३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

देउवाजीको जवाफ आउन बाँकी छ

नेपाली कांग्रेसको शीर्ष तह पछिल्लो पटक सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडल (सुशेरा) ले धानेका थिए। सुशीलको निधनपछि अब कांग्रेस नेतृत्व शेरबहादुर र रामचन्द्र (शेरा) मा खुम्चनु स्वाभाविकै हो। यतिबेला कांग्रेस महाधिवेशनको तीव्र तयारीमा छ। पार्टीको सर्वोच्च पद सभापति सम्हाल्न पनि यी दुवै नेताको उत्तिकै हतारो देखिएको छ। आफू 'टेस्टेड' नभएको, अहिले पार्टीले अंगालेको विचारको दरिलो वकालतकर्ता पनि आफैँ भएको दाबी गर्ने कार्यबाहक सभापति रामचन्द्र पौडेल यसैलाई आफूले जित्ने आधारसमेत बताउँछन्। उनीसँग महाधिवेशनमा केन्द्रित भई नागरिकका गुणराज लुइँटेलबालकृष्ण अधिकारीले गरेका कुराकानी:१३औं महाधिवेशनको मिति नजिकिएको छ, तयारी कस्तो छ?
साथीहरुसँग भेटघाट भइरहेका छन्। सभापति सुशील कोइरालाको आकस्मिक निधनले अधिवेशनको तालिकामा केही फेरबदल भए पनि गाउँदेखि क्षेत्र हुँदै जिल्ला अधिवेशनहरु सकिने चरणमा पुगेको छ। साथीहरुलाई अधिवेशनले उत्साहित बनाएको छ।

महाधिवेशनमा तपाईँको तयारीचाहिँ?
पार्टीका नेता तथा कार्यकर्ताले सुशीलजी, म र शेरबहादुरजीलाई नेता मान्दै आउनुभएको थियो। अब सुशीलजी हामीमाझ रहनुभएन्। शेरबहादुरजीले फेरि नेतृत्वका लागि चुनाव लड्दै हुनुहुन्छ भन्ने सुनेको छु, म स्वाभाविकरूपमा सभापतिको प्रत्यासी बन्दैछु।

तपाईँलाई संस्थापन पक्षकै नेताहरुको साथ रैनछ, कसको उमेदवार?
देशभरका साथीहरु मेरो पक्षमा छन्। उनीहरुको चाहना र भावनाअनुसार सभापतिमा प्रस्तुत हुन लागेको हुँ।

पार्टीभित्रका केही साथीले आफ्नो स्थान र भूमिका खोज्दै आएका छन्। दुई महामन्त्री, एक उपसभापति, संसदीय दलको नेता पदमा सिनियर साथीहरुलाई मिलाएर लैजाने प्रयासमा छु। पदाधिकारीको संख्या बढाउन सकियो भने अरु साथीलाई पनि समेट्न सकिन्छ।

वरिष्ठ नेता शेरबहादुर देउवा पदाधिकारी बढाउने पक्षमा हुनुहुन्न, तपाईँमात्र लागेर कसरी बढ्छ त?
पदाधिकारी थप गर्ने विषयमा पार्टीभित्र दुई धार देखिएको छ। हाम्रा प्रतिस्पर्धी दलहरुले पदाधिकारीको संख्या बढाएकाले पनि हामीलाई त्यसको दबाब छ। तर, शेरबहादुरजीसहित केही साथी पदाधिकारी थप गर्न हुन्न भन्नेमा हुनुहुन्छ। धेरै साथीको कुरा बढाउनुपर्छ भन्ने छ। केन्द्रीय समिति र साथीहरुले के भन्नुहुन्छ मैले त्यही गर्ने हो।

