८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

महावैज्ञानिकको महासंघर्ष

यो वर्षको नोबल पुरस्कारको घोषणा सकियो। विज्ञानका विभिन्न विधा अनि सहित्य, शान्ति र अर्थशास्त्रका धुरन्धरहरूले सम्मान पाए। विश्वलाई थप परिस्कृत बनाउन लामो समयदेखि योगदान गर्दै आएका कारण उनीहरू पुरस्कृत भए।

झिनामसिना विवाद देखिए पनि पारदर्शी विधिमार्फत विज्ञ सुझावलाई आत्मसात गर्दै छनोट गरिने भएकाले नोबल पुरस्कारलाई सर्वोच्च मानिन्छ, विश्वभर चर्चा पाउँछ। पुरस्कृतहरूको योगदान आआफ्नो क्षेत्रमा अतुलनीय भए पनि सबै सम्मानितलाई समान मान्न सकिन्न। अल्बर्ट आइन्सटाइन र नेल्सन मन्डेलाले पाएका नोबल पुरस्कारलाई सम्मानको टाकुराभन्दा फरक पदैन। नोबल पुरस्कार पाएपछि व्यक्ति रातारात सेलेब्रिटी बन्न पुग्छ। दशकौँअघि कसैले पनि नसोचेको अनि सफलताका संभाव्यतासमेत झिनो रहेको जोखिम विषयमा हात हाली वर्षाैँअघि पाएको वैज्ञानिक कुशलताको कदरस्वरूप वर्तमानमा नोबल पुरस्कार पाउने हो।

नवीन अन्वेषणमा लागेका कारण प्रारम्भिक दिनमा उनीहरूको सोच र परिणामलाई परीक्षण गर्ने दक्षता नहुनु अस्वाभाविक भएन। आविष्कारको महत्व बुझ्ने विशेषज्ञ नै नभएपछि अन्वेषणकर्ताको कन्तबिजोग हुन्छ। नेपालको विज्ञान मन्त्रीलाई हाम्रा वैज्ञानिकले आफ्नो ल्याबले गर्ने कामको बारेमा कहनुभन्दा फरक हुँदैन नवीन काममा हात हाल्ने वैज्ञानिकका लागि आफ्ना योजनाका सम्बन्धमा समकक्षीलाई अथ्र्याउने काम।

 योगदानको महत्व बुझ्ने दक्षता नहुँदा नोबल पुरस्कृत झण्डै सबैजसो वैज्ञानिकले आफ्नो जीवनकालको पूर्वार्धमा अपमान र पीडा महसुस गरेकै हुन्छन्।

प्रतिकूल अवस्थालाई चिर्दै जसले आफ्नो सपना साक्षात् बनाउन अघि बढ्छ उसले मात्र विश्वलाई परिष्कृत बनाउन सक्छ भन्ने फेम्टो केमिस्ट्रीको अन्वेषणबापत सन् १९९९ मा नोबल पुरस्कृत प्राध्यापक अहमद जवेलको उद्घोष मननयोग्य छ।

सन २०२० मा संसारलाई आतंकित बनाउने कोभिड–१९ को भ्याक्सिन बनाउन महत्वपूर्ण योगदान गर्ने अमेरिकाको युनिभर्सिटी अफ् पेन्सेल्भिनियाका वैज्ञानिक द्वय क्याटलिन करिको र ड्रु वेइजम्यानलाई यो वर्ष आयुर्विज्ञान विधाको नोबल पुरस्कार दिइयो। कोरोनाका कारण स्थिर बन्न पुगेको संसारलाई चलायमान बनाउने कोभिड भ्याक्सिन आविष्कारकको कदर भयो।

सामान्यतः भ्याक्सिन बन्न कम्तीमा १० वर्ष लाग्ने गरेकामा संसारले थाहा पाएको १ वर्षमै कोभिड–१९ को भ्याक्सिन बन्यो अनि व्यक्तिको पाखुरामा घोचियो। यसरी विजुली गतिमा कोरोना भ्याक्सिन बन्नुमा कोभिडकालमा अहोरात्र खट्ने वैज्ञानिकहरूको योगदान त छ नै। तर त्योभन्दा धेरै गुणा सम्मानयोग्य कोरोना भ्याक्सिनका लागि प्रयोग भएको म्यासेन्जर आरएनए (एमआरएनए) को आधारभूत अन्वेषणमा दशकौँ खर्चिएका क्याटलिन करिको र ड्रु वेइजम्यान हुन्।

