८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

निर्धन अर्बपतिहरू

पैसाबाहेक जोसँग केही पनि छैन, उनीहरूलाई दार्शनिकहरू ‘निर्धन अर्बपति’ भन्छन्। ती अभागीहरू धनका चौकीदार मात्रै हुन्। आफ्नो त छँदै छ, पाएसम्म अरूको चलअचल सम्पत्ति कब्जा गरेर रमाएका छन् ती निर्धन अर्बपतिहरू। न कुनै स्कुल–कलेज, गुरुकुल आश्रम, परोपकार गृह वा अभिभावकशाला बनाए, न अरूका लागि केही गरे उनीहरूले। त्यस्ता मानिस बाँचेर के हुन्छ? मर्दा के हुन्छ?

जीवनलाई माया गर्नेहरू, सार्थक ठान्नेहरू, आफ्नो जीवनको केही आर्जन र समय उपकारमा लगाउनेहरू, राष्ट्र र समाजका लागि थोरै भए पनि योगदान गर्नेहरू अनि जीवन कर्तव्यमय होस् भन्नेहरू निर्धन अर्बपति होइनन्। मन, वचन र कर्मले जो दरिद्र छन्, उनीहरूसँग जतिसुकै सम्पत्ति भए पनि त्यो बेकार छ।

दलाई लामाको ‘द आर्ट अफ हेप्पिनेस’ (खुसीको कला) जगत्प्रसिद्ध ग्रन्थ हो। हाल चीनको दक्षिणी भूभागमा पर्ने तिब्बतको धनी परिवारमा जन्मेका थिए, लामा। तेन्जिङ ग्यात्सो (दलाई लामा) बीस जनाको संयुक्त परिवारमा हुर्के। ‘ताक्तसेर’ गाउँमा उनीहरू प्रसिद्ध जमिनदार थिए। एउटा ग्रन्थमा दलाई लामाले लेखेका छन्, ‘तिब्बतमा भोकमरी फैलिएका बेला एउटी महिला मरेको सानो बालक च्यापेर हाम्रो घरमा माग्न आइन्। हाम्री आमासँग उनले भनिन्–मलाई केही खानेकुरा दिएर बचाऊ, नत्र म यो लास खान्छु।’

मंगोलियन भाषामा दलाईको अर्थ हुन्छ–सागर। सागरजस्तो शान्त हुने स्वभावका ज्ञानी, निष्पाप र धीर स्वभावका महापुरुषलाई सर्वोच्च गुरु मानिन्छ। दलाई लामा त्यस्तो उपाधि पाउने चौधौं ज्ञानी हुन्। शंकराचार्य, जनक, दलाई, पोप सबै पद हुन्। जीवनलाई लोभमुक्त, भयमुक्त, शान्त र परोपकारी बनाउने उपाय बताउँछन् ज्ञानीजनले।

तेह्रौं दलाई लामाको मृत्युपछि बालक छिरिङलाई बौद्ध धर्म र उनको प्रारब्ध (पूर्वजन्म) बारे अनेक प्रश्न गर्दा उनी उत्तीर्ण भए। त्यसपछि ल्हासास्थित पोताला दरबारमा धर्मराजाका रूपमा उनको अभिनन्दन र अर्चना गरियो। सन् १९४० फेब्रुअरी २२ मा उनलाई एक हजार कोठा भएको पोताला दरबारको अधिपति बनाइयो। तिब्बतमा माओले सेना पठाएर कब्जा गरेपछि दलाई लामाले भागेर भारतमा शरण लिए। राजनीतिक रूपले उनी विवादमा परे। चीनले ‘पृथकतावादी’ भन्दै उनको भत्र्सना ग¥यो तर जीवनको गहिरो अर्थ बुझेका ती आध्यात्मिक गुरुका ग्रन्थहरू पढ्दा दलाई लामा बौद्धिक दृष्टि, सोच र परोपकारको परीक्षामा फेल भएनन्।

जेनी एडम्स, बार्बरा मिकुल्सी, मेरी रिचमन्ड, बिनोबा भावे, बाबा आम्टे, दयावीरसिंह कंसाकार, खगेन्द्रबहादुर बस्नेत, देवीप्रसाद उप्रेती आदि मात्र होइनन्, प्राचीनकालदेखि परोपकारमा संलग्न धेरैको खोजी हुन बाँकी छ।

काठमाडौं तलाछेंकी व्यापारीकी छोरी थिइन्–तारादेवी तुलाधर। उनी रक्तदान गर्ने प्रथम नेपाली महिला हुन्। सन् १९१८ मा उनका हजुरबुबा धर्मरत्न तुलाधर र पिता त्रिरत्न (ल्हासाका साहु) बाट उनले परोपकार र जीवनको अर्थ बुझिन्। नर्स पेसा अपनाउँदा धेरैको सेवा गर्न पाइन्छ भन्ने बुझेर उनले त्यसैमा आफूलाई समर्पण गरिन्। कुलीन, धनी र संस्कारी परिवारमा हुर्केकी तारादेवी तुलाधर नर्स भएपछि काठमाडौंका धनाढ्य परिवारका छोरी–बुहारीहरूले पनि त्यसमा सेवा गर्न थाले।

कालिम्पोङ (भारत) मा रहेको सेन्ट जोसेफमा पढेर फर्केपछि उनी इलाहावादस्थित कमला नेहरू स्मृति अस्पतालमा नर्सिङ पढ्न गइन्। त्यहाँबाट फर्केर धर्मकीर्ति विहारका भिक्षुणीहरूको सेवा गर्न थालिन्।