टिम व्यवस्थापन गर्न पदाधिकारी बढाउने प्रस्ताव गर्न लाग्नुभएको हो?
मेरो टिम व्यवस्थापन गर्न वा साथीहरुलाई मिलाउन भन्ने कुरा होइन। केन्द्रीय समितिले नै विधान संशोधनका लागि समिति गठन गरेको छ। पार्टीले महाधिवेशन तयारी समितिहरु गठन गर्दा नै संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा विधान संशोधन समिति गठन भएको छ। उहाँ जिल्ला अधिवेशनका क्रममा गृह जिल्लामा हुनुहुन्छ। काठमाडौं आउनुभएपछि समितिले विधान संशोधन प्रस्ताव बैठकमा पेस गर्छ।

सभापतिमा धेरैले आकांक्षा राख्दै आएका छन्, तपाई नै उमेदवार किन हुनुपर्यो भन्या?
२०१७ सालमा राजाले जननिर्वाचित सरकार अपदस्त गरेसँगै म निरन्तर लोकतन्त्रको लडाइँ लड्दै आएको छु। राजाको कुसँगै कांग्रेसमा सक्रिय भएर २०१८ सालमा स्वतन्त्र विद्यार्थी युनियनको जग बसालेको हुँ। त्यसपछि निरन्तररूपमा पार्टी र देशको सेवामा सक्रिय छु।

संविधान सभाबाट संविधान लेख्ने नेपाली जनताको ६५ वर्ष लामो चाहना कांग्रेस नेतृत्वमा पूरा भएको छ। संविधानले जुन लक्ष लिएको छ त्यसलाई कांग्रेसले पूरा गर्नुपर्छ। कांग्रेसले मात्र संविधानको मर्म र भावना बुझेर अघि बढाउन सक्छ। संविधानका परिवर्तनकारी प्रावधानलाई प्रजातान्त्रिक समाजवादको दर्शनमा आबद्ध गराएर व्यवस्थित गर्नुपर्ने छ। समयमा नै व्यवस्थित गर्न सकिएन भने परिर्वतन भद्रगोलमा जान सक्छ। त्यसले लक्ष्य प्राप्त गर्न सक्दैन। संविधानले परिकल्पना गरेका व्यवस्थालाई प्रजातान्त्रिक समाजवादभित्र ल्याएर म व्यवस्थित गर्न चाहन्छु। त्यसका लागि मेरो उमेदवारी हो।

त्यसका साथै नेपालमा लोकतन्त्रको लडाइँ लड्दै गर्दा आर्थिक समाजिक विकासको आफ्नो दृष्टिकोण र लक्ष्य छन्। ती लक्ष्य पूरा गर्न आफँैले सोचेर आफँैले गर्ने अवसर मैले पाएको छैन। सशक्त पार्टी र कांग्रेसको उत्थान देशभरका साथीहरुको अपेक्षा हो। मैले गरेको काम पार्टीका सबै साथीले देख्नुभएको छ। मेरो नैतिकता र आजसम्मको संघर्ष हेर्नुभएको छ। म आजसम्म कहीँ चुकेको र विचलित भएको छैन। यो उमेरमा रामचन्द्रले पार्टी नेतृत्व लिनु न्यायोचित हो भन्ने साथीहरुको धारणा र भावना प्रतिनिधित्व गर्न उमेदवार बन्ने हो।

प्रजातान्त्रिक समाजवाद त कांग्रेसले भन्नेमात्र हो, छाडिसक्यो भन्छन् नि बाहिर त?
छाडेको छैन। हामी प्रजातान्त्रिक समाजवादको नीति र सिद्धान्तअनुसार नै अघि बढिरहेका छौं। व्यक्तिगत सम्पत्ति उन्मूलनलाई कांग्रेसले स्वीकार गरेको छैन। निजी लगानीका अवसरलाई बढावा दिँदै त्यसलाई प्रश्रय दिनुपर्छ भन्ने पक्षमा हामी छौं। त्यसले आर्थिक समृद्धि बढाउँछ। साथै, सामाजिक न्यायसहितको आर्थिक समृद्धि हुनुपर्छ भन्ने कांग्रेसको लक्ष्य हो। अहिलेको संविधानले निजी, सार्वजनीक, सहकारीलाई अर्थतन्त्रको तीन खम्बाका रूपमा स्वीकार गरेको छ। प्रजातान्त्रिक समाजवाद बुझेको व्यक्तिले नै पार्टी नेतृत्व सम्हाल्नुपर्छ। नीति र नेता एउटै हुनुपर्छ। नीति एउटाको नेता अर्को हुँदा काम हुँदोरहेनछ।