डा. करिको र वेइजम्यानको अन्वेषणले कोरोना भ्याक्सिनको आधारशीला तयार गरेका कारण छोटो समयमै कोभिड–१९ को भ्याक्सिन बन्यो। प्रारम्भिक अन्वेषणको कदर गर्दै उनीहरूलाई उच्च पुरस्कार प्रदान गरियो।

सामान्यतः नोबल पुरस्कार पाएका वैज्ञानिकहरू आआफ्नो क्षेत्रमा स्थापित हुन्छन्। विश्वविद्यालयमा उनीहरूको हैसियत निकै उचा हुन्छ, वरिष्ठ उपाधि हुन्छ उनीहरूको। तर यस वर्षको मेडिकल साइन्सका नोबल लौरियटस्को कथा पृथक छ। युनिभर्सिटी अफ् पेन्सेल्भिनियामा ड्रु वेइजम्यान भ्याक्सिन रिसर्चका प्राध्यापक हुन् भने क्याटलिन करिको त्यही विश्वविद्यालयमा एडजंकड प्रोफेसर हुन्। एडजंकड प्रोफेसर भनेको न्यून दायित्ववाला कनिष्ट प्राध्यापक भन्ने बुझिन्छ।

भर्खर प्रवेश गरेका कारण डा. करिकोको हैसियत कम भएको होइन। बरु जागिरका क्रममा चारपल्ट आफ्नो अवोन्नति (डिमोसन) भएको भनिन् क्याटलिनले नोबल पुरस्कार पाएपछिको एक अन्तर्वार्तामा।

दशकौँ पहिले विश्वविद्यालयमा प्राध्यापक भएकी क्याटलिन करिको एम आरएनएलाई भविष्यको ओखती ठान्थिन् अनि उनी यही क्षेत्रमा आफ्नो अन्वेषण गर्न प्रतिबद्ध थिइन। तर त्यसबखत निकै नवीन क्षेत्र भएको कारण एमआरएनएलाई संभाव्य उपचार मान्न समकालीन वैज्ञानिक समुदाय तयार भएन। परिणामस्वरूप अनुसन्धानका लागि उनले प्रस्ताव गरेका रिसर्च प्रोपोजल (अनुसन्धान प्रस्ताव) सबै पक्षबाट तिरष्कृत भयो। प्रतिस्पर्धी विधिमार्फत बाह्य अन्वेषण निकायबाट पैसा ल्याउन नसकेपछि उनको ल्याबले आवश्यक उपकरण र रासायनिक पदार्थ खरिद गर्न सकेन।

आखिर पैसा नभएकाको संसारमा कहाँ नै इज्जत हुन्छ र? युनिभर्सिटीले उनलाई आफ्नो अनुसन्धान अर्को दिशामा लान सल्लाह दियो। आत्मविश्वासमा दृढ क्याटलिन विश्वविद्यालयको सल्लाहअनुसार हिँड्न तयार भइनन्। प्रशासनले उनको प्रयोगशालाको क्षेत्रफल मात्र घटाएन, बरु उनको तलवसमेत कटौती गर्‍यो। त्यतिले पनि नपुगरेर उनको पदसमेत कटौती भयो। वरिष्ठ प्राध्यापक हुनुपर्ने महिला कनिष्ठ बन्न पुगिन।

अमेरिकी विश्वविद्यालय ढाँचामा अनुसन्धानात्मक प्राध्यापकका रूपमा सफलता हासिल गर्न दुई आधारभूत आवश्यकता पूर्ति गर्नैपर्छ।

बाह्य निकायलाई आफ्नो वैज्ञानिक प्रस्ताव प्रस्तुत गरी डलर भित्र्याउन नसक्ने अनि आफ्ना अन्वेषणात्मक नतिजालाई समकक्षी समीक्षा (पिएर रिभ्यु) मार्फत स्तरीय जर्नलमा प्रकाशित गर्न नसक्ने अन्वेषणकर्ता सफल हुन सक्दैन। नभन्दै दुवै परीक्षामा क्याटलिन सफल हुन सकिनन्। एमआरएनएको भविष्यका सम्बन्धमा तत्कालीन वैज्ञानिक समूहलाई बुझाउन नसक्दा रिसर्च मनी आएन। पैसा अभावमा अनुसन्धान गर्न कठिन भयो।

