लन्डनको ‘इलस्ट्रेटेड लन्डन न्युज’ पत्रिकाले सन् १८४५ मा एउटा समाचार छाप्यो। समाचार थियो, कालो रङको एउटा सुन्दर कुकुरले कुवामा हाम्फालेर आत्महत्या गर्यो। त्यसअघि पनि आत्महत्याका लागि मरिहत्ते गरेको सो कुकुरलाई सर्वसाधारणले एक पटक बचाइसकेका थिए तर यस पटक कसैले पनि बचाउन सकेन र आफ्नो इहलीला समाप्त पार्यो। अखबारमा कुनै पशुले आत्महत्या गरेको खबर यो पहिलो थिएन न त अन्तिम नै। सोही अखबारले एउटा हाँसले पानीमा आफैँलाई डुबाएर आत्महत्या गरेको, बिरालोले रुखबाट हाम्फालेर ज्यान गुमाएको खबर छापिसकेको थियो। बिरालोको आत्महत्याको कारण चाहिँ आफ्ना सन्तानको मृत्युपछिको पीडा भएकोे दाबी अखबारको थियो।
त्यसो त पशुहरुको मगज पनि कहिलेकाहीँ बिग्रन्छ। पशुहरु पनि तनावको शिकार बन्न पुग्छन्। मानिस पनि तनावकै कारण आत्महत्या गर्छन्। मानिस र जनावरमा केही बानी उस्तै पाइन्छन् तर आत्महत्या गर्ने बानी पनि उस्तै हुन्छ त? पशुले पनि जानी जानी आत्महत्या गर्छन् र?
यो प्रश्नको उत्तर मानिसले खोजेको वर्षौं भयो। दुई हजार वर्षअघि पनि युनानी दार्शनिक अरस्तुले एउटा घोडाको आत्महत्याको घटनाप्रति टिप्पणी गरेका थिए। उनकाअनुसार, घोडाले आफ्नै आमासँग यौन संसर्ग गरेको थाहा पाएपछि लज्जाका कारण समुद्रमा हाम्फालेर मर्यो।
ईशापूर्व दोस्रो शताब्दीमा ग्रिसेली विचारक क्लाडियस एलियनले त पशुहरुको आत्महत्याबारे किताब नै लेखेका थिए। उनले सो पुस्तकमा जनावरको आत्महत्याका २१ वटा घटना पस्किएका थिए। जसमध्ये एउटा डल्पि्कनको आत्महत्या पनि थियो। डल्पि्कन जानाजान आफैँ शत्रुनजिकै गयो र मानिसले त्यसलाई पक्डिए। स्वाभाविक रुपमा त्यस डल्पि्कनको हत्या भयो। यस्तै केही शिकारी कुकुर, जो मासु भनेपछि मरिहत्ते गर्छन्, तिनले खानै छाडेर ज्यान गुमाए। सो कुकुरले आफ्नो मालिकको देहान्त भएपछि यस्तो गरेको थियो। यस्तै एउटा चिल पनि आफ्नो मालिकको चितामा हाम्फालेको घटनालाई क्लाडियसले लेखेका थिए।
१९ औँ शताब्दीमा बेलायतमा जनावरहरुको आत्महत्यालाई लिएर सर्वसाधारणमाझ निकै चासो थियो। विलियम लाडर लिन्डसे नामक मनोवैज्ञानिकले लेखेका छन्, ‘पशु मानसिक तनावको अवस्थाबाट बच्न आत्महत्या गर्ने गर्छन्।’ त्यो बेला पशु हितका लागि काम गर्ने संगठनले पनि यस विषयमा निकै महत्व दिएका थिए। रोयल सोसाइटी फर प्रिभेन्सन अफ क्रुएल्टी टु एनिमल्स नामक संगठनले त पशुको दुःख मानिसकै जस्तो भएको भनी पैरवी गर्ने गर्छ।
बेलायतको म्यानचेस्टर विश्वविद्यालयका डन्कन विल्सनले २०१४ मा आत्महन्ता पशुबारे आफ्नो शोध छापेका थिए। १९ औँ शताब्दीमा पशुप्रेमीले तिनमा महसुस गर्ने तत्व भएको प्रमाणित गर्न लागिपरेका थिए। पशु या त दुःखका कारण या त रिसको झोंकमा आत्महत्या गर्ने गरेका छन्।
विल्सनले १८७५ को एउटा घटनालाई उदाहरण दिँदै भन्छन्, ‘बाह्रसिंघेलाई केही कुकुरले खेदे। पछाडि शिकारी कुकुर, अगाडि ठूलो भड्खालो। आफू लुछिएर मर्ने कि एकै पटकमा ज्यान गुमाउने भन्ने छनोटमा त्यो बाह्रसिंघेले भड्खालोमा हाम्फाल्ने निर्णय गर्यो।’