नेपालको राजनीतिमा यतिबेला कांग्रेसको स्थान कहाँनेर छ?
नेपालको राजनीति अहिले जटिल अवस्थाबाट गुजि्ररहेको छ। त्यसलाई व्यवस्थित गर्दै हाम्रो पार्टी अघि बढ्दै आएको छ। देशमा धेरै अतिवादी सोच छन्। त्यसबाट जोगाएर देशलाई भड्काउमा जान नदिइ आन्दोलनका उपलब्धि संस्थागत गर्दै बीचको बाटोबाट देशलाई जोगाएर लैजान भूमिका निर्वाह गरिरहेका छौ। लोकतन्त्रको आधारभूत सिद्धान्त जोगाउँदै सामाजिक न्यायको पक्षलाई उत्तिकै महत्व दिँंदै संविधान निर्माणको भूमिका निर्वाह गर्नु सानो कुरा होइन।

संविधानलाई लिएर मधेसमा त्यति लामो आन्दोलन भयो, अझै असन्तुष्टि बाँकी छ त?
संविधान निर्माणपछि मधेसका जनतामा निश्चय नै केही गुनासा रहे। संविधान संशोधनमार्फत मधेसका गुनासा समाधान गर्ने काम भयो। अब विस्तारै मधेस सहज बन्दै गएको छ। यो कांग्रेसकै देन हो। कांग्रेस, मधेस र लोकतन्त्र जोल्ठिएका विषय हुन्। मधेसका साथीहरुसँग परामर्श गरेर संविधानमा अझै संशोधन गर्न कांग्रेस तयार छ। मधेसको भावना सम्बोधन गर्नुपर्छ। हिमाल, पहाड तराई/मधेसलाई एकताबद्ध गरेर मुलुकलाई आर्थिक विकासको बाटोमा अघि बढाउनुपर्छ। त्यही भूमिका हिजो र आजमात्र होइन, भोलि पनि निर्वाह गर्नेछ।

नीति मेरो हो, नेतृत्व पनि मैले पाउनुपर्छ भन्न खोज्नुभएको हो?
संविधानले ल्याएका परिर्वतनका लक्ष्य प्राप्त गर्ने सोच र कार्यक्रम महाधिवेशनले बाहिर ल्याउनेछ। त्यसको पहल मैले गरिरहेको छु। पार्टीको वैचारिक विषयमा लेख्ने/बोल्ने मैले नै प्रयत्न गरिरहेको छु। किसुनजी प्रधान मन्त्री हुँदा निमुखालाई न्याय, विपन्नलाई आय कार्यक्रम चलाउन सुझाव दिएँ। ग्रामीण स्वावलम्बन कार्यक्रम भनेर हरेक गाउँमा बाटो, पानी, शिक्षा, स्वास्थ्यसहित हरेक कुरा पुर्यालउन गिरिजाबाबु प्रधान मन्त्री हुँदा कार्यक्रम बनाएर दिएँ। मैले सोचेर कार्यक्रम बनाएर दिएँ तर जसले गरिदिनुपर्ने हो उहाँहरुले गर्नुभएन। आफूले सोचेको कुरा आफैँ लागु गर्न पाए देश, जनता र पार्टीले एउटा अनुभव गर्छ भन्ने हो।

नीति तथा कार्यक्रममा नयाँ केही छैन, विगतको निरन्तरतामात्र हो भन्ने आरोप छ नि?
त्यस्तो छैन। राम्रोसँग पढ्ने हो भने त्यसमा धेरै गहकिला कुरा छन्।