युनिभर्सिटीबाट बिदाइ लिने अथवा बेइज्जतीको विष पिउँदै अन्वेषण अघि बढाउने दुई विकल्पमध्ये पछिल्लोलाई रोजिन क्याटलिनले। अभावबीच अनुसन्धानलाई गति दिन केवल आफ्नो क्षमताले मात्र सम्भव नहुने देखी समान चासो भएका ड्रु वेइजम्यानसँग सहकार्य बढाइन्। दुवैको संयुक्त प्रयाशले एम आरएनएको अन्वेषणले सार्थक रूप लियो।

कुनै पनि वैज्ञानिक अनुसन्धानले सार्थकता पाउन वास्तविक जीवनमा त्यसको परीक्षण आवश्यक बन्छ। सन् २०१९मा कोभिड–१९ को महामारी देखिएपछि एमआरएनएमा आधारित भ्याक्सिनको परीक्षण गरे मोडर्ना, फाइजरलगायतका फर्मास्युटिकल कम्पनीहरूले। नभदै लामो समयदेखि ओझेलमा परेको युनिभर्सिटी अफ पेन्सेल्भिनियामा गरिएको आविष्कार सही सावित भयो। कोभिड–१९ को भ्याक्सिन बन्यो। महामारीबाट संसारले मुक्ति पायो।

कुनै पनि वैज्ञानिक अनुसन्धानले सार्थकता पाउन वास्तविक जीवनमा त्यसको परीक्षण आवश्यक बन्छ।

क्याटलिन करिको र ड्रु वेइजम्यानले नोबल पुरस्कार पाउनेबित्तिकै विगतमा चोट र पीडा दिने युनिभर्सिटीले उनीहरूको सम्मानमा कार्यक्रम गर्‍यो। संयोगवस गत हप्ता मात्र डा. करिकोले आफ्ना संघर्ष, विज्ञानको क्षेत्रमा लाग्दा भोगेको अपमान र सफलताका पाटाहरू समेटेर लेखेको पुस्तक ‘ब्रेकिङ थ्रु माइ लाइफ इन साइन्स’को लोकार्पण गरिन्। विज्ञानमा लाग्नेले जीवनमा के/कस्तो चुनौती सहनुपर्छ भन्ने विषय समेटिएको उक्त पुस्तक सबै वैज्ञानिकका लागि ज्ञानबर्धक देखियो।

क्याटलिन करिकाको संघर्षपूर्ण कथाले धैर्यलाई सफलताका लागि अपरिहार्य चरित्र देख्छ। त्यसको विपरित प्रतिकूलतामा बाँच्न नसक्ने व्यक्ति कसरी विज्ञानबाट बिलाउँछ भन्ने बुझ्न अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीबाट बायोकेमिस्ट्रीमा विद्यावारिधि गरेका डग्लस प्रेजरको जीवनी सान्दर्भिक छ। समुन्द्रमा पाइने जेली फिसमा पाइने एक प्रकारको चम्किलो ग्रिन फ्लोरिसेन्ट प्रोटिन (जिएफपी) पत्ता लगाए डग्लसले। आफूले पत्ता लगाएको प्रोटिनबारे दुई वैज्ञानिक मार्टिन स्याल्फी र रोजन सेनसँग कुरा मात्र गरेनन्, बरु त्यसको उत्पादन तरिकासमेत बताए डग्लसले।

दुर्भाग्यवस क्याटलिन करिकोले झैं थप अन्वेषणका लागि डग्लस प्रेजरले पैसा जम्मा गर्न सकेनन्। क्याटलिन जस्तो अपमान सहेर युनिभर्सिटीमा बस्नुभन्दा अन्यत्र गएर काम गर्ने निधो गरे उनले। डग्लस युनिभर्सिटीबाट बिस्थापित भए भने उनीसँग वैज्ञानिक ज्ञान लिने मार्टिन र रोजरले जिएफपी प्रोटिनको क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत सन् २००८ मा रसायनशास्त्रको नोबल पुरस्कार पाए। उल्लिखित परिदृश्यले वैज्ञानिकहरूले डग्लस जस्तो सहज बाटो हिँड्ने होइन, बरु क्याटलिनको गाथा रोज्नुपर्छ भन्ने सन्देश दियो। विज्ञानका विद्यार्थीले मान/अपमानमा घोत्लनुभन्दा आफ्नो सपना साक्षात बनाउन निरन्तर लाग्नुपर्छ।

प्रकाशित: १ कार्तिक २०८० ००:२६ बुधबार

महावैज्ञानिकको महासंघर्ष