त्यसो त २० औं शताब्दीमा विज्ञानको प्रगतिसँगै पशुको आत्महत्या घटनालाई बढाइचढाइ प्रस्तुत गर्ने चलन निर्मूलजस्तै भयो। त्यो बेला आत्महत्यालाई बहादुरी मानिन्थ्यो। हिजोआज चाहिँ आत्महत्यालाई सामाजिक विकृति ठानिन्छ। त्यसो त पशुको आत्महत्याको प्रश्न भने टसको मस छैन।
इटालीस्थित क्याग्लियारी विश्वविद्यालयका एन्तोनियो प्रेतीले पशु आत्महत्याका बारे निकै अनुसन्धान गरेका छन्। उनी भन्छन्, ‘पशुले आत्महत्या गर्छ भन्नु नै गलत धारणा हो।’ उनले गएका ४० वर्षमा करिब एक हजारभन्दा बढी अनुसन्धानलाई मिहिन तरिकाले अध्ययन गरेका छन्। प्रेती यो उमेरमा आएर के भन्छन् भने, ‘पशुले कहिल्यै पनि जानाजान आत्महत्या गर्दैनन्।’
ग्रिसेली कथामा पशुको आत्महत्याका जुन कथा पाइन्छन्, ती कल्पनाशीलताको उदाहरण मात्र हुन्, सत्यता त्यसमा छैन भन्ने प्रेती ठान्छन्। ध्रुवीय क्षेत्रमा मुसाजस्ता जनावर लेमिङ् झुण्डका झुण्ड खोँचमा झरेर मर्छन्। पहिले पहिले तिनले सामूहिक आत्महत्या गरेको ठानिन्थ्यो तर वैज्ञानिकहरुले के पाए भने ती आफ्नै गल्तीका कारण झरेर मरेका हुन्। वास्तवमा लेमिङ्को संख्या यति बढी हुन्छ कि ती एक साथ एकठाउँबाट अर्को ठाउँ बसाइँ सर्दा बाटामा कैयौँको ज्यान जाने गर्छ।
आफ्नो मालिक मरेपछि तिनलाई पाल्ने पशुको मृत्युलाई धेरैले आत्महत्या ठान्छन् तर एन्टोनियो प्रेती चाहिँ मालिकको मृत्युपछि ती पशुको दैनिकीमा खलल पुगेपछि मृत्यु भएको मान्छन्। उनीहरुले जानीजानी देह त्यागेका होइनन्, वास्तवमा उनीहरु आफ्नो मालिकको उनीहरु यति आदी हुन्छन् कि उनीहरु अरुको हातबाट खानै रुचाउँदैनन्। यसैकारण तिनको मृत्यु हुन्छ।
यस तर्कले त स्पष्ट नै हुन्छ, ज्यादै तनावका कारण पशुलाई पनि गहिरो र नराम्रो असर पर्छ।
हालै मात्र मे महिनामा स्पेनको टेनेराइफमा सि वर्ल्ड वाटर पार्कमा अचम्मको घटना घट्यो। त्यहाँ पालिएका ह्वेल ट्याङ्कबाट निस्केर करिब १० मिनेटसम्म बसिरह्यो। पानीबाहिर निस्केको निकै समय भएपछि ह्वेलको मृत्यु भयो। यो मृत्युलाई प्रत्यक्ष देख्नेहरुले ह्वेलले आत्महत्या गरेको ठाने। तर जानकारहरुका अनुसार ह्वेल आफ्नो वातावरणबाट निकै तनावग्रस्त थियो। कहाँ समुद्रको राजा, कहाँ पार्कको ट्याङ्कमा उकुसमुकुसपूर्ण जिन्दगी! यही कारणले उत्पन्न तनावका कारण उसले मृत्यु रोजेको केहीको धारणा छ।
अमेरिकाको विलियम एन्ड मेरी कलेजकी बार्बरा किङ भन्छिन्, ‘पशुको सोच्ने क्षमता र महसुस गर्ने क्षमता कस्तो हुन्छ भन्ने बुझ्न जरुरी छ। के उनीहरु आत्महत्या गर्ने निर्णयमा साँच्चिकै पुग्न सक्छन् त?’ अधिकांश पशुले आत्महत्या गर्ने कारणमा मानिसको हस्तक्षेप नै हो। उनीहरुलाई जबरजस्ती बाँधिन्छ, सङ्कुचित पारिन्छ। कतिपय अवस्थामा तिनको शिकार पनि गरिन्छ।
चीनमा बाँधिएर राखिएको एउटा भालुले आफ्नो बच्चालाई सुरुमा मार्यो अनि त्यसपछि आफू पनि मर्यो। यस घटनाको ठीकअघि भालुको बच्चालाई सुई घोपेर शरीरबाट पित्त निकालिएको थियो। आफ्नो बच्चाको दुःख भालुले देख्न सकिन। उसले अझै बढी पीडाबाट बचाउन आफ्नै बच्चालाई मारी अनि आफू पनि मरी। पोथी भालुलाई लाग्यो– आमा–छोरा बाँचिरहे भने आउँदा दिनमा पनि यस्तै पीडा झेल्नुपर्छ। त्यसबाट जोगाउन उसले दुवैको इहलीला समाप्त पारी।
