पराल छोटो हुने भएको र सुकाउँदा यसको झुसले हात खुट्टामा बिझाउने, अनि सिँचाइ राम्रो सुविधा नभएको ठाउँमा उत्पादनको प्रतिशत अरुको तुलनामा कम हुने भएकाले पिताजीलाई डल्ले मार्सी रोप्न मन लाग्दैनथ्यो । तर ठूलोबाको करले आफूलाई खान मीठो र राम्रो हुन्छ भनेर केही पाथी रोपिन्थ्यो रे।
अर्को थियो, रातो मार्सी । धानको रङ फिक्का रातो, फल्ने पनि अलि बढ्तै फल्ने, पराल पनि लामा र पुष्ट, सेता लाम्चा आकारका चामल र चामल कुट्दा कम टुक्रिने भएकाले पहिले त यो धान अलि बढी रोपिन्थ्यो तर बिस्तारै उत्पादन घट्न थालेपछि रोप्ने क्षेत्रफल पनि घट्दै गयो । तर यसको नाम मार्सी भए पनि यो वास्ना हो कि होइन जस्तो मात्र आउँथ्यो।
उपभोगको हिसाबले श्राद्ध, पाहुनापासा आउने बेला र अन्य विशेष अवसरमा डल्ले मार्सी पछिको प्राथमिकतामा रातो मार्सीको चामल पर्ने गथ्र्याे।
त्यसपछि थियो, कालो मार्सी धानको रङ कालो, छोटा बोट र हुर्काउनै गाह्रो । त्यसमाथि धेरै कम फल्ने भएकाले पिताजीले खेतको जुन भागमा पानी कम भएर उत्पादन पनि कम हुन्थ्यो त्यहाँ कम क्षेत्रफलमा यदाकदा रोपिन्थ्यो । धान पाक्दै जाँदा रङ कालो हुँदै जाने र त्यसपछि खेतै वास्ना आउँथ्यो, चामलको त कुरै भएन । खास गरी दसैँ–तिहारमा यो धानको चामल भएका बेला घरमा यसैको भात पाक्थ्यो।
मार्सी जातबाहेक अरु पूरा भागमा तौली र थापाचिनियाँ प्रजातिको धान हुन्थ्यो । थापाचिनियाँ धेरै फल्ने, पराल पनि यथेष्ट र लामो, पानी पनि अरुको तुलनामा आधा आधीले चल्छ भन्नुहुन्थ्यो पिताजी । तिनताका अत्यधिक रोपिने धान तौली हुन्थ्यो । धेरै फल्ने, सजिलै बिक्री हुने, पराल पनि प्रशस्तै हुने तर पानी लगाइरहनुपर्ने खालको यो धान गाउँभरि नै सबैको प्रिय थियो, प्रायः बिहान बेलुकी धेरै परिवारले यही खाने गर्थे । अरु पनि धेरै प्रकारका धान थिए, खट्टे खाने धान बेग्लै हुन्थ्यो । खेतको कुनाकाप्चामा खाँद खनेर धान पाक्ने बेला बढी पानी बगाउने पर्ने भएकाले भित्तातिर रोप्ने धान छुट्टै जातको हुन्थ्यो र त्यो धानको दसैँताका चिउरा कुट्ने गरेको मलाई सम्झना छ । पानी कम हुने बारीतिर खाली ठाउँ भेटिए अलिकति घैया धान पनि रोपिन्थ्यो र त्यो पनि च्यूरामा प्रयोग हुन्थ्यो । समय बित्दै जाँदा कृषि विभागले ताइचुंग र पोखरेली मसिनो प्रजातिको धानका बिउ वितरण गरेपछि उत्पादकत्व पनि एक्कासि बढेकाले नयाँ धानमा सबैको ध्यान केन्द्रित भयो । पुराना प्रजातिका धान हराउँदै गए र अहिले त बिउ नै पाइन्न।
मार्सी धानलाई अरु प्रजातिले विस्थापित गरेपछि हामी आफ्ना पुराना दिन सम्झन यदाकदा बजारबाट विदेशी बासमती वा अरु जातका स्थानीय उत्पादन किनी मार्सी चामललाई सम्झने गर्छौँ नत्र खेतमा जे फल्छ त्यही खाने बानी बसेको छ । अहिले बहुचर्चित भएको रातो मार्सीमा कार्बोहाइड्रेट कम हुन्छ रे भन्ने हल्लाको पछि लागेर विदेशमा रहँदा उपभोग गरियो पनि तर खाइसक्नु भए पो ? न दालसँग मिल्ने न केही विशेष स्वाद, खाऊँ खाऊँ जस्तो पनि लागेन । यसमा कार्बोर्हाइड्रेट कम हुन्छ भन्ने कुरा पनि उडन्ते हल्ला जस्तो मात्र लाग्यो । यहाँ जे फल्छ, त्यहीलाई जिन्दावाद गरिन्छ अहिले।
प्रकाशित: १५ भाद्र २०७५ ०५:१४ शुक्रबार