उनले दुई वटा ग्रन्थ लेखिन्, नेपाली र नेवारी भाषामा। मानिसमा जब ज्ञान, अध्यात्म र परोपकारको जागृति आउँछ तब ऊ धनलाई महत्व दिँदैन। जीवन अरूका लागि पनि फलदायी बनोस् भन्ने चाहन्छ। समाज र राष्ट्रको सम्पत्ति बन्छन् त्यस्ता मानिस।

काठमाडौं, पाटन र ललितपुरका नेवार समुदायले मनाउने सम्यक पूजा अर्चना वा आराधना मात्र होइन, प्राचीनकालदेखि चलेको जीवनशैलीको निरन्तर प्रक्रिया हो। दिपङ्कर बुद्धप्रति श्रद्धा र अनुराग व्यक्त गरिने सबैभन्दा ठुलो पूजा स्वयम्भूमा बाह्र वर्षको अन्तरालमा मनाइन्छ। त्यसबखत दान–दातव्यको होडबाजी चल्छ। परोपकार र सेवाको भावना पुनर्जागृत हुन्छ।

मानव जब लोभ, लालच, स्वार्थ, घृणा, आशक्ति र संकीर्ण सोचबाट माथि उठ्छ, ऊ स्वतः ‘बुद्ध’ (ज्ञानी) बन्छ। अट्ठाईस बुद्धमध्ये दिपंकर बुद्ध चौथो हुन्। सनातन धर्ममा सिद्धार्थ गौतमलाई भगवान् विष्णुको अवतार मानिन्छ। ‘जब मानवले सबैलाई आफ्नो ठान्छ, ऊ बुद्ध हुन्छ’ भन्नुहुन्थ्यो भिक्षु अश्वघोष।  

पंक्तिकारसँग कुरा गर्दै उहाँले धर्मग्रन्थहरू अध्ययन नगर्ने र सतही ज्ञान हुनेहरूले धर्मको अपव्याख्या गरिरहेको टिप्पणी गर्नुभएको थियो।

विसं १९५३ मा आर्य समाज स्थापना गर्ने माधवराज जोशी (शुक्रराज शास्त्रीका पिता) विद्रोही सनातनी थिए। हिन्दु धर्मको आवरणमा भएका शोषण अन्त्य गर्न मानवतावादी बन्नुपर्छ भन्ने उनको तर्क गलत थिएन। बाबुबाट प्रेरित शुक्रराज पनि विद्रोही भए। त्यसैले श्री ३ जुद्ध शमशेरको आदेशमा दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमासहित शुक्रराजले मृत्युदण्ड पाए। उनीहरूसँग प्रशस्त धन थिएन। समाजलाई चेतना दिने क्षमता थियो। निर्धन धनाढ्यहरू महमा डुबेर मरेको मौरीझंै जीवनलीला समाप्त गर्छन् तर थोरै मानिस जीवनरूपी उपवनमा रंगीचंगी पुतलीझंै उन्मुक्त भएर बाँच्ने गर्छन्।

२००२ सालमा झाडापखालाले काठमाडौंमा सयौं मानिस मरेपछि ३४ वर्षीय दयावीरसिंह कंसाकारको दयाको द्वार खुल्यो। उनले ‘समाजका लागि केही गरौं’ भन्दै युवावर्गलाई उत्प्रेरित गरे। परोपकार संस्था, परोपकार विद्यालय आदि खोले। सिरानीमुनि लाखौं रूपैयाँ लुकाउने धनीहरू त्यो बेला लज्जित भए, जब दयावीरलाई राष्ट्रले इज्जत गर्न थाल्यो। थुप्रै धनजुजुलाई टोलबाहेक कसैले चिनेको थिएन। आज पनि निर्धन अर्बपतिहरू धेरै छन्, जो समाज र राष्ट्रका लागि केही काम लाग्दैनन्। जन्मिन्छन्, मोज गर्छन् र अन्त्यमा ‘बेनाम’ बनेर मर्छन्।

स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको स्मृतिमा राखिएको नेहरू अन्तर्राष्ट्रिय पुरस्कारबाट संयुक्त राष्ट्रसंघका (प्रथम बौद्ध धर्मावलम्बी महासचिव) उथान्त, यहुदी मेनुहिम, केनेथ काउन्डा, मदर टेरेसा, जोसेफ टुची, नेल्सन मन्डेला, इन्दिरा गान्धी, ओलोफ पामे, यासेर अराफात आदि मात्र होइनन्, नेपाली समाजसेवी तुलसीमेहर श्रेष्ठ पनि सम्मानित भए। पच्चीस लाख भारतीय रूपैयाँको नगद पुरस्कार र प्रमाणपत्रले तुलसीमेहर मात्र सम्मानित भएनन्, नेपालकै इज्जत देशदेशान्तर फैलियो।

एक करोड नेपालीले हरेक दिन एक रूपैयाँ राष्ट्रका लागि समर्पण गर्दा मासिक तीस करोड रूपैयाँ जम्मा हुन्छ। दुःखी–पीडित र शिक्षा, स्वास्थ्यका आधारभूत सेवा नपाएका हजाराैं बालबालिकाको भविष्य उज्यालो बनाउन मद्दत पुग्छ। हरेक महिना फजुल खर्च गर्ने र समाजका लागि एक हजार रूपैयाँ दिन नचाहने दरिद्र अर्बपतिका गालामा चड्कन दिने यस्ता सत्कर्मले समाजमा चेतनाको आलोक देदीप्यमान बन्छ। के हामी त्यति पनि गर्न सक्दैनौं?  

प्रकाशित: १० चैत्र २०७९ ००:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App