एन्तोनियो प्रेती चाहिँ भालुको यो क्रियाकलापलाई तनावको परिणाम ठान्छन्। बाँधेर राखिने जनावर प्रायः कैदबाट भाग्ने प्रयास गर्छन्, भाग्न सकेनन् भने आत्महत्या गर्छन्।
केही ह्वेल आत्महत्या गर्न पानीबाहिर आउँछन् तर केहीको धारणामा ह्वेल बाहिर आउनुको कारण उनीहरुमा रहेको रोग हो र त्यसबाट छटपटिएर किनारामा आएका हुन् तर त्यसलाई आत्महत्या भन्नु उचित हुँदैन भन्ने केही विशेषज्ञ मान्छन्।
त्यसो त जनावरमा पर्ने केही जीवाणु, परजीवी किटाणुका कारण पशुको दिमाग खल्बलिन पुग्छ। सोही कारण उनीहरुको मृत्यु पनि हुन्छ। जस्तो मुसाको दिमागमा असर पुर्याउने एउटा विषाणुका कारण मुसालाई बिरालोको डर हराउँछ र बिरालोका अघिल्तिर बिना डर हिँडडुल गर्छन्। यस्तो गर्दा तिनको ज्यान जानु स्वाभाविक हुन्छ। यस्ता रोगी मुसालाई जुन बिरालोले खान्छ, ती बिरालालाई पनि यो रोग सर्छ। यस्तै एक किसिमको विषालु च्याउको रस खाने केही कमिलाको दिमागमा नकारात्मक असर पुर्याउँछ र मृत्युसमेत हुन्छ।
त्यस्तै केही माकुरा आफ्ना सन्तानको आहारा बन्न तिनको नजिक पुग्छ। यसलाई आत्महत्या ठान्नुभन्दा पनि सन्तानप्रतिको चिन्ता मान्नु उचित हुनसक्छ। आत्महत्या त त्यो हो, जसमा नियतवश कसैले ज्यान गुमाउँछ। अधिकांश जनावरहरु मर्छन् तर त्यसमा उनीहरुको नियत मर्ने नै हुन्छ त?
अमेरिकी विशेषज्ञ बार्बरा किङको धारणा छ, ‘हामीले अझै पनि पशुको दिमागलाई राम्रोसँग बुझ्न सकेका छैनौँ। त्यसैले तिनले आत्महत्या गर्छन् कि गर्दैनन् भन्ने उत्तर दिन ज्यादै गाह्रो कुरा हो।’ आत्महत्याको तयारी गर्नु भनेको यो संसारमा हाम्रो अवस्थालाई राम्रोसँग बुझ्नु र त्यसको भविष्यका बारेमा आँकलन गर्न सक्नु हो।
मानिसले यस्तो आँकलन गर्न सक्छन्। हाम्रो नियन्त्रणबाहिरका कुराको चिन्ताले हामीलाई सताउँछ। कतिपय मानिस यो चिन्तालाई जित्छन्, कतिले जित्दैनन्। डिप्रेसनको शिकार भएकाहरु त्यस तनाव र चिन्तालाई जित्न सक्तैनन्। तिनलाई आफ्नो भविष्य डरलाग्दो लाग्छ।
केही पशु मानिसलेजस्तै आफन्तको मृत्युको वियोगमा विलाप गर्छन्। तिनले आफ्नो साथीको मृत्युमा शोक मनाउँछन्। मृत शरीर देखेर डराउँछन् तर तिनलाई मृत्युसँग डर लाग्छ भनेर ठोकुवा चाहिँ गर्न सकिँदैन। तिनले यस्ता कुरा चाहिँ बुझ्न सक्तैनन्।
अर्थात् पशु खराब अवस्थाबाट डराउँछन्। यही कारण जेब्रा बाघ वा सिंहको नजिक जाँदैन। उनीहरुलाई खतराको आशंका र महसुस हुन्छ। त्यो महसुसले तिनलाई डर लाग्छ।
खतरासँग डराउने भावले नै पशुलाई जिउँदो राखिरहन्छ। विज्ञहरुका अनुसार मानिस मात्र यस्तो प्राणी हो जसलाई आफ्नो मृत्युको महसुस हुन्छ। आत्महत्या आफ्नो मृत्युको समयलाई नजिक ल्याउनु र त्यसलाई सुनिश्चित गर्नु हो। अहिलेसम्मको अध्ययनबाट पशुहरुमा मानिसको जस्तो अनुभूति पाइएको छैन।
(बिबिसी अर्थबाट अच्युत कोइरालाको अनुवाद)
प्रकाशित: ५ भाद्र २०७३ ०३:१२ आइतबार