केन्द्रीय सदस्यले नै केही छैन भनेको कुरामा जनताले कसरी विश्वास गर्लान् र कांग्रेसप्रति आकर्षण बढाउला?
अप्ठेरो परिस्थितिमा पार्टीभित्र छलफलका लागि पठाइएको हो। त्यो पूर्ण होइन। त्यसमा धेरै परिमार्जन गर्नुपर्ने आवश्यकता छ। मधेसका सवालमा पनि केही गर्न बाँकी छ।

अब के के गर्न बाँकी छ त्यसमा?
मधेसको सवालमा प्रदेशको सीमांकन, नागरिकता, भाषा आदि माग अहिले पनि उठिरहेका छन्। संविधान संशोधनले समेट्न नसकेका विषय कसरी समाधान गर्ने भन्ने कुरा नीति तथा कार्यक्रममा आउँछ।

प्रदेशको सीमांकन हेरफेर हुन्छ त?
त्यहाँ पनि सुधार हुन सक्छ। अहिले जस्तो छ त्यस्तै हुनुपर्छ भन्नेमा कांग्रेस छैन। उचित र प्राकृतिकरूपले पनि न्याय हुने गरी गर्नुपर्छ भन्ने हाम्रो धारणा हो। छलफलपछि निष्कर्षमा पुग्छौँ।

नेतृत्वका लागि महिनौदेखि तपार्इँहरु सक्रिय हुनुहुन्छ तर नीति तथा कार्यक्रम बनाउनचाहिँ चासो त देखिएन नि?
नेतृत्व चयनमा केन्द्रित हुँदा नीति निर्माणमा ध्यान नपुग्ने भयो भनेर माघ २२ गते नै सबै जिल्लालाई नीति तथा कार्यक्रमको मस्यौदा पठाएको छु। चुनावै चुनावको कुरा होला, नीतिमा ध्यान नपुग्ला भनेर तल्लो तहसम्म छलफल होस् भनेर लागिपरेका छौँ।

महाधिवेशनपछि कांग्रेसको पार्टी संगठन र मुलुक निर्माणमध्ये प्राथमिकता के हुन्छ?
संविधान कार्यान्वयन नै कांग्रेसको पहिलो प्राथमिकता हो। संविधानले गरेका नयाँ व्यवस्था लागु गर्दै स्थानीय, प्रदेश र आमनिर्वाचनका लागि कानुन निर्माण गर्नु छ। त्यसका साथै विकासको जग पनि हामीले बसाल्नु छ।

संविधान कार्यान्वयनका लागि पार्टीको संघीय संगठनहरुको स्वरूप पनि परिर्वतन गर्नुपर्ला नि, अब कांग्रेसको सांगठनिक स्वरूप कस्तो हुन्छ?
मुलुक एकात्मक व्यवस्थाबाट संघात्मकमा गएसँगै पार्टी संगठनको स्वरूप पनि त्यहीअनुसारको हुनुपर्छ, हुन्छ। संविधानले परिकल्पाना गरेअनुसार पार्टीको जीवनलाई परिर्वतन गर्नुपर्छ।

संगठनको स्वरूप परिर्वतन गर्नभन्दा नेताको व्यवस्थापनमा तपार्इँहरुको ध्यान छ नि?
नेताहरुको व्यवस्थापनको कुरा होइन, संघीयतासहितको मुलुकको जुन परिर्वतन भएको छ त्यसको व्यवस्थापनका लागि विधान संशोधन गर्नुपरेको हो। प्रदेश र केन्द्र, प्रदेश र प्रदेश, जिल्ला र स्थानीय निकायबीच सम्बन्धका लागि पार्टीले मेहनत गर्नुपर्ने अवस्था छ। त्यसअनुसारका पद सिर्जना हुन्छ।

भन्नाले के के?
विभिन्न सुझाव आएका छन्, त्यो छलफलकै क्रममा छ। सबै साथीसँग छलफल गरेर त्यसलाई टुंगोमा पुर्याीउँछौँ। मैलेमात्र यस्तो हुनुपर्छ भन्ने कुरा होइन।

