राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले नेपालमा समानान्तर रुपमा अस्तित्वमा रहेका दुई संघलाई एक बनाउन सके आइसिसीले निलम्बन फुकुवा गर्ने आस्वासन दिएको बताएका छन् । त्यसका लागि आफूले पहल थालिसकेको बताउँदै उनले भने, 'हामीसँग अब मिलेर अघि बढ्नुको विकल्प छैन ।'
राखेपको सहमतिविना भएको निर्वाचनबाट चतुरबहादुर चन्दको अध्यक्षतामा मंसिर २९ मा क्यानको कार्यसमिति चुनिएको थियो । त्यसलाई मान्यता नदिएको राखेपले पुस २४ मा तीन महिनाभित्र चुनाव गर्ने म्यान्डेटसहित रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति बनाएपछि लामो समयदेखिको क्रिकेट विवाद उत्कर्षमा पुगेको थियो । तदर्थ समिति बनाएको चार दिनपछि चन्द पक्षले सर्वोच्च अदालतमा दायर गरेको मुद्धा विचाराधिन अवस्थामा छ । आइसिसीले जकडिएको यही अवस्थाका कारण आन्तरिक विवाद समाधान नभएसम्मका लागि भन्दै निलम्बन गरेको थियो ।
'हामीले चन्दजीहरुसँग कुरा गरिरहेका छौं । उहाँहरु पनि समस्या समाधानका लागि सकारात्मक हुनुहुन्छ,' विष्टले भने, 'हामी आइसिसीसँगको सम्पर्कमा छौं । सरोकारवालाहरु सबैसँगको छलफलबाट उपयुक्त निकास निकाल्नेछौं ।'
समानान्तर हैसियतमा रहेका दुवै संघका पदाधिकारीहरुले समस्या समाधानका लागि आफू लचिलो हुने बताएका छन् । निर्वाचित संघका अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेट विकासका लागि नियमभित्र रहेर सम्भव भएसम्म आफूहरु लचिलो हुने बताए । 'हामी क्रिकेट विकासमा दशकौं देखि लागेका मानिस हौं । त्यसैले क्रिकेटलाई दीर्घकालिन समाधानका लागि हामी नियमभित्र रहेर हुन सक्ने सबै त्यागका लागि तयार छौं,' चन्दले नागरिकसँग भने ।
यसैगरी राखेपले बनाएको तदर्थ समितिका अध्यक्ष सिलवालले समाधानका लागि आफू पछि हट्न पनि तयार रहेको बताएका छन् । 'आइसिसीले आफै समस्या समाधान गर्न आए म पछि हट्न तयार छु,' निलम्बनको अवस्था आउनुमा सवै पक्षको गल्ती भएको बताउँदै उनले भने, 'सरकारले तदर्थ समिति बनायो । अदालतले समयमा निर्णय गरेन ।'
सिलवालले चन्द पक्षले मुद्धा फिर्ता लिए सहमतिका लागि सँगै बसेर छलफल गर्ने वातावरण बन्ने बताए ।
आइसिसीका सञ्चार प्रमुख सामी उल हकले नेपालबारे विशेष रणनीति बनाउन लागेको जानकारी गराएका छन् । 'हामी नेपालवारे रणनीति बनाउँदैछौं । चाढै यो काम सम्पन्न गरेपछि आइसिसी अघि बढ्नेछ,' उनले भने ।
राष्ट्रिय टोलीका कप्तान पारस खड्का आइसिसीको निर्णयले नेपाली क्रिकेटमा दिगो समाधान दिने आशामा छन् । नेपाली क्रिकेट अव सुन्यबाट अगाडि बढ्ने आशामा रहेका उनले नागरिकसँगको कुराकानीमा भने, 'निलम्बन भन्ने सव्द सुन्न राम्रो लाग्दैन । तर यसले दीर्घकालिन समाधान दिन पनि सक्छ । यो विवाद सुल्झाएर नेपाली क्रिकेटलाई विकासको बाटोमा अघि बढाउन सहयोगी हुन सक्छ ।'
आइसिसीले निलम्बनको निर्णयपछि नेपाली क्रिकेटको विवाद समाधानका लागि आफ्ना प्रतिनिधि पठाएर पहल गर्ने बताएको छ । त्यसअनुसार चाढै आइसिसीले आफै नेपाल आएर राष्ट्रिय टोलीको व्यवस्थापन सम्हाल्नेछ । 'आइसिसीले आफ्ना प्रतिनिधि पठाएर नेपालमा सबै सरोकारवालासँग छलफल पछि अघि बढ्ने भनेको छ,' पारसले भने, 'आस गरौं आइसिसीले चाढै त्यो काम गरोस । नेपाली क्रिकेटमा उत्तरदायी र जिम्मेवार अधिकारीहरुलाई नियुक्त गरोस । र क्रिकेटलाई नयाँ ढंगबाट अघि बढाउन सहयोग गरोस भन्ने हाम्रो आशा छ ।'
आइसिसी नेपाली क्रिकेटका सबै समस्यासँग परिचित भएको बताउँदै नेपाली क्रिकेटका एक अनुभवी पदाधिकारीले भने, 'अव गर्नुपर्ने काम पनि उनीहरुलाई थाहा छ । स्वच्छ निर्वाचनका लागि आइसिसीले नेपालमा नर्मलाइजेसन कमिटी बनाएर अघि बढ्ने सम्भावना छ । साथमा निर्वाचनले नयाँ बोर्ड चयन नगरेसम्मका लागि त्यही कमिटीले आइसिसीको प्रत्यक्ष निगरानीमा क्रिकेट गतिविधि अगाडि बढाउने छ ।'
प्रकाशित: १४ वैशाख २०७३ १९:५९ मंगलबार