८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

समाजमा दाइजोको त्रास

विवाहको समयमा बेहुलीतर्फबाट बेहुला वा बेहुलाका परिवारलाई दिने नगद तथा जिन्सी सरसामान नै दाइजो हो। यसलाई तराई तथा मधेसतिर दहेज पनि भनिन्छ। सामान्यतः दैनिक जीवनमा चाहिने घरेलु सामान, जस्तै– फर्निचर, कपडा जस्ता सामग्री दाइजो दिइन्छ। सुन/चाँदी, हिरा/मोतीका महँगा गरगहना पनि दाइजोमा पर्छन्। समयक्रमसँगै आधुनिक सुविधाका सामग्री, जस्तै– टिभी, मोटरसाइकल, कम्प्युटर, कार जस्ता सामग्री पनि दाइजोका रूपमा दिइने गरेको पाइन्छ।

तराई मधेसका कतिपय ठाउँमा त केटाको पढाइ र जागिरलाई दाइजोको मानकका रूपमा पनि लिइएको पाइन्छ। जति धेरै पढाइ वा जागिरको कमाइ, उति नै  धेरै दाइजो!

सामान्यतः दाइजोलाई बेहुलीतर्फबाट बेहुलालाई विवाह गरेर जाँदा दिइएका उपहारका रूपमा अत्यन्त हलुका ढंगले लिएकोमात्र पाइन्छ। सतहमा त्यस्तो देखिए पनि गहिराइ भने अत्यन्त भयानक र दर्दनाक छ। किनकि दाइजो सामान्यरूपमा उपहारजस्तो बुझिन्छ। उपहार त दिए पनि हुन्छ र नदिए पनि हुन्छ। तर दाइजो त सदियौँदेखि हाम्रो समाजमा एक कुप्रथाका रूपमा जरा गाडेको छ।

दाइजो एक प्रथा भएकाले यो बाध्यात्मक छ। यसले समाजमा असमानता, उत्पीडन, हत्या तथा हिंसा जस्ता जघन्य सामाजिक अपराधलाई मलजल गरिरहेको छ। दिनहुँजस्तो हाम्रो समाजमा हुने महिला हिंसा, हत्या, आत्महत्याजस्ता घटना यसका ज्वलन्त प्रमाण हुन्। यस्ता घटनाको प्रमुख कारक दाइजो प्रथा हुने गरेको सम्बन्धित अनुसन्धानले पुष्टि गरेको छ। तसर्थ दाइजोले कस्ता/कस्ता समस्या एवं विसंगति निम्त्याउँछ र यसको समाधानका लागि के गर्नुपर्छ? भन्नेजस्ता कुरामा आमनागरिक सचेत हुनु जरुरी छ।

विवाहलाई हाम्रो समाजले पवित्र सांस्कृतिक तथा धार्मिक मान्यता प्रदान गरेको छ। यसलाई पुण्य साइत निकालेर गरिन्छ। यो मान्यताभित्र दाइजो दिनुपर्छ भन्नेबारे कहीँ कतै पनि उल्लेख छैन। तथापि एक पवित्र विवाह मण्डप दाइजोका लागि राखिएका रंगीचंगी भौतिक सामग्रीले भरिएको हुन्छ। यसरी सार्वजनिक ठाउँमा सबैलाई देखाउनका लागि राखिनुले दाइजो एक सामाजिक देखासिकी एवं प्रतिष्ठाको विषय रहेको प्रष्ट हुन्छ। सैद्धान्तिकरूपमा दाइजो लिनु/दिनुहुँदैन भनेर पढिए पनि व्यावहारिकरूपमा हामी विशेषतः बालबालिकालाई दाइजो विवाहको अनिवार्य सर्त पो रहेछ  भन्ने पाठ सिकाइरहेका हुन्छौँ।

अझ भन्नुपर्दा नेपालको तराई मधेसका कतिपय ठाउँमा त केटाको पढाइ र जागिरलाई दाइजोको मानकका रूपमा पनि लिइएको पाइन्छ। जति धेरै पढाइ वा जागिरको कमाइ, उति नै  धेरै दाइजो! सामान्यतः शिक्षालाई सामाजिक समस्या विवरणका लागि द्योतकका रूपमा लिइन्छ। तर दाइजो प्रथाका सम्बन्धमा भने विराधाभाष पाइन्छ। तसर्थ शिक्षित परिवारभित्र पनि दाइजो प्रथालाई प्रश्रय दिइनाले समाजमा यसले विकराल रूप लिएको छ। दाइजो प्रथा नराम्रो हो भन्ने सैद्धान्तिक ज्ञान हुँदाहँुदै पनि यो प्रथालाई प्रयोग गरिनुले यो एक गम्भीर समस्या हो भन्ने कुरा पुष्टि गर्छ। यो हाम्रो मानसिकतामा गाँसिएर बसेको छ। दाइजो प्रथाले समाजमा निम्त्याएका विसंगति निवारण गर्न हामी आफ्नो उत्तरदायित्व बहनतर्फ अग्रसर नभएको पुष्टि हुन्छ। यसर्थ आज हरेक सचेत नागरिकले दाइजो प्रथाले निम्त्याउने नकारात्मक पाटाहरुबारे संवेदनशील भएर मानसिक एवं सामाजिक परिवर्तनका लागि ऐक्बद्धता जाहेर गर्नुपर्ने बेला आएको छ।