सभापतिको निधनअघि भागबन्डाबाट पार्टीलाई मुक्त गर्न उमेदवारी दिने बताउँदै आउनुभएको थियो। अहिले फेरि त्यही गुटको उमेदवार भन्न लाग्नुभएको छ, होइन?
मेरो चाहना हिजो र आज पनि पार्टीलाई एकाकार गरेर लैजानै प्रयत्नशील छु तर शेरबहादुरजीले एउटा समूह लिएर स्ट्यान्ड गरिसकेपछि बाँकी साथी मतिर रहनु स्वाभाविक हो। पार्टीलाई भागबन्डा र विभाजन गर्ने होइन यसको अन्त्य गर्ने लक्ष्य र एजेन्डाका साथ सभापतिको प्रत्यासी बन्दैछु। भागबन्डाको राजनीतिले तलदेखि माथिसम्म दूरी बढ्यो। गुट होइन, मूल्याङ्कनका आधारमा जिम्मेवारी दिने पद्धति बसाल्नुपर्छ। अब पार्टीलाई चिरा पर्नबाट जोगाउनुपर्छ ।

संस्थापनमै चिरा परेको छ। पार्टीलाई कसरी मिलाउनुहुन्छ?
लोकतन्त्रमा आकांक्षा राख्नु अस्वाभाविक होइन तर सभापतिमा प्रतिस्पर्धा शेरबहादुरजी र मेरै हुने हो।

अरुले पनि तपाईँलाई सजिलै छाड्ने छाँट छैन त?
युवा नेतृत्वको कुरालाई पनि म इन्कार गर्दिन। उहाँहरु पनि संगठनमा सक्रिय हुनुभएकै छ। उहाँको सोच र माग सम्बोधन गर्ने गरी नै पार्टी अघि बढाउँछु।

पहिलो पुस्ताले बिदा लिनुपर्छ भन्ने आवाज पनि छ। नयाँलाई नेतृत्व हस्तान्तरण गरिदिए हुन्न? आफैँ हुनुपर्ने?
तीन जना अब थान्को लाग्नुपर्योभ भन्ने आवाज पनि कतैबाट आएको छ। तर सबैलाई एउटै टोकरीमा हाल्नुभएन। दुई जना त टेस्टेड मान्छे हो तर म होइन। मैले परीक्षा दिन पाउनुपर्छ। अर्को मेरा सोच पार्टीका लागिमात्र होइन, देशकै लागि आवश्यक छ।

पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने तपाईँसँग त्यस्तो के कार्यक्रम र योजना छ?
नेपाली समाजमा विभिन्न विचार असंगठितरूपमा आइरहेका छन्। त्यसलाई निश्चित आदर्श, सिद्धान्त र दर्शनमा मुलुकको राजनीति ढाल्ने, असम्मानित बन्दै गएको राजनीतिलाई सम्मानित बनाउन लागिपर्नेछु। सुशासनको माध्यमले राष्ट्रको उन्नति अघि बढाउने छु। विकासमुखी राजनीति र विकासमुखी कार्यकर्ता बनाउन चाहन्छु ।

मुलुक र संगठनलाई राम्रो बनाउन सभापति नै चाहिने हो र? पार्टीको महत्वपूर्ण जिम्मेवारीमा बस्दै आउनुभएको छ त?
पार्टीको जिम्मेवारीमा छु तर म निर्णायक नेता होइन। सभापति नै पार्टीको सबैभन्दा शक्तिशाली पद हो। उसैले नै आफ्ना नीति कार्यक्रम लागु गर्छ र पार्टीलाई अघि बढाउँछ।

संसदीय दलको नेता, उपसभापतिको जिम्मेवारीमा भएको व्यक्ति निर्णयक होइन भन्न मिल्छ?
संसदीय दलको नेता भएँ तर पार्टी अत्यन्तै खुम्चेको बेलामा तर पनि मैले त्यहाँ प्रभावकारी भूमिका निर्वाह गरेँ। त्यसकै कारण दोस्रो संविधान सभा निर्वाचनमा पार्टी पहिलो बन्न पुग्यो। नीति तथा प्रशिक्षण विभागको प्रमुखका रूपमा देशभरको संगठन चलायमान बनाएँ। साथीहरुको मुखमा मैले गरेको काम झुण्डिएको छ। पार्टीमा मैले सीमित अवसर पाए पनि काम गरेर देखाएको छ। सिंगै नेतृत्व पाए पार्टीलाई अझ चलायमान बनाउन सक्छु।

मतलव पद नपाएसम्म संगठन नगर्ने?
जहाँ जति अधिकार पाएँ, इमानदारीपूर्वक पार्टी र मुलुकको हितमा काम गरेको छु। सुशीलजी सभापति हुनुहुन्छ भनेर पार्टी चलायमान नहोस् ठप्पै होस् भनेर कहिल्यै बसिन। काम गरी नै रहेँ। कांग्रेस संगठन चलायमान मैले नै बनाए। मैले जुन कुरा गर्नुपर्छ भन्दै आएको छु त्यसबाट पलायन हुनुभन्दा लागु गर्न लाग्नुपर्योे। त्यसबाट भाग्न मलाई नैतिकताले दिंँदैन।

अरुलाई अघि लगाउँदा जिम्मेवारीबाट भागेको भन्ने हुन्छ र?
धेरैलाई अघि लगाएर मैले काम गरेँ। किसुनजी, गिरिजाबाबु, सुशीलजी र शेरबहादुरजीलाई अघि लगाए। अब आफैं अघि लागेर काम गर्दा कस्तो हुँदोरहेछ, पार्टी र देशले अनुभव गरोस् र साथीहरुले पनि अनुभव गर्न पाउनुपर्छ भन्नेमा छु।

विगतमा नै पार्टी विभाजन गर्न लागिपर्नुभएको रहेछ अनि संस्थापनका नेताले तपाईँलाई कसरी विश्वास गर्छन्?
त्यो गलत कुरा हो। पार्टी फुटाउन होइन, शेरबहादुरजीलाई पार्टीबाट निष्काशन गर्नभन्दा नसिहत दिएर एक पटकलाई छाडिदिउँ भनेर पहल गरेको हुँ। त्यो कारबाहीले पार्टीलाई विभाजनतिर लैजान खोज्यो, त्यसलाई रोक्न शैलजाजी, चक्रप्रसाद बास्तोला र मैले पहल गरेका हौँ।

शेरबहादुरजीलाई मैले पहिले नै भनेको थिएँ– तपाईँलाई जोगाउन म पराकास्टसम्म जान तयार छु। तर पार्टी फुट्ने नै हो भने त्यसबेला साथ दिन सक्दिन। त्यसका लागि हामीले अन्तिमसम्म प्रयास गर्यौंम, गिरिजाबाबुलाई गएर ल भइहाल्यो माफी भयो भनिदिनूस्, त्यहाँ भएका मान्छे तपाईँलाई जिन्दावाद भनेर फर्कन्छन् भन्यौ। चुनाव हुनै नसक्ने अवस्थामा संसद भङ्ग गरे चुनाव हुनै सक्दैन। यसलाई मौका छोपेर राजाले सत्ता लिन्छन्, प्रजातन्त्रलाई खतरा पार्ने काम गरेकाले माफ गर्न सकिंदैन, केही न केही सजाय पाउनुपर्छ बरु पछि क्षमता दिउँला तत्कालै म सक्दिन भन्नुभयो। सक्दै नसक्नुभए म हारेँ, राष्ट्र र प्रजातन्त्र नहारोस् भनेको हो।