दाइजो प्रथाका नकारात्मक पाटा धेरै छन्  यसको प्रभाव बेहुली पक्षलाई पर्न जान्छ। जुन विवाहको मगनीको बेलादेखि नै सुरु हुन्छ। किनकि अधिकांश विवाह (विशेषतः तराई मधेस) मा बेहुली पक्ष्।ले बेहुला पक्ष्।लाई के के दिनुपर्छ भनेर छिनोफानो हुन्छ। सर्त पूरा भएमात्र विवाह निाश्चित हुन्छ। कतिपय अवस्थामा विवाहअघि नै नगद आदि दाइजो दिइसक्नुपर्ने हुन्छ। सर्त पूरा नहुँदा विवाह नै भाँडिएका घटना पनि बेलाबेलामा बाहिर आइरहन्छन्। यसर्थ दाइजो बेहुली पक्षलाई आर्थिक तथा मानसिकरूपमा अत्यन्त बोझिलो सावित हुन जान्छ।

कतिपय परिवारले छोरीलाई शिक्षा दिएर सक्षम तुल्याउनुभन्दा पनि विवाहमा दाइजो दिन सम्पत्तिको जोहो गर्न थाल्छन्। अर्थ जुटाउनका लागि कतिपय परिवार आफ्नो पुर्ख्यौली सम्पत्ति बेच्न पनि बाध्य हुन्छन्। दाइजो प्रथाको आर्थिकभन्दा पनि सामाजिक र मनोवैज्ञानिक पाटो अझ विकराल छ। छोरा जन्मँदा खुशी हुने परिवारमा छोरीको आगमन हुँदा दुःखी हुन्छन्। दाइजोका लागि अब जोहो गर्नुपर्ने पनि छोरी जन्मिएकै दिनबाट सुरु हुन्छ। अर्को शब्दमा भन्नुपर्दा छोरीमाथिको लैंगिक विभेद गर्भबाटै सुरु हुन्छ।

भ्रुण हत्याबारे भएका अनुसन्धानले अधिकांश भ्रुण बालिकाको भएको पुष्टि गरेको छ। यसको प्रमुख कारण पनि दाइजोको मनोवैज्ञानीक आतंक नै हो। त्यसैगरी दाइजोको तराजुमा सामग्रीसँगै तौलिएकी बेहुलीलाई म एक पुरुष समान छैन भन्ने सन्देश दिइरहेको छ दाइजो प्रथाले। यो दृश्य देखेर हरेक अविवाहित केटाले आफू 'सुपेरियर' भएको र हरेक अविवाहित केटीले आफू 'इन्फेरियर' भएको महसुस गर्छन्। यसर्थ असमान 'जेन्डर आइडेन्टिटी' अर्थात लैंगिक पहिचान निर्माण गर्न दाइजो प्रथाले भूमिका खेलेको छ। 

त्यसैगरी दाइजोले सामाजिक समस्या एवं विकृति निम्त्याउन पनि ठूलो भूमिका खेलेको छ। बेहुली पक्षलाई दाइजोको रकम जुटाउन भ्रष्टाचार तथा हिंसा जस्ता कुकर्म गर्न बाध्य हुनुपरेको पनि विभिन्न घटनाक्रमले पुष्टि गरेको छ। अर्को भयानक कुरा त, दाइजो विवाहको दिनमा मात्र सकिन्न। त्यसलाई पनि सामाजिक र पारिवारिक प्रतिष्ठाका रूपमा पनि हेरिन्छ। मानौँ कुनै पनि समाजमा या परिवारमा देउरानी, जेठानीभन्दा कम दाइजो भएमा उक्त महिलामाथि विभेद गरिन्छ र त्यसैले पीडा निम्त्याउँछ। उनी पारिवारिकरूपमा बहिष्कृत हुनुपर्ने हुनसक्छ। यसका साथै यो विषयले घरझगडा पनि निम्त्याउन सक्छ। यसले अबोध बालबालिकामाथि नकारात्मक असर पर्न जानुका साथै कहिलेकाहीँ हत्या हिंसा पनि निम्त्याउन सक्छ।

यसर्थ आज सबैले भन्नुपर्छ कि दाइजो प्रथा होइन, यो एक कुप्रथा हो। यो एक सभ्य समाजको बाधक हो। यसको निवारणका लागि विभिन्न नियम कानुन नबनेका पनि होइनन्। नेपालको संविधान २०७२ ले महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिकरूपमा समान हुुनुपर्ने परिकल्पना गरेको छ। यसरी लैंगिक समानताको बाटोमा हिँडेको समाजमा विवाहको समयमा भने दाइजो प्रथालाई प्रथलनमा ल्याइनु आफैँमा विरोधाभाष हो। त्यसैले कानुनका पन्नाहरुमा मात्र सीमित नभई व्यवहारमै हामीले दाइजो कुप्रथालाई समाजबाट निराकरण गर्नुपर्ने आजको आवश्यक्ता हो।

सद्भावना दूत, बालविवाह एवं दाइजो उन्मूलन राष्ट्रिय अभियान नेपाल

प्रकाशित: २ फाल्गुन २०७३ ०४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App