तपाईँलाई सभापति बनाउने भन्ने थियो बानेश्वरमा?
शेरबहादुरजीले मलाई सभापति बनाउन चाहनुभएकै हो। उहाँले पछि भन्नुभयो– तपाईँका लागि बनाएकोे माला पछि आफैं लगाउनुपर्योा। मैले चाहेको भए गइहाल्थेँ, पार्टी विभाजन गर्नुहुन्न, जोगाउनुपर्छ भनेर लागेको हुँ। शेरबहादुरजीमाथि भएको कारबाही फिर्ता लिन गिरिजाबाबुलाई केही न केही प्रेसर होस् भन्ने थियो।

त्यस्तो राम्रो मित्रता रहेका दुई जना मिलेर सभापति बने भइहाल्यो नि त?
शेरबहादुरजीलाई पहिलो पटक संसदीय दलको नेता हुँदादेखि अहिलेसम्म पटकपटक सहयोग गर्दै आएको छु। यसपालि मलाई सहयोग गर्नुपर्योप भनेको छु। प्रधान मन्त्रीमा तपार्इँलाई सहयोग गर्छु, सभापतिमा मलाई सघाउनूस् भनेर घरमै गएर प्रस्ताव गरेको छु। उहाँले साथीहरुसँग छलफल गरेर जवाफ दिन्छु भन्नुभएको छ।

आफू भए ठीक भन्ने तपाईँको दाबी?
पार्टीलाई सशक्त बनाउन कसले कति योगदान गरेको छ कार्यकर्ताले मूल्यांक गर्ने बेला आएको छ। पार्टी, प्रजातन्त्र र देशका लागि कसले आफूलाई जोखिममा राख्यो, कसले व्यक्तिगत आकांक्षा पूरा गर्न देश, जनता र प्रजातन्त्रलाई जोखिममा पुर्याेयो भन्ने सबैले बुझेका छन्।

तपाईँले जति दाबी गरे पनि संस्थापनकै नेताहरुले विश्वास गरिरहेका देखिन्न त?
यस्तो किन भइरहेकेा छ भन्ने कार्यकर्तामा प्रश्न खडा भएको छ। त्यसको जवाफ र मूल्याङ्कन कार्यकर्ताबाट हुन्छ।

भनेपछि संस्थापनबाट एउटै उमेदवार हुँदैन?
म अहिले पनि प्रयासमा छु। सबैलाई एड्जस्ट गरेर अघि बढ्ने मेरो प्रयास जारी छ।

आकांक्षीहरुको व्यवस्थापनका लागि पद थप्नुहुन्छ?
सबै साथी समेटेर अघि बढ्नकै लागि पदाधिकारी थप गरौँ भनेर लागेको हो।

कहिले घोषणा गर्नुहुन्छ उमेदवारी?
जिल्ला सभापतिहरु आएपछि दुई/चार दिनभित्र गर्छु।

सरकारको कार्यशैलीलाई कसरी लिनुभएको छ?
पार्टीको महाधिवेशन नजिक आएकाले सरकारको कामतिर भन्दा यतै हाम्रो ध्यान केन्द्रित भइरहेको छ।

सरकार परिर्वतनका चर्चा सुन्न थालिएको छ...
हामी यति चाँडै सरकार बनाउने र भत्काउने खेलमा छैनौँ। सरकारले राम्रो काम गर्दासम्म हामी यताउता गर्ने पक्षमा छैनौं। अत्याचारको सिमाना नाघेपछि अर्को कुरा हो।

प्रधान मन्त्रीको भारत भ्रमणलाई कांग्रेसले कसरी लिएको छ?
प्रधान मन्त्रीले भारतमा राम्रो सम्मान पाउनुभएको छ जुन हाम्रा लागि पनि खुसीको कुरा हो। भ्रमण नै सबैभन्दा ठूलो उपलब्धि हो।

मतलव दुई देशबीचको सम्बन्ध सुधार भयो?
उता (भारत) बाट अड्कलेर अभिव्यक्ति आएका छन्। हामी अझै सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता छ।

प्रकाशित: १३ फाल्गुन २०७२ २१:३५ बिहीबार